काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवार बन्न उमेरको हद तोकिएसँगै वास्तविक विद्यार्थीले मौका पाउन थालेका छन् । नत्र वर्षौ कलेज कुरेर नेता बनेका गैर विद्यार्थी पनि उम्मेदवार बन्ने गर्थे ।

विसं २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भयो । त्यसपछि, त्यो समस्या त हट्यो, तर इञ्जिनियरिङ कलेजहरुमा अर्को समस्या आइलाग्ने देखिएको छ । अर्थात् पास आउट हुन ठिक्क परेका वा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी उम्मेदवार बन्ने । दुई वर्षे कार्यकाल हुने स्ववियुमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी उम्मेदवार हुँदा यदि नेतृत्वमा पुगे गैर विद्यार्थी बन्नै अवस्था आउने देखिएको छ ।

यस्तै अवस्था देखिएको छ पुल्चोक इञ्जिनियरिङ  क्याम्पसमा । यस  क्याम्पसमा  स्ववियु अध्यक्षमा यसपटक पाँच भ्रातृ संगठन र दुई स्वतन्त्र गरी सात जनाले उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी संघबाट शंकर पन्थी, अनेरास्ववियु (क्रान्तिकारी) बाट अजयकुमार मण्डल, अनेरास्ववियुबाट विराज अर्याल, एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट स्वयम् ढकाल, विद्यार्थी जनमत संघबाट सुमितकुमार यादव र दुई स्वतन्त्र उम्मेदवार नविन खनाल र युरिका बनले उम्मेदवारी दिएका छन् । जनमत संघले भने अखिल क्रान्तिकारीलाई सघाउने निर्णय गरेको छ ।

अखिल (क्रान्तिकारी) का मण्डल आर्किटेक्ट चौथो बर्षका विद्यार्थी हुन । उनको पाचौं बर्ष बाँकी नै छ । तर, नेविसंघका  पन्थी र  अनेरास्ववियुका अर्याललगायतका उम्मेदवार अन्तिम वर्षका विद्यार्थी हुन्। उनीहरु निर्वाचित भइहाले एकडेढ महिनामै पढाइ सकिनेछ र उनीहरु गैर विद्यार्थी बन्नेछन् ।  उनीहरूले कसरी विद्यार्थीका पक्षमा काम गर्न सक्लान्  ? याे पुल्चोक क्याम्पसको मात्रै समस्या होइन अधिकांश इञ्जिनियरिङ क्याम्पसहरुमा यही अवस्था छ । यसमा त्रिभुवन विश्वविद्यालयले ध्यान दिनुपर्ने देखिन्छ ।

पुल्चोक क्याम्पसमा अध्ययन गर्न हरेक वर्ष प्रवेश परीक्षामा सहभागी झण्डै १४ हजार विद्यार्थीमध्येबाट ५०० देखि ६०० विद्यार्थी छानिन्छन् । यसरी छानिएका २ हजार ६९९ विद्यार्थीले यसपटक पुल्चोक क्याम्पस स्ववियुमा १९ जनाको कार्यसमिति छान्दैछन् ।

स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्