रामप्रसाद सुवेदी

मणिमाथि रहेको अर्थात मणिलाई पुरेर रहेको भारतको पूर्वाेत्तर राज्य मणिपुर हो । यसको पूर्वमा बर्मा(म्यानमार), पश्चिममा आसाम, उत्तरमा नागालैण्ड र दक्षिणमा मिजोरम राज्य पर्दछन् । भारत स्वतन्त्र हुनुभन्दा अगाडि मणिपुर एउटा छुट्टै स्वतन्त्र राज्य थियो । त्यहाँका तत्कालिन राजाले नेपाली चेलीसँंग विवाह गरेकाले त्यहाँ बस्ने नेपालीहरुले केही सम्मान पाएका थिए । भारत स्वतन्त्र भएपछि सन् १९७२ मा मणिपुर राज्यको स्थापना भएको थियो । द्वितीय विश्वयुद्दमा मणिपुर राज्यको राजधानी इम्फाल नजिकै रहेका सहर काङ्लातुङ्मीसम्म बर्मातिरबाट जापानी सेनाले कब्जा गर्दै आएका थिए हिरोसिमा र नागासाकीमा अमेरिकाले बम खसालेर जापानले आत्मसमर्पण गरेपछि जापानका सेनाहरु त्यहाँबाट फिर्ता भएका थिए ।

मणिपुरे महिला र पेशा

भौगोलिक अवस्थिति :
मणिपुर भारतको क्षेत्रफलको हिसाबले २४ आँै राज्यमा पर्दछ । यसको क्षेत्रफल २२३२७ बर्गकिलोमिटर रहेको छ । १६ वटा जिल्लाहरु मिलेर बनेकोे यो राज्य वरिपरिबाट सातवटा पहाडले घेरिएर रहेको सुन्दर उपत्यकाको रुपमा रहेको छ । यहाँ २९ वटा भाषाहरु बोलिन्छन् । मणिपुरकोे प्रमुख खेल पोलो हो र विश्वमा पोलो खेलको सुरुआत मणिपरबाटै भएको मानिन्छ । मणिपुरको राजधानी इम्फालदेखि बर्मा जम्मा ९० किलोमिटर दुरीमात्र पर्दछ । मणिपुरका धेरै भूभागहरु पहाडी भौगोलिक बनावटले घेरिएका छन् । यहाँका इम्फालबाहेक नेपालीहरु बसोबास गर्ने इलाकाहरु काङ्लातुङ्मी, कालापहाड, सेनापति, इराङ्, कानकोपी, उख्रोल लगायत पहाडी इलाका हुन् र यहाँ बस्ने नेपालीहरुले अपनाउने पेशा मुख्यतया खेतीपाती र पशुपालन नै हो । मणिपुरमा बढी मात्रामा मणिपुरे भाषा बोलिन्छ । यहाँ बढी मणिपुरे, नाङ्गा र कोकी जातिहरु छन् । नागालैण्डबाट गएका नागा र बर्माबाट आएका कोकी दुवैले आफू आदिबासी भएको दावी गरेर स्वतन्त्रताको आन्दोलन् गरेका छन् र उक्त आन्दोलनको चेपुवामा नेपालीहरु परिरहेका छन् ।

महाभारतकालिन मणिपुर :
मणिपुर पौराणिकरुपले पनि एउटा महत्वपूर्ण राज्य हो र श्रीकृष्ण रासलीलामा आधारित नृत्य यहाँको एउटा महत्वपूर्ण साँंस्कृतिक पहिचान हो । द्वापरयुगमा पाण्डवहरुले अंशका रुपमा पाएको खाण्डप्रस्थ निर्माण गर्दा धेरै नागहरुको हत्या भयो बचेखुचेका वासुकी नागहरु नागलोकमा गएर बसे उक्त नागलोक मणिपुरको ठिक तल पर्दथ्यो । नागको मणिमाथि रहेकाले पौराणिक रुपमा यसको नाम मणिपुर रहेको ऐतिहासिक कहानी रहेको छ । महाभारत युद्दपूर्व छिमेकी राज्यहरुसँंग सम्बन्ध स्थापित गर्नका लागि जांँदा अर्जुनको त्यहाँका राजा चित्रवनकी छोरी चित्राङ्गदासँंग प्रेम विवाह भएको थियो । उनीहरुको बब्रुवहान नामको प्रतापी छोरो जन्मिएको थियो ।

