सामुदायिक विद्यालय निर्विकल्प हुने दिन टाढा छैन

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२४ जेष्ठ २०७७, शनिबार

प्रेमबहादुर बस्नेत
प्रधानाध्यापक
नवीन औधोगिक कदर बहादुर रीता मा.वि.
देवीनगर, बुटवल–११, रूपन्देही

विद्यालयको समग्र अवस्था कस्तो छ ?
विद्यालयको समग्र अवस्था राम्रो छ । विद्यालयमा विद्यार्थीहरूको चाप बढ्दो छ । विद्यार्थीहरूको चापको आधारमा भौतिक पुर्वाधारको अभाव छ । विद्यालयमा मन्टेश्वरी देखि कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । कक्षा ११ र १२ मा  विज्ञान संकाय, कक्षा ९ देखि १२ सम्म  सिभिल इञ्जिनियरिङ पूर्ण अंग्रेजी माध्यममा र व्यवस्थापन संकाय अंग्रेजी र नेपाली माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यालयको स्वामित्वमा २ विगाहा १० कठ्ठा जग्गा रहेको छ । हाल २१७५ विद्यार्थी र उनीहरुका लागि ९२ जना शिक्षक तथा कर्मचारीहरू कार्यरत छन् । हालै यो विद्यालय प्रदेश नं. ५ मा रूपन्देही जिल्लाबाट प्रदेश नमुना विद्यालयको रूपमा छनोट भएको छ  ।

शैक्षिक सुधारका लागि भएका फरक अभ्यास के–के छन् ?
हामीले कक्षागत रूपमा केजी देखि कक्षा ९ सम्म र कक्षा ११ मा स्तर निर्धारण परीक्षा लिन्छौं ।  विद्यालयका विभिन्न तहगत विषयगत नतिजाहरूलाई विभिन्न विधिहरू प्रयोग गरेर अनुसन्धान गर्ने र Major Findingsको रूपमा प्राप्त भएका कमी कमजोरीलाई सुधार गर्दछौं । कक्षा ४ देखि १० सम्म गणित, विज्ञान, सामाजिक र नेपाली विषयहरूका विभिन्न चरण परीक्षाहरूमा डी ग्रेड भन्दा तल भएका विद्यार्थीहरूलाई शनिवार मौका परीक्षा लिने, प्रत्येक चरणका परीक्षा पश्चात् अभिभावकहरूलाई उत्तर पुस्तिका देखाउने, आवश्यक पृष्ठपोषण दिने नतिजा बारेमा जानकारी गराउने गर्छौं । विद्यार्थीहरूका कमजोर पक्षहरूको पहिचान गरेर निर्माणात्मक मूल्याङ्कनबाट सुधार गर्ने गर्छौं ।  पठनसिपका ५ तत्वहरू सुधार गर्नको लागि कक्षा १,२ र ३ का विद्यार्थीहरूलाई कार्य योजना बनाएर प्रत्येक कक्षाबाट २–२ जनाका दरले प्रत्येक दिन बिहान ९.३० बजे देखि १०.१० सम्म प्रारम्भिक पढाइ सीप वृद्विमा २ जना शिक्षकहरूलाई जिम्मा दिई दैनिक १२ जनालाई अभ्यास गराउने परीक्षण गर्ने र आवश्यक पृष्ठपोषण दिने गरिन्छ । विद्यालय पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुने भएकोले नेपाली विषयलाई बढी जोड दिने भाषिक शुद्धता श्रुति लेखन, वर्णविन्यासलगायतमा बढी ध्यान दिने व्यवहारिक र दिगो पठनपाठनलाई ध्यान दिने गरिन्छ । आधारभूत तहमा पनि सकेसम्म मूल विषय अध्ययन गरेको शिक्षकलाई कक्षा शिक्षणमा जिम्मा दिने गरेका छौं ।

कक्षा कोठालाई बालमैत्री र सिकाइमैत्री गराउन विद्यालयले के प्रयास गरेको छ ?
कक्षाकोठामा बालमैत्री र सिकाइमैत्री वातावरण निर्माणका लागि विद्यार्थीको  बसाइँ व्यवस्थापन, पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापन, छापायुक्त कक्षा कोठा, बुुक कर्नरको व्यवस्थापन गरिएका छन् ।  कक्षामा टेलिभिजन जडान गरी मन्टेश्वरी तालिम प्राप्त शिक्षकबाट माया तथा स्नेहका साथ अध्यापन गराउने गरिएको छ । बालमैत्री पिउने पानी, शौचालय व्यवस्थाका अतिरिक्त बुटवल उपमहानगरपालिकाले दीवा खाजा विद्यार्थीहरू व्यवस्था गरेकोले थप प्रभावकारी भएको छ ।

सिकाइस्तरको अवस्था कस्तो छ ?

