नयाँ पुस्ताका लागि नयाँ शिक्षा किन ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

नयाँ पुस्ताका लागि नयाँ शिक्षा किन ? भन्ने प्रश्नमा केन्द्रीत रहेर शिक्षा व्यवस्थाका बारेमा चिन्तन मनन् अर्थात विवेचना गर्न थाल्यौं भने शैक्षिक क्रान्तिको अनिवार्यतालाई बुझ्न र बुझाउन सकिन्छ । आजको शिक्षाले हामीलाई प्रश्न गर्नबाट बञ्चित गरेको र बनिबनाउ उत्तरको चक्रव्यूहमा फसाएको छ । अनि हामी हिजो–भन्दा–आज बढी व्यक्तिवादी, असहिष्णु, हिंस्रक र विवेकहिन बन्दैछौं र समाजलाई पछाडि पार्दैछौं ।

आज जुन खालको शिक्षा नीति र व्यवस्था कायम छ, त्यो सान्दर्भिक छैन, वैज्ञानिक छैन, पर्याप्त छैन, अपुरो छ र कर्मकाण्डी पाराको छ। यसले मान्छेलाई केबल शिक्षित (अक्षरमात्र चिन्ने) बनाएको छ, तर साक्षर (जीवन र जगत बुझ्ने) भने बनाउन सकेको छैन । मानिसमा जागिरे मनोविज्ञान अर्थात् दास मनोवृत्ति विकास गरेको छ, त्यो पनि सीप र क्षमताविहिन अर्थात् शिक्षालय सीपविहिन शैक्षिक बेरोजगार उत्पादन गर्ने काराखानामात्र भएको छ । मतलब, वर्तमान शिक्षाले मान्छेलाई निरन्तर कमजोर र परनिर्भरतामा बाँच्न बाध्य बनाउँदैछ ।

आजको शिक्षाले कमसल र औसत प्रकृतिको नागरिक तयार गरिरहेको छ । यसले मान्छेलाई कुनै जीवन दर्शन सिकाउँदैन । मान्छेलाई घातक बनाउँदैछ, किनभने यसले खुसी हुन, सहयोगी बन्न, व्यावहारिक र आसावादी हुन सिकाउने परिकल्पना नै गरेको छैन । त्यसैले त मान्छे अस्वस्थ प्रतिस्पर्धामा रमाउँदैछ । त्यतिमात्र हैन, मान्छेलाई संवेदनहिन पनि बनाएको छ । मानौं रोबोट तयार गरिरहेको छ। जसमा न बन्धुत्वको प्रेम भाव छ न त सह–अस्तित्वको भावना नै । अरूभन्दा आफू श्रेष्ठ र विशिष्ट हुने प्रतिस्पर्धा गराएर खराब महत्वकांक्षा विकास गर्न मद्दत गरिरहेको छ । कतिसम्म भने मान्छेलाई आफूसँग आफैं संघर्ष बाध्य बनाएको छ । अर्थात्, मान्छेलाई साँघुरो घेरामा बाँच्न सिकाएको छ। फलतः मान्छेमा दानवीय स्वभाव र प्रवृत्तिको विकास भईरहेको छ । जुन द्वन्द्व र हिंसाको मूल कारण हो ।

अब प्रश्न उठ्छ, कस्तो शिक्षा ? उत्तर खोज्न हामीले निम्न पक्षहरूमा स्पष्ट हुनैपर्छ :

१. शिक्षाको दार्शनिक, सांस्कृतिक, ऐतिहासिक, वैज्ञानिक र सामाजिक पक्ष
२. शिक्षाको राष्ट्रिय लक्ष्य, उद्देश्य र परिकल्पना
३. शिक्षा नीति, कानून, योजना र व्यवस्था
४. पाठ्यक्रम र सन्दर्भ शैक्षिक सामग्रीहरू
५. शैक्षिक जनशक्तिको विकास र तालिम
६. मूल्याङ्कन प्रणाली (विद्यार्थीको शैक्षिक उपलब्धी र शिक्षकको दक्षता)

