काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालय तहका लागि अझै १५ लाख बढी थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको पाइएको छ ।

एक करोड नब्बेलाख थान बढी पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा हालसम्म करिब एक करोड ७५ लाख थान पाठ्यपुस्तकको छपाइ सकिएको जनक शिक्षाले जनाएको छ । साथै, गतवर्ष १ करोड ६८ लाख थान पाठ्यपुस्तक मात्रै बिक्रि भएकोसमेत जनक शिक्षाले स्पष्ट पारेको छ ।

शिक्षा पत्रकार समूहले शुक्रवार आयोजना गरेको चालु शैक्षिक सत्रमा विद्यालय तहको पाठ्यपुस्तक  र पाठ्य सामग्री व्यवस्थापन कसरी ? विषयक भर्चुअल अन्तक्र्रियामा बोल्दै जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले अझै १५–२० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको बताएका हुन् ।

जनशिक्षाले १ देखि १२ कक्षाकै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएपनि सरकारले् १ देखि ४ सम्मको छाप्ने जिम्मा निजी मुद्रक तथा प्रकाशकलाई दिएपछि हाल ५ देखि माथिको पाठ्यपुस्तकको छपाइ गर्दै आएको छ ।

छापिएका पुस्तकहरु वितरणमा पठाइसकिएको र जनक शिक्षासँग दैनिक एक लाख पचास हजार पुस्तक छाप्ने क्षमता रहेकाले  बाँकी पुस्तकको पनि १०–१५ दिनमा छपाइ सकेर वितरणमा पठाइने प्रवक्ता आचार्यले जानकारी दिए । पुस्तक छाप्दाछाप्दै चैत्र ११ देखि लकडाउन शुरु भएपछि छपाइको काम प्रभावित भएकोसमेत उनले स्पष्ट पारे ।

‘छापिएकामध्ये ८० प्रतिशत वितरणका लागि पठाइसकिएको छ । र बाँकीको पनि ढुवानी शुरु हुँदैछ’– आचार्यले भने ।

जनकशिक्षा सँग हाल नभएका भन्ने कुनै पाठ्यपुस्तक नरहेको भन्दै लक्ष्य भन्दा १५–२० लाख थान कम मात्रै रहेको उनले बताए । ६,७ र ८ को पाठ्यपुस्तक रंगीन बनाउने सरकारको निर्णय अनुसार छपाइ गरेर बिक्री वितरण गर्न लागेको प्रवक्ता आचार्यले जानकारी दिए ।

पठ्यपुस्तक विद्यालयसम्म पुर्याउन सकिए विद्यालयमार्फत् विद्यार्थीको घरघरमा पुग्ने र उनीहरुले घरमै बसेर स्वअध्ययन गर्न सक्ने गरी आफुहरुले काम गरिरहेको उनले जानकारी दिए ।पाठ्यपुस्तक विद्यार्थीले नभई विद्यालयले किन्ने भएकाले यसका लागि विद्यार्थीहरुलाई कुनै किसिमको आर्थिक भार नपर्ने उनले स्पष्ट पारे ।

केन्द्रको पनि आफ्नै ट्रक रहेको र बाहिरको पनि भाडामा लिएर धनगडी बाहेकको स्थानमा पाठ्यपुस्तक ढुवानी भइरहेको उनले जानकारी दिए । यो वर्ष समयमा पाठ्यपुस्तक नपाउने, सेटमा नपाउने समस्या आउन नदिने प्रवक्ता आचार्यले जिकिर गरे ।

जनक शिक्षाले विद्यालय तहका पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रमा सुचीकृत  बिक्रेतामार्फत बिक्री वितरण गर्ने र ती बिक्रेताहरुलाई सरकारले अहिले ढुवानी गर्न दिने भनेको उनले स्पष्ट पारे । अन्य निजी बिक्रेता र पुस्तक पसललाई ढुवानी गर्न दिने कुरा सरकारले नगरेकोसमेत उनले बताए ।

२०७७ बैशाख २६ गते १९:१८मा प्रकाशित

प्रतिकृया दिनुहोस्