सीता कुमारी ढकाल
प्रअ
जनविकास मावि, बल्खु, काठमाडौं

विद्यालयको समग्र अवस्था कस्तो छ ?
विद्यालयको समग्र अवस्था राम्रै छ । हाल विद्यालयमा १७ कक्षाकोठा सहित ३ वटा पक्की भवन छन् । यसै गरी विद्यालयमा आइसिटि ल्याब , विज्ञान प्रयोगशाला र पुस्तकालयको अवस्था सामान्य छ । खानेपानी, शौचालय, घेराबारको व्यवस्था राम्रो छ । एसईई र कक्षा ११–१२ को नतिजा पनि राष्ट्रिय औसत भन्दा माथि नै छ । आर्थिक अवस्था पनि सामान्य नै छ । हामी फरक काम गर्ने भन्दा पनि हरेक काम फरक ढङ्गले गर्न मन पराउँछौं । हाम्रो मुख्य ध्यान नै स्तरिय, सीपयुक्त र जीवनयोगी सिकाइ सुधार गर्नमा केन्द्रित छ । नैतीकता, अनुशासन, सामाजिक व्यवहारसहितको सूचना प्रविधियुक्त शिक्षणसिकाइ नै विद्यालयको मुख्य लक्ष्य हो । विद्यालयको बाहिरबाट हेर्दा देखिने समग्र अवस्था यीनै हो ।

शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ?
मैले अगाडि नै भनिसकेको छु । हामी फरक अभ्यास भन्दा हरेक अभ्यास फरक ढङ्गले अगाडि बढाइरहेका छौं । विद्यार्थीहरुमा परीक्षा प्रतिको डर हटाउन विद्यालयमा साप्ताहिक, मासिक, त्रैमासिक परीक्षा सञ्चालन तथा पृष्ठपोषण गरिन्छ । कमजोर विद्यार्थी  पहिचान गरी उनीहरुकालागि उपचारात्मक, अतिरिक्त कक्षा संचालन गरिन्छ । विद्यार्थीको सिकाइ वातावरण घरमान पनि राम्रो होस् भनेर अभिभावकहरु सँग नियमित छलफल गरिन्छ ।  अभिभावकहरुको सुझाब लिइन्छ । शिक्षण सिकाइलाई कक्षाकोठामा सीमित नगरी अनुसन्धान, पुस्तकालयीय, प्रत्यक्ष अवलोकन, परियोजना कार्यआदिसँग जोड्ने गरिएको छ । शिक्षकहरुलाई हरेक दिन पाठयोजना र शैक्षिक सामग्रीसहित कक्षाकोठामा जान अनिवार्य गरिएको छ । विद्यार्थीको क्षमता र प्रतिभा पहिचान गरी त्यसको विकासका लागि विभिन्न गतिविधिहरु सञ्चालन गरिने गरिएको छ । कक्षाकोठामा शैक्षिक सामग्रीले सजाइएका छन् । शिक्षकहरुले तालीममा सिकेका सिकाइ विधि कक्षाकोठामा लागुगर्नुपर्ने व्यवस्था गरिएको छ ।

कक्षाकोठालाई बालमैत्री र सिकाइ मैत्री बनाउन विद्यालयमा के प्रयास भएको छ ?
विद्यालयमा पारिवारिक वातावरण निर्माण गर्न खोजिएको छ । विद्यार्थी–विद्यार्थी, शिक्षक–शिक्षक र शिक्षक विद्यार्थी बीच मित्रवत् व्यवहार लागु गरिएको छ । शिक्षकहरु देखेर विद्यार्थी डराउने, तर्सिने अवस्था छैन । कक्षाकोठामा पनि पठनपाठनमा छलफल विधिलाई जोड दिइएको छ । अडियो–भिडियो कक्षाहरु सञ्चालन गर्ने गरीएको छ । पढ्ने र पढेका विषय विद्यार्थीहरुले भिडियोमा प्रत्यक्ष हरेर सिक्ने गर्छन् । विद्यार्थीहरुको क्षमता र ईच्छाअनुसार विभिन्न किसिमका खेलविधिहरु प्रयोग गरेर शिक्षण गर्ने गरिएको छ । कक्षाकोठामा शैक्षिक समग्रीको व्यवस्थापन गरिएको छ । शिक्षण सिकाइ प्रक्रियालाई दण्डरहित र भयरहित बनाइएको छ । विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई जोड दिँदै आइएको छ ।

