गठबन्धन सरकारलाई शिक्षकको पत्र

Avatar photo

Byएजुकेशन पाटी

१३ कार्तिक २०७८, शनिबार
सुन्दर पन्त

श्री सम्माननीय प्रधानमन्त्री शेर वहादुर देउवाज्यू
श्री सम्माननीय पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालज्यू
श्री सम्माननीय पूर्वप्रधानमन्त्री माधव कुमार नेपालज्यू
श्री माननीय पुर्व उप प्रधानमन्त्री उपेन्द्र यादवज्यूु
श्री माननीय पुर्व उप प्रधानमन्त्री चित्र बहादुर केसीज्यू
श्री नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति ।

विषयः– ध्यानाकर्षण पत्र ।

महोदय,
हामी नेपाली शिक्षकहरु शिक्षकहरुको साझा संस्था नेपाल शिक्षक महासंघ हो । नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच सम्झौता भएको ३४ बुँदे मागहरु कार्यान्वयन गर भनेर २०७८ बैशाख २० गतेदेखि हामी आम शिक्षक, राहत, उच्च मा. वि. का शिक्षक, विद्यालय कर्मचारी, बाल कक्षा शिक्षक, कार्यलय सहयोगीहरु स्थानीय, जिल्ला, प्रदेशतह हुँदै राष्ट्रव्यापी रुपमा सडक आन्दोलनमा होमिएका छौं । आजसम्म सुनुवाई भएको छैन । अतः पाँचौं चरणको आन्दोलन कार्तिक २८ गतेबाट शुरु हुँदैछ ।

केही दृष्टान्त हेरौ सुनौं बुझौं !

हिजो नेकपाको दुई तिहाई नजिकको सरकार थियो । हामी शिक्षकहरु अव हाम्रा माग पुरा हुने भयो भनेर ठूलो आड भरोसा विश्वास थियो । दलका निकटका – नजिकका शिक्षक नेताहरुले अब माग पुरा हुने भो भनेर विभिन्न सभा समारोहमा हौसाएका थिए । हामी शिक्षकहरु पनि निकै हौसिएका थियौं । तर, विडम्वना माग पुरा हुनु त कता हो कता नेकपा दलभित्र आन्तरिक किचलो बढ्यो । किचलोले उग्र रुप लियो । अदालतले कानूनी रुपबाटै नेकपा एमाले र नेकपा माओवादीलाई अलग बनायो । नेकपा एमाले र नेकपा माओवादी पूर्ववत अवस्था मै आइपुगे । नेकपा एमालेभित्र पनि संसद विघटन, मुख्यमन्त्रीको किचलो, मन्त्री नपाएका कारण आन्तरिक द्वन्द्वमा फस्यो । देशी विदेशी शक्तिको चलखेल बढ्यो । सांसद र पार्टी व्यवस्थापन गर्न नसकेको कारण पार्टी नै फुट्यो नेकपा एमाले र समाजवादी बन्यो । एमाले सरकार नै सत्ताबाट बाहिरिनु पर्यो । हुँदा हुँदै प्रदेश सरकारबाट पनि बाहिरिँदै छ एमाले । यो कटु यथार्थ सबैलाई ज्ञात नै छ ।

सरकार फेरियो । पाँच गठवन्धनको सहकार्यमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । आन्दोलनकारी शिक्षकहरु आफ्ना माग केपी ओली सरकारले ३ वर्ष ४ महिनासम्म पुरा नगरेको झोकमा सरकार परिवर्तन भएकोमा खुसीले गद्गद् भए ।
तर के गर्नु शिक्षकहरुको वर्षौ वर्षदेखि समस्या ज्यूँ का त्यूँ छ । जति सरकार बने – बन्छन्, सधँै नै शिक्षकहरुलाई सरकार विरोधी ठान्छन । सरकार चलाउनेहरु सधै आफु विरोधी आन्दोलन गरेको ठान्छन् ? यो भ्रम हो । जुनसुकै सरकार भए पनि यो भ्रमबाट मुक्त हुन सकेका छैनन् ।

हिजो आज फेरी,
सरकार र सरकारको स्वरुप नै फेरियो ?
दलहरुका नेता उही, दल फरक फरक – सरकारको नेतृत्वकर्ता फरक, यता शिक्षकका मुल नेता फरक, तर संस्था उही ।

हिजो पनि – आज पनि सरकार हाम्रो विरुद्ध आन्दोलन गरेको ठान्दैछन् ?
के त्यस्तै हो र ? हैन नि ?
सरकारहरुले बुझेका छन ! तर नबुझे झै गर्छन ?
हामी शिक्षकका माग हिजो पनि त्यही – आज पनि त्यही !

हामी आन्दोलनकारी हिजो पनि उही आज पनि उही !

