२०७६ भदौ १ गते

पाठ्यपुस्तकमा त्रुटिः लापार्बाही कि बुझपचाई ?

रोशन क्षेत्री गाउँले/काठमाडौं


वर्षेनी पाठ्यपुस्तकहरुमा केही न केही त्रुटिहरु भेटिन्छन् । ती त्रुटिहरु सामान्यदेखि गम्भीर प्रकृतिका समेत हुने गरेका छन् । अझ, यस्ता त्रुटिहरु कसैले नऔंल्याइदिएसम्म पाठ्यक्रम विकास केन्द्र (पाविके)ले थाहा नै पाउँदैन । त्यस्ता त्रुटि पत्ता लगाउने र त्यसको सुझाब संकलन गर्ने केन्द्रसँग कुनै संयन्त्र छैन । त्यसैले पत्ता लागिसकेका त्रुटिहरु सच्चिनसमेत लामो समय लाग्ने गरेको छ ।


पाठ्यपुस्तकभित्र गलत तिथिमिति, नाम, तथ्याड्ढदेखि उदाहरणमा समेत त्रुटि भेटिन्छन् । एकैजनाको जन्म मिति तहगत पुस्तकमा फरक–फरक पनि पाइने गरेको छ । एउटा व्यक्तिको स्थानमा अर्काको फोटो हुने समेत गरेका छन् । सरकारी मात्रै नभई निजी विद्यालयमा पठनपाठन हुने पुस्तकहरुमा समेत यस्ता त्रुटिहरु बेग्रल्ति भेटिन्छन् । कक्षा १० को स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा पृष्ठ ९० मा ‘नेपालको प्रजाति विविधता विवरण’ मा प्रजातिहरुको एउटा विवरण र त्यसपछि सोही प्रजातिका अर्कै विवरण राखिएका छन् । कक्षा ४ को अंग्रेजी किताबको युनिट १ को ग्रामरमा त्रुटि छ ।  कक्षा ३ मा पढाइने सामान्य ज्ञानको किताबमा शहीदको सूचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्बिर हुनुपर्नेमा पूर्व न्याय, कानून तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्बिर राखिएको छ ।

काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को ‘मास्टरमाइन्ड जनरल नलेज एन्ड आईक्यू टेस्ट’ (सामान्य ज्ञान) किताबको पृष्ठ ११ मा मन्त्री थापाको नाम र तस्बिर राखिएको छ । किताबको अभ्यास नम्बर १० मा ‘हाम्रा शहीदहरू’ शीर्षकमा विभिन्न शहीदको तस्बिर राखेर विद्यार्थीलाई चिनेर नाम लेख्न भनिएको छ । कक्षा ८ को नेपाली किताबमा विद्यार्थीहरुले लामो समय कथाकार देवकुमारी थापाको जन्म वि.सं. १९८५ वैशाख २ भनेर पढे तर कक्षा ९ का विद्यार्थीले नेपाली किताबको ‘भविष्य निर्माण’ कथामा उनको जन्म वि.सं. १९८४ पढ्न बाध्य भए । नेपाल–तिब्बत युद्ध वि.सं. १९११–१९१२ मा भएको भएपनि कक्षा ८ को सामाजिक किताबको पृष्ठ नं १०६ मा विद्यार्थीहरुले वि.सं. १९१२–१९१३ भनेर पढ्न बाध्य भए । पाठ्यपुस्तकमा तथ्यगत त्रुटि पनि प्रशस्तै भेटिन्छन् । कक्षा ४ को विज्ञान विषयक किताबको पृष्ठ नं ७९ मा सूर्यको सबभन्दा टाढाको ग्रह अरुण भनेर धेरै समय विद्यार्थीले पढे । जबकी, सूर्यबाट सबभन्दा टाढा रहेको ग्रह वरुण हो । बल्लतल्ल त्यो त्रुटि सच्चिएको छ ।


