त्रिविमा राजनीतिक भागबन्डा

Avatar photo

Byएजुकेशन पाटी

७ असार २०७७, आईतवार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा डिन, विभागीय प्रमुख, क्याम्पस प्रमुखलगायत १५ भन्दा बढी पदमा नियुक्ति दिइएको छ । लकडाउनको अवधिमा शैक्षिक कार्यक्रम प्रभावित रहे पनि त्रिवि पदाधिकारीले मापदण्डबिनाकै नियुक्तिलाई निरन्तरता दिएका हुन् ।

वरिष्ठता र क्षमताका आधारमा भन्दा पनि सत्तारूढ दल र तिनका नेताहरुसँगको निकटतामा मनपरी नियुक्ति बाँडिएको भन्दै त्यसको विरोध हुन थालेको छ ।

चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई वरिष्ठता मिचेर नियुक्ति गरिएको थियो । नियुक्तिको निर्णय सच्याउन प्राध्यापक र विद्यार्थीले माग गरिरहेका छन् । शाह दलसँग भन्दा पनि प्रधानमन्त्री ओलीसँग निकट रहेकाले नियुक्ति दिएको भन्दै नेकपा निकट प्राध्यापक, चिकित्सक र विद्यार्थीले असन्तुष्टि जनाएका छन् । सत्तारूढ दलको विद्यार्थी संगठन अनेरास्ववियुले नियुक्तिमा असन्तुष्टि जनाउँदै डिन कार्यालयमा ताला लगाएको थियो । विद्यार्थीसँगको छलफल गरेर ताला खोलिएको छ । स्रोतका अनुसार असन्तुष्ट पक्षसँग निर्देशकमा डा. दिनेश काफ्ले र सहायक डिनमा प्रदीप वैद्यलाई नियुक्ति गर्ने सहमति भएको छ । सिफारिस समितिले वैद्यलाई डिन नियुक्त गर्न एक नम्बरमा नाम सिफारिस गरेको थियो । प्रधानमन्त्रीको दबाबमा उनलाई पन्छाएर शाहलाई नियुक्ति गरिएको स्रोतले बतायो ।

सत्तारूढ दल नेकपाको पूर्वएमाले र पूर्वमाओवादी खेमाका प्राध्यापकलाई विभिन्न विभाग र क्याम्पसमा नियुक्ति दिइएको छ । फागुनमा उपकुलपति नियुक्त धर्मकान्त बाँस्कोटाले राजनीतिक भागबन्डाका आधारमा गरिने नियुक्ति रोक्ने प्रतिबद्धता जनाएका थिए । तर विगतकै शैलीमा नियुक्ति जारी गरेको एक प्राध्यापकले बताए । ‘पहिले पूर्वएमालेको भागमा परेका संस्थान, क्याम्पस, विभागमा पूर्वएमाले नै नियुक्त गरिएको छ,’ ती प्राध्यापकले कान्तिपुरसँग भने, ‘पूर्वमाओवादीले नेतृत्व गर्दै आएको ठाउँमा उनीहरु निकटले नै चान्स पाए ।’

राजनीतिक आस्थाका आधारमा नियुक्ति गर्ने क्रममा त्रिवि कार्यकारी परिषद्ले विवादित र आर्थिक हिनामिनामा संलग्नहरुलाई पनि जिम्मेवारी दिएको छ । सिरहास्थित सूर्यनारायण, सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको प्रमुखमा रामहित यादव नियुक्त भएका छन् । त्यस्तै भक्तपुरस्थित सानोठिमी बहुमुखी क्याम्पस प्रमुखको जिम्मेवारी रामचन्द्र घिमिरेलाई दिइएको छ । पूर्वमाओवादी निकट दुवै आर्थिक हिनामिनामा संलग्न आरोपित पनि हुन् । यादवलाई आर्थिक अनियमिताका आधारमा यसअघिका पदाधिकारीले कारबाही गरेका थिए भने घिमिरेको जिम्मेवारी खोसिएको थियो । घिमिरेले आर्थिक हिनामिना गरेको र क्याम्पसको सम्पत्ति दुरुपयोग गरेको आरोप छ । उनीमाथि गरिएको छानबिन प्रतिवेदन आएकाले नियुक्ति दिएको शिक्षाध्यक्षको कार्यालयले जनाएको छ ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा पूर्वमाओवादी कोटामा सुरेन्द्र गिरीलाई नियुक्ति दिएको छ । काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा सिनियर प्राध्यापकहरुलाई पन्छाएर पूर्वएमाले कोटामा जीवनधर ज्ञवाली नियुक्त भएका छन् । स्रोतका अनुसार उनी शिक्षाशास्त्र विषयका सबैभन्दा कनिष्ठ प्राध्यापक हुन् । तेह्रथुम क्याम्पस प्रमुखमा उपप्राध्यापक निलम खरेललाई नियुक्ति गरिएको छ । उनी पूर्वएमाले निकट हुन् । दोस्रोपटक उनलाई नियुक्ति दिइएको हो । इन्जिनियरिङ अध्ययन संस्थानको सहायक डिनमा प्रा.डा. चिन्तामणि पोखरेललाई नियुक्त गरिएको छ । उनी पूर्वमाओवादी कोटामा नियुक्त भएका हुन् भने डिनमा पूर्वएमाले खेमाबाट नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनायो । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान सहायक डिन उपप्राध्यापक किशोरचन्द्र दाहाललाई नियुक्ति दिएको छ । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका नातेदार हुन् ।

नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा उपप्राध्यापक तुलसा सुनारलाई नियुक्त गरिएको छ । उनीभन्दा वरिष्ठ अम्बिका चन्दलाई हटाएर पूर्वएमाले खेमाकी सुनारलाई नियुक्ति दिइएको हो । वरिष्ठता मिचेर चितवन इन्जिनियरिङ क्याम्पस प्रमुखमा सुदीप शर्मालाई नियुक्ति दिएको छ । केही महिनामा नै स्वत: अवकाश पाउने प्राध्यापक सर्वेशचन्द्र मिश्रलाई महेन्द्र बिन्देश्वरी क्याम्पसको प्रमुख बनाइएको छ । ६१ आंगिक क्याम्पसमध्ये पूर्वमाओवादी कोटामा परेको गोरखा क्याम्पसमा रामशरण बानियाँ प्रमुख बनेका छन् ।

प्रतिपक्षी कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिविमा भइरहेको नियुक्तिको विरोध गरेको छ । उपकुलपति बाँस्कोटाले सत्ताधारी नेकपा कार्यकर्ताको चरित्र देखाएर भागबन्डाका आधारमा नियुक्ति बाँडेको संघका अध्यक्ष जगत तिमिल्सनाले बताए । आईओएमको डिनसहित अधिकांश नियुक्तिमा पारदर्शिता, वरिष्ठता र प्राज्ञिक मूल्यमान्यता उल्लंघन गरिएको संघले जनाएको छ । संघले नियुक्तिका विषयमा उपकुलपति बाँस्कोटालाई विरोधपत्र बुझाइसकेको छ ।

ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा पूर्वएमाले कोटामा नै राजदेव कुशवाह क्याम्पस प्रमुख बनेका छन् । पोखरा वनविज्ञान क्याम्पस प्रमुखमा विनोदप्रसाद हेज्यू नियुक्त भएका छन् । वरिष्ठता र मापदण्डका आधारमा भन्दा पनि उपकुलपति बाँस्कोटाले पोखरा वनविज्ञान क्याम्पसका पहुँचका आधारमा सत्तापक्षलाई ३ महिना नियुक्ति दिएका थिए । सर्वोच्च अदालतको आदेशपछि वरिष्ठताको आधारमा हेज्यू नियुक्त भएका हुन् ।

कृषि तथा वनविज्ञान र इन्जिनियरङ अध्ययन संस्थानमा डिन पद रिक्त छ । शिक्षा र मानविकी संकायमा पनि डिनको नियुक्ति हुन सकेको छैन । त्रिविका उपकुलपति बाँस्कोटा, रजिस्ट्रार पेशल दाहाल र रेक्टर शिवलाल भुसाले डिन नियुक्तिका लागि सत्तारूढ दलका नेताहरुसँग छलफल गरिरहेको स्रोतको दाबी छ । कतिपय स्थानमा सत्तारूढ दलकै खेमाबीच विवाद हुँदा डिन, क्याम्पस प्रमुख र विभागीय प्रमुख नियुक्तिमा ढिलाइ भएको छ ।

उपकुलपति बाँस्कोटाले त्रिविका नियुक्तिमा भागबन्डालाई निरुत्साहित गर्न मापदण्ड बनाइरहेको प्रतिक्रिया दिए । ‘नेताको भन्दा मापदण्डको पछि लाग्ने परिपाटी बसाल्न खोजिएको छ,’ उनले भने, ‘यति बिग्रेको संस्था त नेपालमा अरू छैन होलाजस्तो लाग्न थालेको छ । जति भित्र पस्यो त्यति बिग्रेको भेटिन्छ ।’ त्रिविमा थुप्रै बेथिति र नियुक्तिमा भागबन्डा रहेको उनले स्विकारे । ‘काम गर्ने परिपाटी कर्मचारी र शिक्षकमा छैन,’ उनले भने ।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्