रामप्रसाद सुुवेदी

बृहस्पति र सूर्य एउटै राशिमा एक साथ भएको बेलामा हरेक बाह्रवर्षमा लाग्ने मेला कुम्भ मेला हो । यो भारतको प्रायाग, हरिद्वार र कुरुक्षेत्रमा लाग्ने गर्दछ । पौराणिक कहानी अनुसार सत्ययुगमा देवता र दानवको सधैैँको झगडा मिलाउनका लागि महादेवले समुद्रमन्थनको आयोजना गरे । उक्त समुद्र मन्थनबाट प्राप्त भएका अरु रत्नको बाँडफाँड त भयो तर अम्रित कलशमा दुवैको लुछाचुँडी नै रह्योे ।

अम्रित कलश घरी देवताले लिएर दौडने घरी दानवले लिएर दौडने गर्दा कलश छचल्किएर जहाँजहाँ अम्रित खस्यो ती ठाउँहरु प्रसिद्ध तीर्थस्थलका रुपमा गणना भए । अर्काे कहानीअनुसार दानवले अम्रित नपाउन् भनेर देवताहरुले जुनजुन ठाउँमा लुृकाएर राखेका थिए ती ठाउँहरुमा कुम्भमेला लाग्ने चलन चलेको थियो । दानवहरुले पहिले नै शुक्राचार्यबाट सञ्जिवनी मन्त्र प्राप्त गरेका थिए तर देवताहरू निरिह थिए, श्रीविष्णुले मोहिनी रुपको धारण गरेर देवतालाई अम्रित र दानवलाई सुरापान गराएका थिए ।

विशेषतः प्रायागमा यो मेला लाग्दछ । प्रायागको अर्काे पौराणिक कहानी पनि रहेको पाइन्छ, सत्ययुगमा दक्षप्रजापतिले आयोजना गरेको यज्ञमा श्रीमहादेवलाई अपमान गरेको सहन नसकी सतीदेवीले यज्ञमा हाम फालेर आत्मदाह गरेको स्थान प्रायाग नै थियो । सम्राट हर्षबर्धनले ईसाको दोस्रो सताब्दीमा यी ठाउँहरुमा हरेक बाह्र वर्षमा कुम्भ मेलाको प्रचलन सुरु गरेका थिए ।

समुद्र मन्थन
यति खेर नेपालमा पार्टीहरुको कुम्भ मेलाको सिजन आएको छ । सबैतिर तँछाड कि मछाड गरिरहेका छन् । दिनहुँ जसो सामाजिक सञ्जालहरुमा बधाई तथा शुभकामनाका सन्देश थेगिसक्नु छैन । पार्टीका पुराना कार्यकर्ताका लागि भन्दा पनि नव प्रवेशी र नयाँ स्वाद खोज्नेहरुका लागि एउटा माहोल र चाडका रुपमा अहिले एउटा लहर आएको छ । योे कुम्भ मेला पूर्णकालिन कार्यकर्ताका लागि भन्दा पनि शिक्षक र अन्य पेशाकर्मीका लागि बढी चासो र मौकाका रुपमा लिएको देखिएको छ ।

कुम्भ मेलामा देवता र दानवहरुको युद्धमा छचल्किएर खसेको अम्रित प्राप्त गर्ने जुन अभिलाषा दर्शनार्थीका लागि रहेको हुन्छ पार्टीको कुम्भ मेलामा पनि कतै अम्रितको रसपान गरेर अस्थायी स्थायी हुन,े स्थायीको बढुवा हुने र फेरि लाभका अन्य राजनैतिक नियुक्तिका अभिलाषाले होला तँछाड र मछाड गरेर लागेका छन् । यो देख्दा लाग्छ उनीहरु कुनै जागिर वा पेशाका नभएर पार्टीका पूर्णकालीन कार्यकर्ता हुन र उनीहरुको आफ्नो धर्मको कार्यभन्दा पनि पार्टीको कामको जिम्मेवारी थियो ।


भगवद्गीतामा भनेको छ स्वधर्मे निधनं श्रेयः परधर्माे भयावहः आफ्नो कर्तव्यमा लाग्नु र कर्तव्यको ख्याल गरेर हिँड्नु नै श्रेयकर हुन्छ । जे व्यक्तिको कर्तव्य हो त्यसैमा मर्नु उत्तम हो । आफ्नो कर्तव्यमा विचलन आएमा व्यक्ति कर्तव्यदेखि विमुख भएको हुन्छ । अहिले देशमा हरेक कुरालाई राजनीतिले कुखुराले चल्लालाई ढाकेको जस्तो गरेर ढाकेर राखेको छ ।

