अनलाइन सिकाइः चुनौती र अवसर

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ श्रावण २०७७, मंगलवार
राजदेव यादव

कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या थपिदै गईरहेको कारण विद्यालय, क्यामपसलगायतमा शिक्षण सिकाइ अवरुद्ध रहेको छ । विद्यालय, क्यामपसलगायतका शिक्षण सिकाइ हुने स्थानमा नियमित पठनपाठन नभएसम्म आ–आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण शृजना गर्न अनलाइन माध्यमबाट कक्षा लिने विधिमा दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

आजको वर्तमान युगमा विद्यायल शिक्षा पूरा नगरी व्यक्तिको जीवनमा खासै उपलब्धी हुँदैन, भने उच्च शिक्षाको आवश्यकता प्रति अधिकांश व्यक्तिहरु सचेत छन् । विज्ञान र प्रविधिको दु्रततर विकासको क्रममा नविन प्रविधि र वैज्ञानिक उपकरणले व्यक्तिहरुलाई विभिन्न ज्ञान र सीपको भोको बनाइ रहेको अवस्था छ । वर्तमान समयमा कोभिड–१९को कारण अनलाइन माध्यमबाट हुने सिकाइले झन् महत्त्वपूर्ण स्थान लिँदै गइरहेको छ । जीवनको शुरुदेखि अन्त्यसम्म अर्थात जीवन प्रयत्न सिकाइ अविरल भइरहनु स्वाभाविक प्रक्रिया हो । नविन प्रविधि र नयाँ ज्ञानको सिकाइ गर्नु वर्तमान युगको आवश्यकता हो ।

हाम्रो जीवनमा कुनै उद्देश्यमा उत्प्रेरित भई सिक्नको लागि व्यवस्थित सिकाइ(Structured Learning)ले गहनतम स्थान लिने गर्दछ। व्यवस्थित सिकाइको लागि औपचारिक र अनौपचारिक शिक्षाको माध्यम भएता पनि नेपाल जस्तो भौगोलिक, सामाजिक र आर्थिक बाध्यताले सिकाइको पहुँचबाट केही बालबालिकाहरु अझै पनि टाढा रहेको अवस्था छ । परमपरागत रुपमा सिकाइ भनेको जानेकोबाट नजान्नेले सिक्ने प्रक्रिया थियो जुन कुरा केही दशक अगाडि परिवर्तन भई सिकाइ सहजकर्ता, शिक्षक र प्रशिक्षक केन्द्रितभन्दा सिकारु केन्द्रित हुनुपर्ने कुरालाई जोड दिएको पाइन्छ । प्रभावकारी जीवनपर्यन्त सिकारुमा कस्ता ज्ञान, सीप र अभिवृति हुनुपर्छ भन्नेबारे थुप्रै बहस भइरहेको अवस्थामा युरोपियन कमिसन (सन् २००७)ले आठ वटा सक्षमता(ज्ञान, सीप र अभिवृति) लाई उल्लेख गरिएका छन् ।

जुन निम्न छन्ः
१. Communication in mother tongue
२. Communication in foreign language
३. Mathematical Competence and basic competence in science and technology
४. Digital Competency
५. Learning to learn
६. Social and Civic Competencies
७. Cultural Awareness and expression
८. Sense of initiative and entrepreneurship

अनलाइन माध्यमबाट हुने सिकाइ एक्काइसौं शताब्दीको लागि अत्यन्त आवश्यक र महत्त्वपूर्ण सीप हो । हाल विश्वको अधिकांश मूलुकहरुलगायत नेपालमा पनि कोभिड–१९ को कारणले गर्दा नियमित पठनपाठन हुन नसकेको कुरा यथार्थ छ । यस कार्यका लागि अनलाइन सिकाइको लागि महत्त्व दिनप्रतिदिन बढ्दै गइरहेको छ । इन्टरनेट अनलाइन सिकाइको लोकप्रियता बढ्दै आवश्यकता पुर्ति हुँदै गइरहेको छ । समय र पैसाको हिससाबले अनलाइन सिकाइ महङ्गो भएता पनि वैकल्पिक तथा अनौपचारिक साधनको रुपमा रही सिकाइ छिटो र सहज तरिकाबाट उपलब्ध हुँदै गइरहेको छ ।

