माननीय शिक्षा मन्त्रीज्यू ,

त्रिभुवन विश्वविद्यालयको ६१ औं वार्षिक दिवसको अवसरमा आयोजित त्रिवि सभालाई सम्बोधन गर्दै शिक्षाको परम्परागत शैलीमा आमुल परिवर्तन गरी घरलाई नै शिक्षा आर्जन गर्ने थलोकोरुपमा परिणत गर्दै लैजानुपर्छ । विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्म सबैका पाठ्यक्रमलाई प्रविधिसँग जोड्दै शिक्षालाई थप रचनात्मक, व्यवहारिक एवं शृजनशील बनाउनुपर्ने आवश्यकता माथि जोड दिँदै यहाँले राख्नुभएको मन्तव्य सुन्दै गर्दा एक विद्यालयमा पढ्ने विद्यार्थीको अभिभावकको नाताले मेरो मनमा कैँयन प्रश्नहरु सलबलाईरहेका छन् ।

वास्तवमा शिक्षण सिकाइलाई दैनिक जीवन भोगाइका अनगिन्ती सवालहरुसँग कसरी जोड्न सकिन्छ र यसलाई मूल्याङ्कनको कस्तो परिपाटी बनाउन सकिन्छ भन्ने अभिप्रायःले म यो खुला पत्रमार्फत् यहाँको ध्यान आकृष्ट गर्न चाहन्छु ।

विगत तीन महिनादेखि महामारीको कारण घरमै बसिरहेकी कक्षा सातमा अध्यनरत मेरी छोरीले यसबीचमा दैनिक जीवन भोगाइसँग सम्बन्धित कैयन सीपहरूको विकास गरेकी छन् । जुन विद्यालय जाने बहानामा वा भनौं विद्यालयको गृहकार्य गर्ने बहानामा मेरी छोरीले यी सीपहरु सिकिरहेकी थिइनन् अनि पढ्ने छोरीलाई काम लगाउनुहुन्न भनेर मैले उनको सिक्ने उत्कट इच्छालाई वञ्चित गरिरहेकी थिएँ ।

आजकाल उनको दैनिकी फेरिएको छ । उनी बिहान उठेर थोरै–थोरै भएपनि योग ध्यान गर्ने, घरको सरसफाइ गर्ने, किचेनमा खाना पकाउने, करेसाबारीमा तरकारी रोप्ने, गोडमेल गर्ने, युट्युब हेरेर विभिन्न खेर गएका बोतल, बोरा भरेर नयाँ नयाँ प्रजातिका खेती गर्ने, नियमितरुपमा रेडियो टेलिभिजनबाट प्रसारण भएका कार्यक्रमहरु सुनेर हेरेर नोट गर्ने गरिरहेकी छन् ।

विभिन्न साहित्यिक संस्थाहरुले आयोजना गरेको कविता प्रतियोगितामा भाग लिने, नयाँ रचना शृजना गर्ने, नियमित डायरी लेख्ने विभिन्न व्यक्तिहरूको जीवनी, कथा, कविता पढेर, मनोरञ्जनात्मक कार्यक्रमहरु हेरेर आफ्नो व्यक्तित्वमा निखार ल्याइरहेकी छन् ।

यो देख्दा उनको यो अवधि आफ्नो जीवनको व्यवहारिक ज्ञानको जग राख्ने एउटा महत्वपूर्ण क्षण रह्यो भन्ने मेरो बुझाइ रहेको छ । मलाई लाग्छ मेरो छोरीले सिकेका कैयौँ सीप सिकाइ मध्ये तिनै कुराको मूल्याङ्कन हुनेछ जुन उनी अहिले अनलाइन माध्यमबाट पढाइ भइरहेको कुराहरूको सिकाइ गरिरहेकी छन् । तर जुन व्यवहारिक र जिवन उपयोगी सीपहरु सिकेकी छन् त्यसको कसरी मूल्याङ्कन हुने व्यवस्था होला ?

माननीय मन्त्रीज्यूले शिक्षाको परम्परागत शैलीमा आमूल परिवर्तन, प्रविधिमैत्री व्यवहारिक, रचनात्मक एवं शृजनशील बनाउन आवश्यक छ भनीरहँदा मलाई मेरी छोरीमा विकास भएको सिपको मूल्याङ्कन मात्र होइन यो महामारी पछिको भविष्यको चिन्ताले त्यतिकै सताइरहेको छ ।

भनिन्छ, परिवर्तनको मूल संघार शिक्षा नै हो । विभिन्न प्राकृतिक प्रकोप, बाढी पहिरो, भूकम्पले थिलथिलो भएको हाम्रो मुलुकमा अबका दिनहरु कति कष्टदायक हुने हुन् । यसबारे मेरा काल्पनिक त्राशहरु प्रस्तुत गर्न चाहन्न तर पनि मेरो आशाको दीप सन्तानको भविष्य कस्तो होला भनेर हरपल चिन्तन गरिरहन्छु जसमा हाल भइरहेको सैद्धान्तिक शिक्षा अनि प्रविधिमा कतिपय बालबालिका बञ्चित पनि भएका होलान् ।

प्रविधिसँग जोडिएकै बालबालिका को सिकाइ पनि केही पाठ्यपुस्तकमा भएका कथा पाठ्यक्रमले निर्दिष्ट गरेका सैद्धान्तिक पढाइ भन्दा बढी केही नयाँ परिवर्तन र सिर्जनात्मकता थपिए जस्तो लाग्दैन । घरमा मेरी छोरीले जुन सीपहरु सिकेकी छन् ।

