रेडियो कक्षा कति सिर्जनात्मक ?

Avatar photo

Byएजुकेशन पाटी

५ असार २०७७, शुक्रबार

काठमाडौँ । २०६२ वैशाखमा तामझामसहित विद्यार्थी भर्ना अभियान सुरु हुँदा पहिलोपटक विद्यालयको आँगन टेक्ने विद्यार्थीलाई फूलमालासहित स्वागत गरिएको थियो । त्यही भर्ना अभियान जारी रहे पनि शैक्षिक सत्र २०७७ असारसम्म कुनै विद्यार्थीलाई विद्यालयको आँगन टेक्ने साइत जुरेको छैन । कोभिड–१९ ले गर्दा धेरै विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका छन् ।

नयाँ भर्ना खुलेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असार १ गतेबाट सबैले रेडियो सुन्नू’ भन्दै उर्दी जारी गरेका छन् । यो उर्दी झुपडीवासीले सुन्न पाए/पाएनन्, संशय छ ।

प्रधानमन्त्री ओलीको उर्दीसँगै सरकार मातहतका रेडियो र टेलिभिजनबाट कक्षा १ देखि १० सम्मको निश्चित विषयको पाठ्यसामग्री केन्द्रित प्रसारण सुरु भएको छ । काठमाडौं महानगरपालिकालगायत देशभरका नगरपालिका र गाउँपालिकाहरूले स्थानीय एफएममार्फत कक्षा प्रसारण थालेका छन् । रेडियोमा रेकर्ड गरेर प्रसारण हुने सामग्री कक्षागत पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको छ । ‘कोभिड–१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन नभएसम्म आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सिर्जना गर्न,’ निर्देशिकाको प्रस्तावनामा छ, ‘दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीका माध्यमबाट प्रभावकारी र व्यवस्थित रूपमा सिकाइमा सहजीकरण गर्न यो निर्देशिका बनाई लागू गरिएको छ ।’ निर्देशिकामा ‘प्रविधि’ शिक्षण सिकाइमा प्रयोगमा आउने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन तथा अफलाइनका माध्यमलाई जनाउने उल्लेख छ । सबै प्रकारका शिक्षणमा यो निर्देशिका लागू हुने भनिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग) ले तयार पारेका सामग्री केन्द्रीय रेडियोबाट प्रसारण गर्ने र स्थानीय एफएम रेडियोहरूलाई नि:शुल्क उपलब्ध गराउने उल्लेख छ ।

स्थानीय तह तथा विद्यालयले सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका समूह एफएम रेडियो तथा टेलिभिजनमा पहुँच भएका विद्यार्थी पहिचान गर्नेछन् । त्यसैगरी कम्प्युटर भएको तर अलाइन कनेक्टिभिटी नभएका, इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूह केलाउनेछन् । विशेष आवश्यकता भएका बालबालिकालाई छुट्टै सहजीकरणको व्यवस्था गर्न र प्रारम्भिक बालविकास उमेर समूहका बालबालिकालाई ‘घरायसी विद्यालय’ (होम स्कुलिङ) कार्यक्रम सञ्चालन गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

संघीय शिक्षा मन्त्रालयको निर्देशिकाअनुसार प्रदेश सरकारले आफ्नो बजेट, नीति तथा कार्यक्रममा प्रविधिमैत्री कक्षाबारे उल्लेख गरेका छन् । ‘दुर्गम र पहाडी क्षेत्रलगायत सबै क्षेत्रमा एफएफ रेडियो, टेलिभिजन, इन्टरनेटको माध्यमबाट दूरशिक्षा प्रदान गर्न भर्चुअल रिसोर्स सेन्टर स्थापना गरिनेछ,’ कर्णाली प्रदेशको बजेट वक्तव्यमा उल्लेख छ । सिन्धुलीको कमलामाई नगरपालिकाका शिक्षा शाखा प्रमुख शंकरराज लुइँटेल वैकल्पिक शिक्षण सिकाइलाई राष्ट्रिय निर्देशिका र कार्यविधिअनुसार कार्यान्वयन गर्ने बताउँछन् । ‘कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई रेडियोमार्फत पाठ्यवस्तु केन्द्रित पठनपाठन गराउने तयारीमा छौं,’ उनी भन्छन्, ‘नगरपालिकाभित्र सञ्चालित चारवटै एफएमले हामी उपलब्ध गराएको सामग्री प्रसारण गराउने छौं ।’