विद्यालयको सिकाइको स्तर अति राम्रो रहेको छ । २०६४ सालबाट विद्यालयले एसएलसी परीक्षा पहिलो पटक सहभागी भएकोमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा प्राप्त गरेको थियो । २०६५ सालमा दलित तथा पिछडा वर्गबाट शिव सुनारले ८३.५ प्रतिशत ल्याएर रूपन्देही जिल्ला प्रथम भएका थिए । २०६६ सालमा जिल्लामा उत्कृष्ट सहित शत प्रतिशत नतिजा आएको थियो । २०६९ सालको नतिजाको आधारमा नेपाल सरकारको प्रोत्साहन स्वरूप ५ लाख दिने नीति अनुसार विद्यालयले प्राप्त गरेको थियो । २०७० सालको एसएलसी नतिजाको आधारमा शिक्षा मन्त्रालयले देशका उत्कृष्ट ३३ वटा सामुदायिक विद्यालयको सूची सार्वजनिक गरेकोमा १९ औं स्थानमा आउन सफल भएको थियो । नेपाल सरकारको नीति अनुसार देशका उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरूबाट सेमिनारमा विद्यार्थी पढाउने कार्यक्रममा यस विद्यालयकी मेधावी छात्रा सिर्जना केसी २०६० सालमा जापान भ्रमण गरेकी थिइन् । २०७१ सालमा टि–एसईई परीक्षामा सिर्जना केसी र शाश्वत पाण्डेले ३.८८ जिपिए ल्याएका थिए । २०७४ सालको सिभिल इन्जिनियरिङको बोर्ड परीक्षामा सिर्जना केसीले ८२.३३ प्रतिशत ल्याएकी थिइन् भने व्यवस्थापन संकायमा कक्षा १२ की शान्ता पौडेलले ७६.६ प्रतिशत ल्याएर उत्तीर्ण भएकी थिइन् । एसईई २०७२ सालका प्रथम विद्यार्थी जेम्स गुरूङ नेपालका इन्जिनियरिङ क्याम्पसहरू मध्ये नवौं स्थानमा सूचीकृत क्याम्पस NCIT मा पूर्ण छात्रवृत्तिमा बिइआइटि अध्ययनरत छन् भने टि– एसईईका प्रथम विद्यार्थी विशाल सुवेदी, संकल्प अधिकारी र मधु सुदन लोहनी धरान इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्दैछन् ।

