कथा: उल्टो अक्षर

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१३ असार २०७७, शनिबार

देशमा निर्वाचन आएको थियो । गाउँसहर चुनावी प्रचार सामग्रीले रङ्गीचङ्गी थिए । कोही निर्दलको पक्षमा भाषण बाजी गर्थे । अर्को समूह भने बहुदलको पक्षमा भोट माग्दै हिँड्थ्यो । ट्याक्टर र जिपमा ठूल्ठूला आवाजमा माइकिङ् गर्दै गाउँघरतिर नयाँ–नयाँ मान्छे आउँदा केटाकेटीहरू औधी रमाउँथे । उनीहरूका लागि त्यो समय दशैँ र तिहारभन्दा कम रमाइलो थिएन । उनीहरू भने दिनभर प्रचार सामग्री टिप्थे । एक अँगालो बनाएपछि घर ल्याउँथे ।

तिनै नेतानेतृका कार्यकर्ताहरूले यसो गर्नु र उसो नगर्नु भनेर सिकाएका हुन्थे । । म पनि ती प्रचार सामग्री भेला पारेर गुहालीका खम्बाभरि गोबरले टाँस्थेँ । मेरा लागि बहुदल र निर्दल समान थिए । दुवै थरीका रङ्गीबिरङ्गी सामग्री टाँस्न पाउँदा मख्ख पर्थेँ ।

दिनदिनै ती सामग्रीमा लेखिएका कुरा पढ्न खोज्थेँ । यद्यपि एउटा अक्षर पनि उक्काउन सक्दैनथेँ । अरू कसैले पढेको सुनेर केही कुराहरू मुखाग्र पार्थेँ । र, त्यही कुरा हरबखत फलाकी रहन्थँे । यसो गर्न पाउँदा मलाई बडो आनन्द हुन्थ्यो ।
त्यस समयमा म सात वर्षमा हिँड्दै थिएँ । तीन कोस टाढाको पुरन्दह स्कूलमा १ कक्षामा पढ्थेँ तर कुनै अक्षर पनि चिन्दैनथेँ । छरछिमेकमा पढाइको माहोल थिएन । हुनेखाने र टाठाबाठा बाबुआमाले त छोरीहरूलाई स्कुल पठाउँदैनथे । बरू घरमै घरायसी व्यवहार चलाउन सिपालु पार्नका निम्ति ठूलो वर्णमाला कण्ठस्थ पार्न लगाउँथे ।

हाम्रो गाउँमा आसाम, भारतबाट एउटा परिवार बसाइसराई गरेर आयो । परिवारका मुली भवप्रसाद हरेक कुरामा जानिफकार थिए । ज्योतिष विद्या जान्दथे । सामान्य औधषोपचारमा निपूण थिए । जग्गा नापजाँचमा पनि उनी अगाडि थिए । उनी भन्थे, “मान्छेको महत्वपूर्ण साथी विद्या हो । विद्या छ भने कसैले भोको बस्नु पर्दैन र अपमानित जीवन भोग्नुपर्दैन ।”

मेरा लागि ती सामान्य कुरा थिए । आमाले खान दिएकै छ, विद्या नभए पनि भोको छैन भन्ठान्थेँ । अपमानित जीवन सम्बन्धमा भने सम्झँदा आङ सिरिङ्ग हुन्थ्यो । धेरैजसो विनाकारण कहिलेकाहीँ लेखपढ गर्न नजानेका निउँ पारेर ठुल्दाजु गोरूच्टाइ चुट्थे । मुखबाट एकरत्ति आवाज आउनुहुनन्थ्यो । आँखाबाट आँसु बगाउन पूर्ण निषेध थियो । उनको भनाइमा तलमाथि पर्नासाथ कन्सिरीमा हात गइहाल्थे । यस्तो फन्दामा पर्नुपरेकाले १२/१३ वर्षको हुँदा पनि मेरा कन्सिरी पलाउन सकेन ।

