शिक्षक तथा अशिक्षक बीच फरक

Avatar photo

Byएजुकेशन पाटी

६ असार २०७७, शनिबार

अन्तर्वार्ता अनुभव
प्रायः म गैर सरकारी शिक्षण संस्थाका शिक्षक नियुक्तिका लागि लिइने अन्तर्वार्ताहरूमा विषय विशेषज्ञका रूपमा आमन्त्रित हुने गर्छु । सामान्यतयाः अन्र्तवार्तामा सनातनी प्रश्नहरूमा म कहिल्यै रुमलिन्न । त्यस्ता कर्मकाण्डी प्रश्नहरूले मलाई एउटा प्राश्निकका रूपमा समेत सन्तुष्टि प्रदान गर्दैनन् । मेरो अन्तर्वार्ता लिने आफनै पृथक् शैली छ । उम्मेदवारलाई सहज महसुस गराएर म बिस्तारै गफ गर्छु । मेरो अन्तर्वार्ताका स्वभाव र संरचना अरू अन्तर्वार्ताकारहरूभन्दा भिन्नै र उम्मेदवारका लागि आश्चर्यजनक हुँदा रहेछन् भन्ने कुरा मलाई यतिखेर महसुस भएको छ ।

म : तपाईं अन्तर्वार्तामा यहाँ उपस्थित हुनुको अर्थ तपाईं को योग्यता र क्षमतामा म शंका गर्दिनँ । कृपया तपाईं आफूले यहाँ काम गर्दा चाहेको तलब वा सेवासुविधा के कति हो ?
उम्मेदवार : (प्रायः आउने उत्तर) सरहरूको संस्थाको नियमानुसार म काम गर्न राजी छु ।
म : हाम्रो संस्थामा व्यक्तिको क्षमता र मागअनुसार तलब वा सेवा सुविधा दिने चलन/नियम छ ।
उम्मेदवार : (गाह्रो मान्दै) सर, मलाई अहिलेलाई मासिक चालीस हजार रूपैयाँ भए पुग्छ ।
म : सर/म्याम अझै थप सुविधा चाहिन्छ भने भन्दा हुन्छ ।
उम्मेदवार : (अनकनाउँदै) अहिलेलाई यति भए पुग्छ ।

म : ठीक छ । तपाईंको तलब तपाईंले काम गरेको हरेक महिना पछिको पाँच गतेभित्र बैँकमा रहेको तपाईंकोे खातामा जम्मा हुने छ । तपाईं सँग भएको सहमती अनुरूप हामीबाट केही कतैबाट बेइमानी पनि हुने छैन । हामी शुल्क समयमा नउठेको, संस्था घाटामा गएको, कहीँ कतै हामीलाई अप्ठेरो परेको बहाना बनाई तपाईंलाई दिने सेवा सुविधामा हामी/हाम्रो प्रतिबद्वता भन्दा पछि हटने छैनौं । तपाईंले सहमति भए अनुसारको तलब रकम तोकिएकै समयमा पाउनु हुनेछ । ठीक छ ?

उम्मेदवार : (खुसी हुँदै) छैन । सबै ठीक छ ।

म : हाम्रो विद्यालयको कक्षा ९ र १० मा ३०/३० जना विद्यार्थीहरू अध्ययनरत छन । ती सबै तिनीहरूको तल्ला कक्षाहरू उत्तीर्ण गरेर आएका हुन् । तपाईंले आवश्यक ठान्नु हुन्छ भने अहिले नै ल्याकत परीक्षा पनि लिन सक्नु हुन्छ । सबै विद्यार्थीहरू मानसिक र शारीरिक रूपमा सक्षम र सबल छन । यसभन्दा बढी हामीले सबै विद्यार्थी तथा तिनीहरूका अभिभावकसँग सक्षम र दक्ष जनशक्तिद्वारा उत्कृष्ट शिक्षा दिन्छौं भनेर प्रतिबद्वता जाहेर पनि गरेका छौं । हाम्रो लक्ष्य भनेको हाम्रा हरेक विद्यार्थीहरूले विभिन्न क्षमताको विकास गर्नुका साथै मनोवैज्ञानिक तथा समाज विज्ञानको पक्ष भएकाले तपाईंले अध्यापन गराउनु हुने विषय अङ्गे्रजीमा १०० मा कम्तिमा ९० अङ्क प्राप्त गर्नु पर्दछ । तपाईं यो स्पिरिटमा काम गर्न चाहनु हुन्छ ? सक्नु हुन्छ ?

