काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईमा सैद्धान्तिक तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए ग्रेडसिटमा ‘नन ग्रेडिङ’ उल्लेख हुने व्यवस्था हटाएको छ । मङ्गलबार बसेको बोर्ड बैठकले एसईईमा ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई अवर्गीकृत ‘नन ग्रेडेड’ गर्ने व्यवस्था यसपटक लागू नगर्ने निर्णय गरेको हो ।

कोभिडका कारण विद्यार्थीले कक्षा ९ र १० मा राम्रो पठनपाठन गर्न नपाएको, पाठ्यक्रम पनि पूरा नभएको भन्दै बोर्डलाई लेटरग्रेडिङ निर्देशिका २०७८ लागू नगर्न दबाब परेको थियो । नतिजा तयारीको क्रममा नतिजा अत्यन्तै खस्कने देखिएपछि अन्तिम समयमा नन ग्रेडिङ सम्बन्धित व्यवस्था हटाइएको हो।

गत २०७८ पुस ७ गते शिक्षा मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका जारी गरेको थियो । सो निर्देशिकामा ९० र सोभन्दा माथि ल्याउनेलाई सर्वाेत्तम (एप्लस), ८० र सोभन्दा माथि ९० भन्दा कम ल्याउनेलाई अत्युत्तम (ए), ७० र सोभन्दा माथि ८० भन्दा कम ल्याउनेलाई उत्कृष्ट (बीप्लस), ६० र सोभन्दा माथि ७० भन्दा कम ल्याउनेलाई उत्तम (बी), ५० र सोभन्दा माथि ६० भन्दा कम ल्याउनेलाई सन्तोषजनक (सीप्लस), ४० र सोभन्दा माथि ५० भन्दा कम ल्याउनेलाई ग्राह्य (सी), ३५ र सोभन्दा माथि ४० भन्दा कम ल्याउनेलाई आधारभूत (डी) र ३५ भन्दा कम ल्याउनेलाई अवर्गीकृत (एनजी) ग्रेड निर्धारण गर्ने व्यवस्था गरिएको थियो ।

पुरानै विधिअनुसार गर्दा अब ई पनि ग्रेड निर्धारण गरिनेछ । पुरानो पद्धतिअनुसार ९० देखि १०० ल्याउनेलाई एप्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बीप्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सीप्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डीप्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेडमा मूल्याङ्कन गर्ने गरिन्थ्यो । २०७८ सालको एसईईको नतिजा पुरानै पद्धतिअनुसार गरिनेछ ।

कक्षा १० मा शैक्षिकसत्र २०८० देखि मात्रै नयाँ पाठ्यक्रम लागू हुँदैछ । एउटै पाठ्यक्रमका आधारमा अध्ययन गरेका विद्यार्थीको दुईथरि मूल्यांकन हुने हुँदा यसपालि पुरानै पद्धतिमा नतिजा सार्वजनिक हुने भएको हो । यो वर्ष बोर्डले नयाँ लेटर ग्रेडिङ पद्धतिअनुसार एसईईलगायत कक्षा (१–१२) को नतिजा सार्वजनिक तयारी गरेको थियो ।

लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैनन । जुन कुनै विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गरेमात्र माथिल्लो कक्षामा भर्ना हुन पाइने व्यवस्था गरेको छ । पुरानो ग्रेडिङ पद्धतिका कारण विद्यार्थीमा स्वत: पास हुने भन्दै नपढ्ने प्रवृत्ति बढेको ठहर गर्दै नयाँ पद्धति लागू गर्ने निर्णय भएको थियो ।

त्यसमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक प्राप्त नगर्ने विद्यार्थीको ग्रेडसिटमा ‘नन ग्रेडिङ (एनजी)’ उल्लेख हुने प्रावधान उल्लेख छ । यस्ता विद्यार्थीले उपल्लो कक्षामा पठनपाठन गर्न पाउने छैनन् भने ३ पटकसम्म ग्रेडवृद्धि परीक्षाको अवसर पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड प्राप्त नगर्ने विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुन: अध्ययन गर्न पाउने व्यवस्था निर्देशिकामा गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार दिउँसो नतिजा प्रकाशन गर्दैछ । दिउँसो १ बजे बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।

प्रतिकृया दिनुहोस्