काठमाडौं । पहिलोपटक शिक्षकहरुलाई दैनिक ७ सिफ्टमा अनलाइनमार्फत् शिक्षक पेशागत विकास(टिपिडि) तालिम दिन शुरु गरिएको छ ।
बागमती प्रदेशअन्तर्गतको शिक्षा तालिम केन्द्रले शनिवार देखि शिक्षकहरुलाई दैनिक ७ सिफ्टमा टिपिडि तालिम दिन शुरु गरेको हो ।

शनिवार बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा तुलसी थपलियालगायतको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको हो ।

यसअघि ४६० शिक्षकहरुलाई अनलाइनमार्फत् पुनर्ताजगी तालिम दिएको प्रदेश सरकारले यसपटक १७५ शिक्षकलाई टिपिडि तालिम दिन लागेको हो । सरकारले २०३७ सालमा रेडियोमार्फत् शिक्षक तालिम शुरु गरेपनि साविक शैक्षिक जनशक्ति विकास केन्द्रले २०७४ मा शिक्षा विषय अध्ययन नगरी कक्षा ११ र १२ मा पढाइरहेका शिक्षकहरुलाई पहिलोचोटी अनलाइनमार्फत् तालिम दिएको थियो ।

तर, बढुवामा अङ्क जोडिने गरी प्रमाणिकरणको यस टिपिडि तालिम पहिलोपटक बागमती प्रदेशले अनलाइनमार्फत शुरु गरेको हो ।

उद्घाटन सत्रमा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्लेले परिवर्तित परिवेश र आवश्यकतालाई सम्बोधन गर्दै शिक्षकहरुलाई अनलाइनमार्फत नै प्रमाणिकरण तालिम दिन शुरु गरिएको बताए । यसले शिक्षकलाई सक्षम, व्यवस्थित र प्रविधिमैत्री बनाउने उनले विश्वास व्यक्त गरे ।

शिक्षकको सीप, प्रवृत्ति, प्रकृति र शिक्षण विधिमा युगानुकुल परिवर्तन र आवश्यकता अनुरुपको शिक्षक क्षमता विकासमा तालिम प्रभावकारी रहने भन्दै सचिव काफ्लेले बालबालिकाको पहुँचमा सुधार गर्दै गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि शिक्षकको पेशागत विकास अनिवार्य भएको बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा तुलसी थपलियाले केन्द्रले कोरोना कहरका बिच कसरी शिक्षक तालिमलाई अगाडि बढाउन सकिएला भनेर सातै प्रदेशसँग छलफल गरी दूरशिक्षा शिक्षक तालिम कार्यविधि २०७७ जारी गरेको जानकारी दिए । विगतको आमनेसामने तालिम पाठ्यक्रममा मोडालिटि सुधारगरी अनलाइनमार्फत् दिन सकिने गरी कार्यविधि जारी गरिएको थपलियाले बताए । कार्यविधि लगत्तै पहिलो पटक त्यसको कार्यान्वयन बागमती प्रदेश शिक्षा तालिम केन्द्रले शुरु गरेको उनको भनाइ थियो ।

दूर शिक्षाका सीमा र प्रविधिका चुनौतिसँगै यसका केही सरलतापनि भएका भन्दै उनले एकैपटक सात सिफ्टमा टिपिडि तालिम सञ्चालन गर्न प्रविधिकै कारण सम्भव रहेको बताए । अब शिक्षकहरु भूगोलका कारण बाधिन नपर्ने र कक्षा छाडेर तालिम केन्द्रमा आउन नपर्ने भन्दै अब केन्द्रले पनि यस्तै वृहत अनलाइन शिक्षक तालिम सञ्चालन गर्ने र त्यहाँ प्रशिक्षकहरु युरोप र अमेरिकका हुनसक्ने खुलासा गरे ।

पहिलोचोटी प्रमाणिकरण(परीक्षा र अंक प्राप्त हुने)तालिम अनलाइनमार्फत् शुरु गरिएको भन्दै थपलियाले यो अनुभवले तालिमको आगामी मार्ग निर्देश गर्ने स्पष्ट पारे ।

अब शिक्षकहरुलाई तालिमको लागि विद्यालय छाडेर बोलाउने अवस्था नरहने भन्दै उनले अहिलेको वैकल्पिक विधि पछि तालिमको प्रमुख विधि हुन सक्ने संकेत गरे ।

