यसरी गरौं वैकल्पिक सिकाइ

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१७ श्रावण २०७७, शनिबार
राजदेव यादव

कोभिड–१९को संक्रमितको कारण विद्यालयका पठनपाठन अवरुद्ध रहेको छ । अवरुद्ध सिकाइ प्रणालीलाई सूचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन नभएसम्म आ–आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण शृजना गर्न वैकल्पिक प्रणालीबाट सिकाइ सहजिकरणसँगै अभिभावक शिक्षामा जोड दिनु आवश्यक छ ।

नेपालमा वैकल्पिक शिक्षा प्रणालीको जग बसाल्न २०१४ सालदेखि प्रारम्भ भएको प्रौढ कार्यक्रम र २०३५ मा स्थापित रेडियो शिक्षक तालिम आयोजनाले सहयोग गरेको देखिन्छ । २००८ सालमा नन्दी रात्री माध्यमिक विद्यायबाट वैकल्पिक शिक्षा प्रणालीको वीजारोपण गरेको भए तापनि यस कार्यक्रमको विस्तार पछिल्लो समयमा २०६४ बाट परीक्षणका रुपमा सञ्चालन गरेको खुल्ला विद्यालय कार्यक्रम सँगै भएको देखिन्छ । जसको प्रभावकारी कार्यान्वयनका लागि २०६३ सालमा विद्यालय तहमा खुल्ला शिक्षा प्रदान गर्न दुर शिक्षा तथा खुल्ला सिकाइ नीति एवम् निर्देशिका तयार गरियो ।

मागमा आधारित मुलुकका सबै जिल्लामा कम्तिमा एक विद्यालय रहने गरी खुल्ला विद्यालयको सम्बन्धन दिई अध्यापन कार्यको थालनी भयो । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७७–जेठ १८ को निर्णयअनुसार स्वीकृत वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ हाल कार्यान्यनमा रहेको छ ।

वैकल्पिक शिक्षा प्रणालीको अभ्यास
– नवौं पञ्चवर्षीय योजना (२०५४–५९)ले दूर शिक्षामार्फत् विद्यालय र विश्वविद्यालय तहको शिक्षा प्रदान गर्न खुल्ला विद्यालय र खुल्ला विश्वविद्यालयको स्थापना गर्ने व्यवस्था ।
– उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोग २०५५ ले दूर शिक्षा तथा खुल्ला सिकाइमार्फत् विद्यालय शिक्षा प्रदान गर्ने व्यवस्था ।
– सबैको लागि शिक्षा राष्ट्रिय कार्ययोजना (सन् २००१–१५)मा आजीवन सिकाइको अभिवृद्धि निम्ति खुल्ला सिकाइको अवसरहरुको शृजना गर्ने प्रावधान ।
– दशौं पञ्चवर्षीय योजना (२०५९–६४) मा दूर शिक्षामार्फत् विद्यालय र विश्वविद्यालय तहको शिक्षा प्रदान गर्नुका अतिरिक्त विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था ।
– खुल्ला शिक्षा तथा दूर सिकाइ नीति (२०६३)ले चाहना भएका सिकारुहरुका लागि शिक्षामा पहुँचको विस्तार गर्ने, परम्परागत शिक्षाको गुणस्तर वृद्धि गर्ने, जीवनपर्यन्त, शिक्षा र पेशागत विकासको अभिवृद्र्धि गर्ने, ज्ञान र सीपको प्रमाणीकरण गर्ने पद्धतिको स्थापना खुल्ला विद्यालय मार्फत विद्यालय तहको समकक्षी शिक्षा उपलब्ध । वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ स्वीकृति तथा कार्यान्वयन ।

अभिभावहरुको भूमिका
–आफ्ना बालबालिकालाई जीवनोपयोगी, परम्परागत तथा सामाजिक व्यवहार कुशल सिपहरु सिक्न र सिकाउन उत्प्रेरित गर्ने,
–आफ्ना बालबालिकाहरुको अध्ययन, अध्यापनमा निरन्तर सहयोग गर्ने,
–समुदायमा सिकाइका लागि उत्प्रेकको भूमिका निर्वाह गर्न सक्रिय रहने,
– विद्यार्थीहरुको पहिचान तथा वर्गीकरणका लागि स्थानीय तह र विद्यार्थीलाई विवरण उपलब्ध गराउने।

