सिकाइ उपलब्धि र अन्तर सम्बन्धित सवालहरु

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१५ आश्विन २०७७, बिहीबार

शिक्षा र सीप विकासको चुरो पक्ष सिकाइ हो । सिकाइ विनाको पढाइ प्रतिफल विनाको लागनी मात्र हुन्छ । सिकाइका सिद्धान्तहरुको विकास र त्यसको प्रयोगको सिलसिला चल्दै आएकोछ । तर पनि के सिक्ने ? किन सिक्ने ? कसरी सिक्ने ? सिकाइमा को कसरी जिम्मेवार हुने ? सिकाइका वाधाहरु के छन् ? समाधान के त ? भन्ने सन्दर्भमा सिकाइ संस्थाहरु र वैतानिक तथा अवैतानिक जिम्मेवारीमा रहेका व्यक्तिहरुमा बुझाई, क्षमता, उत्तरदायित्व र तत्परताको तहमा समस्या छन् । यि समस्याहरुको पहिचान र समाधानका विकल्पहरुका सन्दर्भमा थोरै भए पनि छलफल गर्ने प्रयत्न यस लेखमा गरिएकोछ ।

सवाल नं. १ ( आम अभिभावकको धारणा )
आफुले दुख गरेर पनि छोरा छोरीको पढाइमा सकेको खर्च गरेका छौं । घरको काममा पनि उनिहरुलाई लगाएका छैनौं । सर मेडमले भने अनुसार कोचिङ, ट्यूसन पढ्न पनि पठाएका छौं । आज भोलि त केटाकेटीले मोवाइल चलाएर हैरान पार्ने भएकाछन् । खै शिक्षकले राम्रोसंग नपढाएर हो वा छोरा छोरीको दिमाग त्यस्तै हो । सोचे जस्तो न बानी छ न पढाइ ……..

सवाल नं. २ ( आम शिक्षकको धारणा )
सकेको पढाएको छु । अभिभावकले छोरा छोरीको पढाइको पुरा जिम्मा शिक्षकको भन्ने सोच्छन् । बच्चाका आनीवानी देखि पढाइ सम्मका सबै कुरामा शिक्षकलाई दोष दिने चलन छ अभिभावकको छ । विद्यालय व्यवस्थापन समिति पनि शिक्षकलाई उत्प्रेरणा भन्दा पनि दवावमा राखेर काम गराउन चाहन्छन् । प्रधानाध्यापकले पनि शैक्षिक र प्रशासनिक नेतृत्व निश्पक्ष र काविल रुपमा निर्वाह गर्न नसक्दा विद्यालयमा उचित कार्य वातावरण बन्न सकेको छैन । यस्तै कारणले होेला विद्यार्थीको सिकाइउपलब्धि सन्तोषजनक छ भन्न सकिने अवस्था छैन ………..

सवाल नं. ३ ( आम प्रधानाध्यापकको धारणा )
नीति अनुसार स्रोतको प्रवन्ध पनि राज्यले गर्न सकेको छैन । अभावको विचबाट विद्यालय सञ्चालन गर्न परेको छ । राजनीतिक सामाजिक परिवेश पनि सहयोगी भन्दा पनि स्वार्थप्रद देखिन्छ । पुराना शिक्षक साथीहरु नयाँ परिवेश अनुसार आफुलाई सक्षम बनाएर जिम्मेवारी पुरा गर्न गाह्रो मान्नुहुन्छ । एकोहोरो प्रधानाध्यापक मात्र लागेर कति नै हुन्छ र ! सोचे जस्तो सिकाइ उपलब्धी हाँसिल हुन नसकेको कुरा साँचो हो ……………

