शैक्षिक क्रान्ति किन ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

४ असार २०७७, बिहीबार

गाउँटोल जताततै सुनिन्छ, देशमा समस्याको मूल जड राजनीति हो । राजनीति सुध्रियो भने धेरै समस्याहरू समाधान हुन्छन् । यो तर्कमा आंशिकमात्र सत्यता छ । मूल समस्या त हाम्रो शिक्षाको दर्शन, नीति, विधि र व्यवस्था नै हो । तर यो यथार्थलाई हामी सरोकारवालाहरूले मनदेखि स्विकार्न सकिरहेका छैनौं । सार्वजनिक खपतका लागि शैक्षिक क्रान्तिको मुद्दा उठ्ने गरेको भएतापनि आजसम्म शैक्षिक मुद्दालाई प्राथमिकतामा पारेर राष्ट्रिय बहस हुन सकेको छैन् ।

‘शिक्षा बिग्रिएर नागरिक बिग्रिए, नागरिक बिग्रदा राजनीतिक नेतृत्व बिग्रियो, राजनीतिक नेतृत्व बिग्रदा राज्यको नीति बिग्रियो, राज्यको नीति बिग्रिएर देशको परिस्थिति झन बिग्रियो ।’ भन्ने कुरालाई आत्मसाथ नगर्दासम्म शैक्षिक मुद्दा प्राथमिकतामा पर्ने देखिएन । नागरिकको मनस्थिति प्रतिस्पर्धी वा अन्वेषणात्मक वा शान्त वा विद्रोही कस्तो बनाउने भन्ने कुरा उसले प्राप्त गरिरहेको शिक्षाको चरित्रमा निर्भर गर्छ । आजको शिक्षाले विद्यार्थीलाई असफल हुने भय र सफल हुने प्रलोभन देखाएर, एकअर्काका बीच तुलना गराएर उसको मनमा डर पैदा गरी अन्तरनिहित क्षमतालाई कमजोर बनाइदिएको छ ।

हिजोको शिक्षा तथा समाजिक व्यवस्थामा नर्कको भय र स्वर्गको आस देखाईन्थ्यो भने आजको शिक्षा व्यवस्थाले सफलताको प्रलोभन र असफलताको त्रास देखाएर विद्यार्थीको स्वतन्त्र चेतनामाथि अतिक्रमण गरिदैँछ। अथवा विद्यार्थीलाई शिक्षा व्यवस्थामार्फत नयाँ खाले दास बनाउन खोजिदँैछ। जबसम्म यो खालको व्यवस्थाहरू कायम भइरहन्छ ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रको सदिच्छा पुरा हुनेवाला छैन ।

भय देखाउने, प्रलोभन जगाउने र दास बनाउने शिक्षा तथा सामाजिक व्यवस्थाको अन्त्य कहिले ? प्रश्न गर्नैपर्ने भएको छ, शिक्षाले त हरेक मान्छेलाई ‘म अर्को व्यक्तिभन्दा फरक र अतुलनीय छु भनेर बुझाउनु पर्थ्यो । सत्य र इमानको आडमा प्रगति गर्न सिकाउनु पर्थ्यो ।’ खासमा शिक्षा असल नागरिक तयार गर्ने मुख्य माध्यम बन्नु पर्थ्यो । हामीले बुझ्नु पर्थ्यो, असल नागरिक सम्वृद्धिको पहिलो र बलियो पूर्वाधार हो । त्यहि अनुसार शिक्षाको दर्शन, नीति, विधि र व्यवस्था विकास गरिनु पर्थ्यो । किनभने २०६२–६३ को जनआन्दोलनले बढाएको जनअपेक्षा र जगाएको आशा पूरा गर्न सबभन्दा पहिला शैक्षिक क्रान्ति आवश्यक थियो ।

शैक्षिक क्रान्तिलाई सफल बनाउने गरी आर्थिक, प्रशासनिक र न्यायिक क्रान्ति पनि आवश्यक छ भन्ने कुरा हामीले स्विकार गर्नुपर्थ्यो । किनभने वर्तमान राजनीतिक तथा संवैधानिक व्यवस्था सफल र जनमुखी बनाउन पनि शैक्षिक क्रान्ति आवश्यक छ । तर दुर्भाग्य नै भन्नुपर्छ, राजनीतिक र संवैधानिक परिवर्तन भएको डेढ दशक हुनै लाग्दा पनि राजनीतिक, प्रशासनिक, प्राज्ञिक र न्यायिक नेतृत्वले शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक क्रान्तिको अनिवार्यता बुझेनन् र जनतालाई त्यो बुझाउने आवश्यकता पनि ठानेनन् ।

उत्पादन तथा सेवाको क्षेत्रमा संलग्न हुन तयार र सक्षम भएको नेपाली नागरिक विदेशी नागरिक वा अमेरिकन बन्न आतुर छ। उ अमेरिकन बन्दा बधाई दिने र खुसीयाली साट्ने सामाजिक चेतना कायम छ। फेरि त्यही चेतनाले अमेरिकन अनुदान एमसिसिमा राष्ट्रघात देखेर अमेरिकी साम्राज्यवाद मुर्दावादको नारा लगाउँछ, किन ? परदेशको अंगिकृत नागरिक बन्न उत्साहित हुने र प्रोत्सहित गर्ने अनि सत्यतथ्य नबुझी धारणा बनाउने खराब चेतना कहाँबाट आईरहेको छ ? यो चेतनाको भरमा सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय परिकल्पना कसरी पूरा गर्न सकिन्छ ? दह्रोसँग प्रश्न उठाउनु पर्ने भएको छ ।

त्यस्तै केहिदिन अघिमात्र भारतीय कलाकार शुसान्त सिंह राजपुतले आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरे । हामीलाई यो घटनाले प्रतिस्पर्धी बन्न बाध्य पार्ने र आफ्नो क्षमता नचिनाउने खराब प्रणालीहरूमाथि प्रश्न उठाउन घच्घच्याएको छ । एउटा उदियमान कलाकार ३४ वर्षकै उमेरमा जीवनदेखि थाकेर आत्महत्या गर्न किन बाध्य भयो ? धेरै हदसम्म नेपालको शिक्षा व्यवस्था भारतको शिक्षा व्यवस्थाबाट प्रभावित भएकोले शुसान्तको आत्महत्यालाई एउटा उदाहरणका रूपमा लिइएको हो ।

त्यस्तै केहि समय अघि रूकुम जाजरकोटबाट प्रेम सम्बन्धलाई लिएर भएको हत्याको घटनाले हाम्रो सामाजिक चेतना र व्यवहारमाथि अर्को गम्भीर प्रश्न उठाएको छ । यसका पछाडिका कारणहरू खोज्न र समाधान गर्न हामीलाई चुनौती दिएको छ । शिक्षाको दर्शन र चरित्रले नागरिकको व्यवहार र राज्यको चित्र स्पष्ट पार्छभन्ने कुरा स्विकार नगर्दासम्म शैक्षिक क्रान्तिको आधार तयार हुने वातावरण बन्ने देखिएन ।

नेपालमा गुणस्तरीय शिक्षाको शक्तिलाई स्विकारीएको छ, तर सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शैक्षिक नीति र व्यवस्थामा आमूल परिवर्तन ‘शैक्षिक क्रान्ति’ गर्न राजनीतिक ईच्छाशक्ति देखिएको छैन । जसले गर्दा शैक्षिक उत्पादन परदेश पलायन हुन रमाउँदैछ । यसको सङ्ख्या वर्षेनी बढ्दो छ । तिनीहरू अमेरिका, युरोप र अष्ट्रेलियाको अंगिकृत नागरिक हुन पाउँदा खुशी देखिन्छन् । अभिभावकहरू पनि यसबाट उत्साहित भइरहेका छन् । राज्यले पनि नागरिक निर्यातबाट प्राप्त विप्रषणले सम्वृद्धिको सपना देखिरहेको छ । किन?

अब शैक्षिक क्रान्ति किन भन्ने प्रश्नलाई बुझ्न र बुझाउन तलका प्रश्नहरूमा हामी स्पष्ट हुनैपर्छ ।

१. शिक्षाको दार्शनिक, सांस्कृतिक, ऐतिहासिक, वैज्ञानिक र सामाजिक पक्ष कस्तो हुनुपर्छ ?
२. राज्यको परिकल्पना पूरा गर्न कस्तो–कस्तो खालको नागरिक ‘शैक्षिक जनशक्ति’ उत्पादन गर्ने तयारी गर्नुपर्छ ?
३. बदलिँदो विश्व परिवेशमा हाम्रो शैक्षिक उत्पादनको स्तर कस्तो बनाउनु पर्छ ?

असल शिक्षा प्रणालीको विकास र प्रभावकारी कार्यान्वयनले मात्र नेपालमा दिगो विकासको लक्ष्य पूरा गर्न, देशभित्र सकारात्मक र रचनात्मक वातावरणको विकास गर्न मद्दत गर्दछ । अन्यथा हामी अनावश्यक प्रभाव र दबावमा परेर विरोधाभाषपूर्ण निर्णय गरेर विवादित भइरहन्छौं । हाम्रा आदर्श र व्यवहारबीच तालमेल मिलाउन नसकेर समाजलाई अस्वभाविक द्वन्द्वको स्थितिमा जानबाट रोक्न सक्दैनौं ।
यहि द्वन्द्व र कमजोरीमा खेलेर एउटा पक्ष वर्तमान राजनीतिक र संवैधानिक व्यवस्थामाथि प्रश्न उठाउन खोज्दैछभने बाह्य शक्तिहरूले पनि आफ्नो स्वार्थअनुकुल हुनेगरी नीति बनाउन र निर्णय गर्न राज्यलाई बाध्य पार्न खोज्दैछ। जसले गर्दा राष्ट्रिय स्वार्थ कमजोर बन्न कि भन्ने त्रास बढेको छ।

अहिले कोभिड–१९ लाई लिएर सडकमा जुनखालको जोखिमपूर्ण गतिविधि भइरहेका छन्, यसले हाम्रो कमजोर चेतनाको स्तर र व्यवहारलाई चिनाउँछ । जस्तोखाल राजनीतिक द्वन्द्वको स्थिति बन्दैछ अनि नागरिक पनि त्यहि द्वन्द्वमा रमाउन खोज्दैछ, यसको मूल कारण शिक्षाले हामीलाई आलोचनात्मक र सिर्जनात्मक भएर सोच्न नै प्रेरित गरेन । हामीले उठेका प्रश्न, विवादित बनेका विषयवस्तु र मुद्दालाई विश्लेषणात्मक तरिकाबाट विवेचना गर्न सकेनौं । लगातार अनुचित दबाव, भ्रम र भयहरूबाट प्रभावित भइरहने अवस्था बन्यो । जसले नागरिकदेखि नेतृत्वको मनस्थिति अनि देशको परिस्थिति सकारात्मक बनेन । अब यो खालको अन्यौलताबाट देशलाई बाहिर निकाल्न र दिगो सम्वृद्धिको यात्रा सुनिश्चित गर्न सबभन्दा पहिला नागरिकलाई प्रशिक्षित गर्ने शैक्षिक प्रणालीमा आमूल परिवर्तन गरिनु पर्छ ।

तथ्याङ्कहरूले देशमा पढेलेखेका अथवा साक्षर जनसङ्ख्या प्रतिशत बढेको देखाउँदै गर्दा हाम्रो आउगर्थिक अवस्थाभने झन् कमजोर बन्दैछ । कोभिड–१९ ले सानो धक्का दिने बित्तिकै अर्थतन्त्र ढल्ने अवस्थामा पुगेको छ । यो शैक्षिक तथा सामाजिक व्यवस्था ठीक नहुँदाको परिणाम होभनेर अब पनि बुझेनौंभने नेपाल असफल राष्ट्र बन्न सक्छ । देश आर्थिक रूपमा टाट पल्टिने छ। त्यसैले गुणस्तरीय शिक्षाको माध्यमबाट योग्य ‘स्वस्थ, दक्ष र सक्षम’ नागरिक तयार गर्न शैक्षिक क्रान्ति आवश्यक छ किनभने योग्य नागरिकहरू शान्ति र समृद्धिको मुख्य संवाहक हुन् ।

सबैका लागि गुणस्तरीय शिक्षा नै समृद्ध नेपाल बनाउनको लागि सबैभन्दा शक्तिशाली साधन हो । यो देशका लागि बुद्धिमान र विवेकशील नागरिक र नेतृत्व तयार गर्ने महत्वपूर्ण माध्यम पनि हो । त्यसैले सबैका लागि गुणस्तरीय शिक्षाका सुनिश्चित गर्न पूर्वीय र पश्चिमी दर्शनसँगको सम्बन्ध र महत्त्व जान्नैपर्छ । हाम्रो शिक्षा प्रणालीलाई पूर्वीय दर्शनको जगमा विकास गर्दै पश्चिमा दर्शनलाई पनि प्रयोग गर्नुपर्छ । त्यसैले शिक्षा व्यवस्थामा दुबै दर्शन बीचको सन्तुलन कायम गरेर अघि बढ्नु आवश्यक छ। किनभने पूर्वी दर्शन ‘सामूहिकवाद’ हामी सँग सम्बन्धित छ जबकि पश्चिमा दर्शन ‘व्यक्तिवाद’ म सँग सम्बन्धित छ । धन्यवाद !

– चितवन

प्रतिकृया दिनुहोस्