बागलुङ । कोरोना महामारीका बिच वैकल्पिक सिकाइ सहजीकरणका लागि विद्यालयहरुले आ–आफ्नै किसिमका प्रयास गरेको पाइन्छ । यसै मेसोमा बागलुङ गलकोट, काँडेवासस्थित शिव माध्यमिक विद्यालयले भिन्न उपाय अपनाएको छ ।

अनलाइन, टेलिभिजन, रेडियो कक्षा प्रभावहीन देखिएपछि विद्यार्थीहरुको सिकाइ निरन्तरताका लागि विद्यालयले भिन्न जुक्ति लगाएको हो । यसअघि विद्यार्थीहरु विद्यालयमा आउने गरेका भएपनि कोभिड महामारी पछि शिव मावि आफै विद्यार्थीसम्म पुगेको हो ।

विद्यार्थी विद्यालय आउन नसक्ने र भर्चुअल कक्षा प्रभावकारी नदेखिएपछि सिकाइ निरन्तरताका लागि विद्यालयले केहि नयाँ गर्नुपर्ने थियो सोही अनुसार विद्यालय आफै टोलटोलमा पुग्ने निर्णय गरिएको प्रधानाध्यापक हरि चालिसे (एविसी)ले बताए ।

सिक्नका लागि यत्रो समय विद्यार्थी विद्यालयमा आउन हुने, सिकाउनका लागि विद्यालय अहिले विद्यार्थीसम्म जान किन नहुने भनेर असार १ गते विद्यालयले टोलटोलमा पुग्ने निर्णय गरेको प्रअ चालिसेले बताए ।

टोलटोलमा विद्यालयमा पुग्ने निर्णय त भयो तर कसरी पुग्ने त ? फेरी विद्यालयले अर्को जुक्ति लगायो टोलहरुलाई विभिन्न अध्ययन केन्द्रहरुमा विभिाजन गरेर । हाल विद्यालयले विभिन्न टोलहरुलाई विभिन्न ११ अध्ययनस्थल(केन्द्र)हरुमा विभाजन गरेर सिकाइलाई निरन्तरता दिँदै आएको हो ।

पहिले विद्यार्थीलाई विद्यालय पठाउँदै आएका अभिभावकहरुपनि स्वयं विद्यालय नै घरआँगनमा आएपछि हर्षित बनेका छन् । विद्यालयको यो सिकाइ काइदाको प्रशंसा मात्रै होइन सहजीकरणमा अभिभावकहरुले सहयोग गर्न पनि थालेका छन् ।

कोरोना महामारीका कारण भएको लकडाउन अवधिमा विद्यालयले पहिलो चरणमा विद्यार्थी, अभिभावकहरुसँग भेटघाट, हस्त लेखन, अनुलेखन, व्यवहारिक ज्ञान, कोरोना विरूद्धको सचेतना, पुराना पाठ्यपुस्तक हस्तान्तरण गरेको थियो भने दोस्रो चरणमा नयाँ पाठ्यपुस्तक घर आँगनमै हस्तान्तरण, विद्यार्थी समूह बनाइ निरन्तर सिकाइ सहजीकरण गर्ने काम गरेको थियो ।

असार १ गतेदेखि भने निरन्तर टोलटोलका ११ अध्ययन केन्द्रहरुमा पुगेर सामाजिक दुरी र स्वास्थ्य सुरक्षा विधि अपनाउँदै सिकाइ सहजीकरण गरिरहेको छ ।

कसरी हुन्छ सिकाइ
विद्यालयले बालबालिकाको चाप र दुरीलाई मध्यनजर गर्दै बनाएका ११ वटा सिकाइ केन्द्रमा पढाइ हुने गरेको छ । जहाँ कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई कक्षा शिक्षकले पढाउने गरेका छन् । माथिल्लो कक्षाका विद्यार्थीहरुका लागि भने विषयगत शिक्षकले पालैपालो पढाउने व्यवस्था गरिएको छ ।

सिकाइ केन्द्रहरुमा दुरी कायम गर्ने र नियमित मास्क फेरेर लगाउने व्यवस्था गरिएको छ । शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै स्थानीय अभिभावकले निशुल्क मास्कको व्यवस्था गरिदिएका हुन् ।