ती सीपले मात्र उनको भावी जिवनयापन, अर्थोपार्जन र समय सापेक्ष जिउने कलात्मक विकास नहुन सक्छ । शिक्षामा प्रविधि जोड्ने सन्दर्भलाई हेर्दा इन्टरनेटको पहुँच विस्तार गर्दैमा अनि रेडियो, टेलिभिजन, अनलाइनबाट अहिले भइरहेको सिकाइमा निरन्तरता दिँदैमा मेरी छोरी जस्ता लाखौंलाख छोराछोरीको भविष्य उज्जल होलाजस्तो लाग्दैन । त्यसैले मेरो अपेक्षा यहाँ समक्ष निबेदन गर्ने सानो जमर्को गरेको छु ।

१. मेरो अपेक्षा रहेको छ कि मेरी छोरीले विद्यालय शिक्षा पुरा गर्दैगर्दा पाठ्यक्रम र पाठ्यपुस्तकमा दिएका कथा कविता निबन्ध प्रबन्ध जस्ता विषयवस्तुको बनिबनाउ उत्तर दिन मात्र नसिकी न्यूनतम एउटा कार्यालयमा जाँदा लेखिने आवेदन, भरपाई, भौचर, रसिद आदि जस्ता सामान्यभन्दा सामान्य काम सहज ढंगले गर्नसक्ने शिक्षाको व्यवस्था गरियोस् ।

२. बाह्र कक्षा उत्तीर्ण गरिसक्दा मेरी छोरी हातमा प्रमाण–पत्र लिएर अब के गर्ने भनेर पुर्पुरोमा हात राखेर रुन नपरोस् कि बाँकी उच्च शिक्षासँगै सीप र रोजगारीको निश्चित होस् । माटो खेल्दै कृषिकर्म सँगै पढ्न सिकोस् । ठाउँ परिवेश भूगोल र अवस्थाअनुसार सिलाइ, बुनाई कटाइ, कृषि उद्योग कल–कारखाना प्रविधि जन्य सीपसँगै सिकेर आत्मनिर्भर र स्वरोजगार बन्न सकोस् ।

३. यतिमात्र होइन विश्वविद्यालयको स्नातकोत्तर तह सकेर फेरिपनि कोरियन भाषा सिकेर इ.पी.एस. कोटामा दक्षिण कोरिया जानुपर्ने बाध्यता अनि डिभी भरेर अमेरिका जाने भिसाका लागि लाखौँ विद्यार्थीको भिड लाग्ने मनोदशालाई अन्त्य गरी अब विदेशीहरु डीभी भरेर नेपाल आउने वातावरण सिर्जना गर्ने कार्यको थालनी गरियोस् ।

४. हाम्रा विद्यालय, विश्वविद्यालयहरूलाई बेरोजगार उत्पादन गर्ने थलो नबनाएर विश्वमा भएका आधुनिक खोज अनुसन्धान प्रयोग विकास गर्ने प्रयोगशालाको रुपमा विकास गर्ने हो भने संसारको छानो सगरमाथाको देशबाट विश्वलाई नयाँ चमत्कारको सन्देश दिन सकिन्छ । यसतर्फ यहाँको ध्यान जाओस् ।

५. भर्खरै एकजना नायिकाको सवाल जवाफमा नेपालमा ७२ प्रदेश र १४ जिल्ला छन् भन्ने जस्तो अभिव्यक्ति सुन्दा एक सचेत नागरिक आफ्नो देश र राष्ट्रियताप्रति कति सम्म अनविज्ञ रहेछन् भन्ने समेत बिम्बित गर्दछ । त्यसैले हाम्रो शिक्षा, हाम्रो राष्ट्र र राष्ट्रियताप्रति गौरव गर्ने, स्वाभिमानी, स्वावलम्वी शिक्षा बनोस् ।

माननीय शिक्षामन्त्रीज्यू आजको दिनसम्म आइपुग्दा तपाईं शिक्षा मन्त्री भइरहँदा पनि शिक्षा क्षेत्रमा आमूल परिवर्तनको रेखाहरु महसुस गर्न सकिरहेको छैन । सायद तपाईंप्रति मेरो अपेक्षा अधिक भएर पनि हुन सक्छ । यसो भनिरहँदा र शिक्षाप्रतिको आम म जस्तै अभिभावकमा उदासीनता छाउँदै रहँदा फेरि पनि तपाईंप्रति आशाका त्यान्द्राहरु भने टुटेका छैनन् ।

तपाईंले अवश्य पनि यो पत्र पढिसकेपछि आगामी दिनहरुमा विद्यालय शिक्षा पार गरेर केही महिना वा वर्ष तालिम लिए मात्रै सीपयुक्त हुने अवस्थाको अन्त्य गरी विद्यालय तहबाटै सीपयुक्त रोजगारमूलक उद्यमशील नागरिक तयार गर्ने दिसामा यहाँको महत्वपूर्ण योगदान रहन सकोस् र यदि त्यसो गर्न सक्नुभयो भने नेपालको शैक्षिक इतिहासमा यहाँको नाम स्वर्ण अक्षरले लेखिने छ भन्ने अपेक्षा गर्दछु ।

उही अभिभावकको तर्फबाट
नानीमैया केसी

प्रतिकृया दिनुहोस्