सवाल नं. ४ ( आम नीति निर्माताको धारणा )
नीति छ । संस्था छन् । जनशक्ति छ । राज्यले विभिन्न शिर्षकमा विद्यालयमा (सामुदायिक विद्यालय)स्रोत उपलब्ध गराएको छ । यदी प्रधानाध्यापक र शिक्षकहरु मनै देखि पेशाप्रति जिम्मेवार हुने हो भने यहि स्रोत साधनबाट पनि राम्रो नतिजा दिन सकिन्छ । कतिपय विद्यालयहरुले त्यसको उदाहरण पनि देखाइसकेकाछन् । उपलब्ध गराएको सुविधा र दिएको जिम्मेवारी प्रति संवेदनशिल भएर प्राप्त तालिम र स्वअध्यानबाट प्राप्त हुने ज्ञानलाई विद्यार्थीको सिकाइ उपलब्धी प्रति उत्तरदायी हुने हो भने शिक्षकको तहबाट सिकाइ उपलब्धी वढाउन सकिने ठाउँ प्रसस्त छ ।

सवाल नं. ५ ( आम विद्यार्थीको धारणा )
कुरा बुझाएर पढाउने शिक्षक कम हुनुहुन्छ । प्रविधिको प्रयोग गरेर सिकाउँदा मज्जा लाग्छ । त्यसरी पढाउन सक्ने शिक्षक ज्यादै कम हुनुहुन्छ । प्रयोग गरेर सिक्ने कुरा लगभग गराइदैन । घरमा पनि विषयवस्तुका समस्यालाई सुल्झाउन सहयोग गर्ने अभिभावक हुनुहुन्न । यसो उसो पढाइ चलेकै छ ।

सवाल सार :
विद्यालय शिक्षाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन कुनै न कुनै रुपमा जिम्मेवारीको अंशियारी, साझेदारी, हिस्सेदारी बहन गर्नु पर्ने पक्षहरुको आम धारणाको सार माथी उल्लेख गरियो । लगभग सवै पक्षले दोष÷सुधार गर्नुपर्ने ठाउँ आफुमा होइन अरुमा रहेको मूल्यांकन सार प्रस्तुत गरेको भेटिन्छ ।

अबको वाटो :
जिम्मेवारी पन्छाउने । जस खोसाखोस गर्ने । अपजस झोसाझेस गर्ने सैलीबाट होइन सामुहिक विवेककासाथ समस्याहरुको सहि पहिचान गर्दै समाधानका लागि उपयुक्त विकल्पहरु खोज्नु आजको आवश्यकता हो ।

मौजुदा नीति, योजना, कार्यक्रम, पाठ्यक्रम, परीक्षा, उस्तै शिक्षक प्रवन्ध र समान आर्थिक सामाजिक परिवेशका विचबाट सिकाइ उपलब्धि रहरलाग्दो बनाएका विद्यालयहरु पनि छन् । ति विद्यालयहरु हाम्रो सुधारको मानक हो । उत्प्रेरणाको आधार हो । उर्जा हो । मार्गदर्शन पनि हो ।

त्यसैले गर्न चाहे सकिन्छ भन्ने मानसिक तथा आत्मिक दृढता हाम्रो प्रस्थान विन्दु हुन आवश्यक छ । सिकाइ उपलब्धिमा सुधारका लागि आधार तहबाट समस्याहरुलाई उधिनेर हेरौं ।

नसिके के हुन्छ ? सिके के हुन्छ ?
एउटा सिकारुले किन पढ्ने ? किन सिक्ने ? भन्ने आवश्यकता वोधक हुटहुटी सिकारुमा सृजना गर्नु सिकाइको प्रस्थान विन्दु हो ।नानीबावुको सिकाइको आधार स्थान घर नै हो । विद्यालय नै हो । आवश्यकता सुधारको जननी हो । त्यसैले नानीवावुमा सिकाइ प्रतिको भोक घर र विद्यालयबाट नै जगाउनु पर्दछ । जुन अपेच्छाकृत रुपमा हुन सकेको छैन की !

