अचानोमा शिक्षक

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१५ आश्विन २०७७, बिहीबार
नगेन्द्रराज पौडेल

नयाँ शिक्षा भर्खर,भर्खर शुरु हुँदा माध्यमिक तहमा भैरव अर्यालको ‘आलु’ निबन्ध पढ्नुपर्थ्यो । हास्यव्यङ्ग्य फाँटका अर्यालले आलुलाई बडो रोचक र घोचक पारामा वर्णन गरेका थिए । निबन्धले भन्छ– आलु पोलेर, उसिनेर, पकाएर तारेर, भुटेर, पिसेर जसरी जताबाट खाएपनि हुन्छ । विगत ११ चैत २०७६ देखि सरकारले कोरोना कहरका कारण गरेको लकडाउन हटे पनि कोरोना संक्रमण हटेको छैन । यसबीचमा चैत ५ गतेदेखि विद्यालयको पठन पाठन मात्र नभएर चैत ६ देखि सञ्चालन हुने अन्तिम अवस्थामा एसइई समेत स्थगित भएको आम मानिसलाई थाहा नै छ । तर यतिखेर विद्यालय सञ्चालनको विषयलाई लिएर विद्यालयका शिक्षकहरुमाथि नानाथरीका निर्देशन, परिपत्र र आदेशहरु जारी गरिएका छन् ।

मानौ पठनपाठन शिक्षकका कारणले बन्द भएको हो भनेझैं गरी चारैतिरबाट शिक्षकलाई दोष दिने काम भैरहेको देखिन्छ । संघीय शिक्षा मन्त्रालय वैकल्पिक सिकाइ प्रणालीअनुसार सिकाइलाई निरन्तरता दिन भनिरहेको छ । कतिपय स्थानीय पालिकाहरु प्रत्यक्ष विधिबाटै विद्यालय सञ्चालन गर्न दबाब दिइरहेका छन् । स्थानीय प्रशासन विद्यालय नखोल्न भनेको छ । अभिभावकहरु हाम्रा बच्चाको पढाइ खोइ भनेका छन ? संघीय शिक्षा मन्त्री निर्देशिकाले जे भने पनि अहिल्यै विद्यालय खोलेर पठन पाठन गर्ने समय आइसकेको छैन भनिरहेका छन् । शिक्षकले कसका कुरा मान्नुपर्ने हो ? विद्यालय नखोल भन्दा खोलेर बालबालिकामा संक्रमण देखिए को जिममेवार हुने ? स्थानीय सरकारले विद्यालय खोलेर प्रत्यक्ष विधिबाटै पढाऊ भनिसकेपछि उसको कुरा नमान्न पनि भएन । यतिबेला शिक्षकहरु अचानोको अवस्थामा छन् ।

शिक्षक भैरव अर्यालका आलु हुन् ? जसले जताबाट जे आदेश गरे पनि हुने हो उनीहरुलाई ? उनीहरु कोबाट सञ्चालित हुनुपर्ने हो ? स्पष्ट खाका किन ल्याइदैन । घरमा नै बसेर कामै नगरी शिक्षकले तलब खाए भन्ने भ्रम कतिलाई छ भने त्यो भ्रम हटाइदिए हुन्छ । चैत ११ पछि सरकारको कुन निकाय स्फुर्त ढंगमा चल्यो र विद्यालय मात्र चलेन ? कार्यालय प्रमुखले लकडाउन अवधिभर आफ्ना कर्मचारीलाई आवश्यकताअनुसार मात्र कार्यालय बोलाउने, बाँकीलाई घरमा नै बस्ने काज सुविधा दिनुपर्ने भनेर नेपाल सरकारले निर्णय गरेको छ ।