२०७४ सालको एसईईमा विपिन अधिकारी र सुजन ज्ञवालीले ३.९६ जिपिए ल्याएका थिए । राष्ट्रिय परीक्षा बोर्डको मूल्याङ्कनको आधारमा सिभिल इन्जिनियरिङ धारतर्फ नेपालमा उत्कृष्ट मानिन्छ । २०७६ सालको व्यवस्थापन संकाय कक्षा ११ को वार्षिक बोर्ड परीक्षामा छात्रा अपेक्षा चौधरीले ३.७६ जिपिए ल्याएकी थिइन् जुन सामुदायिकमा बढी हो भने सिभिल इन्जिनियरिङमा विपिन अधिकारीले ३.७० जिपिए ल्याएका थिए । २०७५ सालको एसईई को सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ को मूल्याङ्कनमा यस वर्षको कमजोर ब्याचका वावजुद पनि ५ नम्बर प्रदेशमा पाँचौँ स्थान र रूपन्देही जिल्लामा दोस्रो स्थान आउन सफल भएको थियो । हालै यस विद्यालयबाट सिभिल इन्जिनियरिङमा कक्षा १२ उत्तीर्ण छात्रा सुजाता खरेलले नेपालमै सर्वोत्कृष्ट विश्वमा ३३०२ औ स्थान कायम गर्न सफल पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पूर्ण छात्रवृत्तिमा १६ औ स्थानमा नाम निकालेर अध्ययन गर्दै छिन् । माथिका सूचकका आधारमा सिकाइ स्तरको अवस्था प्रष्ट हुन्छ । अन्यकक्षाका सिकाइ उपलब्धि पनि उत्कृष्ट रहँदै आएका छन् ।  यो अवस्था हुनुमा सक्रिय विव्यस र शिअस लगनशील, प्रतिबद्ध र मेहनेती शिक्षक, प्रशिक्षक एवम् कर्मचारी, परिश्रमी विद्यार्थी र सहयोगी अभिभावकका कारण सम्भव भएको हो ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गएको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
यो कुरा मान्न सकिन्न । यो त मिडियाका कुरा भए । सामुदायिक विद्यालयका राम्रा कुरा मिडियामा आउनै सकेनन् । जहाँ केही गडबडी छ त्यहाँका मात्रै खबर बढी आए । जसले सबै सामुदायिक विद्यालय प्रतिको धारणा गलत बन्यो. । सामुदायिक विद्यालयको देश भरको अवस्था सुधार हुँदै गएको छ । किनकी सामुदायिक विद्यालयमा प्रायः जसो शिक्षक सेवा आयोगबाट उत्तीर्ण सक्षम जनशक्तिहरू छन् । सरकारको गलत नीति सामुदायिक विद्यालयको पूर्वाधार विकासमा पर्याप्त बजेट लगानी नगर्नु र प्रभावकारी पुरस्कार र दण्डको व्यवस्था नहुनाले सोचे अनुसार हुन नसकेको मात्र हो । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रोत्साहन र नियमन गरेमा सामुदायिक विद्यालयको अवस्था अझै सुधार हुँदै जाने छ । विभिन्न समस्याका बावजुद पनि सामुदायिक विद्यालय प्रतिस्पर्धी हुँदै जानु चानचुने कुरा होइन । यदि सबै मिलेर लाग्ने हो भने
सामुदायिक विद्यालय निर्विकल्प हुने दिन टाढा छैन । सामुदायिक विद्यालय राम्रा भए निजी विद्यालय आफै सकिनेछन् । विरोध गरिराख्नु पर्दैन ।

अभिभावकहरूले अझै पनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नी ?
फेरी यो पनि मिडियाका कुरा भए । देशभरका ८० प्रतिशत बालबालिका कहाँ पढीइरहेका छन् त ? सामुदायिक विद्यालयहरू प्रति आम अभिभावक वर्गहरूको आकर्षण र विश्वास बढ्दै गइरहेको छ । अझै स्थानीय सरकारले अभिभावकले पत्याउने खालको वातावरण सिर्जना गर्नुपर्छ । जसले बाँकी २० प्रतिशत बालबालिकालाई पनि फर्काउन सकियोस् । सरकारले उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति पाउन सामुदायिक विद्यालयबाट कक्षा ६ देखि अनिवार्य पढ्नुपर्ने प्रावधान ल्याएको छ । स्थानीय सरकारले सामुदायिक विद्यालयहरूलाई प्रोत्साहन, नियमन र सहजीकरण गर्न तर्फ विशेष ध्यान दिनु पर्छ । सामुदायिक विद्यालयहरु पछिल्ला दिनमा यसरी जुर्मुराएका देखिन्छन् अबका केही वर्षमा निजी विद्यालयहरु आफै धाराशाही बन्ने देखिन्छ ।

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ, सुधारका लागि के गर्नुपर्ला ?
क्षमता केलाई मान्ने भन्ने प्रश्न हो । शैक्षिक डिग्री, तालिम, अनुभव, प्रतिस्पर्धी हुनुको हिसावले सामुदायिक विद्यालयका शिक्षकहरुसँग अन्यलाई दाज्न सकिन्न । तर, शिक्षक कस्तुरी जस्ता भए । आफुभित्र क्षमता छ त्यो पहिचान गर्न सकेनन् । इमान्दारिता, कर्तव्यनिष्ठ, जिम्मेवारी बोध र मिहिनेती भएनन् । पढाउनमात्रै खप्पीस भए । आफूले पढ्न खोजेनन् । पाठ्यपुस्तकभन्दा बाहिर जान खोजेनन् । समस्या क्षमतामा होइन् नियत मा छ । नियत साफ गर्नुपर्यो । सूचना प्रविधिमैत्री बन्ने, सिकाइ सामग्री खोज्ने र पाठ्यक्रममा आधारित भएर सिकाउने गर्नुपर्यो । विद्यालय समयमा व्यस्त बन्नुपर्यो । फलानो विद्यालयमा धेरै जोताउछ भनेर नयाँ शिक्षकहरुसमेत राम्रा सामुदायिक विद्यालयमा जान डराउने अवस्था देख्दा उदेक लाग्छ । मिहिनेत गर्न डराउँनु भएन । विद्यार्थीलाई शतप्रतिशत समय दिनुपर्यो । यसोगर्ने शिक्षकले धेरै राम्रो गरेका छन् ।

