काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अनलाइनबाट आईएसबीएन (इन्टरनेसनल स्टान्डर्ड बुक नम्बर) दिन सुरु गरेको छ । विश्वका जुनसुकै भाषामा प्रकाशित पुस्तकलाई अन्तर्राष्ट्रिय रूपमा पहिचान क्रमांक दिने संकेत पद्धति आईएसबीएन हो ।

त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले बिहीबार ‘ए टेक्सट बुक अफ हायर सेकेन्डरी एजुकेसन’ नामको अंग्रेजी पुस्तकलाई आईएसबिएन दिँदै अनलाइन सेवाको शुभारम्भ गरेका हुन् । नेपालमा तेह्र अंक (डिजिट)को आईएसबीएन प्रदान गरिँदै आइएको छ । उक्त पुस्तकको आईएसबिएन ‘९७८–९९३७–९९९८–१६’ रहेको छ ।

नेपालमा सन् २००० बाट सुरु भएको आईएसबिएन वितरण गर्ने निकाय त्रिवि केन्द्रीय पुस्तकालय मात्र हो । पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले अनलाइनबाट सेवा सुरु भएसँगै देशभरिका पुस्तक प्रकाशकले आईएसबीएन लिनकै निम्ति कीर्तिपुरस्थित त्रिवि केन्द्रीय पुस्तकालय धाउनु पर्ने बाध्यता हटेको बताएका छन् । हालसम्म देशको जुनसुकै ठाउँबाट पुस्तक प्रकाशन गर्नुअघि आईएसबीएन लिन राजधानी आउनु पर्ने बाध्यता थियो । प्रमुख श्रेष्ठले भने, ‘अबदेखि कुनै पनि लेखक, प्रकाशनले अनलाइनबाट आईएसबीएन लिन सक्छन् ।’

व्यक्तिगत वा संस्थागत रूपमा पुस्तक प्रकाशन गर्ने चलन छ । व्यक्तिगत रूपमा एकजनाले पुस्तक संख्या अनुसार आईएसबीएन लिन सक्छ । प्रकाशन संस्थाले भने विवरण खुलाएर एकसाथ धेरै पुस्तकको आईएसबीएन लिन सक्छ । त्यसनिम्ति त्रिवि केन्द्रीय पुस्तकालय (टीयुसीएल)को वेबसाइटभित्र आईएसबीएन कक्षमा गएर लेखक, पुस्तकको नाम, पृष्ठ संख्या, प्रकाशक सबै विवरण भर्नु पर्नेछ । प्रति पुस्तक तीन सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । विवरण भएपछि केन्द्रीय पुस्तकालयको बैंक खाता नम्बरमा रकम बुझाएपछि भौचर स्क्यान गरेर पठाउनु पर्छ । साथै, ई–बैंकिङ वा ई–सेवाबाट शुल्क तिरेपछि लेखक/प्रकाशकले सम्बन्धित नाम खुलेको आईएसबिएन पाउने सक्छन् । पुस्तकालयको इमेलमा उक्त भौचर पठाएपछि इमेलमै आईएसबीएन उपलब्ध गराउँछ ।

पुस्तक प्रकाशन गर्नुअघि आईएसबीएन लिएर पुस्तकको आवरण र भित्री पानामा उल्लेख गरिन्छ । एउटै पुस्तक ई–कपी, साधारण कागज र हार्ड कभर गरी फरक स्वरूपमा प्रकाशन गर्दा आईएसबीएन फरक रहन्छ । त्यही पुस्तक परिमार्जित संस्करण प्रकाशन गर्दासमेत नयाँ आईएसबीएन लिनु पर्ने हुन्छ । नियमानुसार आईएसबीएन लिइएका हरेक पुस्तक नेपालबाट प्रकाशित हुनुपर्ने छ ।

विश्वमा आईएसबीएनको प्रचलन सन् १९६७ बाट आएको हो । त्रिवि केन्द्रीय पुस्तकालयले इन्टरनेसनल आईएसबीएन एजेन्सीको अनुमति लिएर सन् २००० देखि आईएसबीएन वितरण गर्दै आएको छ । त्रिविले सदस्यता रकमवापत दुई वर्षका निम्ति एकमुष्ट तीन हजार पाउण्ड तिर्दै आएको प्रमुख श्रेष्ठले बताए ।

अहिले नेपालमा वार्षिक सरदर पाँच हजार संख्यामा आईएसबीएन लिने गरिएको छ । त्यसबापत त्रिविले वार्षिक १५ लाख रुपैयाँभन्दा बढी रकम आम्दानी गरेको छ । सुरुदेखि अहिलेसम्म ५५ हजार पुस्तकलाई आईएसबीएन प्रदान गरिको छ । आईएसबीएन नम्बर लिएर प्रकाशित पुस्तकमध्ये ४४ हजारको डाटा इन्ट्री गरिएका छन् । ती पुस्तकलाई लेखक वा पुस्तकको नामबाट फेला पार्न सकिन्छ । ‘अरु पुस्तक इन्ट्री गर्ने काम भइरहेको छ,’ पुस्तकालय प्रमुख श्रेष्ठले भने, ‘क्रमशः सबै पुस्तकको विवरण डिजिटलमा राख्ने काम भइरहेको छ ।’

यसअघि कतिपय प्रकाशन संस्थाले अनधिकृत रुपमा एउटै आईएसबीएन धेरै वटा पुस्तकमा राख्ने गरेका थिए । त्यस्ता पुस्तक आईएसबीएन एजेन्सीको रेकर्डमा नरहने प्रमुख श्रेष्ठले जनाएका छन् । त्यसैगरी त्रिविले आईएसबीएन उल्लेख भएका पुस्तकमात्र खरिद गर्दै आएको छ ।

गणेश राईले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्