सिमकोट । भौगोलिक रुपमा विकट र हिमाली जिल्ला हुम्लाका शिक्षक तथा विद्यार्थीहरुले विद्यालयमा प्राक्टिस बुकबाट पठन–पाठन गराउनु आवश्यक रहेको बताएका छन् । कोर्षका अतिरिक्त सान्दर्भिक प्राक्टिस बुकको सहयोगले विद्यालयमा पठन–पाठन गर्दा शिक्षकमा सिकाइ प्रक्रियामा सहजता आउने र विधार्थीको सर्वाङ्गिण विकास हुने उनीको भनाइ रहेको हो ।

सिमकोट गाउँपालिकाको वडा नम्बर ३ को बरगाउँमा रहेको रलिङ माविले तीन चार वर्ष अगाडि देखि कक्षा ८ र १० मा सिकाइ सुधारका लागि गणित, विज्ञान र अङ्ग्रेजी विषयको प्राक्टिस बुक लागु गर्दै आएको छ । विद्यालयले ८ र १० मा यी विषयका लागि प्राक्टिस बुक आवश्यक रहेको बताउँदै विद्यालयका प्रधानाध्यापक निर्मला सुनुवारले विषयको प्राक्टिसबुकबाट अभ्यास गराउदा शिक्षकलाई सिकाउन र विद्यार्थीलाई सिक्न सहज हुने बताइन् ।

पाठ्यपुस्तक मात्रै पढाउन शिक्षक र विद्यार्थी पुस्तमै सीमित हुने भएकाले अतिरिक्त सिकाइ र विषयको गहिराइ बुझ्न, बुझाउन प्राक्टिस बुक लागु गरिएको उनले बताइन् । प्राक्टिस बुकमा एउटै विषयलाई विभिन्न शिराबाट सिकाउने र विद्यार्थीलाई प्रसस्त अभ्यास गराउन सकिने भएकाले यो विद्यालयका लागि अत्यावश्यक रहेकोमा प्रअ सुनुवारले जोड दिइन् ।

सामुदायिक विद्यालयमा सिकाइ सुधारका लागि प्राक्टिस बुक औषधी जस्तै भएको सिमकोट गाउँपालिकाकै मानसरोवर माविका प्रधानाध्यापक अमर बहादुर शाहीले बताए । विद्यालयले सिकाइको दायरा बढाउन, विद्यार्थीलाई मिहिनेती र प्रतिस्पर्धी बनाउन प्राक्टिस बुकबाट अभ्यास गराउने र गृहकार्य दिने गरेको प्रअ शाहीले बताए ।

पाठ्यपुस्तकले पाठ्यक्रम सबै नसमेट्ने र अभ्यासका लागि प्रश्नहरु पनि धेरै नहुने भएकाले विषयगत ज्ञानको दायरा बढाउन विद्यालयहरुमा प्राक्टिस बुक राम्रो साधन सावित भएको उनले बताए । दुर्गम भएको नाताले हुम्लामा शहर बजार जस्ता धेरै खाले प्राक्टिस बुक नआउने र आएका राम्रालाई विद्यार्थीलाई किनेर सहयोगका रुपमा प्रयोग गर्न सुझाएको उनले बताए ।

जिल्लामा आउने सीमित यस्ता सहयोगी सामग्रीबाट विद्यार्थीहरुलाई हुम्लाका अधिकांश विद्यालयहरुले अभ्यास गराउने गरेका छन् । बालविकास प्रावि हिल्दुमका प्रधानाध्यापक जयदेशी शाहीले विद्यार्थीहरुको ज्ञानको दायरा बढाउन, मिहिनेती र प्रतिस्पर्धी बढाउन विद्यालयले प्राक्टिसबुक मगाएर विद्यार्थीलाई अभ्यास गराउने गरिएको बताइन् । उनको विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन हुने गरेको छ ।

पाठ्यपुस्तक पढाएको भरमा विद्यार्थी निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्दैनन्, कितावमुखी नभएर विषयमुखी बनाउँदै ज्ञानको दायरा बढाउन प्राक्टिस बुक अत्यावश्यक रहेको बालमन्दिर माविका प्रअ कैलाश रोकायाले बताए । विद्यालयले सामाजिक, अनिवार्य र ऐच्छिक गणित, जनसंख्या तथा वातावरण लगायतका प्राक्टिस बुकको सहयोग लिने गरेको उनले जानकारी दिए ।

विषयको गहिराइसम्म पुग्न, धेरै शिराबाट विषयलाई बुझ्न विद्यार्थीहरुका लागि प्राक्टिसबुक अत्यावश्यक रहेको र हुम्ला जस्तो विकट जिल्लामा विद्यार्थीहरुलाई पाठ्यपुस्तक भन्दा थप ज्ञान र सिकाइको स्रोत नै प्राक्टिसबुकमात्रै भएको प्रअ रोकायाले दाबी गरे ।

सोही विद्यालयको कक्षा दशमा अध्ययनरत छात्रा आरिया ऐडीले आफुले पाठ्यपुस्तक सिक्ने र प्राक्टिसबुकबाट अभ्यास गर्दै परीक्षाको तयारी गर्ने गरेको बताइन् । ‘हामीकहाँ इमेल इन्टरनेट हुँदैन, विषयसँग थप सिक्ने, अभ्यास गर्ने भनेकै प्राक्टिसबुकबाट मात्रै हो’– ऐडिले बताइन् ।

विद्यालयले गणित, विज्ञान र अङ्ग्रेजी विषयको विभिन्न प्राक्टिसबुकबाट अभ्यास गराउने गरेको भन्दै उनले पुराना प्रश्नको संगालो र प्राक्टिस बुक विद्यार्थीहरुलाई परीक्षा तयारीका लागि लागि अत्यावश्यक रहेको बताइन् । ‘हुम्लाका विद्यार्थी प्राक्टिस बुककै अभ्यास गरेर परीक्षाको तयारी गछौं’– उनले भनिन् ।

शहर र बजारमा त शिक्षक र विद्यार्थीले विभिन्न माध्यमबाट थप सिक्न र खोज्न सक्ने भएपनि हुम्ला जस्ता दुर्गम स्थानहरुमा अभ्यास पुस्तिक कमै प्रयोग गर्ने बताउदै बालमन्दिर माविका शिक्षक मधु बस्नेतले विद्यार्थीका लागि ज्ञान बढाउन र परीक्षाको तयारी गर्नका लागि महत्वपूर्ण पक्ष भएको बताइन । प्राक्टिसबुकबाट अभ्यास गरेका विद्यार्थीको सिकाइ अन्य विद्यार्थी भन्दा अब्बल रहेको उनले अनुभव सुनाइन् ।

दूर्गम र हिमाली क्षेत्रमा विद्यालय तहको सिकाइ सुधारका लागि प्राक्टिसबुक अनिवार्य जस्तै बन्दा सरकारले भने यसको अनुमती र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले प्राक्टिस बुक बन्दै गर्नु भन्दा यसको संख्या बढी गरेर दुर्गम जिल्लामा सहज पहुँमा पुर्याउनु पर्ने भन्दै मानसरोवर माविका प्रधानाध्यापक अमर बहादुर शाहीले गाइड र गेसपेपर बन्द गर्नु उपयुक्त हुने भएपनि प्राक्टिस बुकमा रोक लगाउँदा साुमदायिक विद्यालयको सिकाइमा समस्या आउने बताए ।

प्रतिकृया दिनुहोस्