म ध्यानमग्न भएर उनका कुरामा हराएको देखेर उनी मलाई फकाउँदै अगाडि भन्थे, “नरे माइला ! कता हराइस् । यता सुन् –पढेका मान्छे हरेक क्षेत्रमा अघि हुन्छ । मान्छेले व्यवहारका हरेक क्षेत्रमा हात हाल्नुपर्छ । सबै कुरामा पारङ्गत नबनिएला तर धेरथोर जानकारी भयो भने बेलामौकामा काम आउँछ ।”

बूढाको कुरा काट्ने हिम्मत थिएन । यद्यपि उनले नै प्रश्न सोध्ने छुट दिन्थे भने भन्न मन लागेको थियो, “घरपरिवारले हरेक कामकुरा बुझ्ने वातावरण दिनुप¥यो नि । तपाईं पो धनी र ज्ञानी हुनुहुन्छ र आफ्ना छोराहरूलाई मन लागेको काम गर्न दिनुहुन्छ । आवश्यक सामग्री दिलाइदिनुहुन्छ । लेखपढ गर्न जाने नजानेको जाँच गर्नुहुन्छ । आवश्यक परेको ठाउँमा पृष्ठपोषण गरेर दिशानिर्देश गर्नुहुन्छ । आफ्नो घरमा त बाबुआमा दुवै कालो अक्षर भैँसी बराबर । भएको एउटा दाजु पनि लेखपढमा कत्ति न सिपालु छु भनेर सजाय दिन मात्र जान्दछन्, मायालु वातावरण कहिल्यै दिँदैनन् । ठ्याक्कै उनी लाटो देशमा गाँडो तन्नेरी’ भनेझैंँ छन् ।”

दाजु मलाई घरमा बिहानबेलुका पढाउथे । उनी मभन्दा बाह्र वर्ष जेठा थिए । म उनलार्ई ‘माष्टर दाजु’ भन्थेँ । दाजुले ५/६ कक्षा पढेर विश्राम लिएका थिए । घरायसी काम गरे तत्काल पेटभर खान पाइन्छ । लेखपढमा समय व्यतित गरे फल पाउने कहिले हो कहिले ! यस्तै सोचेर पढाइ छोडी घरायसी कामकाजमा थिए ।

चार/पाँच वर्षसम्म पनि आमा दाजुलाई भनिरहनुहुन्थ्योे, “ए जेठा ! पछि गएर पढ्ने बेलामा आमाबाउले काम गराए भनेर गुनासो गर्लास् । तँ पढ्ने स्कुल यता छैनन् । बाहिर लगेर तँलाई पढाउने हामीसँग ज्ञान र धन छैन । भएको घर र खेत जहडा र सिसुवा खोलाले बगाइहाल्यो । अब घर छोडेर कतै कसैको काम गरेर पढ् । हैन सक्तैनस् भने पछि हामीलाई दोष दिन पाउँदैनस् ।”

दाजुले आमाको दूरदृष्टि बुझ्न सकेनन् । उनले घर छोडेनन् । घरखेतीमै रमाएर जीवन बिताए । बुबाआमा जेठाले त धेरै पढेन र पढाउन पनि सकिएन तर माहिलोलाई चाहिँ धेरथोर पढाउनुपर्छ भन्नुहुन्थ्यो । यद्यपि पढाइ लेखाइका सन्दर्भमा मेरो कमजोर क्षमतादेखि वाक्कदिक्क हुनुहुन्थ्यो ।

आमाबुबाले दाजुलाई भन्नुभएको थियो– “भाइ कमजोर छ भनेर हायलकायल नपार् जेठा । फकाईफकाई उसलाई साउँ अक्षर र बाह्रखरी जान्ने बना । त्यसपछि तेरो कर्तव्य सकिन्छ ।”

माष्टर दाजुको नपिटी सिकाउने बानी सुध्रिएकै थिएन । त्यसका लागि विभिन्न आइडिया लगाइरहन्थे । मेरा हरेक क्रियाकलापमा कमजोरी खोजिरहन्थे । आमाबुबाको आँखा छलेर उनी पनि केस र कन्सिरी उखली रहन्थे । चुँसम्म पनि बोल्न पाइन्नथ्यो । पीडा मनभित्रै जबरजस्ती दबाउनुपथ्र्यो । यद्यपि अश्रुधाराका रूपमा आँखाबाट भने पीडा बाहिर निस्किहाल्थ्यो ।