शिक्षा वा सीप सिकाइबाट सिकारुले आशा गरेको हुन्छ । आशा जगाउनु पनि पर्छ । किन भने शिक्षा भनेको जीवनको लागि लगानी हो । लगानी पछि मान्छेले शिक्षालाई उपभोग गर्ने कार्य गर्दछ । त्यसैले घर र विद्यालयबाट निम्न कुरालाई ख्याल गर्दै सिकारुमा सिकाइ प्रतिको भोक जगाउन आवश्यक छ :

शिक्षा र सिप…..
मानिसकोलागि धन, सम्मान र सुरक्षा प्राप्त गर्ने आधार हो ।
उन्नति र प्रगति, सत्कार, माया र प्रशंसा प्राप्त गर्ने माध्यय हो ।
सबैको प्रिय, इज्जतवाला र आधुनिक हुन सघाउने मार्ग हो ।
जीवनलाई सहजता दिन र हार्दिकता पूर्वक समाज निर्माण गर्न सघाउने मार्गदर्शन हो ।

के हामीले सिकारुमा शिक्षाका माध्यमबाट यि कुराको प्राप्तिको आशा सहि रुपमा जगाउँदै तदनुसारको बानी निर्माण गर्न सकेका छौं त ?
साच्चै सिकारुले कहरले होइन, रहरले नसिक्दा सम्म न अर्थपूर्ण सिकाइ हुन्छ न दिगो हुन्छ । अतः सिकाइका लागि सर्व प्रथम घर र विद्यालयबाट सिकाइ प्रतिको अनुराग जगाउन आवश्यक छ । लत वसाल्न आवश्यक छ । के यो विषयमा हामीले नसोच्दा सम्म अपेक्षित सिकाइ सम्भव होला त ? ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण होला त ?

के सिक्ने ?कसरी सिक्ने ? कसरी सिकाउने ?
शिक्षाले सीप, सूचना र संकारलाई व्यवस्थित तवरमा व्यक्तिमा संस्थागत गर्न सक्नु पर्दछ । नेपाली शिक्षा प्रणालीलाई सहजै रुपमा लगाइने आरोप छ ‘‘ शिक्षाले न सीप दियो न संस्कार, केवल सूचना मात्र दियो जुन परीक्षा केन्द्रित छ, व्यवहारसँगको साइनो नजोड्ने खालको छ” । हामी वाच्ने धरातल, हाम्रा स्रोत–साधन, अवसर र दायित्वको परिधि भित्र नरहने, आँफुलाई संधै गरिब देख्ने अरुलाई सधैँ सम्पन्न देख्ने, अरुको दुख नदेख्न, दुख पछिको सुख मात्र देख्ने, लगभग आफ्नोपन विनाको परजिवी मानसिकताको जनशक्ति उत्पादन गरेको आरोप पनि लाग्ने गरेको छ । यहि आरोप र असन्तुष्टिको आलोकमा सिक्ने र सिकाउने विषय वस्तु, सिक्ने र सिकाउने प्रणालीमा सुधारको काईदाहरु खोज्नु पर्दछ होला ।

राजनीतिक, सामाजिक, धार्मिक, साँस्कृतिक पक्षहरुको सवलता कुन ढंगको छ सोहि रुपका ज्ञानका क्षेत्रहरु तथा विषयको प्रधानता रहने गरी शिक्षा प्रणाली संगठित हुने गरेको देखिन्छ ।

पुँजीवादी शिक्षा भनौ या समाजवादी शिक्षा यी दुवै राजनीतिक सामर्थको प्रधानताका आधारमा संरचित शिक्षा व्यवस्था हुन् । सन्दर्भको प्रधानता र अभ्यास राजनीतिक चेत, दृष्टि र लक्षित गन्तव्यमा भर पर्दछ ।

सारमा भन्दा स्थानीय आवश्यकता, राष्ट्रिय उदेश्य र अन्तराष्ट्रिय मान्यताको कसीबाट विषयवस्तुको छनौट र व्यवहारिक अवलम्बन सहितको सिकाइ आजको आवश्यकता हो । यस्कै परीधी भित्र सिक्ने हो । सिकाउने हो ।

