रुकुम पश्चिम — एउटा गैरसरकारी संस्थाको छहारीमा रुकुम पश्चिमका सुनील वादी काठमाडौंमा पढ्दै थिए । आठ कक्षाको वार्षिक परीक्षा नजिकिँदै गर्दा कोभिड–१९ को आतंक फैलिन थाल्यो । परीक्षा सकियो, लकडाउनको हल्ला चल्न थाल्यो । उनी रुकुम फर्कनैपर्ने भयो । फर्कने बेला संस्थाका कर्मचारीले भनेका थिए, ‘दाता छैनन् । अब चल्न गाह्रो छ । लकडाउनपछि के हुन्छ, खबर गर्छौं ।’ चिसो मन लिएर रुकुम आए सुनील ।

महिना दिन बित्यो, न लकडाउन छोट्टियो, न त संस्थाबाट फोन आयो । सुनील आफैंले फोन गरे । जवाफ आयो– ‘अब होस्टेल बन्द हुन्छ जस्तो छ ।’ उनको ओत भन्नु त्यही होस्टेल थियो, त्यसको पनि टुंगो भएन । मुसिकोटमा भेटिएका सुनीलले दु:खी हुँदै सुनाए, ‘आजकल निदाउनै सक्दिनँ, सडककै बास हुने भो ।’

उनी १६ वर्षका भए, तर दु:ख र अभावले उनलाई खर्लप्प निलेको छ । उनीमुनि चार भाइबहिनी छन् । तर साथमा न बुबा छन्, न आमा । बुबा बितेको आठ वर्ष भयो, आमाले छाडेर गएको ६ वर्ष । आफ्नो भन्दा चिन्ता भाइबहिनीको छ । र, त्यत्तिकै चिन्ता छ, काकाका चार छोराछोरीको । काका र काकी दुवै बितिसके । ती भाइबहिनी हाँस्ने, रुने सुनीलसँगै हो । ‘हामी ९ जना छौं तर हामीसँग केही छैन । बुबाआमा पनि छैनन् । अब त पढ्न पनि नपाइने भयो,’ करुणस्वरमा सुनीलले भने ।

बाबुआमा हुने वादी समुदायका बालबालिकाको हालत त दयनीय हुन्छ भने उनीहरूको कस्तो होला ? अनुमान लगाउन जति सहज छ, उनीहरूले भोगिरहेको जीवन उत्तिकै कष्टप्रद । कुराकानीका क्रममा खान–बस्नभन्दा सुनील पढाइ रोकिनेबारे अधिक चिन्तित देखिन्थे ।

बच्चैदेखि उनले अनेक सास्ती झेल्नुपर्‍यो । बुबाआमा ओडारमा बस्थे, उनी त्यहीं जन्मिए । बुबाले माछा मारेर नुनतेल जुटाउँथे । एक पटक हनहन्ती ज्वरो आयो, ओखतीमुलो भएन । ‘ओडारमै चिसोले कठ्यांग्रिएर मामा बित्नुभयो,’ सुनीलकी फुपूकी छोरी कमला वादीले भनिन् । त्यतिबेला उनी ३५ वर्ष पुग्दै थिए, चार सन्तान जन्मिसकेका थिए । अर्को बच्चा पत्नीको कोखमा थियो ।

बुबाको निधनपछि सुनील, उनकी आमा अनि भाइबहिनीले कहिल्यै पेटभरि खान पाएनन् । ओडारमा बस्न डराए । त्यहीबेला जिल्लाको चौखे मूलपानीको बगरमा कुनै दाताले टिनको घर बनाइदियो । त्यो उनीहरूका लागि महलझैं थियो । तर वरपरका मान्छेको कुदृष्टि लाग्न थाल्यो । ‘वल्लोपल्लो गाउँतिरका मान्छे राति रक्सी पिएर आउँथे, होहल्ला गर्थे, ममी र काकीलाई नराम्रो गर्न खोज्थे,’ सुनीलले ती पलहरू सम्झिए । त्यतिबेलासम्म उनका काका पनि बितिसकेका थिए । प्रहरीलाई खबर गरे तर गाउँलेको दुव्र्यवहार रोकिएन । गाउँलेको टोकेसो सहेरै बस्नुको विकल्प थिएन । केही समयपछि काकी बितिन्, आमाले अर्कैसँग बिहे गरिन् । त्यसपछि चाहिँ सुनीलहरू बेघर भए, अहिलेसम्म उस्तै हविगत छ ।