आफ्ना आँखा छलेर जेठाले भाइलाई पिट्छ भन्ने कुरा आमालाई भलिभाँती थाहा थियो । त्यसैले एकान्त भेट्नासाथ उहाँ भन्नुहुन्थ्यो– “अरू कुरा ऊ पछि आफैँ खोज्छ । अहिले शारीरिक र मानसिक दुवै तवरले कमजोर छ । बदमासी गरे हामीलाई भन् । नत्र फकाएर अक्षर चिना । शारीरिक दण्ड दिन सख्त मनाही छ । माया गरेर पढा । तैँले जति धेरै माया दिन्छस्, त्यत्ति चाँडो उसले सिक्छ ।”

“बिनासित्तीे माइलोलाई छोइस् कि तेरो खैरात छैन । तँलाई पढाउन भनेको हो, दण्डसजाय दिन होइन ।” बेलाबेलामा बुबा चेतावनी दिइरहनुहुन्थ्यो । कारणबेगर पनि कहिलेकाहीँ पिटिरहेको रिपोर्टका आधारमा बुबा पनि दाजुदेखि त्रस्त हुनुहुन्थ्यो ।

म स्कुल लैजानका लागि बजारमा किन्न पाइने हलुका खालको कुटको सिलोट प्रयोग गर्थेँ । त्यसमा लेख्न खरी किनिदिएको थियो । घरमा भने मैले काठको बडेमानको सिलोटमा रातो माटाको धुलो हाली बाँसका सिन्काले लेख्नुपथ्र्यो ।
धुलो शरीरमा लाग्ने र थोरै हल्लिए पनि लेखेका कुरा मेटिहाल्ने हुँदा काठको सिलेट असजिलो थियो । अर्कातिर सखुवाको बाकल ताछतुछ पारेर बनाएकाले साह्रै ओजनदार हुन्थ्यो । साना मान्छेलाई बोकेर कतै लैजान धौधौ पथ्र्यो ।

म सानो मात्र थिइनँ शारीरिक रूपले कमजोर समेत थिएँ । घरमा मेरा लागि दूध, दही, घिउ लगायत पोषिलो खानेकुराको कमी थिएन । किनभने म बुबाआमाको बाह्र वर्षको तपस्याको फल थिएँ । यद्यपि म बालककालमै निक्कै समय थला परेँ । नानाभाँतीका झारफुक र ओखतीमुलोको भर पर्दा बिमार बिसेक नभएर म कमजोर भएँ ।

डाक्टरी औषधी उपचार गर्न सप्तकोशी नदी तरेर धरान पुग्नुपथ्र्यो । एक त खर्चिलो उपचार गर्ने परिवारमा आर्थिक क्षमता नै थिएन अर्कातिर सुझबुझको कमी थियो । कसले सिकाएर हो कुन्नि ? कान्छी फुपूको हात भाँचिँदा कालो कुखुराको चल्लो ल्याएर ओखलमा ज्यूँदै कुटेर थिलिपितिली बनाइयो । र, हातमा लगाएर बाँसका कप्टेराले बाँधियो । यसो गर्दा दुई महिनाभित्र हात जोडिन्छ र जस्ताको तस्तै हुन्छ भनिन्थ्यो । हप्ता दिनमै हात गन्हाएर बसिनसक्नु भयो । दुई महिनापछि काम्रो हटाउँदा त हात दुई टुक्रा भइरहेको पाइयो । यो सब बेहोसीपनको प्रतिफल थियो ।

एक दिन माष्टर दाजुले त्यही काठको सिलेटमा बाँसको सिन्काले ‘क ख ग घ ङ’ लेखिदिए । र, त्यो हेरिहेरिकन दिनभरि लेख्न र पढ्न सिक्ने अनि साँझमा लेखेर देखाउने कार्य सुम्पिए । छुट्टिँदा, छुट्टिँदै चेतावनी दिए– “खबरदार ! मैले लेखेको ‘क ख ग घ ङ’ जस्ताको तस्तै हु्नुपर्छ । कतै मेटिएला । बुझ्नै नसकिने होला । जतनले सिलोट बोकेर लैजा ।”