सिकाइस्तरको अवस्था के छ ?
हामी नतिजामा भन्दा व्यवहारको सुधारमा विश्वास गर्छौं । हरेक कक्षाहरुको सिकाइ उपलब्धि राम्रो छ । एसईई र कक्षा ११ र १२ को सिकाइस्तर पनि  अघिल्ला बर्षहरुमा भन्दा सुधारोन्मुख छ । हामी विद्यार्थीको परीक्षाको नतिजासँगै उनीहरुको सीपगत र व्यवहारगत सुधारमा ध्यान दिने गरेका छौं । वर्षभरीको सिकाइलाई रटाएर, कण्ठ गराएर ३ घण्टे परीक्षामा मात्रै  राम्रो अङ्क ल्याउनु ठूलो कुरा होइन् । विद्यार्थीको सिकाइ उसको जीवनमा कति प्रयोगमा आउँछ त्यो महत्वपूर्ण कुरा हो । समग्रमा भन्दा विद्यालयको सिकाइस्तर उत्साहजनक नै छ ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
सामुदायिक विद्यालयको अवस्था खस्किदै गइरहेको छ भन्ने कुरा प्रति म सहमत छैन । सामुदायिक विद्यालयहरुको अवस्था क्रमशः सुधारिदै गइरहेको नै अवस्था छ । अझ केही सामुदायिक विद्यालयको अवस्था संस्थागत विद्यालयका भन्दा पनि उम्दा नै छन् । यहाँ सामुदायिक विद्यालय खत्तम छन् भनेर प्रचार गरिएको छ । जसले अभिभावकहरुको धारणा गलत बन्दै गइरहेको छ । तरपनि, सामुदायिक विद्यालयहरु सोचे जस्तो र लगानी भएजसरी सुधार हुन नसकेको भने पक्कै हो । यसको प्रमुख कारण सरोकारवालाहरुलाई यसबारे  अपनत्व महसुस नहुनु हो । पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुनु, विद्यार्थीले रुची, स्तर र क्षमता अनुसारका विषय पढ्न नपाउनु कारणहरु हुन् । सम्बन्धित निकायबाट अनुगमन नहुनु,  आर्थिक, भौतिक र शैक्षिक रुपमा सामुदायिक विद्यालयहरु सम्पन्न नहुनु पनि कारण हुन् । सरकारले तहगत र विषयगत शिक्षक दरबन्दीको व्यवस्था गर्न नसक्नु, सिकाइमा समयसापेक्ष नवीनतम प्रविधिहरु भित्र्र्याउन नसक्नु र  निःशुल्क शिक्षा हुनुले पनि सामुदायिक विद्यालयहरुले चाहे जती सुधार गर्न सकेका छैनन् । तर, खस्किदै गइरहेका छन् भन्ने चाँही होइन ।

अभिभावकहरुले त अझैपनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
पत्याएका छैनन् कसरी भन्ने मुलुकका झण्डै असी प्रतिशत बालबालिका सामुदायिक विद्यालयमा नै अध्ययन गर्ने गर्छन । केही सामुदायिक विद्यालयमा भर्ना गर्न अभिभावकहरुले भनसुन गर्ने गरेका घटनाहरु पनि आइनै रहेका छन् । सामुदायिक विद्यालयमा भर्ना नपाएर निजी विद्यालयमा जाने विद्यार्थीहरु पनि छन् । यहाँ निजी विद्यालयमा छोराछोरी पढाउनु सामाजिक प्रतिष्ठासँग जोडियो गुणस्तरीय सिकाइ भन्दा पनि । त्यसैले अभिभावकहरु सकीनसकी छोराछोरी निजी विद्यालयमा नै पढाउने गरेका छन् । एउटा समाचार नै आएको थियो हात्तिगौंडा बुढानिलकण्ठका विद्यार्थी गुणस्तरीय शिक्षाका लागि भन्दै हात्तिवन र हात्तिवनका विद्यार्थी पनि गुणस्तरीय शिक्षाकै लागि हात्तिगौंडा जाने गरेका छन् । यो सिकाइ भन्दा प्रतिष्ठाको विषय बन्न पुग्यो । नपत्याएको भन्दापनि धनीमानी वर्गमा आफ्ना बच्चाहरु सामुदायिक विद्यालयमा पठाउँदा आफ्नो प्रतिष्ठा नै गुम्छ भन्ने खालको सोचाइ  देखिन्छ । र, अन्य कारण भनेका सामुदायिक विद्यालयमा शिक्षा निःशुल्क हुनु, भौतिक पुर्वाधार कमजोर हुनु, शिक्षकहरुमा पेशा प्रति जवाफदेहिता कम हुनु  र प्रशासनिक व्यवस्थापन कमजोर हुनु हो ।

