स्कुल खोल्ने कि नखोल्ने ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२२ श्रावण २०७७, बिहीबार ,
युवराज वस्ताकाेटी

कोभिड–१९ को त्रासदि संसारभर बढिरहेको छ । मानिसहरुको जीवन चलाउन सधैं लकडाउन गरेर सम्भव छैन । उच्चत्तम आर्थिक हैसियत भएका सम्पन्नता हासिल गरेका देशले पनि कर्म नगराई जनतालाई अनवरत पाल्न सक्दैन यद्यपि ६–८ महिना पालेका छन् । जब अभिभावक स्वास्थ्य प्रोटोकलका सुरक्षा कवज पालना गर्दै आ–आफ्ना काममा जानू पर्छ नै भने, साँझ त घरमा आउनै पर्छ । आफ्ना बालबालिकासँग बस्नै पर्छ । रोगको डर त त्यहाँ पनि छँदैछ ।

मानिसहरु भन्ने गर्छन् विद्यालय खोलौं । केही मानिसहरु भन्छन् खोल्न हुँदैन, खोलेछन् भने पनि हामी हाम्रा बच्चा स्कुल पठाउदैनौं । दुवै तर्कले अर्थ राख्छन् जस्तो लाग्दैन । एकै छिन सोचौ त : बुबा अफिस जानू पर्छ, साझा बसमा । दिनभर घरमा बसेकि सानी छोरी सुरक्षित छिन् त, जब बुबा नै सुरक्षित छैनन् भने । विज्ञहरु भन्छन्, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र पटक–पटक सावुन पानीले हात धुनु मात्र विकल्प हो कोभिड संक्रमणबाट बाँच्ने ।

अहिलेसम्मको विश्लेषणले भनेको छः झण्डै ३१ प्रतिशतले प्रत्यक्ष रोजगारी गुमाउँदै छन् । यहि अवस्था कायम रह्यो भने अबको ४ महिनामा रोजगारी वा पेशा गुमाउनेको ग्राफ धेरै बढ्नेछ । काम धन्दा छाड्नु स सानी छोरीलाई घरमा भोकै राख्नु हो, नाङ्गै राख्नु हो, उसका सानो पुतली किन्ने सपना मार्नु हो । अहिले साना–साना १० वर्ष मुनिका शहरका बालबालिकाहरु मोवाईल, ल्यापटपमा व्यस्त हुने हुँदा उनीहरुको दृष्टि मा समस्या मात्रै आउने होइन, एकोहोरो बन्ने भोलिका दिनमा मानसिक समस्यामा पर्न सक्ने सम्भावना छ कि छैन ? साथीहरूसँग रमाउन नपाउँदा उनीहरूलाई कस्तो अनुभूति भईरहेको होला त !

खेतबारीमा रमाउने बच्चाहरु विश्वस्तरीय प्रतिस्पर्धामा पछाडि पर्लान् यद्यपि उनीहरु त्यस्तै १० देखि २० वर्षका विद्यार्थीहरु खेतबारीमा व्यस्त छन् भनेर व्याख्या गर्नु गलत हुनेछ । उनीहरु गाउँ वा शहर जहाँ भए पनि मोवाइलमा नै व्यस्त छन् । उनीहरु पव जि, फ्रि–फाएर, फर्ट नाइट, कल अफ ड्युटि आदि गेममा भुतुक्क भएका छन् । यिनको मानसिक समस्या देखिन थाली सकेको बुझ्न सकिन्छ । बाबू आमाले खाना खान वोलाउदा पनि झर्कने, रिसाउने गर्न थालेका छन् । अनलाइन कक्षा भनेर जोडिएकाहरु पनि उता शिक्षक तथा अभिभावकलाई छलेर गेममा व्यस्त भएका नै छन् । यहि अवस्था केही महिना गयो भने अपवाद बाहेकका हाम्रा बालबालिका एकोहोरो हुने, अस्वस्थ रहने, जिरिङ्ग बनेर आमा बाबू तथा शिक्षकलाई नै शत्रु देख्ने खालका बन्नेछन् ।

केही मानिसहरु बीस तीस वर्ष पहिला नपढेर पनि जीवन चलेको भन्ने व्याख्या पनि गर्छन् । हो, तर त्यतिबेला यसरी किशोर किशोरीलाई डिप्रेसनमा लैजाने ग्याजेटहरु थिएनन् । वनजंगल चाहर्थे, उकाली ओराली गर्थे । स्वास्थ्य विग्रने रासायनिक पदार्थ मिसिएको खाना हुँदैन थिए । अहिलेको अवस्था भयाभह छः ग्याजेट छन्, जङ्क फुड छन्, संस्कार मार्ने कथित आधुनिकताको प्रभाव छ, १५–१६ वर्ष हुन पाछैन महँगा कम्प्युटर, ग्याजेट, मोटरका सपना छन् ।

२२–२३ वर्षमा करोडौंको गाडी चढ्ने र बङ्गला बस्ने सपना देख्छन् । छिमेकीको शानमा आफु अगाडि आउन खोज्छन् । अहिलेको सामाजिक मानसिकता उपभोक्तावादमा रमाउने खालको छ । अहिले अपराध गरेरै भए पनि धन दौलत कमाएमा, ठूला–ठूला महल ठडाएका, महँगा गाडी चढेका र देश परदेश गरिरहनेलाई समाजले मान्ने चलन वढेको छ । यस प्रकारको सामाजिक मनोभावनाले अस्वस्थ प्रतिस्पर्धाको प्रभावले हाम्रा बालबालिकालाई छोपेको छः त्यहि सिकेका छन्, स्वभावत त्यस्तै सपना देख्छन् । आफु सबल र सक्षम बन्ने बेला ग्याजेटमा रमाउने अनि सपना चाहिँ ठूला–ठूला देखे पछि नै हो मानिस डिप्रेसनमा जाने । २०७६ चैत देखि आज सम्म झण्डै २३ सय मानिसले आत्म हत्या गरेको तथ्यांक छ, नेपाल सरकारसँग ।