तर शिक्षकहरु विगतमा ‘शिक्षकले चाहेमा गर्न सक्छन् ’अभियानमार्फत् प्रवर्तनात्मक काम गरी पठन पाठनलाई गुणस्तरीय बनाएका छन् । कोरोनाका बीचमा पनि ‘ननिदाएका शिक्षकहरु’ नाम दिएर अनलाइन कक्षा, बैठक, अभिभावक सचेतना आदि सञ्चालन गरेका छन् । कतिपय विद्यालयहरुले गाउँ, गाउँमा, टोलटोलमा शिक्षक पठाएर विद्यार्थीसँग अन्तरक्रिया गरेका उदाहरणहरु छन् । यस्तो महामारीबीच पनि शिक्षकहरु साँच्चै निदाएका छैनन् । तर चारैतिरबाट प्रहार र मारमा पनि तिने शिक्षकहरु परिरहेका छन् । पर्वतकोमोदी गाउँपालिकाअन्तर्गतकापञ्चकोशी आधारधूत विद्यालय चित्रेका शिक्षक मधुसोधन अधिकारी ‘लकडाउनका बीच पनि आफूहरु टोल,टोलमा गएरविद्यार्थीलाई गृहकार्य दिएको, परीक्षण गरी पृष्ठपोषण दिई सिकाइलाई निरन्तरता दिएको’ बताउँछन् । अधिकारीकाअनुसार उनीहरुले यसबिचमा विद्यार्थीलाई मात्र नभएर अभिभावकलाई पनि कोरानाका बारेमा सचेत गराएको, साबुन पानीले नियमित हात धुन,मास्क लगाउन सिकाएकोले अरुबेलाभन्दा अझै बढी जिम्मेवारी बहन गरेको बताउँछन् ।

यसबीचमा कतिपय शिक्षकहरुले क्षमता अभिवृद्धि समेत गरेका छन् । भर्चुअल बैठकमार्फत् अभिभावकलाई बालबच्चाको सिकाइलाई निरन्तरता दिन प्रेरित गरेका छन् ।मोरङस्थित आदर्श माध्यमिक विद्यालय बिराटनगरका शिक्षक अञ्जना श्रेष्ठ ‘सरकारले निर्देशन दिनुुभन्दा अगावैदेखि आफूहरुले अनलाइन कक्षा शुरु गरेर सिकाइ जारी राखेको’ बताउँछिन् । ‘विद्यार्थीको पहुँच सर्भे गरेर शिक्षकको समूह विभाजन गरी कामको बाँडफाँड गरी टिभी समूह, रेडियो समूह अनलाइन समूह, र फोनमार्फत्पढ पढ भन्ने समूह बनाएर सिकाइ जारी राख्यौ’उनी भन्छिन् ।यसबीचमा धेरैजसो शिक्षकहरु परिचालित भए । उनीहरु निदाएनन् ।

कैलाली जिल्लाअन्तर्गत सरस्वती माध्यमिक विद्यालय धनगढीका शिक्षक चन्द्रकला दवाडी ‘यसबीचमा अनलाइन कक्षा लिनुका साथै परियोजना कार्य तथा गृहकार्य दिएर पृष्ठपोषण दिने काम गरेको’ बताउँछिन् । दवाडीकाअनुसार‘ लकडाउनले शिक्षकलाई फुर्सद होइन झन व्यस्तता बनायो । हामीमा अनलाइनसम्बन्धी क्षमता विकास भयो’ । ‘अनलाइनको पहुँचमा नरहेका विद्यार्थीलाई विद्यालयमा बोलाउने , गृहकार्य तथा सल्लाह,सुुझाव दिने गरेर भए पनि सिकाइलाई निरन्तरता दियौं ’उनी थप्छिन् ।

शिक्षा विकास तथा समन्वय इकाइ धादिङ्का प्रमुख (उप सचिव ) अम्बिकाप्रसाद आचार्य ‘उचित स्वास्थ साबधानी अपनाएर कक्षा सञ्चालन गर्नुपर्छ ’भन्छन् । इकाइ प्रमुख आचार्यकाअनुसार ‘धादिङ जिल्लामा लकडाउनमा पनि कतिपय विद्यालयले शिक्षकलाई आइसिटी सम्बन्धी तालिम दिए , कतिपयले असार १ गते देखि नै टोलटोलमा गएर सिकाइ जारी राखे । कतिपयले अनलाइन कक्षा लिए भने कतिपय विद्यालयले दिनको एउटा कक्षा बोलाएर भएपनि सिकाइलाइ निरन्तरता दिए’ । आचार्य थप्छन् ‘यसबीचमा धादिङ्का शिक्षकहरु पनि निदाएनन्, केही न केही गरी नै रहे’ ।

आज पनि कतिपय शिक्षकहरु कोरोनासँग जुध्दै विद्यालय सञ्चालन गरिरहेका छन् । रोल्पा,सिन्धुपाल्चोक,मकवानपुर,काभ्रे, धादिङ,नुवाकोट,कैलाली, बाँके,बर्दिया झापा,मोरंग,दांङ,सुनसरी, आदिमा कतै पुर्ण रुपमा विद्यालय खुलेका छन् भने कतै आंशिक रुपमा ।बाजुराको बुढीगंगा नगरपालिकाअन्तर्गतको धुराल्सैन मावि, तथा झाली आधारभूत विद्यालयमा धमाधम प्रत्यक्ष विधिबाटै पढाइ भैरहेको छ । गरीबीको कारण अभिभावकहरु बच्चालाई मास्कसमेत नदिई विद्यालय पठाएका छन् । शिक्षकहरु जोखिम मोलेर कक्षा लिइरहेका छन् । यी त केही प्रतिनिधि उदाहरणहरु मात्र हुन् । समग्रमा शिक्षकहरु निदाएका छैनन् । कुनै न कुनै रुपमा जागेकै छन् । उनीहरुलाई अझै जगाउनलाई आत्म विश्वास बढाउँदै लग्नुपर्छ र कामको उचित मूल्यांकन गरिने परिपाटीको थालनी हुनुपर्छ ।

एसइईलाई लिएर शिक्षकको तेजोबध
यतिबेला एसइईको प्रप्तांकलाइ लिएर पनि शिक्षकहरु बढी आलोचनाका शिकार भएका छन् । कतिपय आलोचकहरु यसपटक ४ जीपीए ९३१९ जनाले ल्याएको र यो संख्या गतवर्षको१०६ जनाको भन्दा ९२१३ ले बढी हो भनेर आलोचना गरिएको पाइन्छ । शिक्षकलाई पहिलोपटक अधिकार दिंदा मनलाग्दो पारामा जीपीए दिएकोले कक्षा १२ का हकमा शिक्षकलाई जिम्मेवारी दिन राष्ट्रिय परीक्षा बोर्ड हिच्किचाएको कारण आजसम्म उक्त कक्षाको परीक्षाको टुंगो नलागेको भनिएको छ । यहाँनेर शिक्षकलाई गाली नै गर्ने हो भने गर्न पाइन्छ । हिजो जीपीए किन थोरै भनेर गाली गरियो ,आज किन बढी भनिदैछ । नेपालीमा उखान छ, कुप्रालाई बसी सुख न उठी सुख ।

के पनि साँचो हो भने यो साल असमान्य परिस्थिति उत्पन्न भएकै हो । विद्यार्थीहरु एसइई दिनका लागि परीक्षा केन्द्रमा गएका नै हुन् । उनीहरुले सकेसम्म तयारी गरेकै हुन् । विषम परिस्थितले गर्दा परीक्षा स्थगित भयो । सरकारले विद्यालयले यस अघि लिएको परीक्षाका आधारमा अंक पठाउने भनेर अन्तरिम उपाय निकाल्यो । यसै प्रयोजनका लागि प्र.अ.को अध्यक्षतामा एउटा समिति पनि बन्यो । यसबीच विद्यालयले विद्यार्थीको परीक्षा लिएर उत्तरपुस्तिका परीक्षण गरेर प्राप्तांक पठाउन पाएका होइनन् । एसइई विद्यार्थीका लागि आन्तरिक परीक्षा लिनैपर्ने र परीक्षामा उत्तीर्ण हुनेले मात्र एसइईमा सम्मिलित हुन पाउने कानुनी व्यवस्था पनि छैन । कुनै विद्यार्थी आन्तरिक परीक्षामा नबसेकै वा उत्तीर्ण नभएकै कारण एसइईबाट बिमुख गराउने अधिकार विद्यालयलाई थिएन । त्यस्तो अवस्थामा नसुतेकै कारण हाम्रा शिक्षकहरुले आन्तरिक परीक्षा लिएका रहेछन् । यो खुसीको कुरा हो । उक्त परीक्षाको अंक एसइईमा समावेश गरिने कुरा सपनामा पनि कसैले कल्पना गरेको थिएन ।यस्तो परिस्थितिमा निर्माणात्मक मूल्यांकनका लागि मात्र उनीहरुले परीक्षालाई उपयोग गरे। यसो गर्दा उत्तरपुस्तिका परीक्षण लगायतमा वैधता खोज्नुमुर्खता हुन्छ ।

यसरी प्राप्त गरेको अंकलाई शिक्षा मन्त्रालयको निर्देशन बमोजिम राष्ट्रिय परीक्षा बोर्डमा पठाएकोमा शिक्षकले ४जीपीए धेरैलाई दिए। विश्वसनियता भएन भनेर आरोप लगाउन सुहाउँदैन । शिक्षकलाई विश्वास गरिएका अन्य कक्षाका विद्यार्थीले पाएको अंक र विद्यार्थीको ल्याकत हेर्ने हो भने पुरापुर तालमेल पाइन्छ । रोलनम्बर १ हुनुपर्ने २ र २ हुनुपर्नेको १ सम्म भएको पाइदैन । हामीले शंका गरेजस्तो अवस्था आउने हो भने कुनै पनि शिक्षक विद्यालयमा टिक्नै सक्दैन । यसैले अझै पनि आकाश खसेको छैन । कक्षा ११ छँदैछ । १२ त राष्ट्रियस्तरमा नै परीक्षा हुन्छ । असहज परिस्थितिमा शिक्षकले गरिदिएको कार्यसम्पादनका लागि धन्यवाद दिऊँ, गाली होइन ।

आगामी दिनमा शैक्षिक सत्रको शुरुमा नै शिक्षकलाई भनौं, अब पढाउने,परीक्षा लिने र नतिजा निकाल्ने सबै काम तिम्रो हो । अनि एकवर्ष पछि उनीहरुको कार्यप्रगति जाँचौं । त्यो बेला पनि त्यस्तै भएछ भने अविश्वास गरौला । कठिन परिवेशमा जिम्मवारी दिने आफूले खोजेजस्तो अंक पठाएनन् भनेर कन्तो खन्ने काम नगरौ । र यही एउटा कामलाई सामान्यीकरण गरी शिक्षकहरु मुल्याकन गर्नै नसक्ने,नजान्ने भन्ने निष्कर्ष निकाली हाल्दा हतार हुन्छ । शिक्षा सपार्ने शिक्षकले नै हो । पढाउने शिक्षकले नै हो । उनीहरुले राम्रो पढाएनन् भने परीक्षा लिने निकायले मात्र राम्रो नतिजा देखाउन सक्दैन । पढाउने जिम्मेवारी पाएकोलाई पढाएअनुसार सिके नसिकेको मापन गर्ने जिम्मेवारी दिन कञ्जुस्याइँ नगरौ. ।

( लेखक नेपाल सरकारका अवकाशप्राप्त उपसचिव ( दशौं तह ) हुन् )

प्रतिकृया दिनुहोस्