काठमाडौं । प्रदेश १ सरकारले लकडाउन र त्यसपछि पनि प्रविधियुक्त शिक्षण सिकाइका लागि शिक्षकहरुलाई दैनिक ६ सिफ्टमा अनलाइन शिक्षण तालीम सञ्चालन गरिरहेको जनाएको छ । विद्यालय तत्काल खुल्ने सम्भावना नदेखिएपछि भर्चुअल कक्षाका लागि शिक्षक तयार पार्न अनलाइन शिक्षण तालीमलाई तिब्रता दिइएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा बोल्दै मन्त्री घिमिरेले इन्टरनेटको पहुँच नभएका बालबालिकालाई पनि भर्चुअल कक्षाबाट बञ्चित नगर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

इन्टरनेटको पहुँच भएकामा इन्टरनेटबाट र टेलिभिजन भएका ठाउँमा टेलिभिजनबाट भर्चुअल कक्षा सञ्चालन गरिने जानकारी दिए । बैशाख १५ गतेदेखि नेपाल टेलिभिजन इटहरी केन्द्रबाट टेलिभिजनमार्फत भर्चुअल कक्षा शुरु भइसेको जानकारी दिए ।

मन्त्री घिमिरेले टेलिभिजनको पनि पहुँच नहुने बालबालिकाको शिक्षणको लागि रेडियो मार्फत कक्षा सञ्चालनको तयारी भइरहेकाने जानकारी दिए । १४ वटै जिल्लाबाट कसरी रेडियोमार्फत प्रभावकारी भर्चुअल कक्षा सञ्चालन गर्न सकिन्छ भनेर तयारी भइरहेको उनले जानकारी दिए ।

‘जुन ठाउँमा जेको पहुँच छ त्यहीबाट भर्चुअल कक्षा सञ्चालन गरिन्छ, कोही पनि बालबालिका भर्चुअल कक्षाबाट बञ्चित हुँदैनन् ।’ उनले भने ।

प्रदेश सरकारले लकडाउन अघि नै एकसय विद्यालयमा अनलाइन शिक्षक शुरु गरेको र एकसय विद्यालयका तीन हजार शिक्षकले यसअघि नै अनलाइन शिक्षण तालीम पाइसकेका उनले जानकारी दिए ।

‘अहिले अत्यावश्यक भयो, पहिले नै हामीले शुरु गरिसकेका थियौं’– मन्त्री घिमिरेले भने– ‘प्रदेशभरीका विद्यालयमा बालबालिकालाई झोला र पुस्तक मुक्त बनाउने गरी काम गरिरहेका छौं ।’

आफू मन्त्री भइसकेपछि गरेको पहिलो निर्णय पनि बालबालिकालाई झोला र पुस्तक रहित बनाउने रहेको स्मरण गर्दै मन्त्री घिमिरेले थप ११२ विद्यालयमा अनलाइन शिक्षण शुरु गर्ने तयारी भइरहेको बताए ।

प्रदेश सरकारले विद्यार्थीको नतिजा तत्काल प्रकाशन गर्दा विद्यार्थीको चहलपहल बढ्ने भन्दै रोकेको र केही दिनमा नतिजा प्रकाशन गरिने उनले जानकारी दिए । नतिजा पछि भर्ना अभियानका बारेमा छुट्टै निर्णय गरिने उनले बताए ।

एसईई परीक्षाका सन्दर्भमा विद्यालयमै केन्द्र राखेर सामाजिक दुरी कायम गर्दै गर्ने बारेमा छलफल भइरहेको उनले बताए ।

‘कक्षा ११ र १२ को हकमा पनि एउटा निर्णय हुन्छ’– उनले भने । ‘हाल हामी विद्यालयको शिक्षण सिकाइ निरन्तरतामै केन्द्रित छौं ।’

आगामी वजेटमा शिक्षा र स्वास्थ्यले प्राथमिकता पाउने भन्दै हरेक विद्यालयमा इन्टरनेट विस्तारको योजना ल्याइने उनले जानकारी दिए । प्रदेशका पाँच हजार विद्यालयमै इनटरनेट विस्तार गर्ने उनले आफ्नो योजना सुनाए ।

१० वर्षभित्र प्रदेश भित्र विद्यालयहरु झोला र पुस्तक वीहिन बनाइने उनले जानकारी दिए । अब लाइब्रेरी पनि किताव वीहिन ई–लाइब्रेरी बनाइने उनले बताए ।
प्रदेश सरकारले यसअघि नै शिक्षकलाई मात्रै होइन अभिभावकलाईसमेत अनलाइन शिक्षणको तालीम दिन शुरु गरेको उनले जानकारी दिए । हरेक विद्यालयहरुमा आमा समूह बनाएर विहान बालबालिका पुर्याउन, दिउँसो खाजा लिएर आउँदा र साँझ बालबालिका लिन आउँदा कम्प्युटर ल्यावमा गएर डिजिटल साक्षरता कक्षा लिन अभिभावकहरुलाई अवसर प्रदान गरिएको उनले जानकारी दिए ।

साक्षरता अभियानलाई पनि डिजिटल साक्षरतासँग जोडेर अघि बढाइएको उनले जानकारी दिए ।

बैशाख पछि कसरी अगाडि बढ्ने बढेर विज्ञ समूह बनाएर अध्ययन भइरहेको भन्दै मन्त्री घिमिरेले सोही सुझाबका आधारमा योजना बनाइने स्पष्ट पारे ।

२०७७ बैशाख २१ गते १८:४८मा प्रकाशित

प्रतिकृया दिनुहोस्