काम नगरी माम पाइन्नथ्यो । स्कुल नगएको दिन पनि घरमा बसेर लेखपढ गर्न पाइन्नथ्यो । गाउँका मेरा सारा दौतरी बलियाबाङ्गा थिए । मेरो तुलनामा दिमाख भएका थिए । कुनै पनि कुरा झट्टै नक्कल गरिहाल्थे । र, चाँडै सिक्थे । उनीहरू पनि बाख्रा चराउन नजिकैको वनतिर जान्थे । मैले पनि जानैपथ्र्यो ।

म दाजुले लेखी दिएको धुलौटे सिलोट टाउकामा होसियारपूर्वक बोकेर बाख्रा चराउन जङ्गल पुग्थेँ । अरू साथीहरू कबडी, डन्डीबियो र आसपास खेल खेल्थे । म भने एक छेउमा बसेर लेखपढमा व्यस्त हुन्थेँ । मलाई पनि खेल्न मन लाग्थ्यो । यद्यपि जति घोटिए पनि बोधो दिमाखमा केही घुस्दैनथ्यो । त्यत्तिकै छाडेर खेल्न दगुरेको दाजुले थाहा पाए भने पिँडुलाको मासु बाँकी रहँदैनथ्यो । सारा रहरहरू मनमै दबाएर गहभरि आँसु पारेर पढ्ने कोसिस गर्थेँ ।

हुन त म केटाकेटी नै थिएँ । आफूले आफ्नो शरीरलाई नियन्त्रण गरे पनि मनलाई कहाँ सक्थेँ र ! साथीहरू आँखा अगाडि थिएनन् तर उनीहरू खेलेको आवाज सुन्नासाथ त्यो दृश्य मानसपटलमा नाच्न पुग्थ्यो । मन खेलमै रमाउँथ्यो । साथीहरूसँगै घरि अघि घरिपछि हुन्थेँ । घरि कसलाई ठेल्थेँ त घरि कसैबाट ठेलिएर धुलोमा लड्थेँ । उठेर कपडा राम्ररी नटक्टकाइकनै दौडधुपमा पुनः हाजिर हुन्थेँ । केही बेरपछि झल्यास्स हुँदा आफ्नो अगाडि सिलेट र रातो माटो पाउँथेँ ।

लेखपढ गर्नुपर्ने काम बिर्सेर आफ्नो ध्यान अन्यत्र गएकोमा मुटु ढुकढुक हुन्थ्यो । दाजुले थाहा पाए आफूले त भकुर्छन्, भकुर्छन् आमाबुबालाई पनि भए नभएका पोल लगाएर भनाइ खुवाउँछन् ।

आफैं भित्रभित्रै मुर्मुरिन्थेँ । जबरजस्ती टाउको–घाँटी मर्काउँथेँ । दुवै आँखा मिच्थेँ । आवाज किन सुनिस् भनेर आफैँले आफ्नो कान बटार्थेँ । निधारलाई तन्काएर यताउती पार्थेँ । बाख्रा चर्दा चर्दै कहाँ पुगे कि भनेर नजर गाड्थेँ । सबै कुरामा निश्चिन्त भएपछि भने ध्यान सिलेटतिर नै खिच्थेँ ।

यत्ति गर्दा पहिले जानेका कुरा पनि बिर्सिसकेको हुन्थेँ । भुलेका कुरा पुनर्ताजगी गरिदिने कोही हुन्नथ्यो । जान्ने साथीलाई सोधूँ भने खेलमा व्यस्त थियो । नजिक गएर बाधा पुर्याउन खोजे झर्कदै भन्थ्यो, “किन वाक्क लगाउँछस् । कक्षाकोठामा त सिकाइदिएकै छ । अब बाख्रा चराउन आउँदा पनि नसिकाइ नहुने ? के मैले तेरो रिन खाएको छु र ?”

