समय चक्र अविश्राम चलिरहेकै छ । युगले धेरै कोल्टे फेरीसकेको छ । प्रत्येक दिन नयाँ खोज र आविष्कार भइरहेका छन् । मानवीय जीवनशैलीले दिनचर्यामा अकल्पनीय रुपान्तरणको फड्का मारीरहेको छ । शिक्षण सिकाइ प्रणालीमा व्यापक परिवर्तन आएको छ । परम्परागत प्रणाली विस्तारै किनारा लाग्दै छ । प्रविधिको अधिकतम उपयोग नै आजको माग देखिएको छ ।

कोरोना भाइरस एक प्रत्यक्ष कारण र महाविपत्तिले शिक्षामा रुपान्तरणको ऐतिहासिक अवसर उत्पन्न गरेको छ । खासगरि शिक्षण विधिमा नयाँपनको जरुरी महसुस विगतदेखि नै विषय बनेकै हो । हिजो झैं व्याख्यान विधिका शिक्षक केन्द्रित क्रियाकलापहरु बोकेर कक्षाकोठामा जाने शिक्षकहरु लगभग असफल सावित भएको तथ्य स्पष्ट छ । पछिल्ला वर्षहरुमा नेपालमा पनि शिक्षामा प्रविधिको बढ्दो हस्तक्षेप सिङ्गो विश्वले लिएको Digital course को परिणाम नै हो ।

१. प्रत्येक महामारीले मानवीय भयावह चुनौति त ल्याउँछ नै, सँगै अनेकौं अग्रगतिका नयाँ सम्भावनाका ढोकाहरु पनि खुलाउने गरेको उदाहरण धेरै छन् । भूकम्प प्रतिरोधि भवन निर्माण सधैं सबैलाई जरुरी पर्छ तर यसको विधिवत कार्यान्वयन २०७२ वैशाख १२ को विनाशकारी भूकम्प पश्चात् व्यवहारमा आएको तथ्य विदितै छ । इतिहासका विभिन्न कालखण्डमा अग्रगमनको अभ्यासले नै मानवजातिको सभ्यता उच्च बनाएको छ ।

२१ डिसेम्बर २०१९ मा चीनको वुहान शहरबाट उब्जिएको कोरोना भाइरस (कोभिड—१९) नेपालमा २३ जनवरी २०२० मा देखापर्दा विश्व नै कोरोनाबाट आतङ्कित मात्र नभै लाखौं मान्छेको जीवन यसले निलिसकेको थियो । दुनिया नै लगभग लकडाउनमा गइसकेको स्थितिमा नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेबाट गरेको लकडाउन २०७७ जेठ ३० गतेबाट कोरोना संक्रमित प्रभाव न्यून भएकोमा केहि खुकुलो वाहेक जारी छ । यसै बिचमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ जेठ १८ गते निर्णय गरी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजिकरण निर्देशिका, २०७७ जारी गरेको छ । ढिलो भएर पनि यो सकारात्मक नै भन्नुपर्छ ।

२. नाम तथा परिभाषा समेतका औपचारिकता सहित जम्मा २७ बुँदामा विद्यार्थी सिकाइ सहजिकरण निर्देशिकाले वैकल्पिक विधि अपनाउन कम्तिमा मार्ग प्रशस्त गरेको छ । साथै उक्त निर्देशिका र एसईई को सम्बन्धमा भएको निर्णयले सम्बन्धित विद्यार्थीमा रहेको उकुसमुकुसलाई ढिलै भएपनि समयानुकुल सम्बोधन भएको विज्ञहरुको प्रतिक्रिया बाहिर आएको छ । यद्यपि कक्षा ११ र १२ का विद्यार्थीहरु तथा प्राविधिक शिक्षाका र उच्च शिक्षाका समेत दश लाखभन्दा धेरै विद्यार्थीहरु अझै अन्यौलबाट गुज्रिरहेका छन् ।