शिक्षकहरूको बेला–बेलामा क्षमता परीक्षण हुनु पर्लाकी नपर्ला ?
शिक्षकहरूको क्षमता परीक्षण त विद्यार्थीहरूले बोर्ड परीक्षामा प्राप्त गरेका उपलब्धिस्तरले गरिरहेको छ । बरू विद्यार्थीहरूको जग भनेको आधारभूत तह भएकोले कक्षा ५ सम्म अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयहरूमा विषयगत दक्ष शिक्षक व्यवस्थापन गरेर पठनपाठनलाई अगाडि बढाउनु पर्छ र स्थानीय सरकारले कक्षा ३ र ५ को शैक्षिक सत्रको अन्तमा अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको २०–२० प्रतिशतको आधारमा १०० पूर्णाङ्कमा एक दिन परीक्षा लिने र राम्रो गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने गर्नुपर्छ । कमजोर उपलब्धिस्तर ल्याउने विद्यालयलाई नियमन गर्ने व्यवस्था भएमा आधारभूत तहको पठनपाठन पनि सुधार हुने र विषय शिक्षकको क्षमता परीक्षण पनि हुने हुनाले यसलाई स्वतन्त्र विज्ञमार्फत प्रश्न बैंक मार्फत गरेमा धेरै प्रभावकारी हुने देखिन्छ । यसको मतलव शिक्षकको क्षमता ठीक छ भन्ने होइन् । अब २०३२ सालमा लिएको शिक्षाले अहिलेका विद्यार्थी सिकाउन सकिन्न । विद्यार्थीहरु धेरै जान्ने छन् । शिक्षकले मिहिनेत गर्नुपर्छ । तिखारिनै पर्छ । प्रविधिमैत्री बन्नै पर्छ । पढाएको विषयमा कमजोर नतिजा ल्याउने शिक्षकको तह घटुवा गर्दा पनि हुन्छ ।

 सरकारले दिने शिक्षक तालिम, पाठ्यक्रम, परीक्षा प्रणाली र मूल्याङ्कनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सरकारले दिने शिक्षक तालिम खत्तम छ जस्तो लाग्दैन तर, यसलाई  वैज्ञानिक र व्यवहारिक बनाउनु आवश्यक देख्छु ।  पाठ्यक्रम पनि कक्षा ११ र १२ मा धेरै विवादित भएको छ । परीक्षा प्रणाली पनि वर्ष भरी पढेको आधारमा ३ घण्टाको परीक्षामा निर्णयात्मक मूल्याङ्कनलाई मात्र हेर्ने व्यवस्था छ । विद्यार्थीहरूको सीप, सिर्जनशीलता र ज्ञान पक्ष ओझेलमा परेको छ । जसले गर्दा श्रम बजारमा सजिलै बिक्न समस्याहरू भएको छ । अब सबैमा समयसापेक्ष आमूल सुधार हुनुआवश्यक छ । माटो सुहाउँदो शिक्षा हुनु आवश्यक छ । शिक्षालाई सूचना प्रविधि र जीवनोपयोगी सीपसँग जोड्नु आवश्यक छ ।

