काठमाडौँ। संयुक्त राष्ट्रसंघको महासभा २०२३ । हरेकले छातिमा आ–आफ्नो देशको परिचयपत्र टाँसेका थिए । देशको प्रतिनिधित्व गरेका सहभागीहरुले आफ्नो देशमा भएको मानव अधिकार, स्वास्थ्य, पर्यावरण, सहश्राब्दी विकास लक्ष्यमा भएको प्रगति, बेरोजगारी, आर्थिक प्रगतिको अवस्थाका बारेमा चर्काचर्की बहस गरे ।

नेपालमा सभा आयोजना भएकाले नेपाली सांसदहरुले दिगो विकास, जलवायु परिवर्तनको असर, नेपालको शान्ति प्रक्रिया टुंग्याउनेलगायतको विषयमा कुराहरु राखे । अफ्रिकन र समाजवादी केही देशहरुमा मानव अधिकारको अवस्थाप्रति सभामा चर्काचर्की भयो । युक्रेन र रसिया बीचको युद्ध, आणविक हतियारको बढ्दो त्रास, विश्व आर्थिक मन्दीलगायतका विषयमा पनि गरमागरम बहस भए ।

विश्व शान्ति, सद्भाव, भाइचारा, प्रविधिको समुचित प्रयोग, विश्व तापमान र त्यसले पार्ने प्रभाव, मानवीय नवीन बस्तीको खोजी एवम् सर्वजन हिताय चः भन्ने विविध विषयमा छलफल र बहसहरु भए ।

सहभागीहरु डिआइएसइसी, युनएचसिआर, नेपाली संसद, इसिओएसओसी, एचसिसी, युएनडिपी, आइपिसीको छुट्टाछुट्टै बैठकमा आफ्नो देशको चर्को श्वरमा बखान गरिरहेका थिए। बिचबिचमा चर्काचर्की बढेपछि संयुक्त राष्ट्रसंघका महासचिवले मध्यस्थता गरेर केही साम्य बनाउथे । ३ दिनसम्म चलेको महासभाको पहिलो दिनको उद्घाटन सत्रपछिका हरेक छलफलका अवस्था यस्तै देखिन्थ्यो ।

यो दृश्य वास्तविक संयुक्त राष्ट्रसंघको महासभाको नभएर रिलायन्स पव्लिक स्कूलमा आयोजना गरिएको नमूना राष्ट्रसंघीय महासभाको आठौं संस्करण हो । जहाँ विद्यार्थीहरुले विभिन्न देशको प्रतिनिधित्व गर्दै नमूना राष्ट्रसंघीय महासभा सञ्चालन गरिरहेका थिए । काठमाडौं कपनस्थित रिलायन्स पव्लिक स्कूलले विगत १० वर्षदेखि विद्यार्थीहरुको सहभागितामा यस्तो महासभा गर्दै आएको छ ।

बिहिवारदेखि शुरु भएर शनिवार रिलायन्स पब्लिक नमूना राष्ट्रसंघीय महासभा २०२३ मा देशभरकान दर्जन बढी विद्यालयका झण्डै ३ सय विद्यार्थीहरु विभिन्न देशका प्रतिनिधिका रुपमा सहभागी भएका थिए ।

उनीहरुले वास्तविक संयुक्त राष्ट्रसंघीय महासभाकै झल्को दिने गरी विभिन्न निकाय र देशको प्रतिनिधित्व गरी छलफलमा भाग लिएका थिए । एउटा देशले गरेको दावी र प्रस्तुतिलाई अन्य विरोधी देशहरुले कडा आपत्ति जनाएको दृश्य रोचक देखिन्थ्यो ।

विद्यार्थीहरुलाई संयुक्त राष्ट्रसंघकै झल्को दिने गरी विभिन्न ७ समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा छलफललाई सहजीकरणका लागि अध्यक्ष, उपाध्यक्ष र निर्देशकको व्यवस्था गरिएको थियो । राष्ट्रसंघका महासचिवको भुमिकामा रिलायन्स पव्लिक स्कूलकै विद्यार्थी तेजस्वी निरौला थिइन् ।


विद्यार्थीहरुलाई संयुक्त राष्ट्रसंघका सभाहरु कसरी सञ्चालन हुन्छन, देशहरुबिच कसरी छलफल हुन्छन्, आन्तरिक नीतिहरु कसरी बन्छन्, सम्बन्धहरु क्सरी बन्छन्, एजेण्डाहरु कसरी प्रस्तुत हुन्छन् भनेर व्यवहारिक रुपमै जानकारी दिनका लागि यस्तो विद्यालयस्तरीय संयुक्त राष्टसंघीय महासभाको आयोजना गरिएको रिलायन्स शिक्षा नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले जानकारी दिए ।

यस्तो कार्यक्रम संसारभर विश्वविद्यालय र विद्यालय तहमा हुने गरेको र नेपाली विद्यार्थीहरुले पनि देशको प्रतिनिधिको रुपमा धेरै देशहरुमा सहभागीता जनाउँदै आएका पनि थापाले जानकारी दिए । महासभामा अन्तिम छलफलपछि पारित हुने एजेण्डालाई पछि संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा बुझाइने पनि उनले बताए ।थापाले यस कार्यक्रमले विद्यार्थीहरुलाई एकैपटक विश्व इतिहास, संस्कृति, राजनीति र सामाजिक अवस्था, वातावरण र विकास आदिको बारेमा जानकारी मिल्ने बताए ।
यस्तै उद्घाटन सत्रमा बोल्दै चीनका लागि नेपाली पूर्व राजदुत टंक कार्कीले विद्यार्थी अवस्थादेखि नै संयुक्त राष्ट्रसंघको बारेमा बुझाउँदै गए पछि देशको अझैराम्रो सहभागिता हुने बताए । यस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रमले विद्यार्थीहरुको अन्तर्राष्ट्रिय करियर बनाउन मद्दत गर्ने उनको भनाइ थियो ।


यस्तै समापन समारोहमा बोल्दै रिलायन्स एजुकेसन नेटवर्कका बिओडि तथा चार्टर एकाउन्टेन्ट राजुकुमार सिवाकोटीले कार्यक्रमले एकातिर संयुक्त राष्ट्रसंघको सभाको बारेमा जानकारी हुने र अर्को तर्फ सहभागीहरुले विभिन्न देशका समस्या शुक्ष्मरुपमा अध्ययन गरी प्रस्तुत गर्ने भएकाले एकैपटक विद्यार्थीलाई विश्वका समस्या र अवस्था बुझ्न सहयोग पुग्ने बताए । अहिले पनि हजारौं नेपाली राष्ट्रसंघमा कार्यरत रहेको भन्दै यस्ता कार्यक्रमले भविष्यमा त्यता पनि रोजगारीको अवसर छ है भन्ने जानकारी दिने उनको भनाइ थियो ।
समग्र कार्यक्रम बारे धारणा राख्दै आरपीमुनका सम्मेलन निर्देशक दिलीप नेपालले पाठ्यक्रम भन्दा बाहिरको यस्तो ज्ञानले विद्यार्थीहरूको भावी जीवनमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे । कूटनीतिको ज्ञान प्रदान गर्नु र विश्वमा देखिएका विभिन्न समस्याहरू बारे बुझाउँदै स्थानीय स्तरमा देखिएका समस्या समाधान गर्न सक्षम बनाउनु कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ थियो।

समापन कार्यक्रममा बहसमा उत्कृष्ट रुपमा सहभागिता जनाउने प्रतियोगीहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । नेपालको तर्फबाट माधव कुमार नेपाल, जनार्दन शर्मा, सोभिता गौतमलगायत नेताहरुको भुमिका निर्वाह गर्ने विद्यार्थीहरु पुरस्कृत भएका थिए ।

प्रतिकृया दिनुहोस्