नियुक्तिमा राजनीति, सिफारिशमा राजनीति, बढुवामा राजनीति, सरूवामा राजनीति जसले गर्दा होला राजनीतिविना केही हुँदैन भन्ने सबैमा परेकाले कतै केही भै हाल्छ कि भनेर जुनसुकै पेशाका पनि यसरी हामफालेर लागेका छन् कि कुम्भमेलामा छुट्यौँै भने अम्रित पान गर्न नपाएर पछि परिन्छ । हुनपनि एउटा वडामा चुनिएर गएको सामान्य कार्यकर्ताको रबाफ देख्दा लाग्छ

अब नेपाली जनताका लागि योदेखि अरु विकल्प नै छैन र यसमा लागे सहज जीवन लेऊ अन्यथा तिम्रो समाजमा कुनै हैेसियत नै छैन ।
केही पाउँला र खाउँला भन्नेका लागि जे भए पनि वास्तवमा अहिलेका पार्टीहरुका कुम्भ मेलामा पुरानो बोतलमा पुरानो रक्सी खन्याउनेबाहेक केही होइन । वि.सं. २०४६ सालदेखि अहिलेसम्म यो देशको पद्धति यति थिल्थिलिएको छ कि कहीँ कतै थितिले चलेको छैन, जताततै वेथिति छ । जसले बाटो देखाउँछ उसैले फोहोर गरेर हिँड्नै नहुने बनाउँछ ।

शक्ति पृथकीकरणको प्रणाली पुरै धरासायी भएको छ । पदमा पुगेपछि मेरो कर्तव्य के हो भन्दापनि कहाँबाट मलाई कति फाइदा हुन्छ भनेर फाइदाको मोलमलाई भै रहेको हुन्छ । पार्टीहरुमा जो अगाडि गएर फेरि कुम्भ मेलाबाट अम्रित पान गरेर आउन खोजेको देखिन्छ, तिनीहरुको अनुहार र खुट्टी देख्दै उही बषौदेखि पान गरेको सुरा नै भएकाले केही आस गर्ने ठाउँ छैन अनि नयाँ पुस्ताले पहिला मिडियामा गेरका मेन्टरिङ्का हुङ्कार पनि मौका पर्दा “बिरालो खोइ, मुसा मार्न छाडेर कासीतिर” जस्तै भएको छ ।

हुनतः विश्व राजनीतिका विगतका केही उदाहरणको आंकलन गर्दा निश्चित उमेर र समय आएपछि नेतामा एक किसिमको विचलन देखिन्छ, त्यो विचलन बौद्धिक, मनोवैज्ञानिक तथा विविध कारण हुन सक्दछन् । तत्कालिन विश्वको राजनैतिक नेतृत्व गरेका महान नेता महात्मा गान्धीको आफ्नै भाइकी बाह्रबर्षे नातिनी “मनु वेन” सँंगको गान्धी ब्रह्मचार्यको सम्बन्ध, जवाहरलाल नेहरुको “तेजी बचन”को सम्बन्ध, इन्दिरा गान्धीको “एम.ओ.मथाइ”को सम्बन्ध जीवनभर सन्त नेताका रूपमा गनिएका कृष्णप्रसाद भट्टराइको “कपाली”को सम्बन्ध यी केही विचलनका दृष्टान्त थिए तर उनीहरुले समाजका लागि दिएको योगदानले ती कुरा छायाँमा परेर तपसिलमा उल्लेख भए ।

लामो समय एउटै पार्टीमा रहेर गर्ने नेतृत्वको अभिलाषाले नेतामा विचलन आउँछ यो कुरा महात्मा गान्धीको उदाहरणबाट लिन सकिन्छ । सन् १९४२ मा त उनी पार्टीगत राजनीतिबाट विचलित भै सकेर “गान्धी ब्रह्मचार्यमा” लागेर आफ्रनै भाइकी छोरीसंँग नाङ्गै सुत्ने समेत गरेका थिए । श्रीमती कस्तुरवा गान्धीलाई चौथो सन्तानका रुपमा “छोरी” नजन्माएकोमा विचलित भएर सम्बन्धसमेत परित्याग गरेका थिए । नाथुराम गोड्सेले गोली हान्दा सन् १९४८ मा समेत उनी “मनु वेन”को अंँगालोमा थिए ।