एउटा विद्यालय राम्रो बनाउनका लागि एक जना प्रधानाध्यापकको कस्तो भूमिका रहन्छ ?
विद्यालयलाई राम्रो अवस्था ल्याउनको लागि विद्यालयका प्रधानाध्यापकको महत्वपूर्ण भूमिका रहन्छ । विद्यालयल राम्रो बनाउन प्रधानाध्यापक लगनशील, मेहनती, प्रतिबद्ध, योजनाकार, दूरदर्शी, आर्थिक रूपमा पारदर्शी, मितव्ययी, भिजनेरी र निर्णय क्षमता भएको हुनुपर्छ । अभिभावक, विद्यार्थी, समुदायको भावना, चाहाना बुझन सक्ने प्रशासन र व्यवस्थापनलाई समन्वय गर्न सक्ने विद्यालयका आन्तरिक र वाहय पक्षहरू शुक्ष्म मूल्याङ्कनलाई विशेष ध्यान दिएर उत्प्रेरणालाई आत्मसात् गरी भूमिका निर्वाह गर्दै जाने प्रअ ले नै सुधार गर्छ भन्ने लाग्छ ।

नवीन औद्योगिक माविमै किन पढाउने ?
हाम्रो विद्यालयमा बालमैत्री, सिकाइमैत्री वातावरण व्यवहार कुशल सीपमा बढी जोड दिएर अध्यापन गरिन्छ । सूचनाप्रविधिलाई बढी प्राथमिकता दिइन्छ । अर्कोतर्फ विद्यालयमा विद्यार्थी अनुशासन, खेल, नृत्य विद्यार्थीको प्रतिभा पहिचान गरी विशेष परामर्श गर्ने गरिन्छ ।  समाजमा आमा समूह, टोल समितिका बैठकहरू, कार्यक्रम सञ्चालन, निर्णय अभिलेखन ट्राफिक जनचेतना, खुला बहसलगायत समाज उपयोगी कार्यमा सहजीकरण गर्ने गरिन्छ । तालिमहरू सिकाउनुका अतिरिक्त यस विद्यालयमा उत्पादित जनशक्तिहरू श्रमबजार बिकी सकेका छन् । उदाहरणको लागि यसबाट अध्ययन गरेका सिभिल इन्जिनियरिङका ५ जना विद्यार्थीले लोक सेवा आयोगबाट छनोट भई सिफारिस भई सकेका छन् भने व्यवस्थापन संकायमा यस विद्यालयबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूले नेपालको उत्कृष्ट पब्लिक क्याम्पस (क्युएए) प्राप्तमा लुम्बिनी वाणिज्य क्याम्पसमा २०७६ सालको बिबिएसको प्रवेश परीक्षामा प्रथम स्थानमा नाम निकालेका थिए । उनी पूर्ण छात्रवृत्तिमा बिसिए र अन्य ४ जना बिबिएमा पूर्ण छात्रवृत्तिमा नाम निकालेर अध्ययन गर्दै छन् ।

तपाईं यस विद्यालयमा कहिले प्र.अ. बन्नुभयो ? तपाईं प्र.अ. बनेपछि के–के सुधार गर्नुभयो ?
म यस विद्यालयमा २०६० फागुन १३ देखि प्रधानाध्यापकको जिम्मेवारीमा छु । म प्रधानाध्यापक भएसँगै शैक्षिक सत्र २०६४ सालबाट नर्सरी देखि पूर्ण अंग्रेजी माध्यममा पठनपाठनको सुरू भयो । हाम्रो विद्यालय भएको सेवा क्षेत्र नजिक सुकुम्बासी बस्ती बढी छ । यसका बावजुद पनि २०६४, २०६६ सालमा एसएलसीको नतिजा नेपालमै शतप्रतिशत उत्तीर्ण बनाउन सफल २०६९, २०७० सालमा विद्यालयको नतिजा उत्कृष्ट ल्याउन सफल २०७५ सालमा ब्रिटिश काउन्सिलद्वारा प्रदान गरिने ’International School Award 2017-2020’ प्राप्त गर्न सफल भयो ।  विद्यालयको गुरू योजना निर्माण, भौतिक पूर्वाधार विकास र निर्माण, विद्यालयमा कम्प्युटर प्रयोगशाला सूचनाप्रविधि निर्माण तथा जडान सिभिल इञ्जिनियरिङको अत्याधुनिक प्रयोगशाला निर्माण एवम् सामग्री व्यवस्था कक्षा ९–१२ सिभिल इञ्जिनियरिङ सञ्चालन भयो ।  व्यवस्थापन संकाय कक्षा ११ र १२ सञ्चालन र कक्षा ११ र १२ विज्ञान संकायको लागि बुटवल उपमहानगरपालिका र विद्यालयको संयुक्त लगानीमा आधुनिक स्तरीय रसायन, जीव र भौतिक विज्ञान प्रयोगशाला निर्माण र विज्ञान संकाय सञ्चालन गरियो ।  विद्यालयमा हरियाली वातावरण सिर्जना व्यवसायीक सपिङ कम्प्लेक्स, चमेना गृह निर्माणका साथै २०७५ सालको एसइइको मूल्याङ्कनको आधारमा ५ नम्बर प्रदेशमा विद्यालयलाई पाँचौँ स्थानमा र रूपन्देही जिल्लामा दोस्रो स्थानमा ल्याउन सफल भएको छ ।  विद्यालयका भौतिक पूर्वाधार र शैक्षिक सुधारका सूचकहरूको आधारमा प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयबाट रूपन्देही जिल्लामा नमुना विद्यालयमा पार्न सफल विद्यार्थीहरूलाई सीप युक्त सिकाइ प्रदान गर्न र प्रयोगात्मक कक्षालाई फिल्डमा प्रभावकारी गराउन ५१ सीट क्षमता भएको स्कुल बस खरिद, कम बिदा लिने शिक्षकहरूलाई प्रोत्साहन व्यवस्था वर्षे बिदा र सार्वजनिक बिदाको समयमा पठनपाठन तथा परीक्षा सञ्चालन र प्रोत्साहन व्यवस्था २०७३ र २०७४ मा क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सह आयोजकको रूपमा सदस्य सचिवको जिम्मेवारी वहन गर्न पाएँ ।

