कक्षा १२ को परीक्षा स्थगनले जाँचै नदिने ट्रेण्डको खतरा

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२५ भाद्र २०७८, शुक्रबार
रमेश प्रसाद लामिछाने

१. प्रसंगलाई कक्षा १२ को परीक्षा स्थगन संग यो आलेख जोड्न खोजिएको हो । कक्षा १२ सम्मको शिक्षालाई विद्यालय शिक्षाको नामाकरण गरिएको सन्दर्भमा परीक्षा बोर्डले नै यो परीक्षा लिएर प्रमाणपत्र प्रदान गर्ने विधि स्वभाविक हो । अब कक्षा १० को परीक्षालाई बिगतको एसएलसीको तामझामको निरन्तरता जरुरी छैन । परीक्षाको नाम नै एसईई भएको अनुभूती गर्न देखिएको जटिलता स्वयंमा रहस्य भन्नै पर्दछ । प्रदेशस्तरको परीक्षा बोर्डबाट गरिनुपर्ने काम अझै केन्द्रमा दुईवटा परीक्षा बोर्ड अस्तित्वमा राखेर गरिएको यो शैक्षिक नाटक प्रति शिक्षा मन्त्रालयको अकर्मन्यतामा शंका छैन । वि.सं. २०७८ जेठ २६ गतेबाट गर्ने भनिएको कक्षा १२ को परीक्षा दोश्रो पटक श्रावण ३१ गतेबाट गर्ने भनिएकोमा सो स्थगित भएको छ । बिकल्प दिईएको छैन । एसईई जस्तै कक्षा १२ को पनि विद्यालयलाई नै मूल्याङ्कन गर्न पनि भनिएको छैन । पछिल्ला दिनहरुमा कोरोना भाईरसको संक्रमण बृद्धि भैरहेको कारणले परीक्षा स्थगित गर्नुपरेको भनिएको छ । बिकल्प बाहिर आएको छैन ।

२. परीक्षा स्थगित भएकोमा झण्डै नब्बे प्रतिशत विद्यार्थीहरु प्रशन्न्न देखिएका छन् । माग पूरा भएको र अभियानमा सफल भएकोमा सरकारलाई आभार ब्यक्त गरेको पनि पाईयो । परीक्षा दिन नपाएकोमा पिडा महसुस गर्ने विद्यार्थी अत्यन्तै थोरै छन् । कोरोना कालको ए प्लसको सर्टिफिकेट बोकेर बाँच्नु भन्दा बरु एक वर्ष पर्खेर भएपनि जाँच दिएर आफ्नो क्षमताको सि ग्रेडकै प्रमाणपत्रमा गर्व गर्ने चाहना भएका विद्यार्थी पनि भेटिएका छन् । बहस र तर्क विभिन्न कोणबाट चलिरहेकै बेलामा विद्यार्थी मूल्याङ्कन शिक्षकले नै गर्ने हो, जाँचै दिनुलिनु पर्छ भन्ने सोच नै खोटपूर्ण छ भन्ने बिचार पनि बाहिर आएको छ । अर्कोतर्फ २०७५ सालको एसईईमा ४ जिपिए ल्याउने विद्यार्थी १०६ जना भएकोमा २०७६ सालको विद्यालय मूल्याङ्कनमा ९३१८ जनाले ४ जिपिए ल्याउँदा नतिजाको राम्रै खिल्लि उडेकै हो । विशेषगरि निजि विद्यालय र उपत्यकाका विद्यालयको विद्यार्थी मूल्याङ्कन विवादास्पद बनेकै हो । वि.सं. २०७६ सालमा १०४१९वटा विद्यालयबाट ४८२९८६ जना विद्यार्थीले आवेदन फर्म भरेकोमा ४७२०७८ जनाको मात्र परीक्षा बोर्डबाट नतिजा प्रमाणिकरण भएको थियो । त्यस्तै २०७५ सालको एसईईमा ४५९२७५ जना विद्यार्थी सहभागि भएका थिए भने २०७७ सालमा यो संख्या ४८४२७८ भनिएको छ । यो नतिजामा ४ जिपिए ल्याउने विद्यार्थी संख्या ८४४४ जना रहेको उल्लेख गरिएको छ । संगै, रष्ट्रिय परीक्षा बोर्डले २४ वटा जिल्लाको नतिजा अस्वभाविक पनि भनेको छ । यो विवरणले विद्यालयको मूल्याङ्कन यस वर्ष पनि विवादास्पद साबित गरेको छ । सत्य कहिलेकाहीं तितो हुन्छ भन्ने उखान त सुन्दै आएको हो ।

३. कोरोना भाईरसको एक पछि अर्को झनै भयावह लहरको प्रकोप अवधिमा भौतिक उपस्थितिमा परीक्षा लिनेकाम अधिक चुनौतिपूर्ण हो भन्नेमा कसैको बिमति छैन । विश्वविद्यालयका स्नातक तहका परीक्षाहरु भौतिक उपस्थितिमा भैरहँदा सरोकारवालाको ध्यान सहजै बुझ्न सकिन्छ । कुनै पनि नराम्रो घटना र समाचार सुन्न देख्न नपरोस भन्ने हामी सबैको चाहना र अपेक्षा हो । दुर्घटना नहुञ्जेल यी सबै कुरा सामान्य हुन् । परीक्षाकै कारणले कतै कसैको जीवन कोभिडले लियो भने त्यो घटना असामान्य बन्न सक्छ । हुन त हाल बजार खुल्ला छ । यातायात सुचारु छन् । सरकारी गैरसरकारी कार्यालयहरु खुलेकै छन् । सभा सम्मेलन चलेकै छन् । भेला वैठक जारी छन् । जुलुश र्याली भएकै छन् । विवाह, पुजा, लगायतका धार्मिक कार्यक्रमहरु भई नै रहेका छन् । परीक्षाकै कारणले कोभिड भयो भन्ने साबित गर्न पनि सहज त छैन । परीक्षा हल र सो एरियामा त थप निगरानी र सक्दो स्वास्थ्य सावधानी अपनाईएको भनिएको छ । कम्तिमा ,पहिले खोप अनि जाँच भनेको हो र सो अनुशार कार्यान्वयन गरिएको हो भने सरकारको उपस्थिति देखिन्थ्यो । जाँच सकिन केहि दिन बाँकि रहेको बेलामा विद्यार्थीको निद्रा खुलेको देखिन्छ । आज परीक्षा हलमा प्रवेश अघि ए पनि खोप अनिवार्य भन्नेहरुले रुटिन प्रकाशन हुने बित्तिकै परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालयमा पर्याप्त प्रेशर दिनै पथ्र्यो ।

