कस्तो हुनुपर्छ अबको विद्यालय ?

Avatar photo

Byएजुकेशन पाटी

१६ असार २०७७, मंगलवार

कोरोना अर्थात् आफैमा अति सूक्ष्म जीवाणु, न बेसारले निको हुन्छ न ठूला–ठूला औषधीले नै । जति सूक्ष्म स्वरुप त्यति नै व्यापक प्रभाव, आज सारा संसार नै त्राहि त्राहि भएको छ । आर्थिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, सामाजिक तथा भौतिक क्षेत्रसम्म थचक्क भएर बस्नु र खुम्चिनुपर्ने स्थितिले सर्वशक्तिशाली र सर्वगुण सम्पन्न मानवको समेत अस्तित्वलाइ ठाडो चुनौति दिएको छ ।

नेपाल विकासोन्मुख देश त्यसमा पनि शैक्षिक क्षेत्रमा आउने यस्ता बाधा व्यवधानले शैक्षिक प्रतिष्ठानहरु तहस नहस हुँदा त्यसको मारमा लाखौ व्यक्तिहरु प्रभावित हुन पुगेका छन् । एकातर्फ शिक्षकहरुलाई आफ्ना विद्यार्थीहरुको सिकाइलाई कसरी निरन्तरता दिने भन्ने चिन्ताले पिरोलेको देखिन्छ भने अर्कातर्फ अभिभावकलाई विद्यालयलको शुल्क कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता देखिन्छ ।

सरकारी शिक्षा प्रणाली कमजोर हुनुले निजी विद्यालयहरु आकर्षणको केन्द्र बनेका हुन तर सुखमा आकर्षित भएर साथ लागेपछि दुखमा शत्रुता देखाउनु पनि त्यति सान्दर्भिक नहोला । अप्ठेरो सबैलाई परेको छ बहस गर्नु समाधानको उपाय खोज्नु नराम्रो होइन तर आफै संलग्न विद्यालयलाई नै एकतर्फी रुपमा शोषक देख्नुले विवेकशील प्राणीको ताजको सम्मान निश्चित हुँदैन भन्ने बुझ्नुपर्छ ।

हुनत यो समयमा सरकार अभिभावक बन्नुपर्ने हो तर सौतेनी व्यवहार देखाउनुले सरकारको को भूमिकामाथि ठूलो प्रश्नचिन्ह खडा गर्दै सरकारप्रतिको दायित्व पुरा किन गर्ने भन्ने प्रश्न उठाउन बाध्य बनाएको छ ।

अहिले नयाँ भर्नाको समय शुरु भएको छ अभिभावक र विद्यार्थीहरु कहाँ पढने–पढाउने, कस्तो विद्यालयमा भर्ना हुने वा गर्ने भन्ने कुराले निकै चिन्तित देखिन्छन् । अहिलेको समय भनेको कति वर्षदेखि चलेको संस्था वा विज्ञापनलाई हेरेर वा कति छुट पाइन्छ भनेर पछि लाग्ने समय होइन भनेर बुझ्नु पनि जरुरी छ है ।

कस्तो हुनुपर्छ अवको विद्यालय ?
नेपालमा प्रायः परम्परागत शिक्षापद्धति पछ्याउने चलन छ । अझ भन्ने हो भने एउटा सानो कक्षाकोठाभित्र ४० वा ५० जना विद्यार्थी राखेर पढाउने गरिन्छ । सामान्य सुविधालाइ समेत ध्यान नदिइ मात्र डेस्क र बेन्चको भरमा कक्षा चलाउने कुराले कुनैपनि सामान्य सरुवा रोग लागेको विद्यार्थी विद्यालय आउँदा ठूलो समस्या हुन्छ । कोभिड–१९ को समाप्ति कहिले हुन्छ भन्ने कुराको यकिन छैन । यदि वर्षौंसम्म यसको प्रभाव रह्यो भने के गर्ने ?