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ ।  सुधारका लागि के गर्नुपर्ला ?
गलत । शिक्षकको क्षमतामा प्रश्न उठ्ने गरेको होइन । जिम्मेवारीबोध र जवाफदेहितामा प्रश्न उठ्ने गरेका हुन् । राम्रो काम गर्ने शिक्षकलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था नहुँदा यस्तो समस्या आएको हो । शिक्षक लाइसेन्स भएका, शिक्षा नै पढेका र हजारौंबाट प्रतिस्पर्धा गरेर छनोट भएका, विभिन्न तालीम लिएका शिक्षकहरुको क्षमतामा प्रश्न गर्ने ठाउँ नै छैन । शिक्षकहरुमा जे गरेपनि हुन्छ भन्ने भावना विकास भयो । मिहिनेत कम भयो । पढ्ने, खोज्ने बानी हट्यो । सूचनाप्रविधि सिक्ने जाँगर भएन । अब २०३२ सालमा लिएको शिक्षाले अहिलेका विद्यार्थीलाई सिकाउन सकिन्न । शिक्षक तिखारिनै र निखारिनै पर्छ । यसका लागि अनुगमन र दण्ड र सजायको व्यवस्थालाई कडाइ गरिनुपर्छ । शिक्षकलाई पर्याप्त सूचनाप्रविधि र समयसापेक्ष शिक्षण तालीम दिनुपर्छ । शिक्षकमा क्षमता छ त्यो कुरा उनीहरुलाई नै थाहा भएन । क्षमता चिनाइदिनु पर्यो, सुधार अवश्य हुन्छ ।

कसले चिनाइदिने हो त ? शिक्षकहरुको बेला बेलामा क्षमता परिक्षण हुनुपर्यो भन्न खोज्नु भएको हो ?
हो । पढ्ने, लेख्ने र सिक्ने काम विद्यार्थीको मात्रै ठेक्का होइन । हामी सबैले गर्नुपर्छ । शिक्षकले त झनै बढी गर्नुपर्छ । अहिले दिनप्रतिदिन सूचनाप्रविधिमा विकास भइरहेका छन् । नयाँ नयाँ ज्ञानको विस्तार भइसकेका छन् । विज्ञानले अभूतपूर्व चमत्कार गरिरहेको छ । यी विषयमा शिक्षक जानकार रहनै पर्छ । मात्रै कितावको पाठ पढाएर मात्रै अब शिक्षक बन्न सकिन्न । विद्यार्थीका हरेक जिज्ञासा मेटाइदिन सक्नुपर्छ । जिज्ञासा जगाइदिनुपर्छ । एकपटक आयोग उत्तीर्ण गरेपछि सधैँको शिक्षक भइने प्रणालीमा सुधार हुन आवश्यक छ । शिक्षकहरुको पनि बेला बेलामा क्षमता परीक्षण हुनुपर्छ । जसले शिक्षकलाई पनि अपडेट गर्छ,  नयाँ शैक्षिक सिकाइ प्रणालीसँग घुलमिल गर्न सघाउ पुग्छ । शिक्षकलाई आफ्नो क्षमताको स्तरको ज्ञान हुन्छ र सोहि अनुरुप आफुलाई अपडेट गर्नतिर प्रेरित हुन्छन् ।

सरकारले दिने शिक्षक तालीम, पाठ्यक्रम, परीक्षा प्रणाली, मूल्याङ्कनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
केही काम नै नलाग्ने भन्ने होइन केहि हदसम्म सन्तुष्ट नै छु । तर, धेरै सुधार गर्न बाँकी छ । शिक्षक तालीम परम्परागत र काम चलाउ भयो । पाठ्यक्रम पनि समयसापेक्ष हुन सकेन । वर्षभरि सिकेको विषय तीन घण्टाको परीक्षाले मूल्याङ्कन गर्ने विधि पनि सही भएन ।  पाठ्यक्रममा केहि सुधार गरि प्रयोगात्मक शिक्षा प्रणाली अपनाउन तिर लाग्नुपर्छ । परीक्षा प्रणालीमा व्यापक सुधार हुनै पर्छ । शिक्षकहरुले पनि पाठ्यपुस्तक नभइ पाठ्यक्रम सिकाउन थाल्नुपर्छ । सिकेका तालीम कक्षाकोठामा लागु गर्नुपर्छ । शैक्षिक सामग्री निर्माणमा जाँगर चलाउनुपर्छ ।

