तस्बिरः सेभ द चिल्ड्रेन

काठमाडौं ।  कोभिड–१९ को अवधिमा ८६ प्रतिशत बालबालिका शिक्षकको कुनै पनि सञ्चारसँग सम्पर्कमा नरहेको तथ्य पाइएको छ ।

सेभ द चिल्ड्रेनले हालै गरेको एक सर्वेक्षण अध्ययनले यस्तो तथ्य देखाएको हो । कर्णाली प्रदेश र प्रदेश २ का ४१० जना व्यक्तिहरुसित गत २७ अप्रिल २०२० सम्म प्रश्न सोधी गरिएको सर्वेक्षणमा यस्तो तथ्य पाइएको हो । ‘कर्णाली प्रदेश र प्रदेश २ का बालबालिकामा कोभिड–१९ को असरमाथि गरिएको द्रुत सर्वेक्षण’ नामक सो अध्ययनमा भनिएको छ, ‘बालबालिकाको सिकाइ सहयोगमा शिक्षक र अभिभावकबीच ठूलो ग्याप देखिएको छ ।’

‘८६ प्रतिशत शिक्षक सिकाइ प्रक्रियाको कनेक्सनमा नदेखिनु गम्भीर अवस्था हो,’ सेभ द चिल्ड्रेनकी शिक्षा विशेषज्ञ डा. लक्ष्मी पौड्यालले भनिन्, ‘यो तथ्यका आधारमा शिक्षकलाई नै सक्रिय हुनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।’

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार यही असार १ गतेबाट विभिन्न माध्यममार्फत् पठनपाठन शुरु भइसकेको छ । तर, बालबालिकालाई रेडियो, टेलिभिजन प्रसारण भइरहेका बेला तालिका अनुसार पढाइमा संलग्न गराउन र अनलाइन तथा अफलाइनको नजिक बसाउन शिक्षक एवं अभिभावककै भूमिका हुनुपर्ने देखिन्छ ।

अध्ययन अनुसार शिक्षक निष्क्रिय रहने हो भने कुनैपनि माध्यमबाट थालिएको अहिलेको वैकल्पिक सिकाइ व्यर्थ रहने शिक्षाकर्मीहरु बताउँछन् । सिकाइ प्रक्रियामा यसलाई चुनौतीपूर्ण मानिएको छ । त्यसो त, ६५ प्रतिशत अभिभावक बालबालिकासित रहनुलाई भने सुखद पक्ष मानिएको छ । ७६ प्रतिशत बालबालिका लकडाउनको अवधिमा पनि पढाइ र खेलमा संलग्न रहेको अध्ययनमा उल्लेख छ ।

अध्ययनमा रेडियोलाई सबैभन्दा पहुँच भएको माध्यमका रुपमा पाइएको छ । उत्तरदाताहरुले कोभिड–१९ बारे जानकारी रेडियोबाट ८०, टेलिभिजन ३८, सामाजिक सञ्जाल/इन्टरनेट २३, मोवाइल ३, परिवारबाट ३ र समुदायमार्फत् ७ प्रतिशत थाहा पाएको अध्ययनले देखाएको छ ।

प्रतिकृया दिनुहोस्