काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षामा सिकाइ निरन्तरताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक पद्धतिबाट प्रशिक्षण सञ्चालन कार्यविधि, २०७७ जारी गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत सञ्चालनमा रहेका बिभिन्न प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रममा अध्ययनरत विद्यार्थीको पठन–पाठनमा आएको अवरोधलाई हटाउदै वैकल्पिक पद्धतिबाट प्रशिक्षण कार्य अघि बढाउन कार्यविधि जारी गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

असार १९ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को बैठकले वैकल्पिक पद्धतिबाट प्रशिक्षण सञ्चालन कार्यविधि, २०७७ जारी गरेको हो । सो कार्यविधि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

कार्यविधि लागु गरी शिक्षण, प्रशिक्षण, परीक्षा तथा मूल्यांकनमा देखिएको विद्यमान गतिरोध अन्त गर्ने कार्यमा सहयोग पुर्याउन र आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण शिक्षक, प्रशिक्षक, प्राध्यापक, विद्यार्थी, अभिभावक, शैक्षिक व्यवस्थापक, सञ्चार जगत लगायत सरोकारवालाहरुमा शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

हेर्नुहोस् कार्यविधि

वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि, २०७७

 प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि, २०७७

 

प्रस्तावनाः कोभिड-१९ संक्रामक रोगको कारण शिक्षालयको नियमित प्रशिक्षण कार्य अवरुद्ध रहेको सन्दर्भमा तत्काल वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थित रुपमा प्रशिक्षण सञ्चालन गर्न वाञ्छनीय भएकोले,

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले यो कार्यविधि बनाइ लागू गरेको छ।

१.  संक्षिप्त नाम र प्रारम्भ: (1) यस कार्यविधिको नाम “प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन कार्यविधि, २०७७” रहेको छ।

(२) यो कार्यविधि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‍बाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुनेछ।

२.  परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,‐

  • “प्रदेश कार्यालय” भन्नाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प्रदेश कार्यालय सम्झनु पर्छ।
  • “प्रशिक्षक” भन्नाले शिक्षालयको प्रशिक्षण कार्यमा कार्यरत व्यक्ति सम्झनु पर्छ।
  • “प्रशिक्षार्थी” भन्नाले शिक्षालयमा प्राविधिक एसएलसी र डिप्लोमा वा प्रमाणपत्र तहमा अध्ययनरत व्यक्ति सम्झनु पर्छ।
  • “वैकल्पिक माध्यमबाट प्रशिक्षण” भन्नाले रेडियो, टेलिभिजन, कम्प्युटर, स्मार्टफोन, इन्टरनेट जस्ता अनलाइन तथा अफलाइन समेतका सूचना प्रविधिगत माध्यमबाट विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार व्यक्तिगत सुरक्षा र सामाजिक दुरी कायम गरी शिक्षालय वा कार्यस्थलमा दिइने प्रशिक्षण सम्झनु पर्छ ।
  • “शिक्षालय” भन्नाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‍को आङ्गिक प्राविधिक शिक्षालय र सो परिषद्‍बाट स्वीकृति तथा सम्बन्धन प्राप्त प्राविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालय, साझेदारीमा सञ्चालित प्राविधिक शिक्षालय र निजी स्तरमा सञ्चालित संस्थागत शिक्षालय सम्झनु पर्छ।

३. वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालनको पूर्व तयारीः (१) शिक्षालयले वैकल्पिक माध्यमका स्रोत र साधनमा पहूँचको अवस्थाको आधारमा प्रशिक्षार्थी पहिचान गरी वर्गीकरण गर्नु पर्नेछ ।

(२) प्रशिक्षार्थी वर्गीकरण गर्दा देहायको समूहमा गर्न सकिनेछः-

(क) स्मार्टफोन वा कम्प्युटर र इन्टरनेटको पहूँचमा रहेका,

(ख)  कम्प्युटरको पहूँचमा रहेका,

(ग)  रेडियो तथा टेलिभिजनको पहूँचमा रहेका, र

(घ)  सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका।

(३) उपदफा (२) बमोजिमको समूह वर्गीकरणमा राख्‍न नसकिने प्रकृतिका विशेष आवश्यकता भएका प्रशिक्षार्थीको लागि सम्बन्धित शिक्षालयले आवश्यकताको प्रकृति अनुसार प्रशिक्षणको व्यवस्था गर्नु पर्नेछ ।