उम्मेदवार : यस्तो कहाँ हुन सक्छ, सर ? हरेक विद्यार्थीको दिमाग फरकफरक हुन्छ । मेरो काम पढाउने हो, मेरो क्षमताले भ्याएसम्म राम्रो पढाउँछु । यस्तो त कसैले गर्न सक्दैनन् । राम्रो परिणाम ल्याउनका लागि स्वयम् विद्यार्थीहरूले नै मेहनत गर्ने हो ।

म : यस्तो यहाँ हुनुपर्छ र हुन सक्छ । विज्ञानले पुष्टि गरिसकेको छ कि सबैको दिमाग बराबार हुन्छ, केवल रूचि फरकफरक हुन सक्छ । विद्यार्थीको रूचि अनुसार सिकाउने (पढाउने होइन) हो भने सबैले आफ्नै गतीमा राम्रोसँग सिक्छन् । हामी कहाँ निष्फल पढाइका लागि विद्यार्थी आउदैनन् र अभिभावकले शुल्क पनि तिर्दैनन् । विद्यार्थीहरूलाई मेहनत गराउने तपाईंको व्यवहार र रोचक शिक्षण शैलीले प्रभाव पार्ने विषय हो । केही आकस्मिक समस्या परे हामी छँदै छौं । तर विद्यार्थी आफैँले गर्ने भए तपाईंलाई मासिक चालीस हजार रूपैयाँ किन दिनु पर्यो त ?

उम्मेदवार : (अन्कनाउँदै) विद्यार्थीलाई पढाए बापत ।
म : निष्फल कामको कुनै अर्थ छैन । विद्यार्थीले सिक्न नसक्ने शिक्षा र आफनो कार्यप्रति जफावदेही नहुने र नसक्ने तपाईंको जागिरले तपाईंलाई भन्दा अरू कसैलाई फाइदा गर्दैन । हाम्रो शिक्षा, शिक्षणको केन्द्र विन्दु विद्यार्थी र तिनीहरूको सिकाइ हो । यसका लागि तपाईंसँग कुनै कार्यक्रम छ भने पेस गर्न सक्नु हुन्छ ।
उम्मेदवार : (वाल्ल पर्दै) यस्तो पनि अन्तर्वार्ता हुन्छ ?
म : हुन्छ । हामी दक्ष र जिम्मेवार शिक्षकको खोजीमा छौं ।

यो खोजी कुनै अमुक दल सत्ता प्रवेशसँगै विद्यालय तथा शिक्षालयलाई भर्ती केन्द्र बनाउने परिपाटीमा न सम्भव छ, न त शिक्षालाई व्यापार बनाउने शिक्षाको बजारमा । सरकारी शिक्षालयले शिक्षकहरूलाई आफनो भाट बनाउन चाहन्छन् भने व्यापारिक संस्थाहरूले गधा । अह्राएको जति र जसरी खट्ने । यी दुवै शिक्षकहरू बास्तविक अर्थमा शिक्षक होइनन् किनकि तिनीहरूमा शिक्षक हुनमा न त कुनै योग्यता छ, न त गौरव छ, न त आनन्द नै । छ त केवल हीनता र पीडैपीडा । भनिरहनु नपर्ला, तिनीहरूले विद्यार्थीहरूलाई केकस्तो शिक्षा दिन्छन् ? प्रमाण हाम्रै सामुु छन् । शिक्षक बन्न व्यक्तिमा शैक्षिक चरित्र र व्यक्तित्व हुुनुुपर्छ न कि राजनीतिक, व्यापारिक र दास प्रवृत्ति ।

धेरैजसोले भाषणमा भन्ने गर्छन् –शिक्षामा दक्ष र योग्य व्यक्तिहरूले प्रवेश पाउनु पर्छ । जबसम्म आर्थिक, समाजिक, साँस्कृतिक, राजनीतिक तथा व्यवहारिक रूपमा शिक्षण पेसालाई सम्मानित पेसाका रूपमा अङ्गिकार गरिन्न तबसम्म जतिसुकै भजन गाए पनि योग्य व्यक्ति शिक्षा क्षेत्रमा प्रवेश गर्दैनन् । योग्य र दक्ष व्यक्तिहरू आफनो क्षमतामा सामाजिक साथै आर्थिक रूपमा पनि सम्मानित र सम्पन्न जीवन जिउन चाहन्छन । अपवादलाई छाडने हो भने नेपालको शिक्षा अगुणस्तरीय प्रमाण–पत्र धारीको गैर जम्मिेवारी पनको सिकार भई राखेको छ ।