सावधानीहरु पालना गर्दै गराउँदै शिक्षकहरु आफ्ना विद्यार्थीसँग अनलाइन तथा अफलाइन माध्यमहरुको प्रयोगबाट निरन्तर शिक्षण सिकाइ क्रियाकलापमा जोडिइरहेकै छन् । लकडाउनकै बिचमा नतिजा प्रकाशित गर्नु, पाठ्यपुस्तकहरु वितरण गर्नु, आपसी मिटिङ गर्नु, दूरशिक्षाका कक्षाहरु चलाउनु, फोन तथा मेसेन्जरबाट विद्यार्थीलाई होमवर्क दिनु, विद्यार्थीका समस्या हलगर्नु, अनुकुलताको मोेैेकाछापी पालैपालो स्कूलमै बोलाएर सम्पर्क कक्षाहरु समेत सञ्चालन गर्नु जस्ता कामहरुबाट शिक्षकहरु निरन्तर कर्मक्षेत्रमा खटिरहेको प्रमाणित भएको छ ।

३. उक्त निर्देशिकाको बुँदा नं. ३ मा विद्यार्थीको पहिचान र वर्गिकरण अन्तर्गत ५ वटा समूहमा विशेष प्रकृतिका बाहेक सबै विद्यार्थीहरुलाई समेट्ने प्रयत्न भएको छ । पहिलोमा प्रविधिको पहुँच बाहिर रहेका, दोस्रोेमा रेडियो भएका, तेस्रोमा टिभि भएका, चौथोमा कम्प्यूटर समेत भएका र पाँचौमा ईन्टरनेट सहित प्रविधिको पहुँच पुगेका गरी वर्गिकरण गरिएको छ । उक्त समूह अनुसारका शिक्षण सिकाइ क्रियाकलापहरु समेत उल्लेख हुनुलाई सकारात्मक भन्नु पर्दछ । ढिलै भए पनि अभिभावक शिक्षा र Home Schooling कोे समेत आवश्यक महसुस भएछ ।

निर्देशिकामा उल्लेखित नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न मन्त्रालयको भूमिका ४ वटा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ८ वटा, प्रदेशको ९ वटा, स्थानीय तहको १३ वटा, सञ्चार क्षेत्र, प्रकाशन तथा प्रसारण संस्थाको ४ वटा, निजी क्षेत्रको २ वटा, विद्यालयको ९ वटा, शिक्षकको ७ वटा र अभिभावकको ४ वटा भूमिका किटानी गर्दा विद्यार्थीकै भूमिका उल्लेख गर्न छुटेको वा छुटाएको देखिन्छ । जसको लागि कार्यक्रम गर्न खोजिएको छ, त्यही वर्ग भूमिका विहिन हुनुले अनेकौं शंका उपशंका उब्जनु अन्यथा पटक्कै हुन सक्दैन ।

४. उक्त निर्देशिका आजको बाध्यात्मक अवस्थाको उपज नै हो । भविष्यमा वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ आवश्यकता बन्ने स्पष्ट छ र त्यतिबेला यी विधिहरु मूल प्रणाली बन्ने सम्भावना प्रवल देखिन्छ । शिक्षा व्यवस्था युगानुकूल भएकै कारणले दुनियाका केहि राष्ट्रहरु विकसित भएका हुन् न कि राष्ट्र विकसित भएपछि शिक्षा राम्रो भएको हो । भत्काउन र सच्याउन कहिल्यै नहुने अनि सधैं परम्परागत शैली विधिका शिक्षा प्रणाली बोकेर समृद्धिका सपना कदापि साकार हुँदैनन् ।

केहि विज्ञहरुले वैकल्पिक प्रणालीलाई अर्थहिन र अल्मल्याउने हल्लामात्र भएको टिप्पणी गरेको मिडियामा आएको छ । यद्यपि यी विधिहरु त्रुटीरहित र समस्या नै नभएको भन्न सकिदैंन । समस्या दृष्टिकोण र बुझाइमा नै छ । प्रविधिको प्रयोगले विद्यमान शिक्षक संख्या नै बढि हुन सक्छ भने अर्कोतर्फ शिक्षण थप प्रभावकारी बन्ने स्थिति रहन्छ । शिक्षककै भूमिका तथा जिम्मेवारीमा समेत नयाँ स्थिति र अवस्था आउनै पर्छ ।