अर्को साथीसँग हारगुहार गरे भन्दिन्थ्यो, “नरे ! धेरै पढन्दास् नबन् । पढ्दापढ्दा बहुलाहा बन्लास् । फेरि हामीलाई पनि स्कुलमा अरूले बहुलाहाको साथी भनेर जिस्क्याउलान् । होस् गर् है, नरे ! होस् गर ।”

म निरुत्तर भएर फर्किन्थेँ । बरू बहुलाउन पाए त सजाय पाइन्नथ्यो होला । उसलाई त न कसैको डर हुन्छ न कसैबाट केही पाउने लोभ नै रहन्छ । ऊ मनको राजा हुन्छ । जहाँ पनि पुग्छ, जे पनि गर्छ र जे पनि भन्छ । जीवनको वास्तविक आनन्द उसैले लुट्न पाउँछ । मजस्तो डराइडराई सास पनि फेर्नुपर्दैन । हरपल डर र त्रासमा रहेर बाँच्नु पनि पर्दैन । यही सोचेर म आफूभन्दा कैँयौँ गुना भाग्यमानी बहुलाहालाई ठहर्याउँथेँ ।

एकदिन रातो माटोमा ‘क ख ग घ ङ’ लेखिदिएको काठको सिलेट सकिनसकी बोकेँ । सधैँ जसो माष्टर दाजुको आदेशानुसार बाख्रा लिएर जङ्गल पुगेँ । बाख्रा चर्न व्यस्त थिए । म लेख्न बसेँ । हेर्छु त धुलामा ‘क ख ग घ ङ’ बिलाइसकेको थियो । राम्ररी खोजेँ, कतै पाइनँ । ला, अब बर्बाद भयो भन्ठानेँ । र, जानीनजानी आफ्नै अनुमानले त्यस ठाउँमा ‘क ख ग घ ङ’ लेखेँ ।

आफूले लेखेको ‘क ख ग घ ङ’ दाजुले लेखेजस्तै शुद्ध र राम्रो भयो भन्ने ठानेँ । दिनभरि त्यसैलाई हेरीहेरी सिक्ने प्रयास गरेँ । धेरै बेरको प्रयासपछि अन्ततः सिकी छाडेँ । र, खुसीले मुस्कुराएँ । आफूलाई जान्ने ठहर्याएँ । आफूले जानेको कुरा दाजुलाई देखाउन उत्सुक भइरहेँ ।

साँझमा माष्टर दाजु खाटमा बसेका थिए । म डराउँदै नजिक गएँ र उभिई रहेँ । दाजुलाई सोध्ने हिम्मत गरिनँ । दाजु पनि चुपचाप थिए । आमा नजिकै काम गर्दै हुनुहुन्थ्यो । आमाका अगाडि मेरा कन्सिरी तान्न र आफ्नो अहङ्कार लाद्न नपाइने भएको हुँदा मलार्ई बेवास्ता भावले हेरिरहेका थिए ।

आमाले भाइले के कति जान्यो, सोधपुछ गर् भनेर सम्झाउँदा मात्र उनले मलाई आफू नजिक बस्न सङ्केत गरे । सङ्कोच मान्दै म बसेँ । केही बेर सन्नाटा छायो ।

साँझको समय थियो । सिरसिर हावा चल्दै थियो । बासस्थान फर्केका गाईवस्तुले उडाएको धुलोले मूलबाटो कुहिरी मण्डल थियो । सूर्य अस्ताचलतिर विश्राम गर्न लागेको थियो । त्यसको सुनौलो किरण कोठामा छिरेको थियो । त्यस सुनौलो किरणमा पनि उनको मुहार झन् कालै देखेँ । मेरो मुटु भय र त्रासले ढुकढुक गरिरहेको थियो ।

आमा कामधन्दाका सिलसिलामा अन्यत्र गएको मौका पारेर माष्टर दाजुले सुस्तरी भने, “ए केटा ! ‘क ख ग घ ङ’ लेख्न सिकिस् ?”

“सिकेँ । सजिलो भयो । अब कहिल्यै बिर्सन्न ।” मैले प्रसन्न चित्तमा वृत्तान्त बताएँ ।

उनले अविश्वासिलो नजरले हेरे । र, आफ्नो कर्तव्य पूरा गर्दै बोले, “ल, लेखेर देखा त । के सिकिछस् ?”

