सरकारले समेत विद्यालयमा कार्यरत कर्मचारी पियन, खरदार, शिक्षकलाई उचित रुपमा पारिश्रमिक र अवकाशमा जादा सेवा सुविधा दिन नसकिरहेका अवस्थामा अक्षयकोषमार्फत विद्यालयले आफ्नै स्रोतमा उपदान लगायतका सुविद्या दिने आँट गरेको छ । त्यसका लागि सुर्खेतको वीरेन्द्रनगर स्थित  श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि ईत्रामले विद्यार्थीहरूले तिर्ने शुल्कबाट केही रकम बचत गरेर अक्षयकोष स्थापना गरेको छ ।  यो सम्भवतः नेपालमै पहिलो प्रयास भएको  विद्यालयका प्राचार्य गेहेन्द्र दाहालले दावी गर्नुभयो ।

विद्यालयमा हुने विभिन्न खर्चहरूको कटौती गरेर बचत भएको रकमबाट ५१ लाखको अक्षयकोषको स्थापना गरिएको हो । विद्यालयको दीर्घकालीन विकास र शैक्षिक गुणस्तर सुधारका लागि भन्दै सो विद्यालयका शिक्षक र विव्यसका पदाधिकारीहरूले गरेको सो साहस  वास्तवमा  अन्य सरकारी विद्यालयहरूका लागि  प्रेरणा र चुनौती दुवै बन्न पुगेको छ ।

केहि वर्ष देखि विद्यालयमा अध्यनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले तिरेको शुल्कवापतको रकमबाट खर्च कटाएर बचत भएको रकमबाट अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य  दाहालले तीन वर्षमा सबै खर्च कटाएर ५१ लाख रूपैयाँ बचत भएको र सोही रकमबाट अक्षयकोष स्थापना गरिएको बताउनुभयो । अक्षयकोषको रकम नेपाल बैंकमा जम्मा गरिएको छ । सो रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा कार्यरत अस्थायी तथा निजी स्रोतका शिक्षक र कर्मचारीलाई अनिवार्य तथा स्वैच्छिक अवकाश पाएमा उपदान स्वरूप आर्थिक सहयोग प्रदान गर्ने योजना विद्यालयको रहेको छ । यस्तै शिक्षक तथा कर्मचारीहरू बिरामी भएमा सहयोग गर्ने, निजी स्रोतमा कार्यरत शिक्षक र कर्मचारीको तलबमा समेत खर्च गरिने विद्यालयले जनाएको छ ।

अक्षयकोषबाट विद्यालयमा अध्यनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको छात्रवृत्ति प्रदान गर्ने , भौतिक सुधार र मर्मतमा समेत खर्च गर्न मिल्ने गरी विनियम बनाइने प्राचार्य दाहालले जानकारी दिनुभयो । ‘कहिलेसम्म आर्थिक अभावमा बस्ने ? सरकारको भर परेर मात्र हुँदैन । त्यसैले हामीले आफै नयाँ काम गर्ने सोच बनायौं, अक्षयकोषले अब विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार आउनेछ ।’ प्राचार्य दाहालले भन्नुभयो । ‘अबको तीन वर्षमा थप ५१ लाख रूपैयाँ अक्षयकोषमा जम्मा गनेछौँ ।’

विगतमा आर्थिक अभावकै कारण विद्यालयले विभिन्न समस्याहरू भोगेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि वाग्लेले अक्षयकोष स्थापना भएसँगै विद्यालयको शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नभयो ।  यसैबीच विद्यालयले मंगलबार र बुधबार दुई दिन विद्यार्थीलाई नीजि विद्यालयले जस्तै ट्रयाक शुटको व्यवस्था गरेको छ ।  हप्ताको सातै दिन विद्यार्थीलाई स्कुल डे«समा विद्यालय जादा मैलो हुने भएपछि यस्तो व्यवस्था गरिएको हो । २०१५ सालमा संस्कृत विद्यालयको रुपमा स्थापीत विद्यालयले मल्टिमिडिया प्रोजेक्टबाट अध्ययन गराउने, सुचनाको लागि नोटिसबोड, सीसीटीभी जडान साथै अंग्रेजी माध्यमबाट अध्ययन गराउदै आएको छ ।

विद्यालयमा हाल १ देखि १२ कक्षासम्म १५४२ विद्यार्थी अध्ययन गर्ने गरेका छन् । २९ जना शिक्षक कर्मचारीहरु मध्ये १३ जना अस्थायी रुपमा कार्यरत छन् । उमावि तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कृषि विज्ञान संकायमा अध्ययन हुदै आएको छ । जसमा ४ सय ६४ विद्यार्थी अध्ययनरत छन् । पहिले ऋणमा सञ्चालन हुदै आएको उमावि अहिले वचत गर्न सफल रहेको प्राचार्य दाहालले बताउनुभयो ।

२०७२ फागुन ३० गते २०:५९

प्रतिकृया दिनुहोस्