अनलाइन माध्यमद्वारा हुने सिकाइले ल्याएका समस्याहरुः
१ अनलाइन सिकाइ महँगो र खर्चिलो हुन्छन् ।
२ अनलाइन सिकाइसँग सम्न्धित पर्याप्त संरचना छैन् ।
३ इन्टरनेट अनलाइन माध्यमद्वारा सिकाइ गर्न नजानेसम्म एकदम्मै गाह्रो महसुस हुन्छ ।
४ इन्टरनेट अनलाइन माध्यमद्वारा सिकाइ गर्न अनलाइन सिकाइमूखी प्रर्याप्त वजेटको व्यवस्था नहुनु ।
५ शिक्षक, सहजकर्ता र प्रशिक्षकका आधारमा दिइने शिक्षा जति प्रभावकारी हुन्छ त्यति प्रभावकारी अनलाइन सिकाइ हुँदैनन् ।
६ अनलाइन सिकाइ राम्रो तवरले सुसज्जित, व्यवस्थित, कार्यमूलक, मैत्रीपूर्ण, आकर्षित तथा सुविधायुक्त नहुनु ।
७ हामीले पहिले पनि प्रयोग गरि सकेका छौँ तर प्रभावकारी भएन भन्ने सोचाई कायम रहिरहनु ।
८ विद्यार्थीहरुको वास्तविक पहिचान बिना परीक्षाले बौद्धिक उपलब्धिस्तरमा समस्या शृजना हुन सक्ने ।
९ सबै ठाउँमा पर्याप्त विधुत जस्तो आधारभूत पूर्वाधार र इन्टरनेट कनेक्टिभिटी अझै नहुँदा अनलाइन सिकाइ गर्न समस्या हुने ।
१० एकै पटक बहुसिकाइले अन्यौल उत्पन्न हुन सक्ने ।
११ सहजकर्ता, शिक्षक, विद्यार्थीहरु  ICT Friendly हुन नसक्नु ।

अनलाइन माध्यमबाट हुने सिकाइलाई प्रभावकारी बनाउने उपायहरुः
१. अनलाइन सिकाइ एक प्रकारको नविन माध्यम र प्रविधिको प्रभावकारी उपाय हो । यसका लागि निम्न कुरामा होसियारिपूर्वक ध्यान दिनुपर्दछ ।

० सहजकर्ता, शिक्षक, प्रशिक्षक र विद्यार्थी ICT Friendly भई ICT मा चासो लिने हुनुपर्दछ ।
० यस प्रकारको सिकाइमा सहजकर्ता, शिक्षक, प्रशिक्षक बढी भन्दा बढी सक्रिय भई Follow up गरी रहन सक्ने हुनुपर्दछ।
० पृष्टपोषण तुरुन्त दिइने र सल्लाह आवश्यकता अनुसार दिने हुनुपर्दछ ।
० सहजकर्ता, शिक्षक, प्रशिक्षक र सिकारु अनलाइन सिकाइप्रति प्रतिबद्ध (Committed) र प्रोत्साहित(Motivated) हुनुपर्छ ।

२. सिकारुहरुको बसाइ क्षेत्र विविध भौगोलिक क्षेत्रमा रहने हुँदा अनलाइन सिकाइ आदान प्रदानमा समस्या हुने अवस्थाले भौगोलिक विविधताको ख्याल गरी विद्यार्थीहरुको समूह बनाउनुपर्छ । यसप्रकारको सिकाइमा जति व्यक्तिगत रुपले सिकाइ स्थान हुन्छ, त्यति नै सामूहिक छलफल र अन्तरक्रियाको पनि जरुरी पर्छ। त्यसैले विद्यार्थीहरुको समूह बनाउँदा भौगोलिक क्षेत्रलाई ध्यान दिएर सकभर २०–३०जना सम्मको समूह बनाउँदा शिक्षक र विद्यार्थी दुबै पक्षलाई सरल र सहज हुन्छ ।

३. इन्टरनेट अनलाइन माध्यमबाट सिकाइ गर्दा विषेश रुपमा अत्याधुनिक प्रविधि आवश्यक पर्छ । यसका लागि अन्य प्रकारका लागि तयारि भएर रहनु पर्दछ। जसले गर्दा उपकरणमा देखिएको समस्यालाई तत्काल समाधान गर्न सकिन्छ र सिकाइ स्थायी, गुणस्तरिय र दिगो रहनेछ ।

४. विद्यार्थीहरु सूचना प्राप्त गर्न विभिन्न अनलाइन कक्षाहरुका लागि यताउति भौतारिरहेकोमा सिकाइमा बाधा उत्पन्न हुन्छ । त्यसैले त्यस्ता कार्यहरुका लागि आवश्यक पर्ने सबै सूचनाहरु कार्यनिर्देशनमा भएमा सिकारुहरुलाई सुचना खोज्न सहज भई सिकाइमा अधिक समय ब्यतित गर्न सक्षम हुन्छ ।

