काठमाडौँ । चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कुलको भवन नेपाल सरकारलाई हस्तान्तरण नहुँदा व्यवस्थापनमा समस्या आएको छ ।

कोभिड–१९ ले गर्दा गत चैतमै निर्माण सम्पन्न भएको विद्यालय भवन हस्तान्तरण प्रक्रिया ढिलो भएको हो । चालू शैक्षिक सत्रबाट नयाँ भवनमा पठनपाठन गर्ने लक्ष्य भएपनि हालसम्म आन्तरिक व्यवस्थापन हुन नसकेको व्यवस्थापन समितिले जनाएको छ ।

‘लकडाउन खुलेपछि नयाँ भवनमा पठनपाठन सञ्चालन गर्ने तयारीमा छौं,’ भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल महर्जनले  भने, ‘तर, चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिनसकेकाले हामीले योजना अनुसार केही पनि गर्न पाएका छैनौं । जुन आकर्षणले हामी अघि बढ्नुपर्ने हो, त्यो केही पनि हुन सकेको छैन ।’

२०७२ सालको भूकम्पले ध्वस्त भएका विद्यालयमध्ये चीन सरकारले ७ वटा विद्यालय निर्माण जारी राखेको छ । त्यसमा ऐतिहासिक दरबार हाई स्कुल सबैभन्दा अगाडि निर्माण सम्पन्न गरेको हो । यो विद्यालय काठमाडौं महानगरपालिका-२७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको छ ।

‘चिनियाँ सहयोगमा विद्यालय निर्माण आयोजना’अन्तर्गत सांघाई कन्सट्रक्सनले बनाएको हो । यो चार तले भव्य भवन ५२ कोठाको रहेको छ । सम्झौताअनुसार ४ हजार २ सय वर्ग मिटर क्षेत्रफलमा ९० करोड १० लाख रुपैयाँ लागत स्टिमेटमा नयाँ भवन बनेको हो ।

दरबार हाई स्कुलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सुचारु रहँदै आएको छ । दुवै विद्यालय अलग अलग व्यवस्थापनमा सुचारु छन् । भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गस्थित बालमिकि क्याम्पसको हातामा अस्थायी कक्षा कोठामा पठनपाठन हुँदै आएको छ । यहाँ पढ्ने अधिकांश विद्यार्थी काठमाडौं बाहिरबाट आएर व्यापार, व्यावसाय, मजदुरी गर्ने अभिभावकका छोराछोरी हुन् । नयाँ विद्यालय भवन बनेसँगै स्थानीयवासीका छोराछोरीसमेत पढ्न आउने वातावरण निर्माणमा जुटेको दुवै विद्यालयको व्यवस्थापन समिति सदस्य तथा महानगरपालिका-२७ का सदस्य परिवेशमान बज्राचार्यले बताए ।

‘ऐतिहासिक स्कुललाई नमुना विद्यालयका रूपमा विकास गर्ने योजनामा छौं,’ उनले भने, ‘तर दुई सरकारबीच स्वामित्व हस्तान्तरण नगरेकाले हाम्रो आन्तरिक तयारी गर्न सकिरहेका छैनौं ।’ नयाँ भवनमा प्रवेश अनुमति पाएमा तत्काल मन्टेसरी कक्षा विस्तार, प्राविधिक धारतर्फ पूर्वाधार तयारी गर्ने उनले जनाए ।

‘कोभिड–१९ को कारण चीन सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्न ढिलाइ भएको हो,’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्, ‘स्थिति सहज भएपछि अघि बढ्न सक्छ ।’पूर्व तालिकाअनुसार सामान्य अवस्था भएको भए गत वैशाख १२ गते हस्तान्तरण भइसक्ने थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) परियोजना प्रमुख चूडामणि पौडलका अनुसार भवन हस्तान्तरण अघि चीन सरकारको प्राविधिकले अन्तिम निरीक्षण गर्न बाँकी छ ।

दरबार हाई स्कुलको भवन निर्माण भएसँगै दुई विद्यालय व्यवस्थापन समितिले नयाँ योजना निर्माण गरेका छन् । भानुमाविमा प्ले ग्रुप, नर्सरी, एलकेजी र यूकेजी व्यवस्था गरी मन्टेसरी विधि अपनाउने, अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने, स्थानीय विषयअन्तर्गत नेपालभाषा (नेवा: भाषा) थप्ने, आईटीमा आधारित प्राविधिक धारको कक्षा सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । रोबोटिक एसोसियसन नेपालसँग सहकार्यमा कक्षा ४ देखि ८ कक्षासम्म रोबोटिक शिक्षा दिइने छ । संस्कृततर्फ आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा प्रविधिमसँगै जोडेर पठनपाठन गर्ने लक्ष्य रहेको उनले बताए ।

भानु माविका निमित्त प्रधानाध्यापक अखिलेस प्रसाद आजादका अनुसार गत शैक्षिक सत्रमा १ सय ५० विद्यार्थी थिए । लकडाउनपछि सम्पर्कमा आएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको जनाए । यसबीचमा कार्यरत २२ शिक्षकलाई आईसीटी तालिम सञ्चालन गरिएको छ ।

त्यसैगरी संस्कृत माविमा गत शैक्षिक सत्रमा संस्कृततर्फ कक्षा ६ देखि १० मा १ सय ५५ जना तथा कक्षा ११ र १२ मा १ सय १२ जना विद्यार्थी थिए । प्रधानाध्यापक शिवराज अधिकारीका अनुसार सम्पर्कमा आएकालाई पुस्तक वितरण र ८ देखि १० कक्षाका विद्यार्थी अनलाइन कक्षा सञ्चालन गरेको बताए ।

शेरबहादुर सार्कीले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्