सरकार मातहतमा रेडियो नेपालले दैनिक २१ भाषामा समाचार प्रसारण र २२ भाषामा कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर मुलुकका कति श्रोताले रेडियो नेपाल सुन्छन् भन्नेबारे आधिकारिक अध्ययन नभएको रेडियो नेपालका प्रवक्ता तथा नायव कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बताए । ‘अहिले औपचारिक रूपमा रेडियो कक्षा सञ्चालन गरिँदै छ,’ उनले भने, ‘सबै जिल्लामा सुनिन्छ भन्ने हाम्रो आंकलन छ । कुनै पनि कार्यक्रमको प्रभावबारे मूल्यांकन तथा अध्ययन संयन्त्र बनेको छैन ।’

शिक्षा विभागले निर्माण गरेको रेकर्डेड कार्यक्रम पुन: प्रसारण गर्न सकिन्छ तर सिर्जनात्मक नभई परम्परागत ढर्रामात्र हुने खतरा छ । देशभरिमा ६ सय ५७ एफएम रेडियो प्रसारणमा छन् । जसमा सामुदायिक रेडियो ३ सय ४५ रहेका छन् । तर सत्ताको पहुँच भएकाहरूले मात्र ती सामग्री सशुल्क प्रसारण गर्ने र अरूले नि:शुल्क प्रसारण गर्नुपर्ने परिस्थिति सिर्जना हुन नहुने रेडियो सञ्चालकहरु बताउँछन् । सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यका अनुसार अहिले ४३ भाषामा समाचार र ३५ भाषामा कार्यक्रम सञ्चालन हुने गरेको छ । सीआईएनले भरखरै ‘हाम्रो घर, हाम्रो पाठशाला’ नामको कार्यक्रम सुरु गरेको छ । ‘हामीले रेडियो सुनेर बस्ने विद्यार्थीलाई बढीभन्दा बढी सिर्जनात्मक तुल्याउने प्रयास गर्दै र्छौं,’ उनले भने, ‘पाठ्यपुस्तकभन्दा आफ्नो घरपरिवार, वातावरण, ज्ञान, स्थानीय सिप सिक्न प्रेरित तुल्याउने सामग्री समेटेका छौं । विद्यार्थीलाई लागेको कुरा भन्न, उसले सिर्जना गरेका कथा आदि सुनाउन सक्ने टेलिफोन आईभीआरको व्यवस्थासमेत गरेका छौं ।’

उज्यालो नेटवर्कले देशका ७७ वटै जिल्लामा दैनिक ६ वटा रेडियो समाचार बुलेटिन तथा अनलाइन पोर्टलको काम गर्दै आएको छ । आफूहरु सरकारको कुनै कार्यक्रममा सहभागी नरहेको नेटवर्कका अप्रेसन म्यानेजर कृष्ण गुरागाईले बताए ।

निरक्षर अभिभावकले पनि बुझ्न सक्ने सञ्चारको उपयुक्त माध्यम मानिन्छ रेडियोलाई । शिक्षाविद् विद्यानाथ कोइराला एफएमहरूले केन्द्रमा निर्मित सामग्री प्रसारणका अतिरिक्त स्थानीय जनजीवन, भूगोलजस्ता विषय सिकाउन सक्नुपर्ने बताउँछन् । राष्ट्रिय पाठ्यक्रममा आधारित जनक शिक्षा सामग्री केन्द्रबाट छापिएका कक्षागत पाठ्यपुस्तक मात्रै रेडियोमा सुनाउने/सुन्न लगाउनु उचित नहुने उनको भनाइ छ । ‘रेडियो कक्षाकोठा नभई विकल्पमात्र हो,’ उनले भने ।

रेडियो नेपालबाट चौथो दिन बिहीबार दिउँसो १२ बजे कक्षा ९ को गणित कक्षा प्रसारण भयो । एक शिक्षक र दुई विद्यार्थी सहभागी भए । उक्त कक्षामा शिक्षकले विद्यार्थीको नाम ‘पासाङ’ भनेर सम्बोधन गरेका छन् । ‘पासाङ’ (शुक्र) हिमाली भेगमा बसोबास गर्ने जातिले प्रयोग गर्ने अर्थपूर्ण नाम हो । ‘तर, रेडियोको सहभागीको लवज पासाङको जस्तो सुनिएन,’ भाषाविद् अमृत योञ्जन तामाङ भन्छन्, ‘रेडियो कक्षामा सहभागी विद्यार्थी भोट–चिनियाँ भाषा परिवारको होइन भन्ने बुझिन्छ । बहुल र समावेशी रेडियो कक्षा देखाउने हो भने काल्पनिक नामले होइन, वास्तविक समुदायको विद्यार्थी सहभागी गराउन जरुरी छ ।’

गणेश राईले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्