के विद्यालय सधै बन्द गरेर हुन्छ त ? थप जटिल प्रश्नको शृजना हुन्छ । यसरी संसारको गति चल्न पनि सक्दैन त्यसैले बाधालाई मिलेर चिर्न सक्नुपर्छ । कतिपय चिकित्सकहरुले समेत यसलाई सहन गर्ने बानी बसाल्नुपर्छ वा लिभिङ टुगेदर गर्न सक्नुपर्छ किनकी यो बर्षौ रहन सक्छ भन्ने सल्लाह दिएको पनि पाइन्छ । ७ महिनाको अवधीमा रोकथामको कुनै सूत्र फेला नपर्नुले यो वास्तविक रहेको प्रष्ट हुन्छ ।

विद्यालय भिन्न समुदायका सयौं वा हजारौं मानिस जम्मा हुने थलो भएकाले अवको विद्यालय यस्ता समस्यालाई सम्बोधन गर्न खालको हुनुपर्छ । त्यसका लागि कक्षाकोठाको साइज ठिक्क विद्यार्थी अट्ने खालको नभइ अलिक ठूलो हुनुपर्छ जसले गर्दा विद्यार्थीहरुलाई निश्चित दुरी कायम गरि बस्न मिलोस् । कक्षाकोठामा झ्यालढोकाका र भेन्टिलेटरको उचित व्यवस्था हुनु जरुरी छ जसले गर्दा हावा दुर्गन्धित नभइ स्वच्छ हुन सघाउ पुग्छ ।

अर्को महत्वपुर्ण पक्ष भनेको अवको समय एउटै बेञ्चमा ४–५ जना ठेलमठेल गरि बस्ने समय होइन भन्ने सिकेर परिवर्तन हुनपर्ने समय हो, हरेक विद्यार्थीलाई छुट्टाछुट्टै टेवल र कुर्सीको व्यवस्था विद्यालयले गर्नुपर्छ जसले निश्चित दुरी कायम गर्न सघाउ पुग्छ ।

विद्यालयमा सरसफाइलाई पर्याप्त ध्यान दिएको छ कि छैन शौचालयको उचित व्यवस्थापन छ कि छैन भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ ज्यान बच्यो भने त शिक्षा ग्रहण गर्ने हो त्यसैले पहिले बालबालिकाको स्वास्थ्यमा कत्तिको सहयोगी अर्थात health friendly  विद्यालय हो होइन भनेर अभिभावक तथा विद्यार्थीले विचार गर्नुपर्छ ।

कसैको वहकाउमा लागेर भर्ना फारम बोकेर घन्टौंसम्म बसेर लाइन लागेर भर्ना भइ सानो कक्षा देखि ठुलो कक्षा एउटै भवन र बसमा कोचाकोच हुनु घातक हुन्छ भन्ने कुरा अभिभावकले बुझ्नैपर्छ किनकी यसले हरेक अभिभावकको भविष्यलाई प्रभावित बनाउन सक्छ भन्ने कुरामा दुईमत हुन सक्दैन सामान्य रुपमा तलमाथि हुने शुल्कलाई आधार बनाएर बालबालिकाको स्वास्थ्यमाथि खेलवाड गर्न पनि त कोही चाहदैन नि ।

अहिले गर्जो टार्न बेञ्चको विचमा स्टिकर टाँसेर दूरी कायम गरौं भनेर भविष्य चल्न सक्दैन भन्ने कुरालाई मनन गर्दै सरकारी स्तरवाट पहल हुनु पनि जरुरी देखिन्छ । अहिले चलिरहेका शिक्षण संस्थाहरुले पनि पुर्वाधार थप गरेर मात्र विद्यालय सञ्चाल गर्नुपर्छ केही विद्यालयलाई छाडेर हेर्ने हो भने यथावत रुपमा विद्यालय सञ्चालन गर्नु भनेको कोभिडको जोखिम बढाउनु मात्र हो, विद्यार्थी संख्या मिल्दो पुर्वाधार निर्माण नै अन्तिम विकल्प हो भन्ने बुुझ्नुपर्छ ।

एसईई परीक्षा नतिजा आउने क्रममा छ विद्यार्थीहरु कक्षा ११ को लागि कहाँ भर्ना हुने अन्योलमा छन् र त्यो अन्योललाई हटाउन यो पक्षले पनि आवश्यक सहयोग पुर्याओस् ।

प्रतिकृया दिनुहोस्