काठमाडौं । सरकारले शिक्षालाई उत्पादनसँग जोड्न भन्दै शिक्षासँगै कमाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघ, प्रदेस र स्थानीय सरकारको लगानी र शिक्षा तथा मानव स्रोत विकासकेन्द्रको व्यवस्थापनमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।

केन्द्र अन्तर्गत सञ्चालित प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सिटिइभिटी)बाट सञ्चालित आङ्गिक शिक्षालय तथा सो परिषद् अन्तर्गतको टेक्स कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालयहरू यस कार्यक्रममा सहभागी हुन सक्ने जनाइएको छ ।

प्रशिक्षार्थीलाई कार्यस्थलको अनुभव दिलाउन, उपलब्ध औजार, उपकरण लगायत भौतिक पूर्वाधारलाई अधिकतम उपयोगमा ल्याउन र प्रशिक्षार्थी, प्रशिक्षक एवम् शिक्षालयलाई थप आय आर्जनको अवसर प्रदान गर्दै शिक्षालाई उत्पादनसँग जोड्नका लागि यस शिक्षासँगै कमाइ कार्यक्रम कार्यान्वयन गर्न इच्छुक विद्यालय वा शिक्षालयले  सूचना प्रथम पटक प्रकाशन भएको पन्ध्र दिनभित्र प्रस्ताव सहित आवेदन दिन सक्नेछन् ।

कहाँ बुझाउने आवेदन
विद्यालयहरुले  तोकिएको ढाँचामा प्रस्तावसहित  सिटिइभिटिको केन्द्रिय कार्यालय तथा सात प्रदेश कार्यालयमा आवेदन दिन सक्नेछन् । पेश भएको प्रस्ताव बमोजिम विद्यालय छनोट भएमा कार्यविधिले निर्दिष्ट गरे बमजिमको अनुदान उपलब्ध गराइने केन्द्रले जनाएको छ । यससँग सम्बन्धीत कार्यविधि र आवेदन फारम शिक्षा मन्त्रालयको http://www.moe.gov.np वा सिटिइभिटिको http://www.ctevt.org.np/ वेवसाइटबाट डाउनलोड गर्न सकिने छ ।

के–के चाहिन्छ कागजात
प्रस्ताव पेश गर्नका लागि  स्थानीय तहबाट कार्यक्रमका लागि आवश्यक सहयोगको प्रतिवद्धता तथा स्थानीय तहमा सम्बन्धित वस्तु तथा सेवा उत्पादन गर्ने व्यावसायिक फर्महरु भए नभएको खुल्ने गरी स्थानीय आवश्यकताको विशेषण सहितको सिफारिस पत्रको प्रमाणित प्रतिलिपि आवश्यक पर्नेछ । साथै,  विद्यालय व्यवस्थापन समितिको कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता सहितको निर्णको प्रमाणित प्रतिलिपि पनि आवश्यक पर्नेछ । आवेदन दिनका लागि  कार्यरत प्राविधिक प्रशिक्षकहरुको माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र तथा वैयक्तिक विवरणको प्रमाणित प्रतिलिपि तथा  विद्यालयको नाममा रहेको जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा वा भोगाधिकार निर्णय वा लिजमा प्रयोग गर्नेभए सम्झौतापत्रको प्रमाणित प्रतिलिपि पनि आवश्यक पर्ने छ । प्रस्तावमा उल्लेख गरिएका विवरणहरुको पुष्ट्याइका लागि चाहिने थप आवश्यक कागजातको प्रमाणितप्रतिलिपि र सिकाइ र कमाइ सुनिश्चित गर्ने अरु कुनै कागजात भए सो पनि आवेदनमा पेश गर्नुपर्ने जनाइएको छ ।

२०७६ चैत्र ३ गते १९:३७मा प्रकाशित

प्रतिकृया दिनुहोस्