बब्रुवहानले एकपटक युद्दमा अर्जुन र भीमलाई समेत पराजित गरेको थियो । लडाइँमा अर्जुनको मृत्यु भएपछि श्रीकृष्णको सल्लाहमा नागलोकबाट ल्याएको नागमणिबाट उनलाई बचाइएको थियो । चित्रवहानको सन्तानका नाममा एउटी छोरी चित्रङ्गदामात्र रहेकी र त्यहाँको परम्पराअनुसार कि ज्वाई घरज्वाइका रुपमा त्यहीँ बस्नुपर्ने अन्यथा श्रीमतीसहित छोराछारीलाई त्यहीँ छोड्नुपर्ने परम्पराअनुसार अर्जुनले चित्रङ्गदा र छोरो बब्रुवहानलाई छोडेर मणिपुरको ठिक तल रहेको नागलोकमा पुगेका थिए । नागलोकमा उनको त्यहाँ बासुकी महाराजकी पुत्री उलुपीसँंग पनि प्रेम विवाह भयो । उलुपीतिर पनि अर्जुनको इरावत नामको प्रतापी छोरो जन्मेको थियो । इरावतले महाभारतको युद्दमा शकुनीका भाइहरुलाई मारेको थियो । यसरी यो मणिपुरराज्य पौराणिककालिन इतिहासका दृष्टिकोणले एउटा ऐतिहासिक राज्यका रुपमा रहेको छ ।

नेपालीको अवस्थाः
मणिपुर भारतको पूर्वाेत्तर राज्य हो । यहाँ नेपालको पूर्वीभाग झापा, इलाम र सिक्किम, दार्जलिङ्ग र केही मात्रामा पश्चिम् पर्वत बिरौबारीलगायत अरु जिल्लाबाट गएका नेपालीहरु रोजगार तथा व्यवसायका रुपमा बसोबास गर्दथे र अहिले पनि केहीमात्रामा रहेका छन् । जो जहाँ जसरी बसेका भएपनि उनीहरुको अवस्था अत्यन्त दयनीय रहेको छ । नेपालीहरु प्रथम विश्वयुद्ददेखि पहिल्यैबाट बसोबास गरेका भएपनि कसैको नागरिकता छैन । नेपालीलाई त्यहाँका नागा, कोकी र मणिपुरेहरुले चुनावका लागिमात्र प्रयोग गर्दछन् । नेपालीहरुसंँग चुनावमा भोट दिने अधिकारबाहेक अरु केही हुँदैन । यो पनि त्यहाँका आदिबासी भनाउँदाहरुले लिएको उपयोगको नीति हो । यहाँबाहेक भारतका आसाम, नागालैण्ड, गौहाटी, वर्मा, थाइलैण्ड, फिजी लगायतका देशहरुका नेपालीको हालत जस्तो छ मणिपुरे नेपालीको पनि त्यही नै रहेको छ । द्वितीय विश्वयुद्दमा जापानी सेनाले ग्रामीण भेग र जङ्गलमा पशुपालन गरेर बसोबास गर्ने नेपालीहरुलाई धेरै नै दुःख दिएका थिए । त्यतिवेला अङ्ग्रेज र जापानीज सेनाको दोहोरो मारमा नेपालीहरु परेका थिए ।

मणिपुरे चाडको नृत्य

अहिले पनि स्वतन्त्र राज्यका लागि लडिरहेका आदिबासीको मारमा पनि नेपालीहरु परिरहेका छन् । उनीहरुलाई सेल्टर दिने लगायत खानाको व्यवस्था, आर्थिक सहयोग नेपालीको बाध्यता रहेको छ । केही मात्रामा आर्जेको घरजग्गामा पनि उनीहरुको अधिकार हँुदैन । हिँड्ने वेलामा त्यसै छोडेर हिँड्नु पर्दछ । पशुधनहरु बेच्ने वेलामा नागा र कोकीलाई बेच्नु परेमा जे मूल्य त्यहाँका नागा र कोकीले गर्दछन् त्यही स्वीकार्नु पर्दछ । नेपालीका छाडापशुहरु नागाका खेतीमा पसेमा उनीहरुले तोकेको अर्मल तिर्नु पर्दछ । त्यहाँ नेपाली र अङ्ग्रेजी भाषा बोल्न पूर्णतया बर्जित रहेको छ । मणिपुरे वा हिन्दीभाषा बोल्नु पर्दछ । कुनैवेला नेपाली चलचित्र ‘परालको आगो’ इम्फालको चलचित्र हलमा प्रदर्शन गर्दा हल नै तोडफोड भएको थियो ।