योग्य र दक्ष शिक्षक हुुनका लागि अरू कुुनै अचुुक औषधि छैन । तालिमले योग्य र कानुुनले इमान्दार शिक्षक बनाउँछ भन्नुु नै बेकुफ तर्क हो । शिक्षक आफू भित्रैबाट इमान्दार र योग्य बन्न नचाहेसम्म दुुनियाँको कुुनै नियम, कानुुन, शक्ति र अभ्यासको केही तागत लाग्दैन । त्यसैले शिक्षकलाई तिनीहरूको क्षमता र वृति विकासका लागि सहज वातावरण बनाउनु नै अहिलेका लागि एकमात्र विकल्प हो । यो एक वा कुुनै अरू कारणले हुँदैन । शिक्षण पेसा प्रतिको आकर्षण पहिलो सर्त हो भने त्यस पेसामा रमाइरहन सक्ने आर्थिक, सामाजिक तथा व्यवहारिक वातावरण अर्काे तत्व हो । साथै अध्ययन अध्यापनमा आनन्दित हुुुुन सक्ने चरित्र र व्यक्तित्व शिक्षकको अर्काे महत्वपूर्ण र अपरिहार्य गुण हो । असल शिक्षक नै शिक्षक हो । गलत शिक्षकले नै शिक्षा, शिक्षार्थी, शिक्षालय, समाज र राष्ट्र सबैलाई शनैःशनैः ध्वस्त पारिदिन्छन् । निकम्मा समाजमा असल शिक्षक बाँच्न र टिक्न सक्दैन । तसर्थ असल शिक्षकले असल समाज बनाउँछ वा असल समाजले असल शिक्षकहरूलाई जन्माउँछ र बचाउँछ –यसै भन्न सकिन्छ ।

अङ्ग्रेजीमा पेसा जनाउने तीनवटा शब्दहरू छन् : ओकुपेसन (Occupation) , प्रोफेसन (Profession) र भोकेसन(Vocation) । ओकुपेसन (Occupation) ले त्यस्तो पेसा जनाउँछ जसमा व्यक्ति पैसाका लागि काम गर्छ । उसलाई काम प्रतिको आस्था, सम्मान, विश्वास तथा गौरवको अनुभूति हुँदैन, हुन्छ त केवल पैसा वा तलब वा ज्याला सम्बन्धि आसा । यो पेसा अति पैसामुखी पेसा हो । हामी जागिरे प्रायः यही समूह अन्तर्गत पर्दछौं । भोकेसन (Vocation) यस्तै अर्काे कम व्यवहारिक पेसा हो । यसमा व्यक्तिले कुनै पेसा अँगाल्नुका कारण उसको सोख र तीव्र इच्छा यद्यपि उसलाई यसबाट कुनै आर्थिक लाभ नहुन सक्छ । सेवा नै मेरो धर्म हो भन्ने खाले व्यक्तिहरू, योगीहरू, समाजसेवीहरू यस अन्तर्गत पर्दछन् । यी दुवै खाले पेसा नैतिक र व्यवहारिक दुनियाँमा अव्याहारिक छन् । ओकुपेसन(Occupation) लाई नैतिक रूपमा प्रश्न गर्न सकिन्छ भने भोकेसन (Vocation) लाई व्यवहारिक ढङ्गले । यी दुवैको बीचमा नैतिक तथा व्यवहारिक ढङ्गले उपयुक्त पेसालाई प्रोफेसन (Profession) भनिन्छ । यसमा पेसाप्रति सम्मान, गौरव तथा यसको नैतिक मूल्य र मान्यताहरूमा प्रतिबद्व भई कार्य गरिन्छ र सो कार्य गरे बापत तोकिएको सेवा सुविधा उपलब्ध हुन्छ । त्यसैले आजभोलि प्रायः सबै पेसाहरूलाई प्रोफेसनल (Professional) बनाउने प्रयास गरिएको छ । प्राविधिक विषय लगायत वकालत र मेडिकल पेसालाई बढी प्रोफेसनल (Professional) मानिएको छ । यी पेसाहरूको प्रवेश, पालना गर्नुपर्ने मूल्य र मान्यता तथा कारबाहीका कारणहरू स्पष्ट रूपमा व्याख्या गरिनुका साथै कडाइका साथ लागू गरिन्छ ।

आशा गरौं, शिक्षण पेसालाई पनि निकट भविष्यमा नै सिद्वान्ततः मात्र नभई व्यावहारिक रूपमा पनि प्रोफेसनल (Professional) मानिने छ । यसैले नै शिक्षक र अशिक्षक बीचको भिन्नता पनि छुट्टयाउने छ ।

***
सह–प्राध्यापक, अङ्ग्रेजी, त्रिभुवन विश्वविद्यालय

प्रतिकृया दिनुहोस्