अस्थायी सदस्य राष्ट्रको संख्या १० भएपनि  कक्षा १० को सामाजिक किताबको पृष्ठ नं १५६ मा विद्यार्थीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पाँच स्थायी सदस्य राष्ट्र र पन्ध्र अस्थायी राष्ट्र रहन्छन् भनी पढ्न बाध्य भए । पाठ्यपुस्तकमा विभिन्न तथ्याड्ढहरु पनि अपडेट भएको पाइदैन । कक्षा १० को स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको पुस्तकमा  २०७४ सालसम्मै ०५८ सालकै तथ्याङ्क राखियो । जबकि, ०६८ सालको जनगणना भएको ६ वर्ष बितिसकेको  थियो  ।


पाठ्यपुस्तक निर्माणका क्रममा हुने यस्ता त्रुटि हेर्दा सामान्य लागेपनि यसले  शिक्षण सिकाइमा भने गम्भीर असर परिरहेको छ । केही मिहेनती शिक्षकहरुले पाठ्यपुस्तकका यस्ता त्रुटि पत्ता लगाएर सोधखोज गरी सही कुरा सिकाउने गरेपनि धेरैजसोले ‘किताबमा जे छ त्यहीँ सही’ मान्दै पढाउँदै आएका छन् ।


प्राथमिक विद्यालयका पाठ्यक्रमकै सान्र्दभिकता विषयमा विद्यावारिधि गर्नुभएका  शिक्षाविद् प्रा.डा. तीर्थराज पराजुली शिक्षकहरु त्रुटिपूर्ण पाठ्यपुस्तकलाई मात्रै आधार मानेर  शिक्षण सिकाइ गर्दा विद्यार्थीमा गलत ज्ञान बिस्तार भइरहेको बताउनुहुन्छ । पाठ्यपुस्तकले तथ्यको जानकारी दिने र धारणा विकास गर्नुपर्नेमा त्यो नै गलत भएपछि शिक्षण सिकाइमा गम्भीर असर परिरहेको उहाँको ठम्याई छ । पाठ्यक्रम विकास केन्द्रलाई  त्रुटि सुधारका लागि पटक–पटक सुझाव दिँदासमेत सुधारका लागि केन्द्रले चासो नदिने गरेको पराजुलीको गुनासो छ ।


पाठ्यपुस्तक अति नै संवेदनशील पक्ष हो । ज्ञानको स्रोत बन्ने यस्ता पाठ्यपुस्तकलाई धेरैजसो बालबालिकाले अन्तिम सत्य मान्ने गर्छन् । भनिन्छ, सिकाइको शुरुका दिनहरुमा सिकिने ज्ञान दीगो हुने गर्छ । अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारी भन्नुहुन्छ, ‘त्यस्तो ज्ञान नै त्रुटिपूर्ण भए जीवनभरी नै असर पर्छ ।’


पाठ्यक्रम विकास केन्द्रले एकपटक आफैंले ०५९ सालमा गरेको माध्यमिक तहका पाठ्यपुस्तकहरुको प्राविधिक मूल्याड्ढन अध्ययन प्रतिवेदनले पाठ्यपुस्तकमा भाषागत, तथ्याड्ढगत, छपाइलगायतका विभिन्न त्रुटिहरु औंल्याएको थियो । जसले पाठ्यपुस्तकमा सैद्धान्तिक अर्थ र व्याख्यामै अन्तर पर्नेखालका शब्द चयन भएको पत्ता लगाएको थियो ।  कतिपय तथ्याड्ढ पुरानो, नमिल्ने तथा बाझिने, खासगरी गणित र विज्ञानका सुत्रहरुमा त्रुटि देखियो । त्यस्तै, पाठ्यपुस्तकमा समावेश कतिपय चित्रहरुको प्रस्तुतिकरण नमिलेको, चित्र नै स्पष्ट नभएको, व्याख्या गर्न नसकिने तथा प्रसङ्ग मेल नखानेलगायतका त्रुटिहरु रहेको औंल्याइएको थियो । एउटै चित्र वा विषयवस्तु हिमाल, पहाड र तराईकाले फरक–फरक रुपमा बुझ्ने गरेको पनि अध्ययनमा पाइएको थियो ।