२०७६ सालमा बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रथम बुटवल नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालय सह आयोजक भई सदस्य सचिवको भूमिका निर्वाह प्रदेशको तेस्रो र बुटवल उप–महानगरपालिकाको ६१ औ स्थापना दिवसमा आयोजित र्यालिमा शिक्षण संस्थाको तर्फबाट प्रथम भई पुरस्कृत हुन सफल पूर्व अर्थमन्त्री एवम् नेकपा महासचिव विष्णु प्रसाद पौडेलद्वारा शिक्षा क्षेत्रमा विनियोजन गरिएको संसद् विकास कोषको ५० लाख बजेट विद्यालयलाई विनियोजन गराएका विद्यालयमा कार्यरत वि.व्य.स. अध्यक्ष, सदस्य, प्र.अ. एवम् शिक्षक गरी १३ जना राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएको अवस्था छ ।

राष्ट्रमै भौतिक सुधार र शैक्षिक गुणस्तर अभिवृद्धि नमुना योग्य भएको कारण विद्यालयमा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, पूर्व उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाज कल्याण मन्त्री सी.पी. मैनाली, पूर्व उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह , पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल, पूर्व रक्षा मन्त्री बालकृष्ण खाण, पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री महन्थ ठाकुर, विश्व बैंकका कन्ट्री डाइरेक्टर केनिची ओहासी (जापान), प्रदेश नं.५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, बुटवल उप(महानगरपालिका नगर प्रमुख शिवराज सुवेदी,पूर्व नगर प्रमुख सूर्य प्रसाद प्रधान, बुटवल उप(महानगरपालिका उप प्रमुख गुमादेवी आचार्य, पूर्व सचिव महाश्रम शर्मा, पूर्व प्रजिअ स्थानिश्वर देवकोटा र तारानाथ गौतमबाट भवनहरूको समुदघाटन र शिलान्यास सम्पन्न भएको छ ।

