पढ्ने उमेरमै आमा

Avatar photo

Byएजुकेशन पाटी

४ पुष २०७८, आईतवार

अछाम । अछाम जनालीकोटकी सीता (नाम परिवर्तन) ले १४ वर्षको उमेरमै चार वर्षअघि भागेर बिहे गरिन् । अहिले २० वर्ष पुगेकी उनका ३ छोरी छन् । पछिल्लो पटक जन्मेकी उनकी छोरी एक महिना पुगिन् ।

‘सुत्केरी अवस्थामा खानलाई घरमा अन्न छैन । श्रीमान् भारतमा छन्,’ उनले भनिन्, ‘सामान्य चिनजान थियो, पछि फोनमा कुरा हुन्थ्यो, ५ कक्षाको परीक्षा नदिएरै भागेर बिहे भयो । अहिले गुजारा चलाउन गाह्रो छ ।’

विवाहपछि विद्यालय भर्ना भए पनि घरायसी कामले पढ्न नसकेको उनले बताइन् । ‘अहिले तीन छोरी छन् । तेस्रो पनि छोरी भएको भन्दै सासु–ससुरा र आफन्तले गर्ने व्यवहार बदलिएको छ,’ उनले भनिन्, ‘छोरो नजन्मिएसम्म शान्त वातावरणमा बस्न पाइने अवस्था छैन ।’

मंगलसेन नगरपालिका—१३ की १९ वर्षीया शान्ता (नाम परिवर्तन) को बिहे भएको ३ वर्ष भयो । अहिले उनकी १ छोरी छन् । ७ कक्षा पढ्ने बेला नै प्रेमविवाह गरेकी शान्ता फेरि आमा बन्दै छिन् । ‘सानै उमेरमा लहैलहैमा लागेर विवाह भयो । अहिले पछुतो भएको छ,’ उनले लजाउँदै भनिन्, ‘दोस्रो सन्तान गर्भमा बसेको थाहै भएन । अहिले कमजोर भएको महसुस गर्दै छु ।’

सीता र शान्ताजस्तै धेरै किशोरीले पढ्ने उमेरमै आमा बन्ने गरेको जिल्ला अस्पतालको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७५/७६ मा जिल्लाभर ७ हजार ३ सय १५ महिलाले गर्भ जाँच गराएको र त्यसमा १ हजार ४ सय ६ जना महिला २० वर्षमुनिका किशोरी रहेको जिल्ला अस्पताल अछामको तथ्यांक छ । ०७५/७५ मा स्वास्थ्य मापदण्डअनुसार ४ पटक गर्भवती जाँच गर्ने ४ हजार ६ सय १७ गर्भवतीमध्ये ७ सय ५९ जना २० वर्षमुनिका किशोरी रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ मा तिर ७ हजार ७ सय १ गर्भवतीले जाँच गराएकोमा १ हजार ४ सय १५ जना २० वर्षमुनिका गर्भवती किशोरी थिए ।

आर्थिक वर्ष २०७२/७३ मा ७ हजार ६ सय ६९ जनाले गर्भवती जाँच गराएको मध्ये १ हजार ६ सय ७७ जना २० वर्षमुनिका थिए । पछिल्लो आर्थिक वर्षको तथ्यांकमा पनि औसत अवस्था यस्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । गत वैशाखमा मात्रै जिल्ला अस्पतालमा २० वर्षमुनिका २५ जना किशोरी आमा बनेका छन् । १० जनाले गर्भपतन गराएका छन् । सानो उमेरमा बिहे भएर गर्भधारण गर्दा आमा र शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भए पनि किशोरावस्थामा गर्भधारण गर्नेको संख्या घट्न सकेको छैन ।

अघिल्लो वर्षभन्दा केही संख्या घटे पनि बालविवाह गर्नेको संख्या भने कम हुन सकेको छैन । गर्भ जाँच गर्न आउँदा वास्तविक उमेर नबताउने गर्भवती किशोरी पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामकी सिनियर अनमी ज्ञानु माझीले बताइन् । ‘१६/१७ वर्षका, कलिलो उमेरका किशोरीहरू वास्तविक उमेर बताउँदैनन् । २० वर्षभन्दा बढी नै भन्छन्,’ उनले भनिन्, ‘आफैं बच्चा उमेरका किशोरीहरू गर्भ जाँच गराउन आउँछन् तर वास्तविक उमरे बताउन चाहँदैनन् ।’

वास्तविक उमेर नभन्नेहरू धेरै भएका कारण गर्भवती किशारीको संख्या बढ्न सक्ने उनले बताइन् । पछिल्लो समयमा अछाममा बालविवाह बढे पनि प्रहरीकहाँ उजुरी नआउने गरेको अछामका प्रहरी प्रमुख डीएसपी तुल्सीराम अर्याल बताउँछन् । ‘अपरिपक्व उमेरमा गरेको विवाहले विद्यालयको पढाइ छुट्ने, गर्भधारण गर्नाले जन्मने शिशु र आमाको स्वास्थ्यमा पर्ने प्रतिकूल असर, बालिका घरेलु हिंसाको चपेटामा पर्ने सम्भावना देखिन्छ ।

मेनुका ढुंगानाले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्