भारतको एउटा राज्यबाट अर्कामा जाँदा पासपोर्ट सिस्टम भएकाले गुहाटी, नागालैण्ड हुँदै मणिपुर जाने क्रममा थुनछेक गरी प्रसस्तमात्रामा दुःख दिने र ठगी गर्ने गर्दछन् । यो टिप्पणीकार वि.सं.२०४१ सालमा मणिपुर जाँदा सिलीगुडीको बागडोेर हुँदै जहाजबाट मणिपुरको इम्फाल जानुपरेको थियो । अझै त्यहाँ करिव १५÷२० हजारको सङ्ख्यामा रहेका नेपालीहरु अत्यन्तै दयनीय अवस्थामा रहेका छन् त्यहाँ जो छन् नेपालमा आउने पैत्रिक सम्पत्ति र आधार नभएकाहरुमात्र छन् । मणिपुरमा नेपालीहरुले न्याय पाउने अवस्था कत्ति पनि छैन । त्यहाँका ग्रामीण भेगमा वसोवास गर्ने नेपालीहरु भएका ठाउँमा प्रहरी चौकी लगायत सुरक्षाको व्यवस्था नभएको र कुनै नेपाली अन्यायमा परेमा भाग्यलाई दोष दिएर बस्नु बाहेक अरु केही रहँदैन । अलि अलि आर्जन गरेका नेपालीका घरमा चोरी, लुटपाट र डकैतीले सताइरहेको हुन्छ ।

नेपाली र शिक्षाः
साक्षरताका दृष्टिले मणिपुर १६औँ राज्यमा पर्दछ । यहाँको साक्षरताको प्रतिशत ७९।८५% रहेपनि मणिपुरमा नेपालीहरुको शैक्षिक दृष्टिकोणले अत्यन्तै दयनीय अवस्था रहेको छ । यसको राजधानी इम्फालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कुनै पनि क्याम्पस र विश्वविद्यालय छैनन् । ग्रामीण भेगमा रहेका केही स्कूलहरु पनि मणिपुरे भाषामा सञ्चालित छन् ती पनि अत्यन्तै काम चलाउ अवस्थामा रहेका छन् । केही ग्रामीण इलाकामा बस्ने नेपालीले आफ्नो पहलमा केही आर्थिक सहयोग र लगानीमा नेपाली विद्यार्थीका लागि सामान्य अक्षर चिनाउने प्रयोजनले सामूदायिक पाठशाला खोलिएका छन् । आर्थिक रुपमा सम्पन्न रहेका नेपालीले इम्फाल, सेनापति, काङ्लातुङ्मी लगायत भारतका अन्य सहरहरुमा लगेर पढाउने व्यवस्था गरेपनि अधिकांश नेपालीहरु जो मणिपुरमा रहेका छन्, उनीहरुले शिक्षालाई भविष्य निर्माणको आधारका रुपमा मानेको पाइँदैन । शिक्षाबाहेक पशुपालन र खेतीपाती नै तिनीहरुले अँगाल्ने पेशा हो । अहिले केही मात्रामा अधिक नेपालीहरु वसोवास गरेका ठाउँमा कक्षा ८ देखि नेपाली भाषालाई नेपालीहरुको पहलमा ऐच्छिक विषयको रुपमा स्वीकार गरेको भएपनि यो राज्यका नेपालीले शैक्षिक दृष्टिकोणले प्रगति गरेको पाइँदैन ।

