काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले वैकल्पिक माध्यमबाट पठनपनठन सुचारु गर्न बजेट विनियोजन गरेको छ ।

कोभिड–१९ को संक्रमणको कारण विद्यालय शिक्षण सिकाइ कार्य असहज भइरहेको अवस्थामा वैकल्पिक सिकाइको माध्यमबाट सिकाइ सहजीकरण गर्ने कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने कार्यको थालनी गरिने प्रदेशले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७–०७८ को ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले वैकल्पिक माध्यमबाट सिकाइ सुचारु गर्नका लागि १ करोड विनियोजन गरेको जानकारी दिए ।

यस्तै, शिक्षकहरुको अध्ययन अध्यापन गराउने सिकाइ सीप सम्बन्धी क्षमता विकास गर्न प्रदेशस्तरबाट शिक्षकहरूको पेशागत विकास एवं तालिमको लागि १ करोड ८२ लाख विनियोजन गरेको अर्थमन्त्री बोहोराले जानकारी दिए ।

प्रदेशको शिक्षा बजेटको पूर्णपाठ
१. प्रदेशस्तरमा विश्वविद्यालय, प्राविधिक विश्वविद्यालय तथा पोलिटेक्निक संस्था स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।

२. कैलाली बहुमुखी क्याम्पसलाई खुला तथा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गर्न अनलाईन कन्फरेन्स हल र इ–लाइब्रेरी व्यवस्थापन तथा संचालन एवं भवन निर्माणका लागि रू. १ करोड ५० लाख विनियोजन गरेको छु ।

३. प्रदेशभित्रका विज्ञान वा प्राविधिक विषय पठनपाठन हुने याम्पसहरूलाई प्रोत्साहन अनुदान र प्रदेश भित्रका ९ वटा नमूना क्याम्पसहरूको व्यवस्थापनका लागि पूँजीगत अनुदान प्रदान गर्न रू. २ करोड ८५ लाख विनियोजन गरेको छु ।

४. यस प्रदेशमा रहेको त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त एक मात्र कृषि क्षेत्रको सामुदायिक क्याम्पस ‘गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पस, बैतडी’को भवन निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

५. प्रदेशमा उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरुको भौतिक पूर्वाधारको अवस्था कमजोर भएको कारण अध्ययन अध्यापन गर्ने कार्य गर्न असहज भएकोले उच्च शिक्षा कार्यक्रम अन्तर्गत क्याम्पस भवन निर्माण, क्याम्पसहरूमा पुस्तकालय व्यवस्थापन तथा सूचनाप्रविधि व्यवस्थापनको लागि रू. १५ करोड ७२ लाख विनियोजनगरेको छु।

६. युवा जनशक्तिलाई प्रदेशकै सेवाका लागि प्रेरित गर्न ‘मेरो विशेषज्ञता, मेरै प्रदेशका लागि’ भन्ने मर्मसहित पिछडिएको वर्गका जेहेन्दार विद्यार्थीहरूलाई चिकित्सा शिक्षा छात्रवृत्ति, लक्षित वर्गका लागि उच्च शिक्षा अध्ययन छात्रवृत्ति र अति–विपन्न वर्गका विद्यार्थीहरूको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमछात्रवृत्तिका लागि रू. ४ करोड ९३ लाख बिनियोजन गरेको छु।

७. आर्थिक वर्ष २०७५–७६ र चालु आर्थिक वर्षमा निर्माण प्रारम्भ भएका रआगामी आर्थिक वर्षमा निर्माण गरिने प्राविधिक धारका सामुदायिक विद्यालयहरूमा छात्रावास निर्माणको लागि रू. २८ करोड विनियोजन गरेको छु ।

८. संघीय सरकारको विशेष अनुदानमा महेन्द्र मावि खलङ्गा दार्चुला, केदार मावि दोगडाकेदार–४ पिपलकोट, बैतडी र जयपुर मावि देवलकोट पञ्चेश्वर गापा बैतडीमा नमूना छात्रावास सहितको विद्यालय निर्माणका लागि विनियोजन गरेको रु. ८ करोड रकमको प्रभावकारी परिचालनबाट उपरोक्त विद्यालय भवनहरु तदारुकताका साथ निर्माण गर्ने व्यवस्था मिलाएको छु।

९. विद्यालय शिक्षालाई उच्च प्राथमिकता दिदै सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार अभिवृद्धि गर्न दुई कोठे विद्यालय भवन, चार कोठे विद्यालय भवन, छात्रा शौचालय, विद्यालय संरक्षण तथा मर्मत संभार लगायतसूचना प्रविधि व्यवस्थापन गरी प्रदेशको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गरिनेछ । जसका लागि रू. १ अर्व १७ करोड ५० लाख बजेट विनियोजन गरेको छु ।

१०. कोभिड–१९ को संक्रमणको कारण विद्यालय शिक्षण सिकाइ कार्य असहज भइरहेको अवस्थामा वैकल्पिक सिकाइको माध्यमबाट सिकाइ सहजीकरण गर्ने कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने कार्यको थालनी गरिनेछ। जसका लागि रू. १ करोड विनियोजन गरेको छु ।

११. परम्परागत तथा धार्मिक प्रकृतिका विद्यालयहरू तथा विशेष शिक्षा संचालित विद्यालयहरूको सुदृढीकरणको लागि रू. १ करोड ८० लाख विनियोजन गरेको छु ।

१२. शिक्षकहरुको अध्ययन अध्यापन गराउने सिकाइ सीप सम्बन्धी क्षमता विकास गर्न प्रदेशस्तरबाट शिक्षकहरूको पेशागत विकास एवं तालिमको लागि रू. १ करोड ८२ लाख विनियोजन गरेको छु ।

प्रतिकृया दिनुहोस्