(४)  शिक्षालयले प्रशिक्षकलाई वैकल्पिक माध्यमका स्रोत, साधनहरू उपलब्ध गराउनु  पर्नेछ ।

(५)  शिक्षालयले प्रशिक्षकको क्षमता अभिबृद्धिको व्यवस्था गर्नु पर्नेछ ।

(६)  शिक्षालय तथा प्रशिक्षकले विषयगत प्रशिक्षण सामग्रीको व्यवस्था गर्नु पर्नेछ ।

४.  वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन प्रक्रिया: (१) शिक्षालयले विषयगत प्रशिक्षकलाई प्रशिक्षण सञ्चालनको लागि जिम्मेवारी तोक्नु पर्नेछ।

(२) शिक्षालयले प्रशिक्षण सञ्चालनको समय तालिका तयार गरी प्रशिक्षण सञ्चालन हुनु पूर्व सबै प्रशिक्षार्थीलाई जानकारी दिनु पर्नेछ।

(३) प्रशिक्षणको लागि पाठ्‍यक्रम बमोजिमका विषयहरूको पाठयोजना तयार गर्नु पर्नेछ। त्यसरी पाठयोजना तयार गर्दा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमका सैद्धान्तिक विषयवस्तु तथा सीप प्रर्दशन (डेमोन्ष्ट्रेशन) लाई समेट्नु पर्नेछ।

(४) शिक्षालयले पाठयोजनामा आधारित रही सैद्धान्तिक विषयहरूको उपयुक्त वैकल्पिक माध्यम प्रयोग गरी प्रशिक्षण सञ्चालनको व्यवस्था गर्नु पर्नेछ।

(५) प्रशिक्षकले प्रशिक्षार्थीहरूसँग आवश्यकता अनुसार दोहोरो सम्बाद हुने गरी प्रशिक्षण सञ्चालन गर्नु पर्नेछ।

(६) शिक्षालय र प्रशिक्षकले स्व‐अध्ययनका लागि आवश्यकता अनुसार स्रोत सामग्री प्रशिक्षार्थीहरूलाई उपलब्ध गराउनु पर्नेछ।

(७) शिक्षालयले उपलब्ध भएका विद्युतीय पाठ्‍य सामग्रीहरूलाई संकलन गरी इ-लर्निङ्ग पोर्टलमा समावेश गर्नु पर्नेछ।

(८) शिक्षालयले प्रशिक्षार्थीहरूको सिकाइ उपलब्धी मापन गरी अभिलेख राख्‍नु पर्नेछ।

(९) शिक्षालयले प्रशिक्षक र प्रशिक्षार्थीहरूको दैनिक हाजिरी अभिलेख राख्‍नु पर्नेछ।

५.  शिक्षालयको भूमिका: यस कार्यविधिमा अन्यत्र लेखिए बाहेक वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन गर्ने सम्बन्धमा शिक्षालयको भूमिका देहाय बमोजिम हुनेछः‐

(क)      प्रशिक्षार्थीहरूलाई थप आर्थिक भार नपर्ने गरी वैकल्पिक माध्यमका स्रोत साधनमा पहुँचको सुनिश्चितताको लागि सहजीकरण गर्ने,

(ख)      पाठ्‍यक्रममा आधारित रही आवश्यक प्रशिक्षण सामग्री तयार गर्ने,

(ग)       प्रशिक्षकहरूलाई वैकल्पिक माध्यमबाट प्रशिक्षण गर्न प्रोत्साहन गर्ने,

(घ)       विद्युतीय पाठ्‍यसामग्रीको विकास र संकलन गरी इ-लर्निङ्ग पोर्टलहरूको विकास गर्दै जाने, र