एउटा विद्यालय राम्रो बनाउनका लागि एकजना प्रअको कस्तो भूमिका रहन्छ ?
खासमा विद्यालय एकजना प्रअको प्रयासले मात्रै सुधारिदैन । तर, प्रअले नचाहेसम्म पनि सुधार आउँदैन । सामुहिक प्रयास मुख्य कुरा हो । तर, प्रअको भुमिका पनि मुख्य नै हुने गर्छ । सुधारको चाहना भएको र बाहानादेखि टाढा रहेको प्रअले नै सुधार गर्छ सबैलाई साथमा लिएर । प्रअ पहिले आफू मोडल बन्नुपर्छ । सुधारिनुपर्छ । अनि अरुलाई सुधार्नुपर्छ । कुनैपनि  विद्यालयको प्रअ बनिसके पछि  विद्यार्थी, अभिभावक र  शिक्षक बिचको सम्बन्ध सुमधुर बनाउन भुमिका खेल्नुपर्छ । योजना बनाउन सक्ने, योजना लागु गर्दै काम गर्न सक्ने, पारदर्शी, इमान्दार, मिलनसार, कर्तव्यनिष्ठ प्रअले सुधार गर्न सक्छ । आफूपनि जिम्मेवार बन्ने, शिक्षकहरुलाई आवश्यक निर्देशन र अधिकार दिने, शैक्षिक आर्थिक र भौतिक स्रोत जुटाउनको लागि विभिन्न संघ–संस्थासँग समन्वयको भुमिका खेल्न सक्ने प्रअले सुधार गर्न सक्छन् जस्तो लाग्छ मलाई ।

यो विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
घरमा भन्दा रमाउँदै, हास्दै, खेल्दै, छलफल गर्दै सूचनाप्रविधियुक्त, जीवनोपयोगी सीप सहितको शिक्षा लिने भए हाम्रो विद्यालयमा स्वागत छ ।  विद्यालयमा बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित शिक्षण सिकाइ, अङ्ग्रेजी, नेपाली दुबै माध्यममा सिकाइको अवसर, हरियाली युक्त शान्त र रमणीय वातावरण, खेलमैदान, अतिरिक्त क्रियणकलाप, अनुभवि र तालिम प्राप्त शिक्षकहरुको व्यवस्था छ । सिकाइस्तर राम्रो छ ।  विद्यार्थीहरुको ईच्छा र चाहाना अनुसार विषयहरु पनि थप गरिएको छ । यी सुविधा, सिकाइ र वातावरणका लागि हाम्रो विद्यालय उपर्युक्त छ ।

तपाईं प्रअ बनेपछि के–के सुधार गर्नुभयो ?
म १२ असोज २०७२ बाट प्रअको जिम्मेवारीमा छु । म प्रअ हुँदा विद्यालयमा एकसय विद्यार्थी थिए । अहिले बढेर चारसय पुगेको छ । विद्यालयमा नेपाली र अङ्ग्रेजी दुबै माध्यमबाट कक्षा सञ्चालन शुरु गरियो । पुराना जीर्ण भवनको स्थानमा सबै पक्की भवन निर्माण गरियो । सुरक्षा गार्डको व्यवस्था गरियो । चन्दा संकलन गरेर आर्थिक रुपमा कमजोर तथा जेहन्दार विद्यार्थीलाई पढाउने व्यवस्था गरियो । शैक्षिक सत्र २०६८ मा सञ्चालित कक्षा ११ र १२ को कक्षा  विविध कारणले बन्द हुन पुगेको अवस्थामा, मेरो कार्यकालमा विभिन्न सम्स्याहरुको बाबजुत  पुनः सञ्चालन गर्न सफल भइयो । विद्यार्थीको चाहना अनुसार ऐच्छिक विषय अन्तर्गत कक्षा १२ सम्म नै कम्प्युटर साइन्सको  पठनपाठन सञ्चालन गरिएको छ । हरेक पाठ पढाउँदा फरक फरक शिक्षण विधि र शिक्षण सामग्रीको  प्रयोग शुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस्