पुल्चोक क्याम्पसः विद्यार्थी वा पास आउटको स्ववियु

Avatar photo

Byएजुकेशन पाटी

२०७९ चैत्र २, बिहीवार

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवार बन्न उमेरको हद तोकिएसँगै वास्तविक विद्यार्थीले मौका पाउन थालेका छन् । नत्र वर्षौ कलेज कुरेर नेता बनेका गैर विद्यार्थी पनि उम्मेदवार बन्ने गर्थे ।

विसं २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भयो । त्यसपछि, त्यो समस्या त हट्यो, तर इञ्जिनियरिङ कलेजहरुमा अर्को समस्या आइलाग्ने देखिएको छ । अर्थात् पास आउट हुन ठिक्क परेका वा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी उम्मेदवार बन्ने । दुई वर्षे कार्यकाल हुने स्ववियुमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी उम्मेदवार हुँदा यदि नेतृत्वमा पुगे गैर विद्यार्थी बन्नै अवस्था आउने देखिएको छ ।

यस्तै अवस्था देखिएको छ पुल्चोक इञ्जिनियरिङ  क्याम्पसमा । यस  क्याम्पसमा  स्ववियु अध्यक्षमा यसपटक पाँच भ्रातृ संगठन र दुई स्वतन्त्र गरी सात जनाले उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी संघबाट शंकर पन्थी, अनेरास्ववियु (क्रान्तिकारी) बाट अजयकुमार मण्डल, अनेरास्ववियुबाट विराज अर्याल, एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट स्वयम् ढकाल, विद्यार्थी जनमत संघबाट सुमितकुमार यादव र दुई स्वतन्त्र उम्मेदवार नविन खनाल र युरिका बनले उम्मेदवारी दिएका छन् । जनमत संघले भने अखिल क्रान्तिकारीलाई सघाउने निर्णय गरेको छ ।

अखिल (क्रान्तिकारी) का मण्डल आर्किटेक्ट चौथो बर्षका विद्यार्थी हुन । उनको पाचौं बर्ष बाँकी नै छ । तर, नेविसंघका  पन्थी र  अनेरास्ववियुका अर्याललगायतका उम्मेदवार अन्तिम वर्षका विद्यार्थी हुन्। उनीहरु निर्वाचित भइहाले एकडेढ महिनामै पढाइ सकिनेछ र उनीहरु गैर विद्यार्थी बन्नेछन् ।  उनीहरूले कसरी विद्यार्थीका पक्षमा काम गर्न सक्लान्  ? याे पुल्चोक क्याम्पसको मात्रै समस्या होइन अधिकांश इञ्जिनियरिङ क्याम्पसहरुमा यही अवस्था छ । यसमा त्रिभुवन विश्वविद्यालयले ध्यान दिनुपर्ने देखिन्छ ।

पुल्चोक क्याम्पसमा अध्ययन गर्न हरेक वर्ष प्रवेश परीक्षामा सहभागी झण्डै १४ हजार विद्यार्थीमध्येबाट ५०० देखि ६०० विद्यार्थी छानिन्छन् । यसरी छानिएका २ हजार ६९९ विद्यार्थीले यसपटक पुल्चोक क्याम्पस स्ववियुमा १९ जनाको कार्यसमिति छान्दैछन् ।

स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्