सुनीलको माइलो भाइ दीपक १४ वर्षका भए, कान सुन्दैनन्, बोल्न सक्दैनन् । अरूकै घरमा गोठालो बसेर खाइरहेका छन् । उनले कखरासमेत सिक्न पाएनन् । १२ वर्षका भाइ कमल र ८ वर्षकी बहिनी बबिता अहिले काठमाडौंमा आफन्तको घरमा आश्रय लिइरहेका छन्, उनीहरूको अध्ययनका लागि सहयोग गरिरहेको संस्थाले पनि ‘अब नसक्ने’ जनाउ दिएको सुनीलले बताए । उनीहरूको आफन्त पनि गरिबीको चपेटामा छन्, लकडाउनले गर्दा रुकुम जान नपाएकाले मात्र गाँस र बास दिएका हुन् । कान्छो भाइलाई आमाले आफैंसँग लिएर गइन् । ‘सौतेनी बुबाले सानो भाइलाई भारतमा पठाइदिएछन् । कति दु:ख पाएको होला, नेपाल ल्याएर आफैंसँग राख्न मन छ,’ सुनीलले सुक्सुकाउँदै भने । उनले आमा सुर्खेतमा छिन् भन्ने सुनेका छन् तर सम्पर्क नभएको पाँच वर्ष नाघिसक्यो ।

सुनीलका काका नरेश वादी त ३० वर्षमै बिते । जेठो सागर १५ वर्ष भए, त्यसपछि बहिनी सपना, भाइहरू सन्तोष र आकाशबीच एक वर्षको मात्र अन्तर छ । अशिक्षाको भुमरीमा लपेटिएको नरेशको जोडीले जायजेथा केही नहुँदा पनि वर्षैसाल बच्चा पायो । अहिले अभिभावकविहीन बनेका यी ९ बालबालिका बिहान खाए, बेलुका के खाऔंको स्थितिमा छन् । अहिलेसम्म फुपूकी छोरी कमलाले पालिरहेकी छन् । ज्याला–मजदुरी गर्थिन्, लकडाउनले त्यो पनि रोकियो । ‘आफैंलाई खान–लाउन धौ–धौ छ, उनीहरू (सुनीलका भाइबहिनी) पनि थपिएपछि झन् गाह्रो भएको छ,’ सोलावाङमा बस्ने कमलाले वेदना सुनाइन् ।

रुकुम पश्चिममा कतिपय भूमिहीनलाई सरकारले बास उपलब्ध गराएको छ, वादी समुदायमै कतिले यो सुविधा पाएका छन् तर ९ बालबच्चा भएको सुनीलको परिवारले एक टुक्रो जमिन पाएको छैन, न सरकारी तबरबाट उनीहरूको अध्ययनका लागि कुनै सहयोग नै भयो । धेरै सरकारी कार्यालय र हाकिमहरूलाई बिन्ती गरे पनि केही राहत नपाएको कमलाले दुखेसो पोखिन् । ‘सरकारले पनि जो धनी छ, उसैलाई हेर्दोरहेछ । दलितलाई झन् हेलाँ गर्छन्,’ कमलाले तीतो भोगाइ सुनाइन्, ‘दलितले पायो भने पनि जोसँग अलिअलि सम्पत्ति छ, उसैले पाउँदोरहेछ ।’ स्थानीय जनप्रतिनिधिहरूले आफ्नो पीडासमेत नसुनिदिएको उनको गुुनासो छ ।

सुनील र अरू भाइबहिनीले पढ्न पाए आफूहरूजस्तो दु:खको आहालमा डुब्दैनथे भन्ने ज्ञान छ, कमलालाई । त्यसैले दुई घण्टा हिँडेर मुसिकोट आउँछिन् र भेट्ने मौका पाएका हरेक ठालुहरूलाई व्यथा सुनाउँछिन् । तर, अहिलेसम्म कसैले सहयोगको वचन दिएका छैनन् । कमलाको पछिपछि लागेर मुसिकोट आउने सुनील झन् आत्तिन्छन् । आफूसँगै होस्टेलमा बसेका साथीहरूले अनलाइन क्लास लिइरहेको सुन्दा उनको मन पोल्छ । उनीसँग न मोबाइल छ, न इन्टरनेट । न कसैले अनलाइन क्लासका लागि बोलाउँछन् । होस्टेलबाट खुस खबर आउँछ कि भनेर फोन गर्न पनि अरू कसैको मोबाइल माग्नुपर्छ र हतारहतार कुरा सकाउनुपर्छ । भाइबहिनीको मुहार देखेपछि झन् पिरोलिन्छन् । ‘मलाई भाइबहिनीसँगै बसेर पढ्न मन छ तर कसले पढाउँछ ? बरु अहिले कसैले सहयोग गरिदिए पछि ठूलो भएर गुन तिर्ने थियौं,’ सुनीलले यसो भनिरहँदा उनको मुहार निन्याउरो थियो ।

गोकर्ण गौतमले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्