काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले यो वर्षका लागि आवश्यक पर्ने पाठ्यपुस्तक तयार पारिसकेको जनाएको छ । केन्द्रले  केही छपाई हुन बाँकी भएपनि धेरैजसो छपाई भइसकेको जनाएको हो ।

विद्यालयले सिकाउनका लागि पाठ्यपुस्तक नै कुर्न नपर्ने केन्द्रकोे वेवसाइटबाट कक्षा १ देखि १२ सम्मकै पाठ्यपुस्तक डाउनलोड गरेर सिकाउन सकिने केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

शिक्षा पत्रकार समूहले शुक्रवार आयोजना गरेको चालु शैक्षिक सत्रमा विद्यालय तहको पाठ्यपुस्तक  र पाठ्य सामग्री व्यवस्थापन कसरी ? विषयक भर्चुअल अन्तक्र्रियामा बोल्दै केन्द्रका निर्देशक भट्टराईले सो कुरा बताएका हुन् ।

यसवर्ष कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुने भन्दै कक्षा १ को पाठ्यपुस्तक निजीक्षेत्रबाट छपाइ हुने र सबै छपाइ भइसकेका निर्देशक भट्टराईले बताए ।

‘दुर्गमका ४ जिल्लामा त पठन–पाठन नै फागुन देखि शुरु भइसकेको छ । पाठ्यपुस्तक वितरणको समस्या छ छपाइको छैन’, निर्देशक भट्टराईले भने ।
कक्षा ५ देखि माथिका कक्षाका पाठ्यपुस्तकका पीआसी लकडाउन अगाडि नै जनकशिक्षा सामग्री केन्द्रमा पठाइसकिएको भन्दै छपाइ पनि धेरै भइसकेको र अहिले वितरण खुलिसकेकाले छिट्टै विद्यालयमा पुग्ने उनले आशा व्यक्त गरे ।

नेपालमा पाठ्यक्रम विकास केन्द्रले मात्रै पाठ्यपुस्तक तयार पार्ने र जनक शिक्षा सामग्री केन्द्र वा सुचीकृत निजी मुद्रक तथा प्रकाशकबाट मात्रै प्रकाशित हुने उनले स्पष्ट पारे । बाँकी किताबहरु पाठ्यपुस्तक होइन पाठ्यसामग्री मात्रै भएका उनले बताए ।

कक्षा १ मा नयाँ पाठ्यक्रम लागु भएकाले अहिले यसका पाठ्य सामग्री स्वीकृत भइनसकेको र यहीहप्ताभित्र स्वीकृत भइसक्ने उनले जानकारी दिए ।
पाठ्यक्रम परिवर्तन भएकाले प्रकाशकहरुले लेखेर तयार पारेपनि केहीले पाठ्यक्रमको मर्म आत्मसात नगरेकाले ३० दिनको समय दिएर सच्याउन लगाइएको निर्देशक भट्टराईले जानकारी दिए ।

उनीहरुले सच्याएर पेश नगर्दै लकडाउन शुरु भएको र आगामी सोमबार पुनः बुझाउन भनिएको जानकारी दिँदै निर्देशक भट्टराईले पेशगरेको केहीदिनमै केन्द्रले ती पाठ्यसामग्री स्वीकृत गर्ने बताए ।  बाँकी सबै कक्षाका पाठ्यसामग्री स्वीकृत भइसकेका उनले जानकारी दिए ।

विद्यालयमा पाठ्यपुस्तक लगाइसकेपछि आवश्यक परेमात्रै पाठ्यसामग्री लगाउन पाइने भन्दै भट्टराईले पाठ्यसामग्री अलिकति ढिलो जाँदैमा पठनपाठनमा कुनै असर नपर्ने दाबी पनि गरे ।

पाठ्यपुस्तक विद्यार्थीलाई मात्रै चाहिने शिक्षकका लागि केन्द्रले पाठ्यक्रम बनाएको र त्यो केन्द्रको वेवसाइटमा पनि उपलब्ध रहेको साथै  एकप्रति विद्यालयमा पुग्ने गरी प्रत्येक इकाईसम्म पुर्याइसकिएको उनले जानकारी दिए ।

‘सबै शिक्षकको हातमा मोवाइल छ, स्मार्ट फोन छ । छेउमा एउटा पाठ्यक्रम डाउनलोड गरेर राखौं न । त्यसले काम चलिहाल्छ’, भट्टराईले भने– ‘शिक्षकहरुले वेवसाइटमा पाठ्यक्रम र पाठ्यपुस्तक भेटे ल मैले यो भिडियो सामग्री बनाएको छु भनेर सेयर गरिदिएपनि हुन्छ ।’

यो समय भनेको सुरक्षा र सिकाइ निरन्तरता दिने समय भएको भन्दै उनले विद्यार्थी स्कूल आउन नसक्ने भएकाले  घरमै बसेर उनीहरुलाई सिकाउने उपाय ल्याउनु पर्नेमा जोड दिए ।

युट्युवमा कक्षा ९ र १० का सबै विषय समेटिएका ९ सय भन्दा बढी अडियो–भिडियो सामग्री उपलब्ध रहेका भन्दै भट्टराईले  त्यो सामग्री को भरपूर उपभोग गर्न शिक्षक र विद्यार्थीसँग आग्रह गरे ।

पाठ्यपुस्तक बालअधिकार भएकाले विद्यार्थीले पाठ्यसामग्री, सिकाइ सामग्री पाउनुपर्ने र  सिकाइ सामग्री पुर्याउने काम स्थानीय तह, विद्यालय शिक्षक सबैले गर्नुपर्ने उनको भनाइ थियो ।

‘विद्यार्थीलाई सुरक्षित राख्दै शिक्षकले पाठ्यक्रमका आधारमा पढाउन शुरु गर्नुपर्छ’, भट्टराईले भने ।

२०७७ बैशाख २६ गते १७:३७मा प्रकाशित

प्रतिकृया दिनुहोस्