सिकाउने कार्य, सिकारुको व्यवहारलाई अपेक्षित दिशामा परिवर्तन गराउने कार्य सहज र सरल नभएर कठिन कार्य हो । यो विज्ञान मात्र नभएर कला पनि हो ।

सिकाइलाई प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने सावालमा अनवरत अध्ययन, अनुसन्धान र अभ्यास हुँदै आएका छन् । जुन हामी ( सिक्ने र सिकाउन) लाई पनि सिक्ने अवसर हुन् । केही सिकाइका सिद्धान्त तथा अभ्यासहरुको प्रतिनिधिमुलक सारशंं चचा गरौं :

गेस्टाल्टवादी दृष्टिकोणमा सिकाइ हुन व्यक्तिले आफ््नो समस्यामुलक सवै परिस्थितिलाई प्रत्यक्षीकरण गर्छ र आफुमा एक्कसी प्राप्त हुने अन्तरज्ञान द्वारा समस्या समाधान गर्छ । चिन्तनले समस्या वुझ्न सघाउँछ , समस्याको बुझाइ भए पछि अन्तरदृष्टि निमाण गर्न सहयोग पुग्छ । अन्तरदृष्टिले नै मौलीक र परिपक्क सिकाइ हुन सक्दछ ।

ग्याग्ने ९ न्बलनभ० को दृष्टिकोणमा सबैमा एउटै प्रक्रियाबाट सिकाइ हुँदैन । विभिन्न प्रक्रियाबाट हुन्छ । किनकी उनीहरुको लक्ष्य एउटै हुँदैन । ग्याग्नेको ८ प्रकारको सिकाइ सरलदेखि जटिल क्रममा प्रस्तुत गरिएको छ । ग्याग्ने संकेतात्मक सिकाइ देखि समस्या समाधान सिकाइ सम्मका सिकाइ चरण र प्रकार उल्लेख गर्दै सिकाइ प्रक्रियालाई नजिकबाट छाम्ने प्रयास गरेका छन् ।

जिन पियाजेको ज्ञानात्मक सिकाइ सिद्धान्तले मानिसको बोद्धिकता शारीरिक र मानसिक परिपक्कतासंग सम्बन्धित हुने विश्वास राख्दछ । उनका अनुसार सिकाइ Assimilation (जन्मजात ल्याएका र पछि आर्जित ज्ञान, अनुभव, अनुभुतिलाई मिलाउने) and Accommodation ( पुर्व अनुभवहरुसंग मिलेर नयाँ अनुभव निर्माण गर्ने प्रक्रिया ), Adoptation ( नयाँ अनुभवका आधारमा नयाँ वातावरणमा समायोजन हुने ) ढंगबाट हुने गर्दछ ।

वान्डुराले सामाजिक सिकाइ सिद्धान्त मार्फत आत्मीकरणबाट सिकाइ ( प्रदर्शित कार्यहरु, प्रवृति तथा संवेगात्मक प्रतिक्रियाहरुलाई कुनै व्यक्ति व वालकले उतार्न खोज्ने प्रवृत्तिलाई आत्मीकरण भनिन्छ ) हुने धारणा अघि सारे । सिकारुले सिक्न अनुकरण र अवलोकन, अन्तरक्रिया, पुरस्कार र दण्डको उचित प्रयोग, अनुभुती, ध्यान, धारणा, अभ्यास र व्यवहारमा नै निर्भर रहने निचोड राय प्रस्तुत गरेकाछन् ।
भिगोट्स्कीको सामाजिक संरचनावादी सिकाइ सिद्धान्तका अनुसार बालवालिकाको ज्ञान, विचार, अभिवृत्ति र मूल्यहरुको निर्माण अन्य व्यक्तिहरुसंगको अन्तरक्रियाको फलस्वरुप हुन जान्छ । अध्ययनको विषयवस्तु, सिकारु, सामाजिक र साँस्कृतिक पक्षहरु विचको संवाद नै सिकाइ प्रक्रिया हो । सिकाइको कार्य–कारक पक्ष हो ।