वर्तमान शिक्षा व्यवस्थाले दीर्घकालीन राष्ट्रिय दृष्टिकोण, आवश्यकता र मान्यता, विद्यार्थीहरूको परिवेश, ईच्छा र क्षमता अनि सन्दर्भहरूलाई बेवास्ता गरेको छ । पाठ्यक्रम र शैक्षिक सामाग्रीहरू सान्दर्भिक र व्यावहारिक छैनन् । अधिकांश शैक्षिक जनशक्तिहरूले नयाँ पुस्तालाई प्रशिक्षित गर्ने क्षमता राख्दैनन् र ईच्छा पनि देखाउँदैनन् । शिक्षक तालिमको मोडल पनि पुरानो out dated छ। शिक्षकको दक्षता र विद्यार्थीको शैक्षिक उपलब्धी मापन गर्ने प्रणाली अव्यावहारिक छ। जबसम्म हामी यथास्थितिमै सुधारको परिकल्पना गरेर शिक्षामा लगानी गरिरहन्छौं तबसम्म समय, नयाँ सन्दर्भ र आवश्यकताहरूलाई सम्बोधन गर्ने परिस्थिति बन्दैन ।

अनि नागरिकको मनस्थिति र देशको परिस्थिति पनि सकारात्मक र रचनात्मक बन्दैन । अर्को कुरा शिक्षाले हामीलाई नेपाल चिनाउन नै सकेको छैन । तसर्थ नयाँ पुस्ताका लागि नयाँ शिक्षा किन? भन्ने प्रश्न उठाउने, नयाँ शिक्षा व्यवस्थाका पक्षमा पैरवी गर्ने, अनुभव, अभ्यास र विकासका आधारमा नीति, कानुन र व्यवस्थापनमा परिमार्जन गर्ने अनि सोबमोजिम लगानी सुनिश्चित गर्नैपर्ने भएको छ । शिक्षाको कुरा गरिरहँदा यसको दार्शनिक पक्ष, शिक्षाको राष्ट्रिय उद्देश्यका बारेमा पनि चर्चा आवश्यक छ। अनि मात्र प्रणाली पाठ्यक्रम… व्यवस्थापनका बारेमा चिन्तन गर्न सजिलो हुन्छ।

आज हाम्रो नयाँ पुस्ता यो शिक्षाले हामीलाई बर्बाद पार्दैछ भनेर बहिष्कार गर्ने अवसर खोज्दैछ । अवसर भेटेको दिन नयाँ पुस्ताले शिक्षाको बहिष्कारमात्र गर्ने छैन, राज्य प्रणालीमाथि नै प्रश्न उठाएर विद्रोहमा होमिन सक्छ । क्रान्तिको आवरणमा फेरि पनि युवाहरू प्रयोग हुन सक्छन् । देशले एकपटक एक दशक ध्वंस र विद्रोह व्यहोरी सकेको छ । अब फेरि देशलाई त्यस्तो ध्वंस्तात्मक विद्रोहमा जान नदिन नयाँ शिक्षा व्यवस्थाको विकास गर्नैपर्ने भएको छ। यसकासाथै २०६२–६३ को राजनीतिक परिवर्तनले बढाएको जनअपेक्षाको सम्बोधन गर्नेगरी आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक व्यवस्थामा पनि परिवर्तन अनिवार्य भएको छ । अर्को कुनै बाटो वा उपाय छैन ।

आज हामीलाई कोभिड १९ ले बढाएको जोखिम र त्राससँगै सम्बन्धित क्षेत्रमा परिवर्तन गर्ने अवसर पनि जुटाई दिएको छ । भारतसँगको सिमा विवादले त झन नेपाल चिनाउने र बुझाउने शिक्षाको अनिवार्य आवश्यकतालाई बोध गराएको छ।

नेपालको शिक्षा व्यवस्थामा जति–जति मात्रामा पूर्वीय दर्शनको प्रभाव कमजोर भयो, त्यति–त्यति यो विवादित र निस्प्रभावी बन्दै आयो । जसले गर्दा हाम्रो ऐतिहासिक, भाषिक तथा सांस्कृतिक विविधता र सामाजिक अवस्थाका बारेमा विद्यार्थीहरूले जान्ने र प्रयोग गर्ने अवसर नै पाएनन् । शिक्षामा व्यावहारिक र वैज्ञानिक पक्षले प्राथमिकता नै पाएन । सान्दर्भिकताको त ख्याल नै गरिएन ।