हरेक दिन नयाँ मास्क वितरण गर्ने र पुरानोलाई व्यवस्थापन गर्ने गरिएको बताउँदै प्रअ चालिसेले बालबालिकामा सरसफाइ, रोगबारे सचेतना र फरक शैलीमा पढ्ने वातावरण तयार पारिएको जानकारी दिए ।

टोलटोलमा सिकाइ केन्द्र
विद्यार्थी संख्या, दुरी र उनीहरुको उमेरलाई पनि ध्यान दिएर सिकाइकेन्द्र निर्माण गरिएका छन् । घण्टौं लगाएर विद्यालय जाने विद्यार्थीहरुले घरदेखि केहि मिनेटकै दुरीमा पठनपाठन गर्न पाएका छन् ।

शिव मावि ट्रष्ट भवन, पचुवा, पहिले वडा कार्यालय रहेको भवन झारमौरा, नवदिप प्रावि वायसल्ला, बालकल्याण प्रावि मल्म गल्याङ र बालविकास प्रावि चालिसेटोलाका भवनलाई सिकाइ केन्द्रको रुपमा प्रयोग गरिएको छ ।

यस्तै, भानु प्रावि चालिसेटोला, देवकोटा आधारभूत विद्यालय ज्यामिरे, रमा चालिसेको घर चालिसेटोला, बाबुराम बिकको घर पचुवा र तुलसीनाथ कँडेलको घरलाई पनि सिकाइ केन्द्रको रुपमा प्रयोगमा ल्याइएको प्रअ चालिसेले जानकारी दिए ।

शिक्षकहरूले चाह्यौं भने अवस्था अनुकुलको वैकल्पिक माध्यम अपनाइ सिकाइ सहजीकरण गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न र विद्यार्थीमा रहेको नैराश्यतालाई दूर गर्नका लागि निरन्तर सिकाइ सहजीकरण गरिएको प्रअ चालिसेले सुनाए । आगामी केही दिनमा अझै परिष्कृत गर्दै जाने योजना रहेको उनको भनाइ थियो ।

अहिलेको यो कोरोनाको समयमा पनि विद्यालयले गाउँ–गाँउ पुगेर विद्यार्थीको सिकाइ निरन्तरताका लागि गरेको प्रयासको प्रसंसा गर्दै अभिभावक एवं विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष अर्जुनदत्त कँडेलले यसले सम्पूर्ण अभिभावकलाई खुसी र सन्तुष्ट तुल्याएको बताए ।

शिक्षक यतिकै घरमा बसिरहनुभन्दा टोलटोलमा पुगेर विद्यार्थीसँग भेटघाट गर्दा उनीहरूमा रहेको पढाइप्रतिको चिन्ता केहीहदसम्म हट्ने र कोरोना त्रास पनि कम हुने ठानेरै टोलटोलमा सिकाइ शुरु गरिएको शिक्षक कृष्णप्रसाद गौतमले बताए । ‘जनचेतनाका कुराहरू गर्न पाइने हुँदा गाउँ टोलमा हामी जाँदा विद्यार्थी अभिभावक पनि रमाएको पाइयो । हामी पनि खुसी नै छा’ैं, गौतमले भने ।

कक्षा–७ मा अध्ययनरत विद्यार्थी सरोज केसीले यस्तो परिस्थितिमा पनि सरहरूले घरमै आएर पुस्तक दिनुभएको र अहिले घरको नजिकै आएर पढाउँदा खुसी लागेको बताए । ‘सर मेडमहरूले दिनुभएको गृहकार्य गर्दा र अध्ययन गर्दा हामीलाई पढ्न नपाइने हो कि भन्ने चिन्ता हटेको छ’, केसीले भने ।

इच्छा शक्ति हुने हो भने हरेक समस्याका विकल्पहरू छन्, र ती विकल्पहरू खोज्न सकेको खण्डमा र ग्रहण गरेको अवस्थामा समाधानको दिशातर्फ उन्मुख हुन सकिन्छ भन्ने कुरा श्री शिव माध्यमिक विद्यालयले देखाएको छ, जुन अनुकरणीय छ ।

प्रतिकृया दिनुहोस्