प्रदेशका १३ जिल्ला नै समेटिने गरी मावि तहका गणित र अंग्रेजी विषयका २५–२५ जना शिक्षक, २५ जना प्रधानाध्यापक, आधारभूत तह(६–८ कक्षा)का नेपाली र अंग्रेजी विषयका २५–२५ जना र आधारभूत तह(१–५ कक्षा)का २५–२५ जना शिक्षक गरी १७५ जनालाई दैनिक ७ सिफ्टमा अनलाइनमार्फत् १० दिने तालिम सञ्चालन शुरु गरिएको हो ।

शिक्षा तालिम केन्द्रका तालिम प्रमुख डा तोयानाथ खनालले २५ जनाको एक समूह बनाई दिनमा डेढ घण्टाको तीन सेसन गरी दैनिक साढे ४ घण्टा तालिम सञ्चालन हुने जानकारी दिए । सेसनको बिचमा खाजा खाने ब्रेक हुने छ । दशौं दिनको अन्तिम सेसनमा अनलाइनमार्फत् नै परीक्षा सञ्चालन हुने छ ।

डा खनालका अनुसार तालिमको अन्तिम सेसनमा वस्तुगत ५ र विषयगत २० अंकको परीक्षा हुने छ । जसमा वस्तुगत तर्फ प्वाइन्ट ५ अंकभारका १० प्रश्नका लागि १५ मिनेट र लगत्तै एकघण्टाको समय दिएर ४ अंकभारका ५ प्रश्न सहित विषयगत परीक्षा सञ्चालन हुने छ । तोकिएको समयमा मात्रै उत्तर लेख्न मिल्ने गरी प्रश्नपत्र विकास गरिएको तालिम प्रमुख डा खनालले जानकारी दिए ।

यस तालिमबाट प्राप्तांकका आधारमा बढीमा ३ अंक शिक्षक बढुवामा जोडिने नीतिगत व्यवस्था रहेकाले तालिममा स्थायी शिक्षकहरुलाई मात्रै समावेश गराइएको डा खनालले जानकारी दिए ।

प्रदेश तालिम केन्द्रले अनलाइनमार्फत् तालिम लिन चाहने शिक्षकहरुको सामाजिक सञ्जालहरुबाट आवेदन संकलन गरी प्रविधिको पहुँच र प्राविधिक दक्षतासुनिश्चित भएका शिक्षकहरुलाई मात्रै छनोट गरी तालिम दिन लागेको हो ।

पहिले टिपिडि तालिम लिँदा दैनिक ७ सयका दरले निर्वाह भत्ता वितरण गरिँदै आइएकोमा अनलाइनमार्फत् सञ्चालन हुने भएकाले यसपटक शिक्षकलाई तालिम भत्ता वितरण गरिने छैन । तर, अनलाइन र डाटाको व्यवस्थापन गर्नका लागि शिक्षकले २५० पाउने छन् ।

अब प्राविधिको पहुँच नपुगेका स्थानका र प्रविधिसँग दक्षता नभएका शिक्षकलाई मात्रै तालिम केन्द्रमा बोलाएर तालिम दिने नत्र सबैखाले तालिम अनलाइनमार्फत् नै सञ्चालन गरिने प्रदेश तालिम केन्द्र प्रमुख डा खनालले जानकारी दिए ।

बन्दाबन्दीमा विद्यालयहरु बन्द नभएका बरु फरक ढंगले सञ्चालन भइरहेका भन्दै डा. खनालले त्यसको तयारीका लागि शिक्षकलाई अनलाइनमार्फत् तालिम दिन शुरु गरिएको बताए । प्रदेशमा ७ हजार बढी विद्यालय र ३० हजार बढी शिक्षक रहेकाले सूचनाप्रविधिको युगमा फरक ढंगले जानुपर्ने बाध्यता रहेको सुनाए ।

यो तालिम सकिने बित्तिकै असारमै अर्को सेसनमा तालिम शुरु गरिने जानकारी दिँदै डा. खनालले प्रविधिमा पहुँच भएका शिक्षकहरु त्यसमा सहभागी हुन सक्ने बताए ।

प्रतिकृया दिनुहोस्