४. बिना जाँच कक्षा प्रमोशनको ट्रेण्ड नै बस्ने खतरा देखिन थालेको छ । विद्यालयको मूल्याङ्कनमा केहिको ब्यवसायिक उद्धेश्य संग जोडिएको दुर्नियतले सबैलाई आलोचित बनाईयो । धेरैजसो विद्यार्थीमा वर्ष बिताउने हो, कक्षा चढ्ने हो भन्ने छाप बस्न लागेको देखियो । यो अर्को शैक्षिक दुरावस्थाको संकेत बन्न सक्छ । फुर्सद भए अध्ययन गर्ने अन्यथा पढ्ने सिक्ने काम बिर्सने प्रवृत्ति बढेकै हो । पढाई लेखाई प्रति रुची, उत्साह, लहर, प्रतिस्पर्धा तथा खोजि पटक्कै छैन । बोर्डले परीक्षा लिंदा पास फेलको कुरा आउँछ , जुन कमजोर विद्यार्थीको हितमा हुँदैन । महामारीमा जसरि पनि जाँच लिनै पर्छ भन्न खोजिएको पटक्कै होईन । विद्यार्थीको यथार्थ मूल्याङ्कन चाँहि हुनैपर्छ । बिकल्पहरु अनेक हुन सक्छन् ।

जस्तै –

क. भौतिक उपस्थितिमै परीक्षा संचालन गर्न – खोप अनिवार्य, स्वास्थ्य सावधानिमा उच्च सतर्कता, होम सेन्टर, लक्षण देखिएकाको लागि भिन्न ब्यवस्था, एउटा कोठामा बढिमा बिसजना मात्र राख्ने, धेरै संख्या भएकाको हकमा सिफ्ट वाईज गर्ने, प्रश्नपत्र इमेल बाट पठाउने, परीक्षा केन्द्रमा पटक्कै भिडहुन नदिने, प्रहरिको आवश्यक नहुने । तालुकवाला अड्डाले सिसि क्यामेराबाट परीक्षाको सुक्ष्म अनुगमन गर्दा प्रभावकारी बन्न सक्छ । संक्रमणको दरलाई आधार मान्ने हो भने अधिकांश स्थानिय तहमा भौतिक रुपमा परीक्षा लिन सकिन्छ । न्यून, मध्यम र उच्च स्थितिको संक्रमणदर भनेर वर्गिकरण गर्न सकिन्छ ।

ख. अनलाईन परीक्षा संचालन गर्ने – उच्च शिक्षामा अनलाईन परीक्षा लिन थोरै झन्झटिलो देखिए पनि लिनै नसकिने भने होईन । विद्यालय स्तरको कक्षा ८ को स्थानिय तहले लिने परीक्षा समेत केहि पालिकाले यस अघि नै सफलतापूर्वक सम्पन्न गरेको समाचार बाहिर आएकै हो । पढाई भने अनलाईन गर्ने , परीक्षा पनि अनलाईन नै हुनुपर्ने आवाज उठिसकेको छ । आधारभूत तहका ससाना वालवालिकाको हकमा पढाईको क्रममा नै मूल्याङ्कन गर्न सकिन्छ । पाठ्यपुस्तकबाट हुबहु सार्न नमिल्ने प्रकारका प्रोजेक्ट वर्क दिने तथा श्रृजनात्मक र खोजमुलक सबालबाट विद्यार्थीको मूल्याङ्कन झनै वैज्ञानिक बन्न सक्छ ।

अन्तमा, शिक्षक स्वयंको तयारी महत्वपूर्ण पक्ष हो । साधन हुने संग सिप नहुने वा सिप हुने संग साधन नहुने अवस्थाको अन्त्य पहिलो शर्त हो । सिप र साधन दुबै भएर मात्र पुग्दैन, परीक्षा प्रतिको तत्परता नभै नहुने अर्को महत्वपूर्ण सबाल हो जुन अहिले परीक्षा बिना नै प्रमाणपत्र बुझ्ने चरित्रको विकास तिव्र देखिन्छ । सिप, साधन र तत्परता संगै अनुकूल वातावरण भएन भने सहि मूल्याङ्कन हुन सक्दैन । उल्लेखित उपयुक्तताको लागि शिक्षक, विद्यार्थी, अभिभावक तिनै तहका सरकार बिच आवश्यक समन्वयको जरुरी पर्दछ । अनुगमन संयन्त्र पनि स्वतन्त्र र दरिलो भएमात्र अपेक्षित उपलब्धि अर्थात विद्यार्थीको सहि मूल्याङ्कन हुन सक्दछ ।

प्रतिकृया दिनुहोस्