रमेशप्रसाद लामिछाने, हेटौंडा

१. शैक्षिक सत्रका विषयमा हिजो पनि बहस नभएका होईनन् । कोभिडका कारणले यो शिर्षक थप पेचिलो बनेको छ । विद्यालय शिक्षामा विद्यमान दुई अवधिका शैक्षिक सत्रलाई समायोजन गर्ने यो अवसर बन्न सक्छ । वैशाख देखि चैतको अवधि कक्षा १० सम्मका लागि तोकिएको छ । पहिले पौष देखि मंसिर सम्मको शैक्षिक सत्र पनि चलेको थियो । बिचमा श्रावण देखि असार सम्मको पनि संचालन गरियो । जसरि पनि एक वर्षको विद्यालयतहको शैक्षिक सत्र कायम गर्ने हो । अहिले यो प्रसंग कोभिड–१९को कारणबाट थप चर्चामा आएको छ । चालु शैक्षिक सत्रको सात महिना पुरै कोरोना भाईरसले निलिसकेको छ । बाँकि ५ महिनाका सार्वजनिक बिदाहरु, चाडपर्वहरु र परीक्षाका दिनहरु समेत घटाउँदा शिक्षण सिकाई क्रियाकलापको लागि ७५ दिन मुस्किलले छुट्टिन सक्छ । यस अवधिमा झण्डै ३ गुणा बढि सिकाउने र सिक्ने काम एकै पटक एक जनाले एक किलो चामलको भात निरन्तर ३ महिना सम्म खानु जस्तै हो भन्न सकिन्छ ।

२. कक्षा ११ र १२ को शैक्षिक सत्र भने श्रावणबाट शुरु गरिदैं आएको अवस्था छ । जबकि यी दुबै कक्षाहरु अहिले विद्यालय शिक्षामै समेटिएको भनिएको छ । संगै यी कक्षाहरुको अवधि पनि एक एक वर्ष नै तोकिएको छ । उच्च शिक्षाको हकमा कक्षा १२ को नतिजा प्रकाशन पश्चात स्नातक तहको भर्ना प्राय: मंसिरमा हुँदैं आएको स्थिति छ । स्नातक तहको शिक्षा पूरा गर्न ४ वर्ष तोकिएको छ । पछिल्लो वर्ष वा सेमेष्टरको नतिजा प्रकाशन भएपछि स्नात्तकोतरको भर्नाको सूचना हुँदै आएको छ । उच्च शिक्षाको शैक्षिक क्यालेण्डर नियमित छैन् । क्यालेण्डर बन्छ, मात्र देखाउनको लागि । शैक्षिक क्रियाकलाप, क्यालेण्डर अनुशार भन्दा पनि क्यालेण्डर चाँहि शैक्षिक क्रियाकलाप अनुशार चलेको यथार्थ कतै छिपेको छैन । हुनत, कतिपय बिदेशि ओपन युनिभर्सिटिमा बाह्रै महिना भर्ना खुल्ला हुन्छ र परीक्षा र नतिजाको काम पनि सधैं खुल्ला भएको पनि पाईन्छ । विश्वविद्यालयको शैक्षिक सत्र तहगत कोर्स अवधि र अपरेशन क्यालेण्डरमा आधारित हुन्छ नै । तैपनि विश्वविद्यालयले विषयगतभारको आधारमा स्नातक , स्नात्तकोतर, एमफिल र विद्यावारिधि तहको शैक्षिक अवधि किटानी गरेको हुन्छ र सो को कार्यान्वयन कडाईका साथ गरिन्छ ।

३. विद्यमान शैक्षिक सत्रको पुनर्संयोजन तथा पुनर्व्यवस्थापनको विषयले प्रवेश पाउनु अन्यथा मान्न सकिंदैन । यो बेलामा साबिक शैक्षिक सत्रकै रटान पटक्कै युक्तिसंगत छैन । यसो भनिरहँदा विद्यालय देखि विश्वविद्यालय सम्मका सबै तहको एकै अवधिको शैक्षिक सत्र भने हुनै सक्दैन । तैपनि शैक्षिक सामञ्जस्यताको सबाल न्यून मूल्याङ्कनको शिकार बन्नु राम्रो होईन । यो सरोकारवर्गको बहसको विषय बन्नै पर्दछ । विद्यालय तहको शैक्षिक सत्र कुन महिनाबाट शुरु गर्दा उपयुक्त र वैज्ञानिक हुन्छ भन्ने निर्णय सरकारले गर्ने हो । अरु सबै गफका चर्चा मात्र हुन् । सम्बद्ध ब्यक्ति र संस्थाहरुले आवश्यक र पर्याप्त विश्लेषणबाट सरकारलाई सहज बनाउन सक्दछन् । प्रमुख सवाल भनेको पाठ्यक्रमले निर्धारण गरेको समयको उपयुक्त ब्यवस्थापन नै हो । संकटग्रस्त बेलामा प्रदान गर्नैपर्ने समय बाहेक अरु कटौति गरेर पनि विषयवस्तुको संयोजन गर्न सकिन्छ । यो भनेको पाठ्यवस्तुको संकुचन प्रक्रिया हो । यो विधिबाट तोकिएकै वा साबिक शैक्षिक सत्रमा नै शिक्षण क्रियाकलाप सम्पन्न गर्नु हो ।