५. सिकारुहरुलाई दिइने क्रियाकलापहरु विषयवस्तु र शिर्षकभित्र भएमा राम्रो हुन्छ । किनकी निर्धारित समयमा दिइएका उद्देश्य पूरा गर्नको लागि ती क्रियाकलापहरुले मद्दत गर्छ । तसर्थ एउटा कोर्ष पूरा गर्न प्रत्येक हप्ताको लागि खास–खास उद्देश्य राखि क्रियाकलापहरु दिदै गर्दा सिकाइ कोर्ष पूरा हुन्छ । यस्ता क्रियाकलापहरु व्यक्तिगत रुपमा दिनाले प्रत्येक सिकारुलाई सफल विशेषज्ञ बनाउन सहयोग पुर्याउँछ।

६ सिक्ने समय थोरै मात्र भएर खास सिकाइ नहुन सक्छ । तसर्थ सिकाइ कोर्षको शीर्षक र विषयवस्तुले मागेको पाठ्यभार अनुरुप प्रसस्त अध्ययनको लागि समय व्यवस्थापन गरी उक्त समयमा अभिभावकद्वारा निरीक्षण, सुपरिवेक्षण र प्रोत्साहन दिँदै पृष्ठपोषण दिनुपर्दछ ।

७. सिकारुहरुमा अलमलिने र सिकाइलाई बोझ मान्ने प्रवृति हुन गएमा त्यसलाई समाधान गर्न यथार्थ, सत्य, तथ्य, विश्वसनिय र भरपर्दो सूचना खोज्न सकेमा सिकारुहरुलाई बढी सहज हुन्छ।

८. सिकाइको उद्देश्यको मुख्य उपलब्धी नै सभागितामूलक कार्य भएको हुँदा सिकारुहरुले बुझाउने प्रत्येक क्रियाकलापहरुले खास स्तर पार गरेको हुनु पर्दछ । यसको लागि प्रत्येक क्रियाकलापहरुको व्यवस्था यसरी चयन गर्नु पर्दछ कि हरेक हप्ताको क्रियाकलापले पछिल्लो क्रियाकलापलाई सहयोग पुर्याउने होस् । यथार्थ प्रत्येक क्रियाकलापले खुड्किलाको रुपमा काम गर्दै जाने भएमा मात्र सिकारुको सिकाइमा क्रमिक सुधार हुँदै गर्दछ ।

९. विद्यार्थीको पहिचान बिना परीक्षाले बौद्धिक उपलब्धी स्तरमा समस्या उठ्ने भएकाले प्रत्येक विद्यार्थीको लागि आवश्यक पहिचान प्रदान गर्न प्राइभेट पासवर्ड र विद्यार्थीको लागि सुरक्षित रुपले प्रयोग गर्नमा प्रेरित गर्नुपर्दछ र यसकालागि विद्यार्थीको फोटो सहितको पहिचान एउटा उपाय हुन सक्छ ।

निष्कर्ष
अनलाइन सिकाइको महत्त्व आजको वर्तमान युगमा ज्यादै अत्यन्त आवश्यकतामा आधारित रहेको देखिन्छ। त्यसैले अनलाइन सिकाइको सूचकहरुप्रति सजग र सचेत रह्नु एकदमै जरुरी छ । शिक्षक, प्रशिक्षक, सहजकर्ता, सिकारुहरु र अभिभावाकहरुलाई क्ष्ऋत् ँचष्भलमथि भई क्ष्ऋत् सदुपयोगमा एकदमै चनाखो भई चासो लिने र दिने गर्नु पर्दछ ।

अनलाइन सिकाइ जुन बनावटी तर राम्रो तवरले सुसजित, व्यवस्थित, कार्यमूलक, मैत्रीपूर्ण, आकर्षिक तथा पहुँच योग्य सुविधायुक्त डिजाइन भएमा विद्यार्थीहरुले अधिक भन्दा अधिक समय व्यतित गर्ने र सिकाइमा सिकारु केन्द्रित हुनमा टेवा पुर्याउँछ। अनलाइन सिकाइ माध्यमबाट सिकारुहरुले इमान्दारिता पूर्वक ध्यान दिएमा सिकाइ स्थायी, गुणस्तरिय र दिगो हुन्छ। तसर्थ प्रत्येक विद्यार्थीहरुलाई फरक–फरक क्रियाकलापहरु दिनु पर्दछ । हुनत साथीसाथी बिच सिकाइले पनि महत्त्व राख्दछ । तर सामूहिक कार्य दिँदा कार्य बुझाउने साथीका कार्यहरु अरुले हेरेर मिलाउने गर्दा सिकाइमा इमान्दारिता रहदैन र भरपर्दो सिकाइ हुँदैन ।

यादव शिक्षा विकास तथा समन्वय इकाई, धनुषामा शाखा अधिकृत छन् ।

प्रतिकृया दिनुहोस्