अतः जसरी समाजको स्वरुप परिवर्तनसिल छ शिक्षा र शिक्षण सिकाइका विषयवस्तु तथा प्रक्रिया पनि परिवर्तनसिल हुन्छ । हुँदै आएको छ । त्यसैले व्यक्ति, समाज, समयको खाँचोको आलोकमा विषयहरुको छनौट गर्दै परिवार, समाज र विद्यालयलाई सिकाइ संस्था (Learning Organization)का रुपमा विकास गर्नु आजको आवश्यकता हो ।

सिकाइ प्रक्रियामा सिकारु :
दार्शनिक जिम्रोफको भनाइमा मानिसलाई औपचारिक शिक्षाले बाँच्न सिकाउँछ भने स्वआर्जित शिक्षाले भविष्य निर्माण गर्न सहयोग गर्दछ । मानिसले घर परिवार, समाज र स्व जिज्ञासा, लागाव र सक्रियतामा आर्जन गरेको ज्ञान, विवेक र अनुभवले मात्र मान्छे परिस्थितिसंग समायोजित हुन सक्छ । जीवनका उत्तर–चढावहरु थेग्न सक्छ । औपचारिक शिक्षाले सिकाएको सिद्धान्त र धारणालाई प्राण दिन सक्छ । त्यसैले सिकारु स्वयमा सिकाइ प्रक्रियको महत्वपुर्ण पाटो हो । सिकाइको साधन र साध्य दुवै हो । के सिकारुलाई सोही रुपमा उर्जाशिल बनाउन सकिएको छ त ?

सिकाइ प्रक्रियामा परिवार (अभिभावक) :
परिवार साझा विचारको समुह हो । परिवारका सदस्यको व्यवहार भाषिक, धार्मिक, सांस्कृतिक, खानपान, भेषभूषा, चालचलन एवं व्यवहारले निर्धारण गर्दछ । घर परिवारको वातावरणले बालबालिकाको आनिबानी, व्यवहार, अनुशासन, चिन्तनशैलीका साथै चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर यहि कुरा परिवारले विद्यालयबाट मात्रै त खोजेका छैनौं ?

आफ्ना केटाकेटीको समग्र विकास र खासगरी सिकाइमा सहयोग प¥याउनका निम्ति परिवारको तर्फबाट के के गर्न सकिएला भन्ने चासोको मुख्य विषय हो । यस सम्बन्धमा युनेस्कोका निम्ति प्रकाशित पुस्तिकामा रेडिङ भन्छन् : ‘‘ घरमा केटाकेटीसँगको सम्बन्ध तथा उनीहरुसँग गरिने व्यवहार तथा सिकाइ बीच सोझो सम्बन्ध रहेको देखियो । त्यसोभए घर र परिवारले के कस्ता काम गरेर आफ्ना बच्चाको सिकाइमा योगदान गर्न सक्दछन् त ? रेडिङ अगाडि भन्छन्, ‘‘ परिवारले गर्न सक्ने कुरा धेरै छन्, कति कुरा गर्न पढे लेखेका अभिभावक हुनुपर्छ, कति कुरा गर्न समान्य साक्षर अभिभावकले पनि सजिलै सक्छन् । त्यसकारण पारिवारिक पृष्ठभूमि गतिलो हुनुपर्छ भन्दैमा उच्चघराना वा पढेलेखेका बाबुआमाले मात्र बालबालिकाको सिकाइमा सहयोग गर्न सक्छन् भन्ने होइन, सबैले सहयोग गर्न सक्दछन् । कसरी सहयोग गर्ने भन्ने सामान्य जानकारी भए सिकाइमा सहयोग पु¥याउन कठिन छैन ।

