पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तहमा अध्यापन सुरु गरेको छ। प्रतिष्ठानले एमडी–एमएस कार्यक्रम अन्तर्गत पहिले समुहको अध्यापन विहीबारदेखि सुरु गरेको हो। नेपाल मेडिकल काउन्सिलको विज्ञ टोलीले अध्ययन गरि प्रतिष्ठानलाई स्नातकोत्तर तहको अध्यापनका लागि चिकित्सा शिक्षा आयोगमा १७ सिट सिफारिस गरेको थियो। त्यही संख्याको सिटमा भर्ना भएका विद्यार्थीको अध्यापन सुरु गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले जानकारी दिए। उनका अनुसार जनरल सर्जरीमा ४, प्रसुति तथा स्त्रीरोगमा ४, हाडजोर्नीमा २, जनरल मेडिसिनमा २, बालरोगमा २, एनेस्थेसियोलोजीमा ३ गरि १७ सिट स्वीकृत भएको थियो।

सिट स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयबाट प्राज्ञिक कार्य संचालनको लागि सहमति लिई प्रतिष्ठानका सहायक डिन प्राडा रवीप्रसाद रेग्मीको संयोजकत्वमा परीक्षा समिति गठन गरि १७ सिट मध्ये सरकारका तर्फका चिकित्सकलाई ९ र खुलातर्फ ८ हुनेगरि प्रवेश परीक्षा लिइएको उनले बताए। गत फागुनमा प्रवेश परीक्षा लिएर ती विद्यार्थीको भर्ना प्रक्रिया पनि पुरा भएको थापाले जानकारी दिए। विहीबार प्रतिष्ठानको तर्फबाट विद्यार्थीका लागि अभिमुखिकरण गरिएको हो।

उपकुलपति थापाका अनुसार पहिलो समुह हो। तीनवर्षे अवधिका लागि भर्ना भएका ती विद्यार्थीले सतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्ने उनले बताए। ‘पूर्ण छात्रवृत्तिमा बढेबापत उनीहरुले सरकारी अस्पतालमा पाँचवर्ष सेवा गर्नपर्छ,’ उनले भने। थापाका अनुसार चिकित्सा सेवा आयोगले अर्काे वर्षका लागि सिट तोकेपछि मात्र दोश्रो समुहको भर्ना सुरु हुन्छ। तर, कति क्षमतामा दोश्रो समुह भर्ना हुन्छन भन्ने यकिन नहुने उनले बताए। ‘प्रतिष्ठानको प्राज्ञिक जनशक्तिमा अहिले सबैगरि ७७ जना रहेका छन्। त्यही भएकोले अर्काे वर्ष अहिलेभन्दा बढी विद्यार्थी आउनेछन,’ उनले भने, ‘मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने नै हाम्रो उद्धेश्य हो।’

सरकारी नीति अनुरुप गण्डकी प्रदेश सरकारसँग समेत सहकार्य गर्दे दूर दराजमा स्वास्थ्य शिविर संचालन गरि सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजना उनले सुनाए। २०१३ सालमा सोल्जर बोर्ड अस्पतालका नाममा स्थापित गण्डकी अञ्चल अस्पताल पश्चिमाञ्चल क्षेत्रीय हुँदै २०७२ देखि प्रतिष्ठान बनेको थियो। २०६९ मा ५ सय शैयाको स्तरोन्नती भकएको अस्पतालमा स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अधययन र अनुसन्धानको व्यवस्था गरि दक्ष जनशक्ति उत्पादन गर्न तथा प्रतिष्ठान स्थापना भएको थियो।

एमबिबिएस, नर्सिङ, जनस्वास्थ्य एलाइड हेल्थ साइन्स एवं डिएम/एमसिएच जस्ता विशेषज्ञ कार्यक्रम संचालन गर्न पूर्वाधार तयार पार्ने काम भएको समेत थापाले जानकारी दए। कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले टेक्निकल ल्याब राखेर विद्यार्थीलाई दक्ष बनाउनुपर्ने सुझाव दिए। अधिकारीले स्वास्थ्यमन्त्री हुँदा प्रतिष्ठान स्थापनाका लागि पहल गरेका थिए।

सन्तोष पोखरेलले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्