काठमाडौं । प्रदेश नं. २ सरकारले कोरोना प्रभावित बालबालिकाको मनोसामाजिक परामर्शका लागि वजेट विनियोजना गरेको छ ।

प्रदेश २ सरकारको आगामी आर्थिक बर्ष २०७७–०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रदेश सरकारले विद्यालयको बालबालिकाको स्वास्थ्य शारीरिक, मनोवैज्ञानिक तथा संवेगात्मक विकासका लागि ३ करोड २५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्दै सबैका लागि जीवन पर्यन्त शिक्षाका अवसरहरु उपलब्ध गराउने बजेटको उद्देश्य रहेको अर्थमन्त्री यादवले जानकारी दिए ।

देशभरका ५ वर्ष माथिका जनताको साक्षरता दर ६६ प्रतिशत रहेकोमा २ नम्बर प्रदेशको साक्षरता दर ५० प्रतिशत रहेको छ । त्यसैगरी देशभर विगद्यालयहरुको संख्या ३५ हजार ५ सय २० पुग्दा प्रदेश नं. २ भित्र विद्यालयहरुको संख्या ४ हजार १ सय ३७ मात्र रहेको छ । प्रदेशगत तुलनामा यो संख्या दोस्रो अन्तिम भएको पनि अर्थमन्त्री यादवले बताए ।

प्रदेशको शिक्षा बजेटको पूर्णपाठ

१. समग्र प्रदेशलाई शिक्षित प्रदेशको रुपमा विकास गरिने छ । यसका लागि प्रदेशका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण र जनशक्तिको क्षमता अभिवृद्धि गरी गुणस्तरीय शिक्षामा जोड दिइनेछ । विद्यालयहरुमा विद्यार्थीको भर्नादर तथा टिकाउ दर प्रवाद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षको बजेटमा रु २ करोड बजेट विनियोजित गरेको छु ।

२. प्रदेशका नागरिकको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सम्पूर्ण खोपयुक्त प्रदेश अभियान सञ्चालन गर्नुका साथै अग्र्यानिक उत्पादन, सन्तुलित भोजन र नियमित व्यायामको महत्वको व्यापक प्रचार प्रसार गर्न विद्यालय शिक्षा शिक्षण र सञ्चारका विभिन्न माध्यम उपयोग गरिनेछ ।

३. विद्यार्थीहरुलाई भौतिक दूरी कायम राखी पठनपाठन गराउनुपर्ने वर्तमानको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयको थप भवन निर्माण, थप कक्षाकोठा निर्माण, मर्मत सुधार, स्वयंसेवी शिक्षक भर्ना, रेडियो र टेलिभिजनबाट शिक्षण कार्य सञ्चालन तथा अनलाइन शिक्षा विस्तार गर्नुपर्ने भएकाले यस क्षेत्रको लागि रु. १० करोड बजेट विनियोजन गरेको छु ।

४. विद्यालयको बालबालिकाको स्वास्थ्य शारीरिक, मनोवैज्ञानिक तथा संवेगात्मक विकासका लागि रु. ३ करोड २५ लाख बजेट विनियोजन गरेको छु ।

५. उच्च शिक्षामा अध्ययनरत अति विपन्न दलित, मुस्लिम तथा जेहन्दार विद्यार्थीको छात्रवृत्तिको लागि रु १ करोड बजेट विनियोजन गरेको छु ।

६. प्रदेशमा विधिविज्ञान प्रयोगशालाको स्थापना, वेवसाइट र एप्सको निर्माण तथा प्रयोग बढाई सूचना प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइनेछ ।

७. प्रदेशको भाषा, कला तथा संस्कृतिको संरक्षण, उत्थान तथा विकासको लागि एक प्रतिष्ठानको गठन गर्ने र सो अन्तर्गत एक संग्रहालय सञ्चालन सम्बन्धमा अध्ययन गराई प्राप्त प्रतिवेदनको आधारमा यस सम्बन्धी काम अघि बढाउन रु २५ लाख बजेट विनियोजन गरेको छु ।

८. छात्राहरुको आत्मरक्षा तालिमको लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको छु ।

९. वेटी पढाऊ, वेटी बचाऊ कार्यक्रमलाई निरन्तरता दिँदै यस अन्तर्गत २५ हजार छोरीहरुको शिक्षा वीमा–मुद्धती कार्यक्रमका लागि रु ३० करोड ६४ लाख ७७ हजार, अन्य कार्यक्रमका लागि रु २४ करोड ८६ लाख बजेट विनियोजन गरेको छु ।

प्रतिकृया दिनुहोस्