स्वतन्त्रताको आन्दोलन्को मारमा नेपाली :
अहिले मणिपुरमा भारतीय जनता पार्टीको संयुक्त सरकार रहेको छ । काङ्ग्रेस् परित्याग गरेर आएका एन विरेन्द्र सिंह त्यहाँका मुख्यमन्त्री रहेका छन् । ६० सिटको विधान सभामा २८ सिट जितेको ठूलो पार्टी काङ्ग्रेस बाहिर रहेर २१ सिट जितेको भाजपा सरकारमा रहेको छ । यहाँ लोक सभाको २ सिट र राज्य सभाको १ सिट छ र अहिले यहाँको सरकार अस्थिर छ र दलबदल र पार्टी परित्याग यहाँको एउटा रमाइलो संस्कार नै हो । मणिपुरमा रहेका नेपालीहरु धेरैजसो पलायन् भै सके । भारत स्वतन्त्र हुनुभन्दा अगाडि त्यहाँका राजाले दिएको सम्मानका स्वरुप नेपालीहरुमा एउटा स्वाभिमान थियो जसले गर्दा मणिपुरमा नेपालीको एक किसिमको अपनत्व थियो, घर जग्गामा केही लगानी गरेर नेपालीहरु बसोबास गरेका थिए । भारत अङ्ग्रेजबाट स्वतन्त्र भएपछि त्यहाँका नेपालीको स्वाभिमानमा ठेस लाग्न थाल्यो ।

नागालैण्डबाट गएका नागा, बर्माबाट आएका कोकीहरुले आआफ्नो राज्यको दावी गरेर आन्दोलन् चलाए भने त्यहाँका आदिबासी मणिपुरेले नागा, कोकी र नेपालीलाई खेद्ने अभियान चलाए, त्यसको मारमा नेपाली परे जसले गर्दा नेपालीहरुले आफूसँग भएको जायजेथा सबै छोडेर मुख र मुठीका भरमा त्यहाँबाट पलायन भए । बचेखुचेका नेपाली जसको नेपालमा बस्ने कुनै आधार छैन उनीहरु पिल्सिएर बसेका छन् । एकातिर स्वतन्त्रताका लागि भूमिगत आन्दोलन् गर्नेहरुलाई चन्दा र सेल्टर दिने लगायतका शोषणमा परेका छन् भने भारत सरकारबाट पनि उनीहरु अपमानित भएका छन् । अहिले जो नेपाली त्यहाँबाट हिँडेपनि उनीहरुले आफ्नो जग्गा र जमिन जे भएपनि नगदबाहेक केही लिएर जान पाउँदैनन् । द्वितीय विश्वयुद्दमा जापानले कब्जा गरेपछि केही नेपालीहरुलाई फर्कने वेलामा खेतीयोग्य जमिन क्षतिपूर्तिस्वरुप उपलब्ध गराएको थियो त्यो पनि त्यहाँका आदिबासीले कब्जा गरे ।

मणिपुर भारतको कुनै वेला धेरै नेपालीहरु बसोबास गर्ने राज्य थियो । यो पौराणिक महत्वको एउटा गर्विलो राज्य पनि हो । विश्वमा पोलो खेलको सुरुआत गर्ने स्वतन्त्र राज्य अहिले भारतमा गाभिएको छ । त्यहाँ परम्परादेखि बसोबास गरका नेपालीहरु अहिले लखेटिनु परेको छ । कुनै वेला पचासाँै हजारको संख्यामा स्वाभिमानका साथ रहेका नेपालीहरु पनि अहिले एकदमै निरिह अवस्थामा रहेका छन् । उनीहरुको स्वतन्त्रता र स्वाभिमान केही छैन । शैक्षिक दृष्टिकोणले अत्यन्तै कमजोर अवस्थामा रहेका छन् । आर्थिक रुपमा औसतभन्दा कम रहेका छन् । भारत सरकारले उनीहरुलाई मतदानबाहेक अरु नागरिकताको अधिकार दिएको छैन र त्यहाँका आदिबासीको दावी गर्नेहरुले नेपालीलाई उनीहरुले प्राप्त गर्ने सुविधाबाट बञ्चित गरेका छन् । भारत सरकार र नेपाल सरकारलगायत स्वाभिमानका लागि लडिरहेका विदेशमा बसोबास गर्ने सबै नेपालीका खातिर राज्यले भारत सरकारका सामु आवाज उठाउनु पर्दछ । जे जसरी धिकिरधिकिर आफ्नो जीवन गुजारिरहेका नेपाली र ऐतिहासिक राज्य मेरो जन्मठाउँ मणिपुरको इराङ्लाई सलाम् !

प्रतिकृया दिनुहोस्