त्यसो त, सरकारीस्तरबाटै नेपाली भाषामा गरिएका नीतिगत त्रुटिको शिकार पनि पाठ्यपुस्तक, विद्यार्थी र शिक्षक हुनु परेको छ । कक्षा १ देखि १० सम्म नेपाली भाषा माध्यमका पाठ्यपुस्तकमा ‘वर्णविन्यास’ परिवर्तन गर्ने नाममा २०६९ साउनमा कर्मचारीको टिप्पणी फाइलका भरमा पहिलाका वर्णविन्यास परिवर्तन गरिए । तर, पछि भाषाविद्हरुले यसमा चर्काे विरोध गरे ।

नेपाली भाषाको मानक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग र भाषा बचाऊ आन्दोलन समितिहरुले तुरुन्तै सच्याउन माग गर्दै विरोध गरेपछि शिक्षा मन्त्रालयले पुनः पुरानै वर्णविन्यास प्रयोग गर्ने निर्णय ग¥यो । तर, यो निर्णय भएको डेढ वर्ष बितिसक्दा पनि विद्यालयहरुमा ‘विद्यालय’, ‘फुल,’ ‘तिन’लगायतका शब्दहरु सच्याउन पाठ्यक्रम विकास केन्द्रबाट ‘संशोधित गरिएको’ भनेर पाठ्यपुस्तकमा कुनै सूची वा निर्देशन पठाइएको पाइदैन । लागू गरिएका नयाँखाले वर्णविन्यास एकतातिर पाठ्यपुस्तकमा रहिरहेका छन् भने अर्काेतिर त्यो वर्णविन्यास गलत थियो भनेर शिक्षा मन्त्रालय आफ्नै निर्णयबाट पछाडि फर्किसकेको अवस्था छ । यस्तो अवस्थामा शिक्षक–विद्यार्थी भने अन्यौल र भ्रममा रहनु परेको छ ।


पाविकेले १० वर्षको अन्तरमा मात्रै पाठ्य–सामग्री परिमार्जन गर्दै आएको छ । १० वर्षमा समाज, देश र संसारमा धेरै परिवर्तन हुन्छन् । धेरै सिद्धान्तहरु जन्मन सक्छन् । नेपालमा १० वर्षको अन्तरालमा ठूला क्रान्ति नै भएका छन् । तर, हाम्रो शिक्षाको गति भने १० वर्ष पुरानो हुने गरेको छ । सामान्य सुधार वर्षैपिच्छे गरिएपनि पाठ्यपुस्तक परिमार्जन भने १० वर्षको अन्तरमा गर्ने गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक कृष्ण काप्री बताउनुहुन्छ । अन्तर्राष्ट्रिय अभ्यास पनि हेरेर अब छिटो–छिटो पाठ्यक्रम परिमार्जन गर्ने बारे केन्द्र तयारीमा जुटेको काप्री बताउनुहुन्छ ।


त्रुटि सच्याउन संस्थागत सुझाब
निर्वाचन आयोगले गएको फागुन ११ गते च.न. ३५ को पत्र लेखी केन्द्रलाई कक्षा ३ देखि १० सम्मको पाठ्यक्रममा भएको त्रुटिहरु सच्याउन पत्राचार गरेको थियो । केहीमा पुराना र केही आवश्यक तथ्याङ्क नभएको भन्दै आयोगले कक्षा १० मा ८ बुँदा, कक्षा ९ मा १० बुँदा, कक्षा ८ मा ७ बुँदा, कक्षा ७ मा २ बुँदा, कक्षा ६ मा १५ बुँदामा सच्याउनुपर्ने विषय पठाएको हो । यसैगरी, आयोगले कक्षा ५ मा पुस्तक उपलब्ध हुन नसकेकाले केही पनि पठाएको छैन । यसैगरी, कक्षा ४ मा ८ बुँदा, कक्षा ३ मा ६ बुँदामा आयोगले सच्याउनुपर्ने विषय पठाएको हो । यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत पाठ्यक्रममा रहेको त्रुटि सच्याउन भन्दै गएको साउन २० मा च.न.ं  ७८ को पत्र र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन २० मै च.नं २१ को पत्र केन्द्रमा पठाएको छ । यस्तै, साउन २४ गते सञ्जय आलेले कक्षा १ को अभ्यास पुस्तिकामा ‘भोलाको घर’ शीर्षकको बाल कवितामा रहेको ‘यो घर कसको ? आलेको...’ भन्ने शब्दले कुनै जातिको अपमान गरेको भन्दै सच्याउन निवेदन दर्ता गराएका छन् ।


