सुर्खेत । कोरोनाका कारण ठप्प रहेको विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन रेडियो तथा टेलिभिजनबाट पढाउने निर्णय गरेसँगै यहाँका विद्यार्थीको सक्रियता बढेको छ । भौगोलिक विकटता, विद्युत्को पहुँच पुग्न नसकेको र टीभी तथा रेडियो पनि नहुँदा रेडियो तथा टीभीबाट विद्यार्थीले पढ्न सक्ने अवस्था पनि देखिएको छैन ।

टीभी छैन
वीरेन्द्रनगर समाचारदाताका अनुसार सरकारले असार १ गतेदेखि रेडियो तथा टेलिभिजनमार्फत पढाउने अभियान चलाएको छ तर गाउँका विद्यार्थी विद्युत् र टेलिभिजनको पहुँच बाहिर छन् । कक्षा एकदेखि आठसम्मका अधिकांश विद्यार्थी ग्रामीण क्षेत्रका छन् । वराह ताल गाउँपालिका–२, ग्यान्द्रीका यामकुमारी नेपालीले टेलिभिजन घरमा नभएकाले छोराछोरीले नपढेको बताउनुभयो । उहाँका दुईवटी छोरी कक्षा एक र चारमा तथा एउटा छोरा सातमा पढ्छन् । उहाँले इन्टरनेटको सुविधा पनि नभएको बताउनुभयो । उहाँले गाउँमै अन्य विद्यार्थीसँग पुराना किताब मागेर छोराछोरीलाई घरमै पढ्न लगाएको जानकारी दिनुभयो ।

गाउँमा कसैकसैको घरमा मात्रै टीभी छ । कतिपय विद्यार्थी र अभिभावकलाई पढाइको तालिकाको बारेमा स्पष्ट रूपमा सूचनासमेत पुगेको छैन । भेरी मावि रानीघाटमा कक्षा १० मा अध्ययनरत विद्यार्थी टोपबहादुर मस्र्याङ्गीले कति बेला रेडियो नेपालबाट पढाइ हुन्छ भन्ने थाहा नभएर पढ्न नपाएको बताउनुभयो । उहाँले रेडियो नसुनेको र विद्यालयबाट पढाइ हुने समयका बारेमा सूचना नदिइएकाले आफूले थाहा नपाएको बताउनुभयो । भेरी मावि रानीघाटका प्रधानाध्यापक रत्न बुढाले सबै विद्यार्थी रेडियो र टेलिभिजनको पहुँचमा नरहेको बताउनुभयो । सबै कक्षाको रेडियोबाट पढाइ नहुने भएकाले टेलिभिजनको भरमा पढाइ अघि बढाउन समस्या हुने उहाँको भनाइ छ ।

पहुँच छैन
जुम्ला समाचारदाताका अनुसार सरकारले टेलिभिजन र रेडियोबाट कक्षा सञ्चालन गर्न खोजे पनि ग्रामीण विद्यार्थीमा पहुँच नपुग्ने अवस्था छ । तातोपानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख छायादत्त चौलागाईंले सरकारको राम्रो कामको थालनी गरे पनि सबैको पहुँच नभएको टिप्पणी गर्नुभयो । त्रिभुवन मावि झारज्वालाका शिक्षक रामबहादुर रावलका अनुसार सरकारको कार्यक्रम निकै राम्रो छ तर सबै विद्यार्थीको सहज पहुँचमा हुन सक्ने देखिँदैन । पहुँचमा रहेका विद्यार्थीका लागि खाली बस्नुभन्दा अत्यन्त प्रभावकारी हुने देखिन्छ । विद्युत् अनियमित भएकाले जुम्ला बजारमा पनि पूरै पढाइ हुन नसक्ने स्थानीय तेजेन्द्र हितानले बताउनुभयो ।

हुने खानेलाई
हुम्ला समाचारदाताका अनुसार हुम्लाका अधिकांश विद्यार्थी पहुँच बाहिर छन् । अधिकांशको घरमा टेलिभिजन र रेडियोको सुविधा नभएपछि अहिलेको शिक्षण पद्दतिबाट विद्यार्थी बाहिर रहनुपरेको छ । सिमकोट गाउँपालिकाको बालमन्दिर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रतीक भण्डारीले रेडियो र टेलिभिजनबाट गरिने शिक्षणले हुम्लाका अधिकांश विद्यार्थी पहुँच बाहिर रहेको बताउनुभयो ।

अभिभावक मधु बस्नेतले हिमाली जिल्लाका लागि यो शिक्षण पद्दति उपयोगी नभएको दाबी गर्नुभयो । उहाँले हुने खानेलाई सहज भए पनि हुँदा खाने वर्गका छोराछोरीलाई पनि समस्या थपिएको उल्लेख गर्नुभयो । घरमा टेलिभिजन हुनेले असार १ गतेबाटै पठनपाठन सुरु गरेको भए पनि सबैको अवस्था उस्तै नरहेको बताउँदै उहाँले विद्यार्थीको समस्यालाई ध्यानमा राखेर विकल्प ल्याउनुपर्ने सुझाव दिनुभयो ।

मानसरोवर नमुना माविका प्रधानाध्यापक अमरबहादुर शाहीले टेलिभिजनबाट शिक्षण गर्ने पद्धति हुम्लाका लागि उपयोगी नभएको टिप्पणी गर्नुभयो । हुम्ला जस्ता हिमाली जिल्लाका लागि रेडियो शिक्षण विधि केही रूपमा उपयोगी देखिएका कारण स्थानीय एफएमको रिले स्टेसन स्थापना गर्ने र विद्यार्थीका हातहातमा रेडियो दिने हो भने यसबाट पठनपाठन गर्न सकिने उहाँको सुझाव छ ।

सबै अन्योलमा
सल्यान समाचारदाताका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले टेलिभिजन र रेडियोबाट पढाउने भनेको भए पनि यहाँका शिक्षक–विद्यार्थी यसबारेमा अनभिज्ञ रहेको बताएका छन् । निराजन माध्यमिक विद्यालय सिद्धकुमाखका प्रधानाध्यापक धर्मराज घर्तीले ग्रामीण क्षेत्रमा रेडियोको माध्यमबाट पढाउन सकिने बताउनुभयो । उहाँका अनुसार स्थानीय सामुदायिक एफएममार्फत पढाउन सकिने तर टेलिभिजनबाट विद्यार्थीले पढ्न नसक्ने भएका छन् । धेरैजसोको घरमा टीभी र बिजुली नै नभएकाले टेलिभिजनबाट पढ्न नसक्ने
उहाँको भनाइ छ ।

बागचौर नगरपालिका–८ का प्रकाश डाँगीले विद्यार्थीको सिक्ने क्षमता फरकफरक हुने भएकाले दूर शिक्षा प्रभावकारी हुनेमा शङ्का व्यक्त गर्नुभयो । उहाँका अनुसार सबै विद्यार्थीले सुनेर मात्र पढ्न सक्दैनन् । शिवजन माध्यमिक विद्यालय शितलपाटीमा कक्षा १० मा अध्यनतरत छात्र सागर थापाले गाउँघरमा टेलिभिजन नभएको र एफएम रेडियोको पहुँच सबै ठाउँ नपुग्ने भएकाले विद्यार्थीलाई पढ्न अप्ठ्यारो हुने बताउनुभयो ।

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्