एसईई परीक्षा आजदेखि सुरू

Avatar photo

Byएजुकेशन पाटी

९ बैशाख २०७९, शुक्रबार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । एसईई परीक्षा वैशाख २० गते सकिने छ ।

शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले निश्चित परीक्षा केन्द्रबाट दुई वर्ष पहिलेको जस्तै परीक्षा दिँदै छन् । देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुँदै छन् ।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गरेको हो । एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार यस वर्षको परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका थिए ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी छन् । परीक्षामा सबैभन्दा कम मनाङका ४३ विद्यार्थी छन् भने सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार परीक्षार्थी छन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि एसईईमा सहभागी रहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । बोर्डले आगामी साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको अध्यक्ष शर्माको भनाइ छ ।

प्रदेशलाई उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकेर पठाउने जिम्मेवारी बोर्डले दिएको छ । प्रदेशले बोर्ड प्रदेश कार्यालयको समन्वयमा काम गर्नेछ । प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्