वास्तवमा शिक्षा खराब नीति र दर्शनबाट निर्देशित भईरह्यो । विगतलाई बिर्सन, वर्तमानलाई भद्रगोल र भविष्यलाई अनिश्चित बनाउन शिक्षा सहयोगी बन्यो । यतिमात्र कहाँ हो र, हाम्रो शिक्षाले नागरिकलाई देश चिनाउन र बुझाउन नै सकेन। नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीतिबाट शिक्षा व्यवस्था र राज्य निर्देशित भयो । फेरि भोलिका लागि आज त्याग गर्नुपर्छ, स्वभाविक नै हो । तर वर्तमानको मूल्यमा भविष्य बनाउन सिकाउने शिक्षाले समस्या बढायो । हुनुपथ्र्यो के भने वर्तमान र आफ्नोपनबाट सिकाउँदै हुर्काउँदै भविष्य बु्झाउने र नयाँ कुरा सिकाउने पद्धतिको विकास र प्रयोग सहज बनाउनु पथ्र्यो ।

देश कस्तो बनाउने भन्ने कुराको निर्धारण हामीले कस्तो खालको शिक्षा–दिक्षा दिइरहेका वा पाइरहेका छौं भन्ने दर्शनमा भर पर्छ । तर हाम्रा शिक्षालयहरूको उत्पादन देशका लागि भन्दा परदेशको आवश्कतालाई परिपूर्ति गर्ने दृष्टिकोणबाट निर्दशित देखिन्छन् । तर पनि हामी विप्रेषणमूखी आर्थिक र नागरिक निर्यातमूखी शैक्षिक नीतिले हिजो–भन्दा–आज देश कमजोर भइरहेको तथ्यलाई ख्यालै नगरी द्रुत दिगो विकासको कुरा गरिरहेका छौं ।

यो खालको खोटपूर्ण दर्शन, नीति र व्यवहार फेर्नै पर्छ । अनि शिक्षा व्यवस्थामा आमूल परिवर्तन अनिवार्य भएको छ भनेर नेतृत्वलाई बुझाउन सक्ने प्राज्ञिक वर्ग पनि भेटिएन । उ त क्षमता र प्रभाव प्रयोग गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न क्रियाशिल भइरह्यो । जसले गर्दा राज्य र अभिभावकले यथास्थितिमा सुधारलाई परिवर्तन भन्दै र मान्दै समय, साधन र श्रोतहरू खेर फालिरहन बाध्य भए । यो हाम्रा लागि चिन्ताको विषय हुनुपथ्र्यो, तर भएन ।

अन्तमा जे हुनु भइसक्यो, हामी विगतका प्रश्न तथा समस्याहरूमा अल्झिएर वर्तमानलाई अरू समस्याग्रस्त बनाएर कार्यशील भइरहन सक्दैनौं । बरू विगतबाट सिकेर सुझबुझका साथ वर्तमानलाई परिस्कृत गर्दै भविष्यलाई सुरक्षित बनाउन सक्छौं । त्यसैले आसावादी भएर विगतबाट सिक्दै अघि बढ्नु बाहेक अर्को विकल्प हामीसँग छैन । कोभिड १९ ले गर्दा सबै शिक्षालयहरू पूर्णरूपमा बन्द छन् । यो समयलाई हामीले अवसरका रूपमा लिनु पर्छ ।

यो अवसरलाई ठीक ढङ्गले बुझेर विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षामा आमूल परिवर्तन गर्न शिक्षा मन्त्रालयले सक्रियपूर्ण नेतृत्व लिन सक्नै पर्छ । शैक्षिक माफियाबाट अभिभावक लुटिने र विद्यार्थीहरू पीडित भइरहने क्रमलाई अन्त्य गर्नै पर्छ । फेरि संवैधानिक व्यवस्थाले शिक्षामा निशुल्कीकरणको जुन प्रबन्ध गरेको छ, त्यो सान्दर्भिक छैन र न्यायोचित पनि छैन भनेर नेतृत्वलाई बुझाउनु पर्छ । नो लञ्च फ्रि भन्ने यथार्थलाई स्विकारेर शिक्षामा अभिभावकहरुको समानुपातिक योगदान तथा लगानी सुनिश्चित पनि गर्नुपर्ने भएको छ। त्यसैले ‘शिक्षाको चरित्र बदलौं, नागरिक र नेतृत्वको प्रवृत्ति दृष्टिकोण बदलिन्छ, अनि स्वतः देशको चित्र पनि बदलिन थाल्नेछ ।’ भन्ने वास्तविकतालाई मन, वचन र कर्मले स्विकारौं । धन्यवाद !

प्रतिकृया दिनुहोस्