पूर्व सभामुख राम चन्द्र पौडेल, नेपाल सरकार वहालवाला पूर्व उप प्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व मन्त्रीहरू दिनानाथ शर्मा, धनिराम पौडेल, शुरेश मल्ल, रामकृष्ण ताम्राकार, खुम बहादुर खड्का, चिरञ्जीवी वाग्ले सङ्घीय सांसद ७ जना प्रदेश सभामुख, प्रदेश मन्त्री २ जना प्रदेश सभासद, १५ जना कम्बोडियाका शिक्षा राज्य मन्त्री महामहिम हिगेसिङे सहित १८ जनाको प्रतिनिधि मण्डल सर्वोच्च अदालतका न्यायाधीश ईश्वर राज खतिवडा, त्रि.वि. पूर्व उकुलपति प्रा.डा. तीर्थराज खनिया, शिक्षाविद प्रा.डा. विघानाथ कोइराला, राजेन्द्र ध्वज जोशी लगायत १३ जना प्राध्यापक र डाक्टर उपाधि प्राप्त, त्रि.वि. शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणी पौडेल, नेपाल सरकारका सचिवहरू बालानन्द पौडेल, किशोर थापा, डा.लवदेव अवस्थी, भुवराज पाण्डे, खगराज बराल, महाश्रम शर्मा, रामकृष्ण सुवेदी, टेक नारायण पाण्डे, तोयम रायमाझी, अर्जुन बहादुर भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्व सदस्यहरू डा.चम्पक पोखरेल, सुनिल बाबु श्रेष्ठ (सञ्चालक मनकामना केवलकार प्रा.लि.) दक्षिण कोरियाका प्रा.डा. कीम फिनल्याड र डेनमार्कका राजदूतहरू विश्व बैंक ग्लोबल प्राक्टिस केइको मिवा, रूपन्देहीका प्रमुख जिल्ला अधिकारीहरू विनोद प्रकाश सिंह लगायत ९ जना नेपाल सरकारका सहसचिवहरू, १२ जना त्रि.वि. प्राध्यापकहरू लगायत विभिन्न जिल्लाहरूका स्थानीय निकायहरू र विद्यालयको गरी २०१ वटा समूहद्वारा विद्यालयको अवलोकन भ्रमण भएको छ ।

प्रधानमन्त्री के.पी.शर्मा ओलीबाट, पूर्व प्रधानमन्त्री एवम् ने.क.पा अध्यक्ष पुष्पकमल दाहालबाट २ पटक, पूर्व शिक्षामन्त्रीहरू प्रदीप नेपाल र चित्र लेखा यादवद्वारा समेत सम्मानित हुने अवशर प्राप्त भएको छ ।

राम्रो प्रअ बन्नका लागि तपाईंका सुझाबहरु के–के छन् ?
राम्रो नभनेर म असल प्रधानाध्यापक भन्छु, असल प्रधानाध्यापक बन्नका लागि नियमितता, निरन्तरता, प्रतिवद्ध, लगनशील, जोखिम वहन गर्न सक्ने, मेहनती, आर्थिक, नैतिक र चारित्रिक रूपमा स्वच्छ छविको अध्ययनशिल समय परिस्थिति अनुसार चल्न सक्ने सबैका भावनाहरू र विचारहरूलाई सम्मान गर्न सक्ने हुनुपर्छ । सामुहिक सहकार्यको आधारमा सामूहिक छलफलका आधारमा अगाडि बढ्न सक्ने बौद्विक र प्रशासनिक व्यवस्थापक हुनुपर्छ ।

विद्यालय सुधारका लागि तपाईंका योजनाहरु के–के छन् ?
विद्यालय सुधारका लागि शिक्षाका ४ खम्बाहरूलाई प्रभावकारी गराउन पर्छ । विद्यालयको गुरू योजना बनाउनु पर्छ । कहाँ भवन बनाउने, कहाँ भित्री, बाहिरी खेल सञ्चालन गर्ने, खेल मैदान, स्टाफ कक्ष, प्रशासनिक कक्ष उपयुत्त उज्यालो, हावा क्रस युक्त कक्षा कोठाहरू शैक्षिक सामग्री निर्माण र व्यवस्थापन संक्षिप्त पाठ योजनाद्वारा अध्यापन गराउने योजना छ ।  अध्यापनमा नयाँ नयाँ मोडालिटिको प्रयोग, पावर प्वाइन्टमा जोड, विद्यार्थी केन्द्रित समूह कार्य प्रस्तुती जसबाट नेतृत्व निर्माणमा पनि सहयोग Apples Technique बाट कक्षामा मूल्याङ्कन गर्ने योजना छ ।  स्तर युक्त, मापदण्ड अनुसारका प्रशनपत्र निर्माण गृहकार्य परीक्षणमा प्रभावकारी विधि अवलम्बन असल अभ्यास भएका नमुना विद्यालयहरूको अवलोकन र कार्यान्वयन विद्यार्थी आचार संहिता र अनुशासन परीक्षा MASC मापदण्डमा सञ्चालन गर्ने योजना छ ।

