काठमाडौँ । अहिले अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभा चलिरहेको छ । जहाँ विश्वभरका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरुले सहभागिता जनाइरहेका छन् । जहाँ विश्वका विभिन्न मुद्दामा छलफल चलिरहेको छ । सोही महासभाको झल्को दिनेगरी कपनस्थित रिलायन्स पब्लिक स्कुलमा बिहीबार देखि नमूना संयुक्त राष्ट्रसंघ महासभा सुरु भएको छ ।

विद्यालयले वर्षेपिच्छे आयोजना गर्ने नमूना महासभाको ८ औं संस्करणको बिहीबार चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले उद्घाटन गरेका हुन् । ३ दिनसम्म चल्ने उक्त महासभामा विभिन्न देशका प्रतिनिधिको रुपमा देशका विभिन्न स्थानबाट विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

जहाँ विद्यार्थीहरुले विभिन्न देशका प्रतिनिधिको भुमिका निर्वाह गर्दै विश्व शान्ति, सद्भाव, भाइचारा, प्रविधिको समुचित प्रयोग, विश्व तापमान र त्यसले पार्ने प्रभाव, मानवीय नवीन बस्तीको खोजीलगायतका मुद्दामा छलफल गर्ने रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जङ्ग थापाले जानकारी दिए । थापाका अनुसार विद्यार्थीहरुले युनिसेफ, युनेस्को, युएनडिपी, विश्व स्वास्थ्य संगठन, महिला संगठनलगायतका राष्ट्रसंघका विभिन्न निकायहरुको पनि समूह बनाइएको छ । राष्ट्रसंघको महासभा सञ्चालन र छलफल जसरी हुन्छ त्यसैगरी विद्यार्थीहरुले छलफल गर्ने उनले जानकारी दिए । विद्यार्थीको क्षमता अभिवृद्धि साथै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरूको पहिचान गरी के कसरी समाधान गर्न सकिन्छ भनेर बुझ्न बुझाउन विद्यालयले सन् २०१६ देखि नियमित नमूना राष्ट्र संघको अभ्यास गर्न सुरु गरेको थापाले बताए ।

चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले रिलायन्स पब्लिक स्कूलले सुरु गरेको नमूना राष्ट्रसंघको प्रशंसा गर्दै यसले विद्यार्थीहरूमा कूटनीतिक क्षमताको अभिवृद्धि गर्ने अपेक्षा व्यक्त गरे । कार्कीले यस्ता कार्यक्रमले विज्ञान र प्रविधिले सुशोभित दक्ष नागरिक निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । यसैगरी, कार्यक्रममा युएन हाउस नेपालका प्रतिनिधि सुवास नेपालीले दिगो विकासको लागि यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व विकास हुने धारणा राखे ।

कार्यक्रममा विभिन्न देशका प्रतिनिधिको रुपमा सहभागी हुन काठमाडौँ, बुटवल, चितवन, जनकपुर, मोरङ लगायतका विभिन्न जिल्लाका विभिन्न विद्यालयबाट विद्यार्थीहरु आएका स्कूलका प्रिन्सीपल वसन्तलाल लामिछानेले जानकारी दिए । उनकाअनुसार कार्यक्रममा प्रतियोगी विद्यार्थीहरूले विश्वमा भइरहेका जल्दा बल्दा समस्याको बारेमा छलफल गरी त्यस्ता समस्याको समाधानका उपाय समेत निकाल्ने प्रयास गर्नेछन् । कार्यक्रम आगामी भाद्र ३० गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्