काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षक पनि अब छिट्टै अनलाइन कक्षामा सहभागी हुने भएका छन् । विद्यार्थीको खोजी तथा शिक्षकको क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिएपछि संस्कृतका विद्यार्थीले समेत अब अनलाइनबाट अध्ययनमा निरन्तरता दिने भएका हुन् ।

संस्कृत विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीले भौतिक रूपमा अझै केही महिना कक्षा सञ्चालन हुन नसक्ने स्थिति सिर्जना भएपछि आफूहरू पनि विद्यार्थीलाई अनलाइनबाट पढाउने तयारीमा जुटेको जानकारी दिनुभयो ।

गुरुलाई तालिम
यसका लागि विश्वविद्यालयले आइतबारदेखि शिक्षकको अनलाइन तालिम कार्यक्रम सञ्चालन सुरु गरेको छ । विश्वविद्यालयमा अध्यापनरत सात सयभन्दा बढी शिक्षकलाई त्यसमा सहभागी गराउने योजना रहेको जनाइएको छ । तालिम एक साताभित्र सक्ने योजना छ । विश्वविद्यालयका धेरै शिक्षक पुरानो परिपाटीका भएका कारण अनलाइन कक्षा सञ्चालन गर्नुअघि तालिम दिनुपर्ने आवश्यकता महसुस गरिएको जानकारी विश्वविद्यालयका पदाधिकारीले दिएका छन् । ज्योेतिष तथा संस्कृतका पुराना गुरुलाई अनलाइन कक्षामा सहभागी गराउनु चुनौतीपूर्ण मानिएको छ । सबै क्याम्पसका विद्यार्थी अनलाइनमा आबद्ध गराउने योजना बनाइएको छ । विश्वविद्यालय मातहतका १५ वटा आङ्गिक क्याम्पस छन् ।

विश्वविद्यालयका शास्त्री (स्नातक) तहमा एकवटा, आचार्य (स्नातकोत्तर) तहमा दुईवटा कक्षा अनलाइन मार्फत सञ्चालन गरिनेछ । यसका साथै विश्वविद्यालयमा सञ्चालित चिकित्सा शास्त्र तर्फको बीएएमएस (स्नातक तह) तीन वर्षे कविराज आयुर्वेद विषयका विद्यार्थी पनि अनलाइनमा जोडिने जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयका सहप्राध्यापक धनेश्वर नेपालले विद्यार्थीको पठनपाठन हुन नसकेको अहिलको अवस्थामा अनलाइन मार्फत कक्षा सञ्चालन गर्न पहल भइरहेको बताउनुभयो ।

नेपाल विश्वविद्यालयका मुख्य पदाधिकारी नहुँदा अनलाइन कक्षा सञ्चालनमा विलम्ब भएको जनाइएको छ । कुलसचिव अधिकारीले शिक्षक तथा विद्यार्थीका लागि आचारसंहिता, अनलाइन निर्देशिका लगायतका कार्य उपकुलपति लगायतका पदाधिकारी नहुँदा अस्थायी पाराले सञ्चालन गर्न लागिएको बताउनुभयो । विश्वविद्यालयमा गत भदौदेखि नै उपकुलपति लगायतका पदाधिकारीको पद रिक्त छ ।

अघि बढ्दै वाल्मीकि
विश्वविद्यालय मातहतका वाल्मीकि विद्यापीठले भने आफ्नै पहलमा विद्यार्थीलाई अनलाइन कक्षामा जोड्न थालेको छ । विद्यापीठका क्याम्पस प्रमुख डा। गणेशप्रसाद घिमिरेले क्याम्पसले आफ्नै पहलमा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई अनलाइनबाट कक्षा लिन सुरु गरेको जानकारी दिनुभयो । फलित ज्योतिष, अङ्ग्रेजी, धर्मशास्त्र, इतिहास, पुराण, सिद्धान्त ज्योतिष लगायतका विद्यार्थी अनलाइनमा जोडिने क्रम चलिरहेको र आफूहरूले त्यसमा पहल गरेको उहाँको भनाइ छ ।

विद्यापीठमा स्टुडियो
यसैबीच संस्कृत विश्वविद्यालय मातहतका सबै क्याम्पसमा प्रविधि जडित आधुनिक स्टुडियो बनाइने भएको छ । शिक्षकले अध्यापन गरेका कतिपय कक्षा रेकर्ड गर्नुुपर्ने भएकाले स्टुडियो बनाउनुपर्ने आवश्यकता महसुस गरिएको विश्वविद्यालयका कुलसचिव अधिकारीले जानकारी दिनुुभयो ।

शेषकान्त पण्डितले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्