त्रुटिबारै पाविके नै अनविज्ञ
पाठ्यपुस्तकमा भएका त्रुटि, प्रभावकारिता, उपलब्धता, गुणस्तर, विद्यार्थीको चाहना तथा धारणा पत्ता लगाउन बेला–बेला अध्ययनहरु हुने र सोही अनुसार सुधार गर्ने अन्तर्राष्ट्रिय प्रचलन देखिन्छ । तर, यहाँ पाठ्यपुस्तकमा भएका त्रुटि पाठकले पत्ता नलगाउँदासम्म फेला नै पर्दैन । पाठ्यक्रम विकास केन्द्रका समन्वय तथा प्रकाशन शाखाकी पाठ्यक्रम अधिकृत चिना निरौला पुस्तक पढेर शिक्षक–विद्यार्थीले गुनासो नगर्दासम्म केन्द्रलाई त्रुटिबारे थाहै नहुने बताउनुहुन्छ । गुनासा पछि बल्ल त्रुटि पत्ता लगाएर सुधार गर्ने गरिएको उहाँको भनाइ छ । यसरी हेर्दा  त्रुटिसम्बन्धी अध्ययन–अनुसन्धान गर्न केन्द्रले आवश्यक ठानेको पनि देखिँदैन ।  


यस्ता छन् त्रुटिका कारण ?
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक कृष्ण काप्र्री पाठ्यपुस्तकमा विभिन्न त्रुटि रहेको स्वीकार्नुहुन्छ ।  पहिले त लेखक नै लेख्ने बेलामा त्रुटि गर्ने गर्छन् । सम्पादक समूहले पनि सम्पादनका बखत ख्याल गर्दैनन वा त्रुटि देख्दैनन् । एक कम्प्यूटरबाट अर्कोमा सामग्री सार्दा प्रोग्रामकोे समस्याले समेत पाठ्यपुस्तकमा त्रुटि भेटिने गरेको काप्री बताउनुहुन्छ । पाठ्यक्रम अधिकृत चिना निरौला लेखकले विभिन्न फरक स्थानबाट आधिकारिक स्रोत संकलन गर्दासमेत तथ्यमा फरकपन आउने दाबी गर्छन् । साक्षरताकै सन्दर्भमा पनि शिक्षा विभागको फ्ल्यास रिर्पोट र अनौपचारिक शिक्षा केन्द्रको रिर्पोटमा एकरुप नहुन सक्छ । निरौला भन्नुहुन्छ, ‘दुईजना लेखकले दुई स्थानबाट तथ्याड्ढ लिएमा पनि तथ्याड्ढमा फरकपना आउन सक्छ ।’


सच्चिन किन हुन्छ ढिलाइ ?
पाठ्यक्रम विकास केन्द्रले थाहा नपाउँदासम्म त्रुटि सच्चिँन सक्दैन । शिक्षक–विद्यार्थीले पनि केन्द्रमा त्रुटिसम्बन्धी थोरै मात्रै गुनासा गर्ने गरेका छन् । त्यसैले पनि त्रुटि सच्चिँन समय लाग्ने गरेको महानिर्देशक काप्री बताउनुहुन्छ । पहिले शिक्षक–विद्यार्थीहरुले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा जिशिअको संयोजकत्वमा रहेको पाठ्यपुस्तक समन्वय समितिमार्फत् त्रुटिसम्बन्धी उजूरी वा सुझाब दिने गरेपनि पछिल्लो समय त्यो रोकिएको छ । केन्द्रले आफ्नो वेवसाइटमा उजूरी गर्ने व्यवस्था गरेपनि त्यो पनि प्रभावकारी हुन सकेको छैन । केन्द्रका अनुसार निर्वाचन आयोग, शिक्षा मन्त्रालयमार्फत्लगायतले संस्थागत रुपमै पत्र पठाएर समेत त्रुटि सच्याउन आग्रह गर्ने गरेका छन् । यस वर्ष भदौसम्ममा पाठ्यपुस्तकमा त्रुटिसम्बन्धी सुझाब एउटा पनि नआएको केन्द्रले जनाएको छ ।