मैले हत्त न पत्त आफूले सिकेको ‘क ख ग घ ङ’ लेखेर देखाइदिएँ । मैले लेखेको देख्नासाथ दाजु मुस्कुराए । उनको मुस्कानलाई मैले आफ्नो मेहनतको फल सम्झिएँ र मनमनै आनन्दित भएँ । उनले मेटेर फेरि लेख्न लगाए । मैले हातले नै पाटीको रातो माटो सोहोरेर मिलाएँ । यसो गर्न मलाई बन्दै मन थिएन । किनभने मेरा अनुसार लेखेको कुरा ठीक थियो र राम्रो पनि थियो ।

दाजुसँग असहमति प्रकट गर्ने कुरै आएन । मैले फेरि ‘क ख ग घ ङ’ लेखेँ । दाजु मुस्कुराए मात्र । फेरि लेख्न भने । यसपटक पहिलेको भन्दा सुन्दर लेखेर देखाएँ ।

त्यस कोठामा दुई दाजुभाइ बाहेक अरू कोही नभएको मौका पारेर दाजुले आफ्ना गोहोराको छालाजस्तो खस्रो हात मेरा कन्सिरीतिर बढाउँदा पो झसङ्ग भएँ ।

पीडाले कन्सिरीमा हात लगेँ । कपाल तान्न थालेँ । मुख छोपेर आवाज ननिकाली रुन थालेँ । अझ रुन्छस् भनेर गालामा छाप बस्ने गरी हान्दा तीन त्रिलोक चौध भुवन एकै चोटी देखेँ र कहालिएँ । असह्य भएर आमा कराउँदै आउनुभयो । दाजु सतर्क भएर कुनातिर सरे ।

मेरा आँखाको आँसु पुछिदिँदै आमा भुत्भुताउन थाल्नुभयो, “कस्ता कोर सल्केका हात रहेछन् । यस्तो कोमल बालकलाई मरणासन्न हुने गरी कुट्न कस्तो दया नलागेको ! कि यसलाई ठहरै पारेर पूरै अंश खाने मन छ ?”

आफ्नो आँखाको आँसु समेत पुछ्दै थप्नुभयो, “भो, अबदेखि तैँले पढाउनु पनि पर्दैन र छुनु पनि पर्दैन । सके आफैँ पढ्ला, नसके ज्यान रहे खनी खोस्री गरेर खाला ।”

आमाको आवाज सुनेर बुबा पनि आउनुभयो । यथार्थ बुझ्नुभयो । र, सोझो मान्छे लाटो रिस देखाउँदै दाजुलाई लात्तले भकुर्नुभयो । भन्नुभयो, “खाईनखाई हुर्काएको रहरको बालक छोरालाई यस्तरी पिट्तो रै’छ । तेरो विद्या तैँसँग राख् । हामीले नपढे पनि खा’कै छौँ, बाँचेकै छौँ । जे गर्ला, गर्ला । तर तँ आइन्दा नरेका सामु अनुहारै नदेखा ।”

त्यस पछि दाजु घर छोडेर हिँडे । तीन दिनका दिन खेसारी बारीमा कोसा टिप्दै खाँदै गरेको भेटिए । त्यस दिनदेखि उनले मलाई नियमित पढाएनन् । कहिलेकाहीँ केही कुरा सिकाए पनि पढाइको मामलामा मलाई छुँदै छोएनन् । अन्य घरायसी मामला भने आँखा छलेर भकुर्न छाडेनन् ।

यद्यपि मैले आफ्नो कमजोरी भने धेरै दिनसम्म पत्तै पाइन । सजाय पाउनुको कारण खोज्नमै मेरो ध्यान केन्द्रित भइरह्यो । धेरै पछि थाहा पाएँ, त्यो मेरो अन्तर्हृदयले अनुमान गरेको ‘क ख ग घ ङ’ मात्रै थियो । यद्यपि देवनागरी लिपिको कुनै वर्ण नै थिएन । न त रोमनको कुनै वर्ण नै भएको थियो । त्यो त उल्टो अक्षर थियो ।

जनता मावि, गोलबजार–४, सिरहा, नेपाल ।

प्रतिकृया दिनुहोस्