तपाईं शिर्ष नेताहरु प्रतिपक्षमा हुँदा,

हामी साना शिक्षक नेताहरु हाम्रा ठूला शिक्षक नेताहरुसँग पछिपछि लागियो । तपाईंपार्टीका शीर्ष नेताहरुको घर, पार्टी कार्यालयहरुमा पुग्यौ, पटकपटक धायौं । माग पत्रहरु हाम्रा शिक्षक नेताहरुद्वारा यहाँहरुलाई सुनाइयो, पत्रहरु हात हातैमा थमायौं । यहाँहरुले ध्यानपूर्वक सुन्नुभयो । तपाईहरुको माग साह्रै जायज छन् भन्नु भयो, हौसाउनु भयो, हामी हौसियौं । प्रतिपक्षको सरकार बने त भोलि नै माग पुरा हुने जवाफ दिनु भो । र पनि यत्ती पनि भन्नु भो – हामी अहिले सरकारमा छैनौं । हामी सरकारमा आए पछि तपाईहरुको माग पहिलो एजेण्डा बनाएर पुरा गराउँछांै भन्नु भयो । हामी खुसीले गद्गद् भयौं । मन मनै यो सरकार ढलेर उहाँहरुको सरकार बने त हाम्रो माग पुरा हुने रै’छ भनेर निकै पुलकित भयौं । नेताजीले हाम्रो मन कै भाव बोल्नु भयो भनेर जाने साथीहरु कानेखुसी गर्यौं ।

श्रद्धापूर्वक चिया बिस्कुट खुवाउनु भयो । खासखुस गर्दै सबैले खायौं ।

हामी जाने सबै शिक्षक नेताहरु खुसी हुँदै बाहिरियौं ।

सबै प्रतिपक्षी नेताहरुमा जाने क्रम जारी भयो ।

आज प्रतिपक्ष ( विपक्षी ) अर्थात् ( पक्ष ) सत्तारुढ भए ।

हिजोको पक्ष ( सत्तारुढ ) आज प्रतिपक्ष भए ।

शिक्षकका माग समस्या त्यही हो ।

अब तपाईं शिर्ष नेताहरु पक्षमा हुँदा,
हिजो बोलेका बाचाहरु बिर्से कै हो त ?
हिजो आन्दोलन गर्न उस्काएको बिर्सेको हो त ?
हिजो तपाईहरनको आन्दोलनमा सहयोग र आग्रह गरेको बिर्से कै हो त ?
घण्टौ बसेर उल्टै अर्ति उपदेश दिएको बिर्से कै हो त ?
हिजे सजिलै भेटिने तर आज भेट्नै मुस्किल पर्ने भएकै हो त ?
यहांहरुको कार्य व्यस्तताले भेटघाटको समय नमिल्ने भएकै हो त ?
हो भने ? हिजोको तपाई र आजको तपाईलाई हामी ले के ठान्ने ? कसरी बुझ्ने ? बोली र वचनलाई ?

के हिजो तपाईंहरुले बचन दिएका ती सबै नौटंकी हुन भनेर बुझ्ने त ?
जुन जोगी आए पनि कानै चिरेका भनेर बुझ्ने त ?

कि यी माग पुरा भए ?
शिक्षा ऐन आयो ?
संवैधानिक शिक्षक सेवा आयोगको गठन भयो त ?
शिक्षामा २०% लगानी बढ्यो त ?
संविधानमा व्यवस्था भए अनुसार आधारभुत तह निःशुल्क भो त ?
उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भयो त ?
उ.मावि शिक्षकको स्थायीको व्यवस्था भो त ?
राहतलाई दरवन्दीमा परिणत गरी स्थायी गर्न पहल भयो त ?
बाल शिक्षक, विद्यालय कर्मचारीको तलव बढ्यो त ?
तहगत यी मास प्रमोशन भयो त ?
आवश्यक शिक्षक दरवन्दी थपियो त ?
शिक्षक अस्पताल बन्ने भो त ?
शिक्षामा निजीकरणको अन्त्य भो त ?

यदि छैन भने ? खबरदार सरकार ।
हिजो केपी ओलीले गरेनन् भन्नेहरु – आज गठवन्धन सरकारले के गर्यो त ?
गठवन्धनको सरकार ।
शिक्षकका माग पुरा गर ।
हिजोका बाचाहरु पुरा गर ।
शिक्षकहरुको मागलाई छिट्टै सम्वोधन गर ।
नत्र पछुताउनु पर्ला !
शिक्षक एकता जिन्दाबाद ।
सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला
यो कथा भन्ने बेला तुरुन्तै आईजाला भन्ने दृष्टान्त
कुनै शिक्षकबाट नउठ्ने गरी समाधान गरियोस् ।

विनित
सुन्दर पन्त
उप– महासचिव
नेपाल शिक्षक संघ संघीय समिति
नागार्जुन– १०, काठमाडौ ।

प्रतिकृया दिनुहोस्