त्रुटिको असर के ?
शिक्षकले पाठ्यपुस्तकमा भएका विषयवस्तु राम्रोसँग पढाएपनि विद्यार्थीले त्यहीँ कुरा राम्रोसँग पढेपनि पढेकै विषय गल्ति भइदिँदा सम्पूर्ण सिकाइ नै गलत हुने शिक्षाविद् डा. विष्णु कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘गलत सिकेपछि पक्कै पनि परिणाम पनि गलत नै आउँछ । शिक्षकले तालिम पनि पुस्तक पढाउने लिए, परीक्षामा प्रश्नहरु पनि किताबबाटै आए, विद्यार्थीले किताब मात्रै पढे, समाजले के पढेभन्दा पनि पास र फेल मात्रै हे¥यो । यसले गर्दा शिक्षकहरु खोज्न, अपडेट गर्नभन्दा पनि किताब पढाउन मात्रै व्यस्त रहे,’  उहाँ थप्नुहुन्छ, ‘सही लेख्दा पनि किताबमा भएको त्रुटिपूर्ण विषयले विद्यार्थीमा असर पर्ने अवस्था छ ।’

पाठ्यपुस्तकमा त्रुटि हुँदा आफूले सच्चाएर पढाउदा पनि विद्यार्थीले किताबकै कुरा सही मान्ने गरेको पृथ्वी मावि चितवनकी शिक्षक दूर्गाकुमारी रायमाझीको अनुभव छ । परीक्षामा कपी परीक्षण गर्दा किताबमै लेखिएको कुरालाई सही मान्ने कि वास्तविकलाई ? भन्नेमा अन्यौल रहने गरेको रायमाझी बताउनुहुन्छ ।  पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक काप्री भने पाठ्यपुस्तकलाई त्रुटिरहित र अध्यावधिक गर्न केन्द्र प्रयत्नशील रहेको बताउनुहुन्छ ।  

लेखक र सम्पादकको योग्यतामा प्रश्न
पाठ्यपुस्तकमा हुने त्रुटिका लागि सर्वसाधरणले लेखक र सम्पादकको योग्यतामा समेत प्रश्न उठाउन थालेका छन् । तर, यो आरोपलाई पाठ्यक्रम विकास केन्द्रले ठाडै अस्वीकार गरेको छ । केन्द्रले निश्चित शर्तसहितको सूचनाबाट आवेदन मागि प्रत्येक वर्ष पाठ्यपुस्तक लेखकहरुको विषयगत रोष्टर तयार पार्ने, मूल्याङ्कन समितिले योग्यता र विगतको अनुभवको आधारमा त्यसै सूचीबाट लेखक चयन र उनीहरुसँग निश्चित शर्तसहितको लेखन सम्झौता गर्ने गरिएको जनाएको छ ।

यस्तै, ४५ दिनभित्र लेखकले किताब लेखी बुझाएपछि शिक्षक, विज्ञसहितको कार्यशालामार्फत् परिमार्जन गरी विषयगत समितिमा जाने र विषयगत समितिले त्यसलाई विषयगत वैधता प्रदान गर्ने केन्द्रले जनाएको छ । त्यसपछि समन्वय तथा सम्पादक समितिले यसको लम्वीय र कमतलीय सन्तुलन परीक्षण गरी स्वीकृतिका लागि सरकारसामु पेश गर्ने र शिक्षामन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेपछि छपाइमा पठाइने केन्द्रले जनाएको छ । केन्द्रकी पाठ्यक्रम अधिकृत चिना निरौला विभिन्न प्रक्रिया पूरा गरेर लेखक छनोट हुने र प्रक्रिया अनुसार नै किताब तयार हुने भएकाले यस प्रक्रियामा शंका गर्नै नसकिने बताउनुहुन्छ ।

साभार:आजको शिक्षा साप्ताहिक

Comments: