नन्दकुमारी महर्जन

प्रधानाध्यापक, जनसेवा मावि, किर्तिपुर, काठमाडौं

सामुदायिक विद्यालयहरुको भिडमा जनसेवा माविलाई कसरी चिनाउनुहुन्छ ?
हाम्रो विद्यालयको अन्यभन्दा पृथक र बलियो पक्ष भनेकै व्यवस्थापन हो । समुदाय, शिक्षाप्रेमी, दाता, योग्य शिक्षक, मिहेनती कर्मचारी, सहयोगी अभिभावक र कुशल प्रधानाध्यापकको सामुहिक प्रयासमा नै विद्यालय अगाडि बढिरहेको छ । हामी अन्यभन्दा फरक काम र प्रयास गर्न भन्दापनि त्यसलाई फरक ढंगले अगाडि बढाउँदै आइरहेका छौं । जसले हामीलाई सामुदायिक विद्यालयहरुको भिडमा एउटा अब्बल बनाएको छ । हामीसँग १,१०० विद्यार्थी छन् । हामीले कक्षा ९ देखि नै इलेक्ट्रिकल इञ्जिनियङिको प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेका छौं ।

विद्यालयको फरक अभ्यासहरु के–के छन् ?
मैले अघि नै भने हामी फरक कामभन्दा पनि हरेक काम फरक ढंगले गर्छौं । शैक्षिक शत्र शुरु हुनुभन्दा पहिल्यै चैत महिनामै हामी विषयगत शिक्षकहरुको बैठक बसेर आगामी वर्षको लागि शिक्षण सिकाइ योजना तय गर्छौं । वर्षभरी शिक्षण सिकाइमा के सुधार गर्नुपर्ने हो ? कुन विषयलाई कसरी सुधार गर्ने ? के–के शिक्षण पद्धति अपनाउन सकिन्छ ? कति कमजोर विद्यार्थी छन् ? उनीहरुका लागि विशेष के गर्ने ? लगायतका विभिन्न विषयमा छलफल गरी वार्षिक रोडम्याप बनाउँछौं र त्यसलाई विव्यस, शिक्षक–अभिभावक संघलगायतबाट अनुमोदन गरी सोही अनुसार अघि बढ्छौं । यसरी शिक्षक, विद्यार्थी, अभिभावक, सरोकारवालाहरुसँग छलफल गरेपछि एउटा सानो प्रतिवेदन नै तयार हुन्छ । त्यसैको आधारमा विद्यालयको वार्षिक विकास योजना तयार हुन्छ । वर्षभरी के–के गर्ने ? कसरी गर्ने ? त्यसका लागि स्रोत व्यवस्थापन कसरी गर्ने ? पारदर्शी कसरी बनाउने छलफल गर्छौं । हाम्रो विद्यालयको एउटा सुन्दरता भनेको आर्थिक पारदर्शिता नै हो । जसले अभिभावकको मन जितेको छ ।

शिक्षण सुधारका लागि भएका प्रयासहरु के–के छन् ?
हामीले २०५७ सालदेखि नै अंग्रेजी माध्यममा पठनपाठन गराउन शुरु गरेका हौं । त्यति बेलादेखि नै हामीले मल्टिमिडिया, प्रोजेक्टरलाई सिकाइको माध्यम बनाउँदै आयौंं । हामीले विशेष शिक्षण कक्ष भनेर मल्टिमिडिया कक्षाहरु त्यार गरेका छौं । जहाँ इसिडिदेखिकै बालबालिकाहरुको इन्टरनेटबाट तहगत सिकाइ हुन्छ । विज्ञान विषयका फ्याकल्टी अनुसारकै अत्याधुनिक प्रयोगशाला, पुस्तकालय, इलेक्ट्रिकल इञ्जिनियरिङको ल्यावको व्यवस्था गरेका छौं । स्थानीय पाठ्यक्रममा ‘नेपाल’ भाषाको पढाइ गर्दै आएका छौं । कक्षा एकदेखि बाह्रसम्मकै नतिजा उत्कृष्ट रहँदै आएको छ । एसइइ र एसएलसीमा लगभग शतप्रतिशत नै छ ।

विद्यालयको सुधारमा सन्तुष्ट हुनुहुन्छ कि अझै राम्रो गर्ने योजना छ ?
यति मै सन्तुष्ट भए त बिग्रीहाल्यो नि ! हामी निरन्तर शिक्षक, विद्यार्थी, विव्यस, शिअसं, अभिभावक, दाता, सरकारी निकाय, सरोकारवालाहरु बसेर विद्यालयलाई अझ राम्रो कसरी बनाउने, कक्षा १ देखि १२ सम्मै शत्प्रतिशत नतिजा कसरी ल्याउने, प्राविधिक शिक्षालाई बिस्तार गरी कसरी सर्टिफिकेटसँगै सीप दिने भनेर छलफल गर्ने योजना बनाउने गरेका छौं । त्यसलाई कार्यानवयन पनि सँगसँगै गर्दै आएका छौं । भुपु विद्यार्थीहरुको सहयोगमा भलिबल कोर्ट, विव्यसको एकजना सदस्यकै सहयोगमा ब्याटमिन्टन कोर्ट बनाएका छौं । अझ हामी कभर्डहल बनाउन लागिरहेका छौं । छात्र, छात्रहरुका लागि छुट्टाछुट्टै छात्रावास, एकेडेमिक बल्क, क्यान्टिन, आधुनिक शौचालय बनाउने कार्यक्रम रहेको छ । यी काम पूरा हुनासाथ हामी फेरि अन्य योजना बनाएर कार्यान्वयनमा लाग्छौं । हामी निरन्तर विद्यालय सुधारमा लागिरहेका छौं । हामी एउटा विद्यालयलाई मोडेल मानेर त्यस्तै बनाउनुभन्दा पनि आफू मोडल बनेर अरु हामी जस्तै बनुन भन्ने हिसाबले अघि बढिरहेका छौं । यसको मतलब हामी उनीहरुबाट सिक्दैनौं भन्ने होइन, राम्रा सामुदायिक मात्रै नभई निजी विद्यालयका राम्रा विषय पनि सिकेर लागू गर्ने प्रयास गर्छौं ।

सुधारको शुरुवात कसरी गर्नुभयो ?
म प्रअ बनेपछि भूपू विद्यार्थीहरुको भेला गरेर विद्यालय सुधार र सहयोगको योजना बन्यो । उहाँहरुको सहयोगमा धेरै सुधार र विकासहरु भएका छन् । समुदायलाई नै एकत्रित गर्दै उहाँहरुको विश्वास लिएरै अघि बढ्नुपर्ने रहेछ । हामीले मुख्यगरी शिक्षकको मन जित्ने प्रयास ग¥यौं । कक्षाकोठामा शिक्षक नै जाने भएकाले जोशपूर्ण, हसिलो, सिर्जनशील हुनु पर्छ । यसरी नै शिक्षकहरु कक्षाकोठामा जाउन् भनेर मन जित्ने प्रयास ग¥यौं । प्रविधिबिना सिकाइ उपलब्धि बढ्दैन र सिकाइ व्यवहारिक र दीगो हुँदैन भनेरै हामीले २०५७ सालदेखि नै मल्टिमिडियाबाट शिक्षण शुरु ग¥यौं । हरेक शिक्षकलाई एउटा लगबुकको व्यवस्था गरिएको छ । जहाँ हरेक दिन कुन पाठ कसरी पढाउने, पाठका उद्देश्य के–के छन्, कुन शिक्षण विधि प्रयोग गर्ने भनेर शिक्षकहरुले योजना तयार पार्नुहुन्छ । हामी त्यसको अनुगमन गर्छौ । हामी विभिन्न विद्यालयहरुमा पुगेर प्रधानाध्यापकहरुको मोवाइल मिटिङ गर्ने गर्छौं । अनि, राम्रा अभ्यासहरुका बारेमा छलफल गरी विद्यालयमा लागू गर्ने प्रयास गर्छौ ।

विद्यालयका समस्याहरुचाहिँ के–के छन् ?
खासै ठूलो समस्या त छैन । हामीले योजना बनाएर त्यसका लागि स्रोत व्यवस्थापन गर्न समस्या पर्ने गरेको छ । काम गर्दै जाँदा सानातिना समस्या आउँछन् । तर, हामी लगनशील भएर समस्याको सामना र समाधान गर्दै अघि बढिरहेका छौं । विद्यालय छुट्टै एकान्त स्थानमा रहेकाले मोटरबाटोको समस्या छ । हामी नगरपालिकासँग छलफल गरिरहेका छौं । छिट्टै यो समस्या पनि समाधान हुन्छ भन्ने आशा छ ।

शिक्षकहरुको तालिम कक्षा कोठामा पुगेको छ ? अनुगमन गर्नुभएको छ ?
एकदमै । हाम्रा शिक्षकले तालिममा सिकेका अधिकांश कुराहरु कक्षाकोठामा पु¥याउनुभएको छ । म एक्लैले मात्रै होइन, हाम्रा विनि, स्रोतव्यक्तिहरुबाट समेत अनुगमन गराउने गरेका छौं । व्यवस्थापन समितिमा रहनुभएका शिक्षाविद्हरुबाट समेत निरन्तर अनुगमन गराउने गरेका छौं । जसले जेसुकै भनेपनि सिकेका कुरा प्रयोगमा आउने रहेछ र आइरहेको पनि छ ।

सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारण के होला ?
मेरो विचारमा सामुदायिक विद्यालय खस्कनुको एउटै मात्रै कारण भनेको अनुगमनको कमी हो । अनुगमन आवश्यक छ । अनुगमन राम्रो भएपछि राम्रो गर्ने शिक्षक पुरस्कृत र नराम्रो गर्ने दण्डित हुन्छन् । प्रोत्साहन र सुझाब दिने वातावरण हुन जरुरी छ । राम्रो गर्नेलाई राम्रो गर्नुभयो भन्दा पनि हौसला बढ्छ । अझै राम्रो गर्ने प्रेरणा र उर्जा मिल्छ । राम्रो गरेपनि ठीक नराम्रो गरेपनि ठीक हुँदा राम्रो किन गर्नुप¥यो भन्ने भएको छ । राम्रो तालिम, सुविधा, सरकारको ठूलो लगानी हुँदाहुँदै पनि हाम्रा सामुदायिक विद्यालयहरुले राम्रो गर्न नसक्नुको कारण भनेकै अनुगमनको कमी हो । हामीले अनुगमनलाई प्राथमिकता दिएका छौं र राम्रो गर्दै गएका छौं । हामी निजी विद्यालयहरुलाई हामी पनि कम छैनौं है भन्न सक्ने भएका छौं ।

महिला प्रद्यानाध्यापक हुनुको चुनौती र अवसर नि ?
समस्या र चुनौती ठाने चुनौती हुन्छ, त्यसलाई अवसर ठाने अवसर नै । पहिले आफू मोडल हुनुपर्छ । आफू समयपालक, इमान्दार, मिहेनती, अनुशासित, कर्तव्यनिष्ठ हुनु पर्छ । अरुपनि सोही बाटोमा नहिँडि सुखै छैन । म महिला हुँ भनेर निराश र कमजोर बन्नु हुँदैन । सबैको सहयोग र सबैसँग सहकार्य गर्दै अघि बढे समस्या भन्ने हुँदैन र छैन पनि । उद्देश्य पवित्र हुनुप¥यो त्यसलाई पूरा गर्ने आँट र कडा मिहिनेत हुनुप¥यो । परिश्रम गरेपछि फल आउँछ । अधिकार विनियोजन गर्नुपर्छ । म विशेष हुँ भन्ने भावना हुनुभएन । समुदायले चाँडो फर्कँदा यति चाँडो किन फर्किएको भन्छ, ढिला जाँदा यति ढिला किन भन्छ । यो भनेको समुदायको विद्यालयप्रतिको माया र चासो हो । महिला, पुरुष जो प्रअ भएपनि पहिले योजना चाहिन्छ । योजना कार्यान्वयनका लागि कार्ययोजना र संकल्प हुनु पर्छ । तेस्रो कुरा भनेको सूचना पारदर्शी हुनुपर्छ । म २०६६ सालदेखि विद्यालयको प्रअ बनेकी हुँ । त्यस दिनदेखि नै मैले यही गर्दै आइरहेकी छु । खासै समस्या परेको छैन । किनभने विद्यालयमा मभन्दा अगाडि पनि महिला प्रअ नै हुनुहुन्थ्यो र उहाँले पनि राम्रो गर्नुभएको थियो । मैले उहाँबाट समेत धेरै कुरा सिकेर अगाडि बढिरहेको छु ।

विद्यालयको आगामी योजना के छ ?
हामीले पञ्चवर्षीय विद्यालय विकास योजना बनाएका छौं । हरेक वर्ष हामीले के–के भयो अब के–के थप्नुप¥यो भनेर अपडेट हुन्छ । हामीसँग विद्यालयको पञ्चवर्षीय खाँका नै छ । हरेक कक्षाको सिकाइ उपलब्धि शतप्रतिशत पु¥याउने, पाँच वर्षभित्र हरेक कक्षा मल्टिमिडिया, प्रयोगशाला र पुस्तकालययुक्त बनाउने योजनामा छौं । अब हाम्रा कक्षाहरु मिनि ल्याव बन्नेछन् । छात्र र छात्रा होस्टेल, क्याफ्ट एरिया, क्यान्टिन लगायतका काम शुरु गरिसकेका छौं । अडिटोरियम हल पनि बन्ने तयारीमा छ । यी सबैको मुख्य लक्ष्य भनेकै गुणस्तरीय सिकाइ र दक्ष नागरिक उत्पादन गर्नु नै हो । अब हामी तल्लो तहदेखि प्राविधिक शिक्षा शुरु गर्ने योजनामा छौं ।

 प्रस्तुति रोशन क्षेत्री गाउँले

२०७४ कार्त्तिक ९ गते ०२:४३मा प्रकाशित

प्रतिकृया दिनुहोस्