श्रवणकुमारको कथा सुनाएर बुबाआमा प्रतिको छोराछोरीको दायित्वबोध गराउने आचरणको विकास गर्न अग्रज पुस्ताले नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेको छैन । नयाँ पुस्तामा मौखिक एवं मौलिक ज्ञान आर्जनप्रति रुचि देखिंदैन । रुचि जागृत गराउने काम अग्रजको हो । आाचार्य देवो भवः अतिथि देवो भवः पितृ देवो भवः भन्ने जस्ता समाजका आदर्शहरु नयाँ पिढीमा पुस्तान्तरण भएको छ त ?समाजले सोच्ने बेला आएको छ ।

प्रविधि र सिकाइः अभ्यास, अवसर र विकृति
विज्ञान, प्रविधि, यातायात, सञ्चार र इन्टरनेटको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइदिएको छ । अहिलेको नयाँ पुस्ता इन्टरनेट, फेसबुक जस्ता सामाजिक सञ्जालको मोहमा मस्त छ । अहिले घर परिवारमा सदस्यका बीचमा दुःख सुःख, छलफल वा आपसी कुराकानी कम हुँदै गएको अवस्था छ । समाजमा पारिवारिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक एवं मानवीय पक्षहरु कमजोर हुँदै गएकाछन् । घरका सदस्य आआफ्नो तालमा कम्प्युटर, ल्यापटप वा मोबाइलमा व्यस्त हुने भएकाले पारिवारिक अन्तरक्रियामा कमी आएको छ । मौखिक र मौलिक संस्कृति सिक्ने र सिकाउने काम हुन सकेको छैन ।

विज्ञान र प्रविधिको उपलब्धि इन्टरनेट भित्रको सञ्जाललाई सदुपयोग गर्न सकेमा यो ज्ञानको खानी हो । अपार अवसर हो । सामाजिक चेतनाको संवाहक हो । जुन कुरा कोभिड–१९ का कारण परम्परागत सिकाइ प्रक्रियामा आएको विच्छेदका समयमा शैक्षिक क्षति न्यूनिकरण गर्न प्रधान माध्यम रुपमा प्रविधिले खेलेको भुमिकाबाट थप पुष्टि भएकोछ । परन्तु यसको दुरुपयोग हुन गएमा यसले निम्त्याउने परिणाम विकराल हुन सक्दछ । हामीले आधुनिकताको नाममा कतै समाजलाई सामाजिक, आध्यात्मिक, ऐतिहासिक ज्ञान एवं आफनोपनबाट विमुख त बनाउँदै छैनौं ?त्यसैले प्रविधिको अवसरलाई उपयोग गर्दा यसले निम्त्याउने चुनौतीको बारेमा पनि सजग हुँदै समग्र पक्षको सिकाइमा प्रविधिलाई हितकर रुपमा आत्मसाथ गर्नु आजको सिकाइ पद्धतिको प्रधान अवसर र चुनैती दुवै हो ।

विद्यालय र शिक्षक : क्षमता, उत्तरदायित्व र लगाव
राज्यले चिन्ने, अन्तराष्ट्रले पत्याउने, अभिभावकले आशा राख्ने, सिकारुले विश्वास गर्ने थलो हो विद्यालय । त्यसैले होला सिकाइको अब्बलता र दुर्वलतामा विद्यालय प्रशंसित वा आलोचित हुने गर्छ । विद्यालयको गरिमा त्यहा पढ्ने विद्यार्थीको सफलतामा मात्र निर्भर हुन्छ । त्यसैले विद्यार्थीको सिकाइ स्तर नै विद्यालयको धर्म हो । कर्म हो । लक्ष्य हो । गन्तव्य हो ।