(ङ)       सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका प्रशिक्षार्थीहरूलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार व्यक्तिगत सुरक्षा र सामाजिक दुरी कायम गरी प्रशिक्षणको व्यवस्था गर्ने।

(२) प्रशिक्षणको प्रभावकारिताको सम्बन्धमा प्रत्येक शिक्षालयले प्रतिवेदन तयार गरी प्रदेश कार्यालयमा पेश गर्नु पर्नेछ।

६.  प्रशिक्षकको भूमिका: यस कार्यविधिमा अन्यत्र लेखिए बाहेक वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन गर्ने सम्बन्धमा प्रशिक्षकको भूमिका देहाय बमोजिम हुनेछः‐

(क) वैकल्पिक माध्यममा प्रशिक्षार्थीहरूको पहुँचको अवस्था पहिचान गर्न शिक्षालयलाई सहयोग गर्ने,

(ख) वैकल्पिक प्रशिक्षणमा सहभागी हुन प्रशिक्षार्थीहरूलई प्रोत्साहित गर्ने,

(ग) पाठ्‍यक्रम बमोजिमका विषयहरूको पाठयोजना तयार गर्ने,

(घ) सिकाइ सामग्रीहरूको विकास र संकलन गर्ने,

(ङ) पाठयोजनामा आधारित रहेर सैद्धान्तिक विषयहरू उपयुक्त वैकल्पिक माध्यम प्रयोग गरी प्रशिक्षण गर्ने,

(च) प्रशिक्षार्थीहरूको सिकाइ उपलब्धी मापन गर्ने,

(छ) सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका प्रशिक्षार्थीहरूलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार व्यक्तिगत सुरक्षा र सामाजिक दुरी कायम गरी प्रशिक्षण गर्ने, र

(ज) प्रशिक्षार्थीहरूको हाजिरी तथा सिकाइ उपलब्धी अभिलेख तयार गरी शिक्षालयमा पेश गर्ने।

  1. आचारसंहिता: (१) प्रशिक्षक र प्रशिक्षार्थीहरूले प्रशिक्षणको क्रममा शिष्ट भाषा र मर्यादित पोशाकको प्रयोग गर्नु पर्नेछ।

(२) वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालन गर्दा शिक्षालयले प्रशिक्षार्थीहरूबाट अतिरिक्त शुल्क लिन पाउने छैन।

(३) वैकल्पिक माध्यमबाट प्रशिक्षण सञ्चालनको लागि सम्बधित प्रशिक्षकहरूले तयार गरेको प्रशिक्षण सामग्रीको प्रतिलिपि अधिकार सम्बन्धित प्रशिक्षक र शिक्षालयमा निहित रहनेछ।

  1. 8. सैद्धान्तिक विषयवस्तुको प्रशिक्षण सञ्चालन गर्न सकिने: वैकल्पिक माध्यमबाट प्रशिक्षण गर्दा सैद्धान्तिक विषयवस्तुको मात्र प्रशिक्षण सञ्चालन गर्न सकिनेछ ।

तर पाठ्‍यक्रमले निर्धारण गरेको प्रयोगात्मक अभ्यास वैकल्पिक माध्यमको प्रयोग गरी गर्न सम्भव भएमा गर्न वा गराउन सकिनेछ ।

९.  साझेदारीमा प्रशिक्षण सञ्चालन गर्न सकिनेः शिक्षालयले सरोकारवालासँग समन्वय गरी लागत साझेदारीको आधारमा वैकल्पिक प्रशिक्षण सञ्चालन गर्न सक्नेछ।

१०. अनुगमन गर्नेः (१) प्रदेश कार्यालयले यस कार्यविधि बमोजिम सञ्चालित प्रशिक्षणको अनुगमन र सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम प्रदेश कार्यालयले दिएको निर्देशन शिक्षालयले पालना गर्नु पर्नेछ।

११. बाझिएमा अमान्य हुनेः यस कार्यविधिमा उल्लिखित कुनै व्यवस्था प्रचलित कानूनसँग बाझिएमा बाझिएको हदसम्म यस कार्यविधिको व्यवस्था अमान्य हुनेछ।

प्रतिकृया दिनुहोस्