हुम्लाको एक गाउँपालिकाका दुईवटा विद्यालयहरुमा बन्दाबन्दीका बेला पनि पठन–पाठन बन्द भएको छैन । हिउँदमा पनि पढाइ हुने नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीको हल्जी र जाङ गाउँका ती विद्यालयहरु अहिले पनि सञ्चालन भइरहेका छन् ।

स्थानीय बासिन्दाले गाउँमा कसैलाई आउजाउ गर्न नदिएर विद्यालय सञ्चालन गरेका हुन् ।

एक गैरसरकारी संस्थाको सेवा सुविधाबाट विद्यालयमा पठन–पाठन गर्दै आएका शिक्षक छिरिङ मेन्डाक तामाङले कक्षा पाँचसम्म पढाइ हुने हल्जी गाउँको सुनखानी प्राथमिक विद्यालयमा गत फागुनबाटै कक्षा सञ्चालन भइरहेको बताए ।

यतिबेला विद्यालयमा पढाइ निकै जोडतोडका साथ चलि रहेका छन् । विद्यालयमा विषयवस्तुको साथै तिब्बतीय भाषा र ज्ञानका कुराहरु पनि पढाइ हुने गरेको छ । सो विद्यालयमा हाल पैतालीस जना विद्यार्थीहरुले नियमित पठन–पाठनमा सहभागिता जनाउदै आएका छन् । बन्दाबन्दीमा विद्यालय बन्द छन् भन्ने जानकारी पनि शिक्षक तथा विद्यार्थीलाई छैन ।

लिमी कै अर्को गाउँ जाङ्गको भृकुटी प्राविमा पनि पठन–पाठन जारी रहेको छ । तर सरकारी दरबन्दीका शिक्षकहरु विद्यालयमा पुगेका छैनन् ।

सुनखानी प्राविका प्रधानाध्यापक कर्णजित शाहीले लिमीमा बैशाख अन्तिम हप्ता अगाडि जान सकिने सम्भावना नभएको बताए ।

अहिले त झन बन्दाबन्दीका बेला ती शिक्षक जान सक्ने अवस्था छ्रैन । लिमी जाने दुई वटा नाका नारा र न्यालु हिउँदको हिउपातले बन्द हुँदा शिक्षक जान सक्ने अवस्था नरहेको हो ।

प्रअ बुढाले गाउँमै रहेका स्थानीय शिक्षकहरुले पठन–पाठन संञ्चालन गरि रहेको बताए । यी विद्यालयहरुमा अभिभावकको सहयोगमा बिहानको खाना र दिउँसोको नाम्खा विद्यालयमै ब्यबस्था गरिएको छ । गाउँलेले पालो हालेर बिधार्थी तथा शिक्षकहरुलाई खाना तथा खाजा पकाएर खुवाउने ब्यवस्था गरिएको छ ।

नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले प्राथमिक तहमा पढाइ हुने सुनखानी र भृकुटी प्राथमिक विद्यालय अहिलेको बन्दाबन्दीका बेला पनि सुचारु भइ रहेको बताए ।

उनका अनुसार लिमी उपत्यकाको भित्री क्षेत्रमा बन्दाबन्दीको कुनै प्रभाब नहुनु र त्यहाँ अन्यत्रका मानिसहरु कोही पनि आउन नपाउने गाउँले नियमले गर्दा पठन–पाठन भइ रहेको हो ।

गत चैत ११ गते देशभर बन्दाबन्दी भएको खबर त लिमीका बासिन्दाले पाँच दिनपछि काठमाडौंमा रहेका आफन्तबाट थाहा पाएका थिए ।

एकातिर जो कोही सहजै लिमीमा प्रवेश गर्न कठिन छ । त्यसमाथि लिमीमा बन्दाबन्दीको जानकारी भएपछि नाकामा गाउँले मिलेर पहरा दिन थालेपछि कोही आउन पाउने सम्भावना छैन ।

तर हालसम्म बन्दाबन्दी चली रहेकोले लिमीका विद्यालय सञ्चालनमा आएको जिल्लाका सरोकारवाला निकायहरुलाई जानकारी छैन ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बिष्णु बहादुर शाहीले विद्यालय सुचारु भएको कुनै जानकारी नआएको बताए । लिमी सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने गर्छ ।

२०७७ बैशाख २३ गते २१:४७मा प्रकाशित

प्रतिकृया दिनुहोस्