शिक्षक (गुरु) विद्यार्थीका लागि सारथि हो । सुचना, सीप र संस्कारको प्रमुख प्रशारक हो । त्यसैले शिक्षकमा क्षमता, उत्तरदायित्व र लगावको प्रधानता आवश्यक छ । शिक्षकहरुलाई राम्रा वा कमजोर दुवै विद्यार्थीलाई मेरा विद्यार्थी भन्ने अवसर र जिम्मेवारी दुवै छ । त्यसैले समय, समाज र सिकारुको अपेच्छालाई राजमार्ग ठानेर क्षमताको विकास, विद्यार्थीको सिकाइ प्रति उत्तरदायि र पेशा प्रति स्वनिर्देशित लागाव शिक्षकको प्रमुख धर्म, शर्म(लाज) र कर्म हुन आवश्यक छ ।

नेतृत्व र शासन : दिशा, विधि र नीति
शिक्षामा स्वदेशीपनको आत्मानुभुति गराउन भारतका महात्मा गान्धी, चीनका माओत्सेतुङ, मिश्रका अब्दुल नासिर, युगोस्लोभियाका मार्सल टिटो र तान्जनियाका जुलियस नेरेरबाट धेरै सिक्न सकिन्छ । हाम्रो देशको सन्दर्भमा शिक्षालाई समय सापेक्ष रुपान्तरण गर्न सक्ने राज्य प्रमुख वा शिक्षाविद्को इतिहाँस आज सम्म रचिएको छैन ।

शिक्षा क्षेत्रको रुपान्तरणका लागि जटिल सिद्धान्तका पछि लाग्यौैं की ? विदेशीको बुद्धीबाट होइन स्वदेशीको अनुभवबाट खोजेनौं की ? हाम्रा सामाजिक तथा राष्ट्रिय समस्याको परीधिबाट समाधान खोजेनौं की ? टालटुले र पपुलिष्ट नारा देखायौं । सुनायौं । यथार्थपरक र प्रयोजनवादी दृष्टिकोणबाट हेरेनौं । सोचेनौं । कर्ममा उतार गरेनौं ।

अन्त्यमा,
हाम्रो समस्या प्रतिवद्धतामा होइन । हामी संविधान, कानून, नीति, योजना, कार्यक्रम, सन्धि सम्झौता आदि मार्फत अधिकांश विषयमा प्रतिवद्ध छौं । तर हाम्रो व्यवहारमा विचलन छ । प्रतिवद्धतालाई व्यवहारमा साबित गर्न चुकेका छौं । सीप र सीकाईको स्तरलाई आवश्यकता र अपेच्छाको स्तरमा पुर्याउन सुधारको बहुआयामिक कोणबाट हेरी नीति, संरचना, कार्यक्रम, विधी, साधन, क्षमता र लगावलाई परिष्कृत अभ्यास गर्दै सबै सरोकारवालाबाट प्रतिवद्धता र जिम्मेवारीलाई व्यवहारमा रुपान्तरण गर्न आवश्यक देखिन्छ ।

हामीले नारा दियौं । कार्यान्वयन योग्य नीति दियनौं की ! अपजसहरु पन्छायौं । कमजोरीबाट सिकेनौं की ! हामीले थोरै सिकाएर धेरै अपेच्छा गरेका छौं की ! सिकाइका लागि होइन परीक्षाका लागि पढ्ने पढाउने गरेका छौं की ! पाठ्यक्रका उद्धेश्य प्राप्त गर्न होइन, मेलो सक्ने ढंगको शिक्षणमा हामी छौं की ! सिकारुको सिकाइ वाधाहरु ख्याल गर्न सकेका छैनौं की ! सबै भन्दा बढी हाम्रो क्षमता, उत्तरदायित्व र पेशाप्रतिको लगाव निम्छरो छ की !

सोचौँ र सुधारमा लागौं । यहि नै हाम्रो कर्म, मर्म र धर्म हो । पहिचान हो । सन्तुष्टि हो ।

पाण्डे कावासोती नगरपालिका शाखा अधिकृत (आठौं तह) हुन् ।

प्रतिकृया दिनुहोस्