फाइल फोटो

काठमाडौं । बागमती प्रदेशले पहिलो पटक शिक्षकहरुलाई शिक्षक पेशागत विकास(टिपिडि) तालिम अनलाइनमार्फत् सञ्चालन गर्ने भएको छ । यसअघि ४६० शिक्षकहरुलाई अनलाइनमार्फत् पुनर्ताजगी तालिम दिएको प्रदेश सरकारले यसपटक १७५ शिक्षकलाई टिपिडि तालिम दिन लागेको हो ।

सरकारले २०३७ सालमा रेडियोमार्फत् शिक्षक तालिम शुरु गरेपनि साविक शैक्षिक जनशक्ति विकास केन्द्रले २०७४ मा शिक्षा विषय अध्ययन नगरी कक्षा ११ र १२ मा पढाइरहेका शिक्षकहरुलाई पहिलोचोटी अनलाइनमार्फत् तालिम दिएको थियो ।

तर, बढुवामा अङ्क थपिने प्रमाणिकरणको यस टिपिडि तालिम पहिलोपटक बागमती प्रदेशले सञ्चालन गर्न लागेको हो । भोलि शनिवारदेखि शुरु हुने तालिमको प्रदेश सामाजिक विकास मन्त्री युवराज दुलालले उद्घाटन गर्ने प्रदेश तालिम केन्द्रका तालिम प्रमुख डा. तोयानाथ खनालले जानकारी दिए । उनका अनुसार उद्घाटन सत्रमा प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियालगायतको सहभागिता हुने छ ।

प्रदेशका १३ जिल्ला नै समेटिने गरी मावि तहका गणित र अंग्रेजी विषयका २५–२५ जना शिक्षक, २५ जना प्रधानाध्यापक, आधारभूत तहका नेपाली र अंग्रेजी विषयका २५–२५ जना र आधारभूत तह(१–५ कक्षा)का २५–२५ जना शिक्षक गरी १७५ जनालाई अनलाइनमार्फत् १० दिन सेसन र ५ दिन विद्यालय कार्य गरी १५ दिने तालिम सञ्चालन गर्न लागिएको हो ।

डा. तोयानाथ खनाल-प्रमुख, प्रदेश तालिम केन्द्र

२५ जनाको एक समूह बनाई दिनमा डेढ घण्टाको तीन सेसन गरी दैनिक साढे ४ घण्टा तालिम सञ्चालन हुने छ । सेसनको बिचमा खाजा खाने ब्रेक हुने छ । दशौं दिनको अन्तिम सेसनमा अनलाइनमार्फत् नै परीक्षा सञ्चालन हुने डा. खनालले जानकारी दिए ।

डा. खनालका अनुसार तालिमको अन्तिम सेसनमा वस्तुगत ५ र विषयगत २० अंकको परीक्षा हुने छ । जसमा वस्तुगत तर्फ प्वाइन्ट ५ अंकभारका १० प्रश्नका लागि १५ मिनेट र लगत्तै एकघण्टाको समय दिएर ४ अंकभारका ५ प्रश्न सहित विषयगत परीक्षा सञ्चालन हुने छ । तोकिएको समयमा मात्रै उत्तर लेख्न मिल्ने गरी प्रश्नपत्र विकास गरिएको तालिम प्रमुख डा. खनालले जानकारी दिए ।

यस तालिमबाट प्राप्तांकका आधारमा बढीमा ३ अंक शिक्षक बढुवामा जोडिने नीतिगत व्यवस्था रहेकाले तालिममा स्थायी शिक्षकहरुलाई मात्रै समावेश गराइएको डा. खनालले जानकारी दिए ।

प्रदेश तालिम केन्द्रले अनलाइनमार्फत् तालिम लिन चाहने शिक्षकहरुको सामाजिक सञ्जालहरुबाट आवेदन संकलन गरी प्रविधिको पहुँच र प्राविधिक दक्षतासुनिश्चित भएका शिक्षकहरुलाई मात्रै छनोट गरी तालिम दिन लागेको हो ।

पहिले टिपिडि तालिम लिँदा दैनिक ७ सयका दरले निर्वाह भत्ता वितरण गरिँदै आइएकोमा अनलाइनमार्फत् सञ्चालन हुने भएकाले यसपटक शिक्षकलाई तालिम भत्ता वितरण गरिने छैन । तर, अनलाइन र डाटाको व्यवस्थापन गर्नका लागि शिक्षकले २५० पाउने छन् ।

अब प्राविधिको पहुँच नपुगेका स्थानका र प्रविधिसँग दक्षता नभएका शिक्षकलाई मात्रै तालिम केन्द्रमा बोलाएर तालिम दिने नत्र सबैखाले तालिम अनलाइनमार्फत् नै सञ्चालन गरिने प्रदेश तालिम केन्द्र प्रमुख डा. खनालले जानकारी दिए ।

संघीयता कार्यान्वयन सँगै पहिले केन्द्रले सञ्चालन गर्दै आएको शिक्षक तालिमको जिम्मेवारी प्रदेशमा सरेको छ । केहि समय अघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक तालिम अनलाइनर्मात् नै सञ्चालन गर्न प्रदेश तालिम केन्द्रहरुलाई भनेको थियो ।

प्रतिकृया दिनुहोस्