मनु वेन बायाँसँंग गान्धी “ब्रह्मचार्य” मा सन् १९४२
यी माथिका केही उदाहरणले स्पष्ट पार्दछ कि निश्चित अवधि भएपछि नेतामा विचलन देखिन्छ उसले धैर्यता गुमाउँदछ । नेपालमा त दशकौँसम्म नेतृत्व नछाड्ने र टाँसिएर बसेको बस्यै गर्ने प्रचलन रहेको छ । देश र जनताका लागि केही गर्नेभन्दा पनि आफू कसरी नेतृत्वमा टिक्ने अनि सत्तामा पुगेर मोजमस्ती गर्ने ध्यानमा मात्र नेता रहेका छन् । अहिलेका नेता र उनको नेतृत्वको शैली हेर्ने हो भने फेरि तिनै पार्टी फर्केर शक्तिमा आए त्यसबाट केही आशा गर्न सकिँदैन केवल समयको बर्बादीे मात्र हो ।

अहिले कुम्भमेलामा लागेका सबै प्रमुख भनाउँदा पार्टीहरुमा नयाँ नेतृत्व , नयाँ संस्कार तथा शैली लिएर आउनु पर्दछ । नत्र पुरानो बोतलामा पुरानो रक्सीको स्वाद भन्दा अरु केही हुने छैन । समुद्र मन्थन पछि विष्णुले देवतालाई एकातिर दानवलाई अर्कातिर लाइनमा राखेर अमृतपान गराउँदा दानव मध्येका चलाख “स्वर भानु”ले विष्ण्ुले छल गरेकोे चाल पाएर देवताको लाइनमा बसेर अमृतपान गर्दा नजिकै रहेका सूर्य देवताले पोल खोलिदिँदा विष्णुले तत्कालै असली रुप धारण गरेर स्वरभानुको शिरच्छेदन गर्दा स्वरभानुको टाउको राहु र शरीर केतु भएर अहिले संसारलाई पिरिरहेको छ । एक जना पार्टीका नेता अनि नेपाली समाज विकासका “राहु” ले त शिक्षकहरूलाई समेत खुला रुपमा राजनीति गर्ने सल्लाह दिएर पुरै विद्यालय बन्द गरेर पार्टीमा लाग्न उक्साएका छन् ।

अहिलेका पार्टी जो कुम्भ मेलाका लागि तयारी गरिरहेका छन् तिनीहरुले अमृत पान गर्न खोज्ने चलाख “स्वरभानु”हरुको पनि ख्याल गर्नु पर्दछ । नत्र कुम्भ मेलाबाट अमृतरुपी लाइसेन्स लिएर देश र जनतालाई डस्न सुरु गर्दछन् । यी पार्टीमा यही पुरानो संस्कार र प्रवृत्ति रहने हो भने अव नेपालमा यी पार्टीहरुले हाँक्ने दलीय व्यवस्थाको विकल्पमा जनता गएमा त्यो पनि अन्यथा लिन सकिँदैन । वि.सं. २०१७ सालमा महेन्द्रले भनेका दलीय व्यवस्थाका विकृति र विसंगति फेरि मडारिन थालेका छन् ।

३० वर्षसम्म पञ्चले खाए हामीले खान पाएनँौ भनेर पार्टी लडे, अनि पार्टी जो सत्तामा गए उनले मात्र खाए हामीले पाएनौँ भनेर माओवादी लडे, अहिले अब दलहरुको पालो पुग्यो हाम्रो पालो आयो भनेर पुरानाले टाउको उठाउने प्रयास गरेको सहज मान्न सकिने पनि नहुन सक्ला र ? अनि पेशाकर्मीले पनि आफ्नो धर्मको ख्याल गर्ने कि भन्ने राय पनि मेरो रहेको छ । आफ्नो धर्म के हो त्यसलाई बिर्सेर कुम्भ मेलामा रमाउन खोज्दा कर्तव्य के हो भन्ने कृुरा विचार गरेर अधिकारको खोजी गरे ठीक होला ।

प्रतिकृया दिनुहोस्