ती मध्ये कति प्रतिशत उच्च महत्वाकांक्षाले गर्दा डिप्रेसनमा गएका थिए होलान् । आन्तरिक तनाव तब हुन्छ जब अभाव हुन्छ । अभाव तब हुन्छ जब मानिस कमजोर, अशिक्षित तथा सीप विहिन र अल्छी हुन्छ । अल्छी तब हुन्छ जब उ डुलेर खान खोज्ने वा ग्याजेटहरुमा व्यस्त रहने हुन्छ । वा उ प्रगतिशील हुँदैन ।

मैले भन्न खोजेको आजको विषम परिस्थितिमा हामीसँग दुईवटा कार्यभार छन् । एक, कोभिडबाट हाम्रा बालबालिका बचाउने आफु पनि बाँच्ने । दुई, बालबालिकालाई डिप्रेसनबाट बचाउने र शिक्षा दीक्षालाई निरन्तरता दिने । यसका लागि के कस्तो विधि सम्भव होला त ? प्रश्न यहि हो । उत्तर आ–आफ्नो अनुकुलको डम्फु बजाएका छन् पनि । मलाई लाग्छ हामीसँग धेरै सहज तरिकाहरु छन् । राज्यको प्रत्येक्ष निर्देशन र प्रतिबद्दता भने जरुरी छ । शिक्षा मन्त्रालयले गर्ने प्रयास गरेको भाद्र १ बाट भर्ना गर्ने, अभिलेखिकरण गर्ने, पुस्तक तथा स्टेशनरी व्यवस्था गरि दिने, यो कार्य १५ दिनमा सक्ने । अभिभावकहरुलाई सके सम्म गाडी चढ्न नपर्ने गरि आफ्ना नानीहरू भर्ना गर्न निर्देशन दिने । चलिरहेको अनलाइन तथा भर्चुअल कक्षालाई फैलाउने ।

घनावस्ती हुने भनेको शहरमा हो जहाँ वाइफाई तथा नेट सम्भव हुन्छ, पहाडी क्षेत्रमा पनि यो सम्भव छ, उच्च हिमाली क्षेत्रमा यसै पनि थोरै विद्यार्थी छन् ः संक्रमित पनि छैनन अतः प्रत्यक्ष पढाउने वातावरण बनाउने । नेट प्रदायक कम्पनीहरुलाई सिमित अवधि सम्म कम शुल्कमा राम्रो गुणस्तरीय नेट उपलब्ध गराउने गरि वातावरण मिलाउने । बाँकि समय सम्भव भए १२–१२ जनाको समूह बनाएर, एउटा समूह दिनको दुई घण्टा, सुरक्षा प्रोटोकलको पुर्ण पालना गरि विद्यालय असोज वा कात्तिकबाट चलाउने गरि हाललाई अनलाइन नै अनिवार्य गर्ने । अत्यन्त विपन्न र गरिव बालबालिकाका लागि वडा कार्यालयमार्फत, नेट प्रदायक कम्पनीसँगको समन्वयमा निशुल्क नेट उपलब्ध गराउने । ग्याजेट खरिद वडाले विद्यालयसंगको समन्वयमा अनुदान दिने ।

बालबालिकाहरुले अनलाइन पढ्नु वाध्यता हो तथापि यहि वाध्यताका बिच मोवाइल गेमहरुमा व्यस्त भएर बच्चाहरु बरबाद हुँदै पनि छन् । त्यसका लागि राज्यले कुनै पनि कानुनी वा गैर कानुनी तरिकाले ती गेमहरु नेपालमा खेल्न नमिल्ने गरि प्रतिवन्ध लगाउने । यसका लागि अदालतले आवश्यताको सिद्धान्तको आधारमा सरकारी निर्णयलाई मान्यता दिएर लाखौं बालबालिकाको भविष्य जोगाउनु जरुरी छ । निजी विद्यालयमा भर्ना गर्ने अभिभावकले शुल्क तिर्नु पर्छ भन्ने थाहा छ । पुरै बन्द भए का महिनाहरु बैशाख जेष्ठ बाहेक न्युनतम मासिक पढाइ शुल्क तिर्न तयार नै छन्, हुनु पनि पर्छ । कुरा यति चाँहि हो, गाडी भाडा, विशेष अन्य खर्च, अतिरिक्त कृयाकलाप, कम्प्युटर, खाजा, खाना आदि व्यवसायीक शुल्क भने विद्यालयहरुले नलिने व्यवस्थाको माग सम्वोधन गर्नु पर्ने पनि देखिन्छ ।

अब ढिला गर्दा केही मानिसले भने जस्तो विद्यार्थीको एक शैक्षिकसत्र खेर जाने मात्र होइन, अपवाद बाहेकका बालबालिकाहरु बिग्रने, डिप्रेसनमा जाने हुन सक्छन् । देशको भावी जनशक्ति बरबाद हुन सक्छन् । जसले देशलाई दशकौं पछाडि धकेलि दिनेछन् ।

(वस्ताकोटी त्रिभुवन विश्वविद्यालयका विद्यावारिधिका शोधार्थी हुन् ।)

प्रतिकृया दिनुहोस्