५. प्राचिनकाल अर्थात् वैदिककालमा गुरुकुल शिक्षा प्रणाली थियो । ऋषि तपस्वीहरुको आश्रममा आवासिय सिप र ज्ञान प्रदानको परम्पराका चर्चा पौराणिककाल देखि नै पाइन्छ । त्यस्तै मठ, मन्दिर, गुम्बा, चैत्य, विहार, मदरसा आदि जुन आज पनि सञ्चालनमा भेट्न सकिन्छ । ताडपत्र, भोजपत्र, ताम्रपत्र, शिलालेख, थान्का, बाँस र निगालोका कलम, विभिन्न वनस्पतिका पात पिसेर मसी, जस्ता शैक्षिक सामग्री र स्वाध्ययन एवम् अभिभावक शिक्षा बाट विकसित बन्दै स्लोट र खरीको प्रयोग, बाह्रखरी तथा चण्डी र दुर्गा कवच, रुद्री, रामायण, महाभारत, कृष्णचरित्र, त्रिपिटक, बौद्धगाथा, कुरान, वेद, पुराण, आदि पढदै, कण्ठ गर्दै र सुन्दै सुनाउँदै कतिपय ब्यवहारमा प्रयोग गर्दै गराउँदै हाम्रो शिक्षाको जग बसेको इतिहासले सिद्ध गरेको छ ।

त्यही पद्धतिको विकसित रुप नै आजको पेपरलेस प्रविधियुक्त अनलाइन वा डिजिटल शिक्षाको युगमा प्रवेश हो । वर्तमान अवस्थामा आईपुग्दा हाम्रो शिक्षा प्रणालीले व्यापक फड्को मारेको तथ्य यहाँ भुल्न मिल्दैन । केहि वर्ष पहिलेका ब्ल्याक बोर्ड र चक लगभग विस्थापित भइ ह्वाईट बोर्ड र मार्कर सँगै कम्प्युटर, प्रोजेक्टर, स्मार्ट बोर्ड, अनलाइन क्लासका माध्यमबाट प्रविधिको अधिकतम उपयोग तर्फ शिक्षाले स्पष्ट बाटो किटानी गरेको छ ।

६. व्याख्या र प्रवचन विधि अब लगभग ईतिहास बनेका छन् । रट्ने, घोक्ने र कण्ठ गर्ने पद्धति ढलिसकेको छ । शिक्षक केन्द्रित विधि अब विद्यार्थी केन्द्रित विधिमा रुपान्तरित भएको छ । हिजोको पढाइ आज सिकाइमा बदलिएको छ । पढेर गर्ने हैन, गरेर सिक्ने शिक्षा आजको शिक्षाको मर्म हो । शिक्षकको भूमिका सक्रिय प्रर्वचकबाट सहजकर्तामा र विद्यार्थीको निष्क्रिय श्रोताबाट सक्रिय प्रयोगकर्तामा रुपान्तरण भएको छ ।

ब्यागमा स्नातकको प्रमाणपत्र राखेर छात्रवृत्तिको सिफारिसको लागि वडा कार्यालयमा निवेदन कस्ले लेखिदेला भनेर सोध्दै हिँड्ने वा गुगलसर्च गरेर निवेदन खोज्न भौंतारिन बाध्य बनाउने शिक्षाको अविलम्व अन्त्य चाहेकै हो । शिक्षाको परिभाषामा पुनब्र्याख्या हुन जरुरी छ । समुदायका सबै वर्ग, तह र पेशाका व्यक्तिहरु शिक्षक सहायक बन्न सक्छन् ।

विद्यार्थीले हरेक मिनेट केहि न केहि सिक्नेकाममा उपयोग गर्ने वातावरण बनाउने अभिभारा अभिभावक र शिक्षकको नै हो । यहाँ वैकल्पिक प्रणालीले माध्यम मात्र नभै सिक्ने कुराको समेत संकेत गरेको छ । अर्को पाईला सिकाई सहजिकरण संगै विद्यार्थीको मूल्याङ्कन प्रणालीमा समेत वैकल्पिक पद्धतिको विकास गर्ने तर्फ अग्रसर हुनुपर्ने अपेक्षा गरिएको छ ।

-हेटौंडा

प्रतिकृया दिनुहोस्