४. अहिलेको कोभिड श्रृजित असहज र विषम परिस्थितिमा शैक्षिक सत्रको अन्तरिम ब्यवस्थापन गर्ने प्रसंग पनि बाहिर आएको छ । संगै विद्यमान शैक्षिक सत्रको फेरबदलको महसुसका कुरा पनि नउठेको भने होईन । निचोडमा, साबिकको शैक्षिक सत्रमा विद्यालयतहमा पाठ्यक्रमले तोकिएको शिक्षण सिकाई पूरा हुन नसक्नेमा सम्बद्ध पक्षहरु सहमत भएको पाईन्छ । उच्च शिक्षाको हकमा स्वभाविक अवधि घँचेटिएको छ । शिक्षण, परीक्षा, नतिजा र भर्ना सबै प्रभावित भएका छन् । पुरै सेमेष्टर कोल्याप्स भै सकेको छ । एक वर्ष फजुलमा उमेर मात्र बढेको छ । सबै योजना कोरोना भाईरसले तहसनहस बनाएको वर्तमानमा ज्यान जोगाउनमा नै सबैको ध्यान जानु अन्यथा होईन् । सरकारले शिक्षण संस्थाहरु खोल्ने वा नखोल्ने जिम्मेवारी स्थानिय सरकारलाई तोकेको सन्दर्भमा अधिकांश शिक्षण संस्थाहरु स्वास्थ्य सावधानीका साथ संचालनमा आईसकेका छन् र कतिपय आउने क्रममा छन् । उच्च शिक्षाको हकमा समेत त्रिभुवन विश्वविद्यालयले मातहतका कलेजहरुलाई फेस टु फेस कक्षा संचालनको लागि भनिसकेको छ ।

५. साबिक स्थितिमा पाठ्यक्रमले ब्यवस्था गरेको विषयवस्तु बाँकि अवधिमा शिक्षण सम्भव छैन । संकुचनको नाममा एक तिहाई मात्र शिक्षण सिकाई गर्ने हो भने यो सम्भव देखिन्छ । यस्तो नाम मात्रको शिक्षणले शिक्षकलाई त खासै असर पर्दैन तर विद्यार्थीमा भने जिवन पर्यन्त नकारात्मक प्रभाव पर्छ नै । विद्यालय तहको शैक्षिक सत्र भनेको एक वर्ष अवधिको हो भन्ने धेरैलाई थाहा छ । कुनै पनि महिनाबाट शुरु गर्न सकिन्छ । अहिलेको सत्र विक्रम सम्वत संग शुरु हुन्छ । श्रावण महिनाबाट शुरु गर्दा आर्थिक वर्ष संग मेल खान्छ । ऋतु परिवर्तन संगै वर्षा, गर्मि, जाडो पश्चात पनि शैक्षिक सत्र शुरु गर्न सकिन्छ । तर्कहरु विभिन्न कोणहरुबाट उठाउन सकिन्छ । ठूला चाडपर्वहरु मनाएर पनि शुरु हुन सक्छ । फेरि, एक पटक प्रारम्भ भएको शैक्षिक सत्र अपरिवर्तनिय भन्ने हुँदैन । हालको जस्तै विषम अवस्थामा परिवर्तन गर्न सकिन्छ । अहिले ८ महिना लगभग बन्दको स्थिति भएकाले चैतमा नै सत्र सक्ने कुरा सान्दर्भिक हुनै सक्दैन । २ महिना मात्र बढाएर असारमा वार्षिक परीक्षा लिई नतिजा प्रकाशन गर्ने र श्रावणबाट अर्को शैक्षिक सत्रको थालनि गर्दा केहि सकारात्मक बन्न सक्छ । केहि वर्ष आर्थिक र शैक्षिक सत्र संगै लाने अभ्यास अन्यथा हुने छैन । नमिल्ने र असहज भएमा बदल्ने ढोका त खुल्लै हुन्छ नै ।

६. चैतमा नै एसईई लिने हो भने सो को निर्णय बाहिर आउन ढिलो भएको छ । अहिले सम्म आवेदन फर्म भर्ने सूचना सम्म प्रकाशन नभएकोले सो को तयारी शुरु भएको नै छैन । यस वर्षबाट एसईईको जिम्मेवारी प्रदेश सरकारमा जाने भनेर सरकारले भनेकै हो । तर काममा अधिक शंका उब्जेको अवस्थामा सरकारले निर्णयमा पटक्कै बिलम्व गर्नु हुँदैन । शैक्षिक सत्रको किटानि निर्णय आज शैक्षिक जगतको अपेक्षा हो । अन्य कक्षाहरुको पनि योजना त जरुरी पर्छ नै । कक्षा ८ को स्थानिय तहले लिने परीक्षाको तयारीको लागि पनि शैक्षिक सत्रको निर्णय आवश्यक पर्छ । त्यस्तै कक्षा ९ मा भराइने रजिष्ट्रेसन फर्मको पनि हालसम्म कुनै अत्तोपत्तो छैन । उता कक्षा ११ को पनि रजिष्ट्रेसन फर्म भराउने अवधि बारे पनि निर्णय लिन बिलम्व भै सकेको छ । चालु शैक्षिक सत्रको विद्यार्थीहरुको भर्ना कहिले सम्म गरिरहने हो सो बारे कस्ले निर्णय लिने हो, त्यो पनि त यकिन हुनु जरुरी पर्छ । स्थानिय सरकारबाटै सो निर्णय हुने हो भने पनि उनीहरु बेखबर जस्तो निद्रामा देखिनु राम्रो होईन । उल्लेखित विषयहरु सबै शैक्षिक सत्र संग जोडिएका छन् । तसर्थ, शैक्षिक सत्रको सम्बन्धमा र यससंग सम्बन्धित शैक्षिक सबालहरुमा सरकार अनिर्णयको बन्दि देखिनु पटक्कै शोभनिय भएन । लाखौं विद्यार्थीहरुको भविष्य संग जोडिएका विषयहरुमा सरकारले किटानि निर्णय बेलैमा प्रवाह गर्नैपर्छ ।

– हेटौंडा

प्रतिकृया दिनुहोस्