वैकल्पिक शिक्षाका चुनौतीहरु
–रेडियो, एफएम, टेलिभिजन, अडियो, भिडियो, अनलाइन कक्षाका लागि सिकाइ सामग्री व्यवस्था एवम् प्रसारण केन्द्र र सम्पर्क केन्द्रहरु सबै पायक पर्ने ठाउँहरु स्थापना गर्न नसक्नु ।
–सञ्चालनकर्ता, सहजकर्ता, शिक्षक, अभिभावकहरु र विद्यार्थीहरुको सक्षमता अभिवृद्धि नहुनु ।
–वैकल्पिक शिक्षा कार्यक्रम छुट्टा–छुट्टै संस्थागत सञ्चालन हुँदा समन्वय, साझेदारी र सहयोग कायम हुन नसक्नु ।
–सबै ठाउँमा पर्याप्त विधुत जस्तो आधारभूत पूर्वाधार सुविधा अझैँ पनि नहुनु ।
–वैकल्पिक शिक्षा सञ्चालन गर्न पर्याप्त सूचना तथा सञ्चारमूखी बजेट नहुनु ।
–सबै सहजकर्ता, विद्यार्थीहरु र अभिभावकहरु पूर्णरुपमा प्रविधिमैत्री हुन नसक्नु ।
–सबै अभिभावकहरु आर्थिक र प्राविधिक रुपमा सम्पन्न हुन नसक्नु ।
–सबै शिक्षक, विद्यार्थीहरु र अभिभावकहरु अझैँ पनि पूर्ण सचेत हुन नसक्नु ।
–सबै ठाउँमा इन्टरनेट कनेक्टिभिटीको पर्याप्त पहुँच हुन नसक्नु ।
–समयको व्यवस्थापन सही तरीकाले हुन नसक्नु ।
–सबै व्यक्तिहरु अझैँ पनि सूचना तथा संचार प्रविधिसँग सुमधुर सम्बन्ध कायम गर्न नसक्नु ।
–वैकल्पिक शिक्षामैत्री पाठ्यक्रम, पाठ्यपुस्तक, निर्देशिका परिमार्जन अझैँ हुन नसक्नु ।

सुधारका पक्षहरु
–प्रारम्भिक बाल कक्षामा निर्धारित सुरक्षा र स्वास्थयका मापदण्ड अनुरुप सरसफाइलाई ध्यान दिई खेलसामग्री, मनोरञ्जन सामग्री, अडियो भिडियो सामग्री सहित आकर्षक, मनोरञ्जन र बालमैत्री पद्धतीमा जोड दिई घरायसी वातावरणमा विद्यार्थी र अभिभावकहरुको क्षमता अनुसार वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालन गर्नु पर्दछ।
–सहज, सुलभ, सस्तो र सबैको पहुँचमा वैकल्पिक शिक्षा कार्यक्रम विस्तारीकरणमा जोड दिनुपर्ने ।
–वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने फरक–फरक निकायबीच समन्वय गरी प्रमुख अधिकारिक निकायहरु, ऐन, नियममा स्पष्ट पार्नुपर्ने ।
–वैकल्पिक शिक्षा छुट्टा–छुट्टै स्थानबाट सञ्चालन हुनाले फरक व्यवस्थापनमा समन्वय र एकरुपता कायम गर्न नसकेकाले एकीकृत गर्न आवश्यक देखिन्छ ।
–वैकल्पिक शिक्षा सञ्चालक, सहजकर्ता, विद्यार्थी र अभिभावकहरुको क्षमता अभिवृद्धिका लागि तत्काल क्षमता अभिवृद्धि तालिम प्याकेज चलाउनुपर्ने ।
–संघ, प्रदेश र स्थानीय स्तरमा वैकल्पिक शिक्षाका लागि सिकाइ र अध्ययन केन्द्रहरुको व्यवस्था गर्नु पर्ने ।
–प्रत्येक स्थानीय स्तरमा कम्तीमा एउटा स्थानीय टेलिभिजन प्रसारण केन्द्र स्थापना गरी वैकल्पिक शिक्षा प्रसारण गर्नमा जोड दिनुपर्ने ।
–सञ्चार मिडियाहरुसँग समन्वय, सहकार्य र सहयोग गरी वैकल्पिक शिक्षा प्रसारण केन्द्रहरु स्थापना गर्ने ।
–अडियो, भिडियो र टेलिभिजन रेडियो, एफएम तथा सञ्चार क्षेत्रलाई वहुउपयोगी माध्यमा प्रयोग गर्ने।
–वैकल्पिक शिक्षाका लागि छुट्टै पाठ्यक्रम, पाठ्यपुस्तक र मूल्यांकन पद्धतिको व्यवस्थापन गरी कार्यान्वयनमा ल्याउनुपर्ने ।
–नियमित अनुगमन, सुपरिवेक्षण र पृष्ठपोषण गर्नको लागि छुट्टै प्रविधिक जनशक्तिहरुको रोष्टर सूची तयार गरी निरन्तर अनुगमन र सुपरिवेक्षण गरी पृष्टपोषण दिनुपर्ने ।

निष्कर्ष
वैकल्पिक शिक्षा प्रणाली आजको नितान्त आवश्यकता हो । विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय र समाजको मुख्यमागको रुपमा आएको हो । विश्वयापी रुपमा सूचना तथा सञ्चार प्रविभिमूखी हुँदै गएको देखिन्छ । सूचना प्रविधिको प्रयोग सँगै विद्यार्थीहरुलाई विद्यालयमा जम्मा गरेर शिक्षा प्रदान गर्नु भन्दा राम्रो प्रविधिको पहुँच विस्तार गरी विद्यार्थीहरुको घरघरमा विद्यालयमय वातावरण शृजना गरी वैकल्पिक शिक्षा दिनुपर्ने वर्तमान आवश्यकता हो । सबैका लागि शिक्षा कार्यक्रमको लक्ष्य नियमित संरचनाका शिक्षण संस्थाहरुबाट मात्र संभव नभई वैकल्पिक शिक्षा कार्यक्रमको जोड दिई विद्यार्थीहरुको आवश्यकता पूरा गर्नु हो।

(यादव शिक्षा विकास तथा समन्वय इकाई, धनुषाका शाखा अधिकृत हुन् ।)

प्रतिकृया दिनुहोस्