अबको पढाइ अफलाइनबाटै

Avatar photo

Byएजुकेशन पाटी

७ भाद्र २०७८, सोमबार

कास्की ।यतिबेला कक्षा ६ मा अध्ययनरत ११ वर्षीय अंकित खड्का विद्यालय जान नपाएर चिन्तित छैनन् । कोरोना संक्रमणसँगैको निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि धेरै शिक्षण संस्थाले अनलाइन कक्षामा जोड दिए । तर यस्तोमा कतिपय विद्यार्थीको इन्टरनेटदेखि प्राविधिक पक्षमा पहुँच नहुँदा त्यो सम्भव भएको थिएन ।

तर अब भने अंकित जस्तै कैंयन् विद्यार्थीले सहजै बिनाइन्टरनेट घरबाटै पढ्न पाउने भएका छन् । अंकितले अध्ययन गर्ने सबै विषय अफलाइन कक्षाबाटै पढ्न पाउने भएपछि उनलाई लकडाउनका बेला पढाइ बिग्रिन्छ भन्ने चिन्ता हुन छोडेको हो ।

स्याङ्जाको भीरकोट–१ को दहथुम माविका विद्यार्थीलाई विद्यालय सञ्चालन नहुँदा पढाइ बिग्रिने चिन्ता हटेको हो । बिनाइन्टरनेट मोबाइलबाटै विद्यार्थीले घरमै बसेर पढ्न पाउने भएका छन् । गण्डकी प्रदेशमै पहिलोपटक अफलाइनबाटै पढाइ सञ्चालन हुने भएपछि विद्यार्थी खुसी भएका हुन् ।

शनिबार गण्डकी प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बालबालिकाका लागि अनलाइन/अफलाइनमा आधारित वैकल्पिक सिकाइ सामग्रीको परीक्षण (अफलाइन मोबाइल एपका माध्यमबाट कक्षा सञ्चालनका लागि डेमो प्रस्तुति) तथा उद्घाटन गरेको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले अब मोबाइलबाटै भिडियोसहित सबै विषयमा अफलाइन कक्षा लिन सक्नेछन् ।

कोरोना कहरयता बालबालिका विद्यालयमा उपस्थित भई पठनपाठन गर्न नपाएपछि वैकल्पिक शिक्षाका लागि संघ, प्रदेश र स्थानीय सरकारले सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई प्राथमिकता दिँदै आएका छन् । प्रदेश सरकारले पीडी स्मार्ट एजुकेसन नामक संस्थाको समन्वयमा पीडी स्मार्ट अफलाइन इजी लर्निङ नामक एप निर्माण गरी अफलाइन कक्षा सञ्चालन गरेको हो । संस्थाका अध्यक्ष तेजबहादुर चन्दले नेपाल सरकारको पाठ्यक्रमअनुसार स्वीकृत लिएर पाठ्यक्रम निर्माण गरिएको बताए ।

‘नयाँ आएको कोर्स समेटेर भिडियो तयार गरिएको छ,’ उनले भने, ‘एप खोलेपछि कुन विषय पढ्ने विद्यार्थीले रोज्न पाउनेछन् । विषयमा क्लिक गरेपछि कुन शीर्षक (पाठ) पढ्ने भन्ने हुन्छ । त्यहाँ गएपछि शिक्षकले पढाएको हुन्छ । विद्यार्थीले भिडियोसहित हेरेर पढ्न पाउँछन् ।’

यदि विद्यार्थीले नबुझेमा सोही शीर्षकमुनि प्रश्न/उत्तर गर्नसमेत मिल्ने चन्दले बताए । कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा अफलाइन कक्षा सञ्चालन भएपछि गण्डकीमा पहिलोपटक सुरु गरिएको उनले जानकारी दिए ।

प्रदेशका ११ जिल्लामा ६ देखि १२ कक्षासम्म एक हजार ४ सय ४८ विद्यालय छन् । तिनमा ३ लाख ६४ हजार ४ सय विद्यार्थी पढ्छन् । यी कक्षाका अनिवार्य विषय लक्षित उक्त सामग्री विद्यार्थीका लागि सहयोगी सिद्ध भएमा आवश्यक प्रक्रिया पूरा गरी अन्य विद्यालय र विद्यार्थीमाझ उपयोगमा लैजाने शिक्षा विकास निर्देशनालय गण्डकीका प्रमुख अम्बिका आचार्यले बताए । चन्दले ग्रामीण भेग, दुर्गम र इन्टरनेटको पहुँच नपुगेको स्थानमा बढी उपयोगी रहेको बताए । सवै विद्यालय र विद्यार्थीसँग कम्प्युटर नहुनु, सबै ठाउँमा रेडियो तथा टेलिभिजनको पहुँच नहुनु, शिक्षकमा अनलाइनबाट शिक्षण सीपको विकास नहुनु, घरमा सबै बालबालिकालाई पुग्ने गरी मोबाइल नहुनु र मोबाइलको नेटवर्क र इन्टरनेट सबै स्थानमा पुग्न नसकेका कारण विद्यार्थीको सिकाइ प्रभावकारी रूपमा अगाडि बढाउन नसकिएको आचार्यले बताए ।

प्रतीक्षा काफ्लेले कान्तिपुरमा खबर लेखेकी छन्।

प्रतिकृया दिनुहोस्