स्थानीय समुदायको सहयोग कत्तिको छ ?
यस विद्यालय रहेको वडा नेपाल अधिराज्यमा सबै भन्दा बढी जनसंख्या भएको वडा हो । यस विद्यालयलाई बुटवल उप–महानगरपालिका, वडा समिति स्थानीय टोल समितिहरूको सहयोग छ । अर्कोतर्फ समाजका प्रतिष्ठित व्यक्तित्वहरू प्रदेश सभा सदस्यहरू, राजनीतिज्ञ, प्राध्यापक, उद्यमी, व्यापारी, वकिल, राष्ट्र सेवक, प्राज्ञिक व्यक्तित्वहरू रहेको ३३ सदस्यीय सल्लाहकार समिति ९ सदस्यीय वि.व्य.स. र ११ सदस्यीय शिक्षक अभिभावक संघ रहेको छ । सबैको राम्रो सहयोग छ ।

 शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या देख्नुहुन्छ  कि नियतमा ?
यसमा सरकारले खासै सीपयुक्त, जीवनोपयोगी वैज्ञानिक र व्यवहारिक शिक्षा नीति निर्माण गरेर ल्याउन सकिरहेको छैन । प्रतिभा पलायन हुने खालको अन्तर्राष्ट्रिय श्रमबजार खोज्ने खालको अपरिपक्क जनशक्ति निर्माणमा बढी जोड दिने खालको जनशक्तिलाई प्रोत्साहन गर्ने देशमा रेमिट्यान्स भित्रयाउने भन्दा उच्च शिक्षाका नाममा क्वापिटल फ्लाइट गराउनेलाई प्राथमिकता दिने Front Bencher र Middle Bencher जति विदेश पठाउने र Back Bencher जति नेपालमा रहने खालको शिक्षा नीति छ । यसलाई व्यापक सुधार गरेर Front Bencher जनशक्तिलाई देशमा राख्ने वातावरण तयार गर्नुपर्छ ।

 हाम्रा शिक्षकहरुलाई साँच्चै ‘गुरु’ बनाउन के गर्नुपर्ला ?
हाम्रा शिक्षकहरुलाई साँच्चै ‘गुरु’ बनाउनको लागि Front Bencher जनशक्तिलाई शिक्षण पेशामा ल्याउनुपर्छ ।  शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनु पर्छ । शिक्षकको योग्यता आधारभूत तहलाई न्यूनतम स्नातक प्रथम श्रेणीमा उत्तीर्ण र तालिम प्राप्तको मापदण्ड राख्न पर्छ।माध्यमिक शिक्षक तहमा स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण र तालिम प्राप्त हुनु पर्छ। परीक्षा प्रणाली व्यवहारिक र वैज्ञानिक बनाउनु पर्छ। शिक्षकलाई मर्यादाक्रममा राख्नु पर्छ ।

सामुदायिक विद्यालयलाई कसरी प्रतिस्पर्धी बनाउन सकिएला ?
सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी गराउन कक्षा ७ सम्म उदार कक्षोन्नति रोक्नु पर्छ । गणित, विज्ञान, नेपाली, सामाजिक र अंग्रेजी विषयहरूमा अनुत्तीर्ण हुनेलाई कक्षोन्नति नगर्ने नीति भएमा शिक्षक, विद्यार्थी र अभिभावकहरूको चासो तथा सकृयता बढ्ने शिक्षकलाई बढी जिम्मेवार गराउने कार्य सम्पादन मूल्याङ्कनलाई विद्यार्थीको उपलब्धि स्तरसँग जोड्ने व्यवस्था भएमा सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी गराउन सकिन्छ ।

सिकाइ र भौतिक पूर्वाधारको कस्तो सम्बन्ध रहन्छ ?
सिकाइ र भौतिक पूर्वाधारको सह सम्बन्ध छ । भौतिक पूर्वाधार प्रकाश युक्त उज्यालो कक्षाकोठा हावा क्रस हुने खालको हुनुपर्छ ।  कक्षा शान्तमय, प्रविधि मैत्री कक्षाकोठाहरू विद्यार्थीहरूका तह अनुसारका बालमैत्री फर्नीचर भए भने सिकाइमा Hello effect पर्ने गर्छ जसले महत्त्वपूर्ण सम्बन्ध रहन्छ ।

प्रतिकृया दिनुहोस्